विशेष समय विशेष लघुकथा कार्यक्रमका लागि मिति २०८०.०५.१६ गते शनिबार-कामना आचार्य/गजल आचार्य/नन्दलाल आचार्य
विशेष समय विशेष लघुकथा कार्यक्रमका लागि आज मिति २०८०.०५.१६ गते शनिबार मध्यान्हमा प्रस्तुत गरिने लघुकथा क्रम यस्तो छ-
१) लघुकथा - पैसा र खुसी - टीकाराम जाेशी, टीकापुर।
२) लघुकथा - यस्तो पनि छोरा -सुरेशकुमार पाण्डे
३) कालजयी लघुकथा– प्रेम –कमला भट्टराई
४) लघुकथा : कानुन -तुलसी पण्डित
५) लघुकथा : विसङ्गती -पवित्रा सापकोटा
६) लघुकथा : माइतीघर -दिप मंग्राती
७) लघुकथा- विवाद -वैद्यनाथ श्रमजीवी, वीरगन्ज
८) लघुकथा : बेलौती -पदम पौडेल
९) स्रोत-लघुकथा : राखी -तारा श्रेष्ठ
१०) उत्तर-लघुकथा– दक्षिणा –नन्दलाल आचार्य
+++
प्रस्तोताद्वय- कामना आचार्य, कक्षा टि ११, श्री जनता मावि, गोलबजार ४, सिरहा ।
गजल आचार्य, कक्षा ४, बुढानिलकण्ठ आवासीय मावि, गोलबजार ४, सिरहा ।
सहजकर्ता- नन्दलाल आचार्य
+++
१) लघुकथा - पैसा र खुसी - टीकाराम जाेशी, टीकापुर।
"हामीलाई त यस्ले वास्ता नै गरेन त!" राजबीरले भने।
"उता बसेकाहरुलाई खाना दिदैछ । हाम्रो पनि पालाे आउला।" जयबीरले आशा देखाए।
"भाेकले आन्द्रा चुँडिने भैसके ।कहिले ल्याउला खाना?"
"हैन! तपाईँहरु कुन कुर्सीमा बस्नु भएकाे हाे?" एकजना स्थानीय मानिसले उनीहरुछेउ आएर साेध्याे।
त्याे बिरानाे देसमा नेपाली बाेलेकाे सुनेर उनीहरुलाई राहत महसुस भयाे।
"खाली कुरसी थिएन त्यसैले घाेप्टाे पारी राखेका कुर्सी साेझाे पारी बस्याैँ।"जयबीरले जवाफ दिए।
"खाना जतिजनालाई पुग्छ त्यतिमात्रै कुर्सी साेझाे राख्ने, बाँकी कुर्सी घाेप्टाे पारी राख्ने चलन छ यहाँ । अहिले खाना पाउनु हुन्न तपाइँहरू ।"उसले वस्तुस्थिति स्पष्ट पार्याे।
"अरु हाेटल पनि कतै देखिन्नन्।आज भाेकै बस्नुपर्ने भाे त?" राजबीरले चिन्ता व्यक्त गरे।
खल्तिमा भएकाे पैसाले उनीहरुलाई गिज्याए जस्तो लागिरहेकाे थियो।
" खल्तिमा पैसा भएर पनि खाना नपाउने हुँदाे रहेछ त।"जयबीरले भने।
उनीहरु त्यहाँबाट बाहिर निस्के।दुवैजनाले वरपर नजर दाैडाए ।बाटामा एक जना महिलाले जंगली केरा बेच्न राखेकी थिइन्।
"आज केरा नै खाएर बस्नु पर्याे। "जयबीरले इसारा गरेर केरा मागे।ती महिलाले पनि इसारा गरिन् तर दुवैले बुझेनन्।
जयबीरले आफै गनेर एक दर्जन केरा लिए।कति दिने हाेला त? उनीहरु साेचमा परे। गाेजीबाट एक शयकाे नाेट निकालेर जयबीरले ती महिलालाई दिए। उसले समातिन।उसले बाेलेकाे कुरा पनि बुझिएन।उनले फेरि एकशयकाे नाेट निकाले तरपनि उसले समातिन।
