लघुकथाकर्मी पूजन न्यौपाने जन्मोत्सव विशेष लघुकथा प्रस्तुतीकरण तथा प्रशिक्षण कार्यक्रम-२०८०-०५-२२ & श्रृङखला-६८९
लघुकथाकर्मी पूजन न्यौपाने जन्मोत्सव विशेष लघुकथा प्रस्तुतीकरण तथा प्रशिक्षण कार्यक्रम-
शुक्रबार- प्रशिक्षक/प्रस्तोता- खेमराज पोखरेल र शारदा दहाल । (लघुकथा प्रशिक्षण कार्यक्रम) समय- ६.३०-७:३० बेलुका । (मिति-२०८०-०५-२२ & श्रृङखला-६८९ )
+++
लघुकथाक्रम
१. लघुकथा- मुस्कान - पूजन न्यौपाने
२. लघुकथा– अपाङ्ग –पूजन न्यौपाने
३. लघुकथा- परिचय -पूजन न्यौपाने
४. लघुकथा– गृहकार्य –पुजन न्यौपाने
५. लघुकथा- आमाको कर्तव्य -पूजन न्यौपाने
६. लघुकथा- माइती -पूजन न्यौपाने
+++
परिचय-
पूजन न्यौपाने
जन्ममिति- २०४४ साल भदौ २२ गते
शिक्षा- एम ए नेपालीमा
जन्म- राजविराज-५, सरस्वती टोल, सप्तरी ।
पढेको स्कुल- पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालय, राजविराज ।
हाल- जनता माध्यमिक विद्यालय भगनी, मलेठमा शिक्षणरत् ।
पहिलो लघुकथा- गृहकार्य (२०७९)
घर- सप्तकोसी १ फत्तेपुर सप्तरी
+++
१. लघुकथा -मुस्कान
- पूजन न्यौपाने
उफ् ! नहेरे नि हुने नि भन्दै छलिएर उनले स्कुल प्रवेश गरिन्। तर दु:खको कुरा छिटो स्कुल पुगेको दिन प्रिन्सिपल मेडमले नदेखे पनि ढिलो पुगेको दिन देखेर कराइ हाल्नु हुन्थ्यो ।आज पनि त्यस्तै भयो।सधैं ढिला के हो म्याम शिक्षिका भएर नि यतिबेला आएर हुन्छ त?ऊ मलिन अनुहार बनाउँदै हैन म्याम आज छोरो बिरामी थियो।त्यसको हेरचाह गर्ने हुँदा यस्तो हुन गयो,अब त्यस्तो कहिले हुने छैन भन्दै अनुहारको पसिना पुछ्न थालिन् ।
बहाना त तपाईंसँग कति हो कति? रुखो स्वरमा भन्दै मेडम अफिसतिर लाग्नुभयो।
उसका आँखा वरिपरि बिहानका घटनाहरू नाच्न थाले।के हो पारा छोरो बिरामी हुँदा पनि स्कुल जानुपर्ने ? हैन एकदिन बिदा लिन मिल्दैन भन्दै सासुआमा जङ्गिएकी थिइन् । कस्ती आमा हौ तिमी छोरोलाई यस्तो अवस्थामा पनि छोड्ने ? ससुराबाले भन्दा हजारौं सियोले घोचे जस्तो भएको थियोे उसलाई।
तर विवशता बोर्डिङ स्कुलमा धेरै बिदा बस्न नमिल्ने प्रावधान थियो ।फेरि छोरोलाई सामान्य रुघाखोकी मात्र लागेको थियोे ।
नमस्कार! गुरुआमा एउटी छात्राले भन्दा उनी झल्यास हुन पुगिन्।अनि औपचारिक मुस्कानका साथ नमस्कार फर्काउँदै कक्षाकोठा तर्फ लागिन्।
पूजन न्यौपाने
सप्तकोसी न.पा.१ फत्तेपुर,सप्तरी।
११-५-२०८०
+++
२. लघुकथा– अपाङ्ग
–पूजन न्यौपाने
‘राधा, तिम्रो छोरो बहिरो छ ?’ भर्खरै विदेशबाट आएको छिमेकी मोटेले प्रश्न ग¥यो ।
