कविता

 कविता

पिताश्रीलाई सम्बोधन !
–नन्दलाल आचार्य

पिताश्री !
म हाजिर छु पिताश्री,
म सारा हाल बुझाउन आएको,
खाली मन गर्न,
अनि त्यो मन भर्न
मन भएर आएको पिताश्री !
तीतो यथार्थ ओकल्न
र, सत्य कुरा बटुल्न
दीनहिन पुत्र भीख माग्दै छु पिताश्री,
रित्तो हात फर्कनु नपरोस्,
मेरा शब्द–शब्द केलाइयोस्,
साष्टाङ्ग दण्डवत् गर्दै
शब्द–बाणले मर्मभेद गर्दै छु पिताश्री !
क्षमा पिताश्री,
घृष्टताका लागि क्षमा पिताश्री !

रित्तो ठाउँमा आयौ
स्थान पुर्ने काम ग¥यौ
चार दिशा चहा¥यौ
सात जुनीमा नपाउने स्वाद चाख्यौ
आफू सुकिलो भयौ
सके मलाई पनि जेनतेन छहारी दियौ ।
तर, मेरा सन्तानको छहारी भाग खोज्दै छु पिताश्री !
म तिनीहरूको थातवास माग्दै छु पिताश्री ।
क्षमा पिताश्री,
कृतघ्नका लागि क्षमा पिताश्री ।

रित्तो ठाउँ बनाउन पाउनौ
म ज्यूदै छँदा मेरा सन्तती
टुहुराटुहुरी पार्न पाउन्नौ
र, यत्ति पनि बुझ,
विषबिरुवा हुर्काउन पाउँदैनौ
वलिदानीको गाथा माटोमा मिलाउन पाउँदैनौ ।
म ज्यूँदै छँदा
रित्तैरित्तो भविष्य सुम्पन पाउन्नौ,
अकर्मण्यताको माला पहिराउन पाउन्नौ ।

समय पचाउने काम नगर
सानाको औषधी विष नसम्झ ।
खबरदार पिताश्री !
तिम्रो नाम लिन मुण्टो लुकाउनु नपरोस्
तिम्रो नाममा हाम्रो नाक नकाटियोस्
गद्दार पिता भनी कलंकको टीको लगाउनु नपरोस् ।

त्यसैले प्राथना गर्दछु,
अमिल्दा कुरामा पेट माझामाझ गर,
मिल्दा कुराको आडमा जवरजस्त अड ।
प्रक्रिया पालना गर्न रत्तिभर नछाड
जसरी होस् पिताश्री !
मेरा सन्ततीको सुनौलो फल छिटो दिलाऊ,
अग्रगतिको तुफानले मेरो वर्तमान छिटो रंगाऊ,
मेरो रक्त–पसिनाको मूल्य मलाई नै दिलाऊ
मेरो नैसर्गिक हक चाँडो दिलाऊ ।
मेरा शब्द–बाणले घायल पारेको भए,
क्षमा पिताश्री,
ठूलो स्वरका लागि क्षमा पिताश्री !!!


धन्यवाद !!!


टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

विशेष समय विशेष लघुकथा कार्यक्रमका लागि मिति २०८०.०५.१६ गते शनिबार-कामना आचार्य/गजल आचार्य/नन्दलाल आचार्य