"यिनीहरुले हाम्राेजस्ताे धनकाे रुपमा पैसाकाे संचय र काराेबार गर्दैनन्। जिउलाई सिंगार्ने कामका लागि सिक्काहरुकाे माला बनाउनु पर्याे भने मात्रै जंगलबाट केहि काम लाग्ने वस्तु लिएर सिक्कासँग साँट्न गाउँतिर आउँछन् । सिक्काहरु छन् भने दिनुस्।" अघिकाे मानिसले फेरि सहयाेग गर्याे।
दुवैले खल्ती जाँचे। दुई पाँच दसका गरी चालीस रुपैयाँ निस्क्यो । उनीहरुले ती महिलाकाे हातमा सिक्काहरु थमाए।
केरा सस्तो पर्याे कि महँगाे ? त्याे अर्थशास्त्रकाे चासाेकाे विषय हुन सक्छ।
यता केरा खाएर दुवैजनाले पेटकाे भाेक सान्त हुँदाकाे आनन्द अनुभव गर्दै थिए उता सिक्काहरु पाएकी ती महिलाकाे निर्दाेष अनुहारमा खुसी छचल्किदै थियो।
+++
२) लघुकथा - यस्तो पनि छोरा -सुरेशकुमार पाण्डे
आमाँ लिलीलाई के भनिकी तिमिले हँ भित्र बसेर रोइरहेकी छ ?-पारे आक्रोशमा उफ्रिँदै सोध्यो।'
मै ले केभनेर त्यस्तो नभन्नेकुरा ? बुहारिलाई सोधे भैइगो नी मसँग किन झोंक्किन्छौ यसरी!-रिमाले रून्चे स्वरमा प्रतिप्रश्न गरिन्'
"आमा नाटक नगर ! यो मेरो श्रीमिती हो जस्लाई तिमिले भन्ने नभन्ने गाली गर्छौ! -पारे झनै चिच्याउँदै भन्यो।'
"हेर बाबु ! मैले तिम्रो स्वास्नीलाई केहीपनि नचाहिंदो भनेकी छैन्।
तिमिलाई नौ महिंना कोखमा राखें हुर्काँए पढाएं लेखाएं आज स्वास्निको भाउँतोमा लागेर मलाई नराम्रो वचन नलगाऊ ! - आमा पनि अली चर्किंदै बोलिन्।'
के अरे जन्माएं हुर्काएँ अरे? आफ्नो ठिकले जन्माएको? आफुले जन्माकालाई जसलेपनि पाल्छ।के संसारमा कसैले नगरेको काम गरिछौँ।-पारे आमालाई गालि गर्दै फतफतायो।'
"धेरै नमात पारे !भोलि पर्सी तेरा छोराले पनि मलाई गराएको जस्तै गराउँलान तंलाई पनि।अलिकती लाज सर्म छैन की क्या हो?-रिमाले हकार्दै भनिन्।'
पारे रिसले रातोपिरो भयो। र आमालाई तडातड् हात छोड्यो।'
यतीवेर भित्र बसेर तमासा हेरिरहेकी बुहारीले सासु चिच्याएर रोएको सुन्दा मुस्कुराउँदै मोबाइल द्वारा भिडियो खिच्दै थिई।
दाङ घोराही १८
३१-०८-२०२३
+++
३) कालजयी लघुकथा– प्रेम –कमला भट्टराई
उनलाई म कसरी विर्सन सक्छु र ! उनको सल्लाह र सहयोग पाएर नै आज म यो अवस्थामा पुगेको हूँ । साच्चै भन्ने हो भने उनको माया पाएर नै म बाँचिरहेको छु । उनीबाहेक म मेरो जीवनमा अरु कसैलाई सोच्न पनि सक्दिन । म उनलाई आफ्नो बनाएर उनको गुणको बदला तिर्न चाहन्छु ।’ रविको कुरा सुनेर समिरले उत्सुकतापूर्वक सोध्यो–के भयो र दाइ त्यस्तो ?