राधाको मन बिझायो । उनले डेरा आँखाले हेरिन् । क्रोधको ज्वाला आँखाबाट विस्पोट भयो । मुख भने खुलेन ।
‘तिमी पनि खोरन्डी छ्यौ । पतिको पनि एउटा हात चल्दैन । सपरिवारै अपाङ्ग भयौ ।’ मोटेले शान्तवनाको स्वर निकालेजस्तो गरेर राधाको अन्तस्करण नजानिँदो गरेर चिमट्यो ।
छोरो जन्मेको साल राधाको खुट्टा अचानक चलेन । उपचारपछि चल्यो तर खोच्याएर हिँड्नपर्ने भयो । बाइक दुर्घटना पतिको हात बिग्रियो । नचिनेका मान्छेसँग छोरो बोल्न मान्दैनथ्यो ।
राधा भन्न चाहन्थिन्; ‘शान्तवना दिनु र सहयोग गर्नुको साटो अर्काको घाउमा नुनचुक छर्ने तिमीहरूको सोच अपाङ्ग छ ।’ तर आवाज बाहिर आएन ।
‘निरास नबन राधा । समयलाई पछ्याउनुपर्छ । प्रतिकूल परिस्थिति अनुकूल बन्दै जान्छ ।’ हिँड्नै लाग्दा मोटेको चेपारे स्वर सुनिन् राधा ।
उता छोरो आमाको अघिल्तिर लाग्दै भन्दै थियो; ‘जोनी जोनी एस पापा.....!’ यता मोटेलाई मुखभरिको जवाफ फर्काउँदै थिइन् राधा; ‘मोटे दाइ, तपाईं बलात्कारीको केसमा जेल परेको छोरो, साथीको खुट्टा काटेर सुधारगृहमा पुगेकी आफ्नी छोरी र रक्सीले मात्ने भाउजूबाट सन्तुष्ट हुनुहुन्छ ? अपाङ्ग मेरो परिवार कि तपाईंको ?’
२०७९–०७–१२, सप्तकोसी न.पा.४ बलार्दह,सप्तरी ।
+++
३. लघुकथा- परिचय
-पूजन न्यौपाने
यस्ता मान्छे भएको ठाउँमा के बस्नु र खै? भन्दै मोहन त्यहाँबाट निस्किन खोज्यो।सभाहल खचाखच भरिएको थियो ।प्रमिलाको कथा विमोचनको कार्यक्रम चलिरहेको थियो ।प्रमुख अतिथिको आसन ग्रहण मोहनले नै गरेको थियो ।निमन्त्रणामा कथाकारको उपनाम मात्र लेखिएको थियोे ।स्टेजमा स्वागत मन्तव्य दिन बोलाइदा ऊ अन्कनाउदै गएर बोल्न थाल्यो।उसले संग्रहमा भएका कथाहरूको मात्र मन अमिलो बनाउदै चर्चा गर्यो।उद् घोषकले कथाकारको बारेमा पनि केही भन्नू पर्यो भने पछि उसको मुखबाट शब्द निस्कियो-"आफ्नो छोरीको बाबाको परिचय नहुनेको के परिचयको बारेमा भन्नू र खै?"
सबैतिर सन्नाटा छायो।सब मौन बने।यस्तो माहोलमा प्रमिलाले नै माइक तानेर बोल्न थाली- "नौ महिना कोखमा हुर्काएकी मेरी छोरी,म उसकी आमा,परिचय काफि छैन र महोदय ?
२०७९-७-३ सप्तकोसी नगरपालिका ,फत्तेपुर।
+++
४. लघुकथा– गृहकार्य
–पुजन न्यौपाने
‘आज पनि स्कुलमा होमवर्क दिएनछन् । हैन, त्यो स्कुल पढाउन खोलेको हो कि खेलाउन ?’ छोराको कापी जाँच गर्दै आमा चाहिँ फत्फताइन् ।
उनी भर्खरै सरकारी स्कुलबाट आएकी थिइन् । काँधको झोला नबिसाईकन र टुसुक्क बसेर एक घुट्की पानी समेत नपिईकन छोराको कापी हेर्न पुगेकी थिइन् ।
उनको मन भन्दै थियो; ‘मन्टेसरी रे ! मेरो तलबको एक चौथाई फि लिन्छन् । पढाइको भने यस्तो हाल छ !’