“म नौ वहिनी छोरी पछिको एक्लो छोरा, पुख्यौली सम्पत्ति त्यति नभए पनि म दुःख भन्ने थाहै नपाइ हुर्केको । दिदीहरु कसैले पनि पढ्ने मौका नपाए मैले कक्षा १२ पास गरे । गरिब भए पनि मलाई काठमाडौंमा राखेर पढाउने बुबाको ठूलो रहर थियो । ठमेल चोकभन्दा अलि भित्रतिर कोठा खोजेर मलाई राखिदिनुभयो र कलेजमा भर्ना गरिदिएर बुबा घर फर्किनु भयो । एक महिनाको कोठा भाँडा बुबाले तिरिदिएको हुनाले एक महिनासम्म त कुनै चिन्ता भएन । अर्को महिनाबाट मेरा दुःखका गिन्ति सुरु भए ।
त्यसैपनि घरमा सबैको प्याउलो भएर बसेको । मेहनत गरेर पढ्नु त मुख्य जिम्मेवारी थियो नै अब चिन्ताको विषय, दैनिक तरकारी किनेर ल्याउने, खाना पकाउने, भाँडा माझ्ने, कपडा धुने । जानी नजानी मैले गरेका सारा काम मेरो कोठाको सामुन्नेमा अर्को घरमा बस्ने एक युवतीले नियालीरहन्थिन् । मलाई लाग्थ्यो धत् के हेरेको होला अर्काले काम गरेको, भित्रभित्रै काम गर्न लाज लागेर आउँथ्यो । ती युवतीले मैले काम गर्न नजानेको देखेर काम गर्न सिकाउन थालिन । हेलमेल बढ्दै गएपछि मैले आफ्नो घरको अवस्था सबै उनलाई बताउने मौका पाए । उनीबाट केही आर्थिक सहयोग पाएर आफ्नो पढाइलाई निरन्तरता दिँदै सानो पान पसलबाट व्यवसायमा प्रवेश गरे । उनको साथको बानी परिसकेको मैले आज मात्र थाहा पाए उनी त दश वर्षका लागि विदेश जाँदैछन् ।”
मितीः २०८० साल भदौ १५ गते शुक्रबार,
स्थानः सूर्यविनायक नगरपालिका वडा नम्बर– ५, चुनदेवी (भक्तपुर) ।
+++
४) लघुकथा : कानुन -तुलसी पण्डित
बृद्धबाको चिच्याहटले म निकै मर्माहट भए ।बृद्धबा्लाई विस्तारै उठाए । उहाँ उठ्नु भयो । मोटरसाइकलमा राखेर अस्पताल पुर्याए ।
अस्पताल पुर्याएपछि उहाँको उपचार सुरु भयो ।आफ्नै पैसाले उपचार गराए ।पछि भित्र बेडमा लगेर राख्यो । म बिरामी कुरेर बसी रहेको थिए ।
एक हुल प्रहरी आइपुगे ।
"खै ! मोटर साइकलले हानेको विरामी ? "
"उहाँ नै हो हजुर ? "
"तपाई उहाँको मान्छे हो ?"
" हैन हजुर ।उहाँलाई बाटोमा हिडि रहेको बेलामा कसको मोटर साइकलले हानेछ ।दुखाइले छट्पटी रहनु भएको थियो । मैले उठाएर ल्याइ उपचार गराउँदै छु ।"
"ल तपाई हिड्नु होस् चौकीमा । तपाईको मोटर साइकल कहाँ छ ?"
मत आश्चर्यचकित भए । "मैले हैन हजुर उहाँलाई सोधे हुन्छ ।"
विरामीले बिस्तारै उठ्दै भने । "उहाँले मलाई हानेको हैन ।हान्ने मान्छे अर्कै हो ।ऊ भाग्यो । उहाँले मलाई यहाँ ल्याएर उपचार गराउनु भएको हो ।"
प्रहरीले विरामीको कुरालाई वास्ता गरेनन् । मलाई च्याप्पै समातेर चौकीमा लिएर गए ।कानुन प्रक्रिया अगाडि बढाए । एक प्रहरीले आएर भने । " तपाईलाई सजाय धेरै कम छ ? जम्मा एक लाख दिएर उम्कन पाउनु भयो ।"
" गल्ती नै न गरेको मान्छेलाई एक लाख रुपैयाँ थोरै भो सर । कहिले पाइएला खै निपक्ष न्याय ।"
+++
५) लघुकथा : विसङ्गती -पवित्रा सापकोटा
ठेगाना- सुन्दहरैचा १२ विराटचोक मोरङ
गुरुआमाले रमेशलाई विद्यालयको छुट्टै कक्षाकोठामा एक्लै बोलाउनु भयो र सोध्नु भयो --" बाबु रमेश तिमीलाई के कुराले विथोलिरहेको छ?"
रमेशले भन्यो- " मलिन स्वरमा केही भएको छैन गुरुआमा किन र?"