त्यत्तिकैमा पति अर्को स्कुल पढाएर आइपुगे । पतिसामु गुनासो पोख्तै उनले थपिन्; ‘हामीले पनि एक दशक बोर्डिङ स्कुल पढायौँ तर अभिभावक ठग्ने र विद्यार्थीको भविष्यमा प्रश्न चिन्ह लगाउने काम कहिल्यै गरेनौँ ।’
‘तिम्रो जमाना पुरानो थियो । अहिले नयाँ प्रणाली लागू छ ।’ पतिले आफ्नो कुरालाई हेलैसित लिएकोमा उनी आगो हुँदै भन्न थालिन्; ‘ए, एक शिक्षक भएर छोरालाई गोबर गणेश बनाउने !’
त्यत्तिकैमा होमवर्क सकियो भन्दै उफ्रँदै छोरो आइपुग्यो । छोराको कापी हेरेर उनको क्रोध एकाएक गायव भयो । बदलामा अनुहारमा चन्द्रमा उदाए ।
कापीमा सुन्दर चित्र थियो, जसमा उनका पति कल चलाउँदै थिए । उनी भने भाँडाकुँडा पखाल्दै थिइन् ।
२०७९–०६–०५, सप्तकोशी नपा., सप्तरी
+++
५. लघुकथा - आमाको कर्तव्य
पूजन न्यौपाने
आज हरिबहादुरले आधा घण्टा भिडियो च्याटमा कुरा गरेका थिए ।अचेल उनी दिनहुँ यसरी भिडियो च्याटमा कुरा गर्थे ।कहिलेकाहीँ त दिनको दुई ,तीन खेप पनि त्यसरी कुरा गर्थे ।यसरी कुरा गरेको देखेर कमलले प्रश्न गरेको थियो -"काका तपाईंलाई यसरी कुरा गर्न दिक्क लाग्दैन,तपाईं त कस्तो महिलाहरु जस्तै कुरा गर्नु हुँदोरहेछ ।"
कमलका त्यस्ता कुरा सुनेर उनले विगतलाई सम्झिन पुगेका थिए-"फोनमा कति कुरा गर्न सकेको हो? हालसमाचार बुझेर राखे त भइहाल्छ नि!"उनले आफ्नी श्रीमतीलाई भन्दा श्रीमतीले नम्र बोलीमा-"के गर्नु छोरीहरु टाढा छन्,आफ्ना दु:ख,सुख फोनमै भए पनि साट्न खोज्छन् ,अरु केही गर्न नसके पनि उनीहरूसँग घण्टौँ कुरा गरेर न्यास्रो त मेट्न सक्छु नि हजुर भनेर उत्तर दिएकी थिइन।उनी श्रीमतीका कुरामा मौन भएका थिए।
कमललाई के थाहा? आज उनी स्वर्गवास भएकी आफ्नी श्रीमतीको त्यही कुराको मान राख्दै छन् , घण्टौँ आफ्ना छोरीहरूसँग कुरा गरेर आमाको कर्तव्य निभाइ रहेका छन् भनेर।
सप्तकोसी न.पा.४बलार्दह,सप्तरी ।
+++
६. लघुकथा - माइती
पूजन न्यौपाने
आमा तपाईं माइती नजाने ? चाडबाड आउने बित्तिकै छोरीहरूले गर्ने प्रश्न थियो यो।
प्रत्तिउत्तरमा निशब्द हुने गर्थिन् उनी।
उनलाई माइती जान मन नलागेको होइन तर बिडम्बना उनको कतै जाने ठाउँ थिएन ।छोरो त सबैभन्दा जेठो भएर होला बुझ्ने नै थियोे तर चारओटी छोरीहरू भने मामाघर जाने भनेर हैरान पार्थे।उनको बुवा उनी दुई वर्षको हुँदा बितेका थिए त्यसैले दाजुभाइ,दिदीबहिनी कोही थिएनन् उनका।
एउटैमात्र सहारा आमाको पनि अल्पायुमै मृत्युु भएकोले माइती विहीन भएकी थिइन् उनी।
आज पनि छोरीहरू रोइरहेका थिए ।उनलेे आफ्ना छचल्किएका आँसुलाई पुछिन् अनि आफ्नो अगाडि छोरीहरूलाई राखेर भन्न थालिन् -"म किन कतै जानु?मेरा माइती त मेरै अगाडि छ।तिमीहरू नै आजबाट मेरो माइती भयौ।चाडपर्वमा एउटीले चुरा ल्याइदिनु,एउटीले टिका,एउटीले पोते अनि एउटीले साडी।"
समाप्त
सप्तकोसी न.पा.१फत्तेपुर,सप्तरी ।
११-५-२०८०
+++
टिप्पणियाँ
एक टिप्पणी भेजें