कुरा खोतल्ने सुरले उहाँले भन्नु भयो । `` पढाइमा तिम्रो मन नलागेको मैले विचार गरिरहेकी छु । म अरु कसैलाइ भन्दिनँ । समस्या के हो ? प्रष्ट भन त ! ´´
उसले भन्यो-" केही समय अघिदेखि साथीसँग मिलेर म मोबाइल मा अश्लील भिडियो हरु हेर्न थालेँ । त्स पछि पढ्न मन लाग्दैन । मन पनि अशान्त छ । तर्सिएझैँ झस्याङ् झस्याङ् भइरहेको छ । ´´
उहाँले उसलाई परामर्श दिदै भन्नुभयो , -" सबै अश्लील भिडियो मोबाइलबाट हटाइदेऊ अनि यी किताबहरू पढ है । ´´ भन्दै केही रोचक कथाहरू भएको किताब दिनु भयो ।
केही दिनपछि उसले पढेका सबै कथाहरू साथीहरूलाई सुनाउँदै हिडेको देखेर गुरुआमाले सोच्नु भयो , `` बल्ल निशाना सही ठाउँमा लाग्यो ।
+++
६) लघुकथा : माइतीघर -दिप मंग्राती
"दादा हेर्नु त .....!भाउजुले किनिदिनु भएको साडी.....! कस्तो देखिएको छ मलाई...?" खुशीले चुल्बुलिन्दै वन्दनाले आफुले लगाएको हरियो साडि आफ्नो दाजु विवेकलाई सोधिन। आज उनी निकै खुशी देखिएकी थिन।बिल्कुल बिवाहा हुनुभन्दा अगाडिको जस्तै चंचल । तर बिवाहाभएर गए पछि वन्दना माइती घरमा आउदा पाहुना जस्तो , कता कता परायापन को महसुस गरेको ,हिड्दा, बोल्दा खादा पनि संकोच मानेको जस्तो अनुभूति गरेको थोयो विवेकले। तर आज उ उन्मुक्त थी, गुलाफको तरेली झैं चंचल देखिन्थी। उसको खुशि देखेर विवेकको मन भरिएर आयो, आँखा रसाएर आयो।
"बिल्कुल गुडिया जस्तै देखिएको छौ " यथार्थमा आफ्नो भावनालाई लुकाउदै उसले भन्यो।
"हो ... दादा...? ल म आमालाई देखाँछु ल" भन्दै गैइ आमा भएको तिर...!
सिटिङ्ग रुममा बसेर नन्द भाउजू मेहन्दी लगाउदै थिए, आमा पनि खुशी हुनुहुन्थ्यो आज। छोरी रमाएको देखेर।नत्र अरुबेला सधै केही हराएको जस्तो कता कता बिरानो जस्तो भएर बस्थी माइता आउदा।
यसै बेला ढोकाको बेल बज्यो....!
"कान्छी मैयाँ जानू त , हेर्नू को हो.....!"
हुन्छ भन्दै वन्दना ढोका खोल्न गैइ
"अरे... तपाईं ....? " ढोकामा वन्दनाको पति प्रवीन उभिएको थियो।आफ्नो लोग्नेलाई अचनाक यहाँ देख्दा उ स्तब्ध भैइ....!
"उम...!मै त हो, बिर्सेको दुई दिनमै.."?हल्का ठठेउली पारामा ।
"खुट्टा कस्तो छ अहिले तिम्रो.....?" प्रवीनले सोध्छ।
"मेरो खुट्टा ...?" के भयो र मेरो खुट्टा , राम्रै त छ....!"
"अरे भाउजुले त तिम्रो खुट्टा मर्कियो तुरुन्तै आउनु भन्नू भए र आको नि.....!"
वन्दनाले आश्चर्य मान्दै भाउजुलाई हेरी...!
भाउजू मुसु मुसु हाँसी रहेकी थिन।
"कस्तो लाग्यो मैयाँ सरप्राइज.....!?" "उता घरमा एक्लै नियास्रो होला जुवाईँ राजालाई भनेर बोलाउने जुक्ती लगाएको नि......!"
अब पो सबै कुरा छर्लङ्ग भयो।
वन्दनाले भाउजुलाई अंगालो हाली र भिजेको आवाजमा "थ्याङक यु भाउजू," यति मायाँ गर्ने भाउजू पाएर म धन्य भएं, मलाई मेरो दिवंगत दिदिको कमि पूरा गराइदिनु भयो।"उहाँले पनि मलाई यस्तै माया गर्नुहुन्थ्यो।"
"पगली....! ल जुवाईँलाई कोठामा लिएर जानू......! एक्लै अफ्ठ्यारो होला, यता म हेर्छु।"
"हेर्नू न आमाले आज मलाई उहाँको खान्दानी रानीहार दिनु भयो।" कस्तो देखिएको छ...?"
"उम ....!किउट...! रानी जस्तै...!"
उ मसक्क मस्की
"एउटा कुरा सोधुम....? पोहोरको तिजमा त यस्तो रमाइलो भएको थिएन, यसपालि सबै खुशी देखेर मन फुरुङ्ग भएकोछ।केही परिवर्तन भएको आभास भैरहेको छ।"
"अस्ति आमा बिरामी हुदा माइत गएको बेला भाउजुको म प्रतिको ब्यबाहारले सारै चित्त दुख्यो मेरो।मेरो जस्तै चित कान्छी मैयांको पनि दुख्दो होला....!"
"मलाई तेस्तो ब्यबाहार गरेको देखेर मेरो आमाको मन सारै दुख्यो, मैले पनि कान्छिलाई पराइ ब्यबाहार गर्दा सासुमाको मन कति दुख्यो होला। म र आमाको चेपारोमा परेर हजुरलाई कति टेन्सन हुदोहोला....! मैले आफुले अनुभव गरे पछि चेत खुल्यो। मैले मेरो भनेर सोच्दा नपाएको खुशी हाम्रो भनेर सोच्दा आज कति खुशी पाएकी छु। हजुरको मुहारमा पनि खुशीको ज्योती देखिरहेको छु। अपनत्व पाउन पहिले अरुलाई आफ्नो बनाउनु पर्दो रहेछ। खुशी लुटेर होइन बाँटेर पाइन्दो रहेछ,"
"मेरो माइती पराई भयो तर वन्दना मैयाँको माइती म पराइ हुन दिदिन।" "छोरिको मर्म छोरिलेनै बुझ्नु पर्ने रहेछ"।आज सासू आमाले खान्दानी रानीहार लगाइदिदै आशीर्वाद दिनु भयो, खुशिले उहाँको आँखा रसाइरहेको थियो।मैले उहाँको पाउमा ढोगीँ दिदा उठाएर मलाई अंगालो हाल्नु भयो। लाग्छ आज दुनियाको सबै कुरा मैले पाएँ।
यसैबेला धोकाको बेल बज्यो.....!
"ए बुहारी ....! हेर त को आयो?"
उन्ले ढोका खोलिन , ढोकामा उनको आमा उभिएकी थिन,
"आमा.....? तपाईं......? "खुशी हुँदै आमालाई अंगालो मारिन....!
"कसो भाउजू सर्प्राइज दिन तपाइलाई मात्रै आउँछ...?"
+++
७) लघुकथा- विवाद -वैद्यनाथ श्रमजीवी, वीरगन्ज
२०८०/०५/०९/०७
बाजेले नातिलाई भन्यो- 'आजभोलि दुनियाँ बिग्रेकै विज्ञानले गर्दा हो । हाम्रो जमानामा विज्ञान थिएन । हामी बिग्रेनौ । बाबु तिमी त क्याम्पस पुगी सक्यौ । यतिबेला तिमी मोबाइलमा झुन्डिने होइन । किताबमा झुम्मिनु पर्ने हो तर जुनबेला पनि मोबाइल मात्रै चलाएको दूख्छु । तिम्रो बुबालाई पनि मोबाइल बाट एकछिन फुर्सद हुँदैन । अफिस जानेबेला सम्म बिहान र पाँच बजे फर्केर आएपछि राति निन्द्रा नपरून्जेलसम्म फेरि मोबाइल । कहिले मन्दिर जानु छैन । घरमा पुजापाठ गर्नु छैन । घर घरमा यही कहानी भएकोले घरपरिवारहरू मात्रै नभएर देश नै वर्वाद भैसकेको छ । '
बाजेको कुरा सुनेर नातिले भन्यो - ' हजुरबुबाको कुरा राम्रै हो । हाम्रो भविष्य उज्वल होस् भनेर भन्नु भएकोछ । त्यो म बुझ्छु तर विज्ञानको विकासले गर्दा संसार वर्वाद भएको होईन ।
बरू विज्ञान प्रविधिको प्रयोगले संसार निकै विकसित भएको छ । छिमेकी देश भारतमा भगवान् राम, कृष्ण,शिव, गणेश,ब्रम्हा, विष्णु आदि करोडौं देवता जन्मे तर आधुनिक विज्ञानको अभावमा उनीहरू साँढे,मुसो,मयुर जस्तो जीवको सवारी गर्थ्यो । धन की देवी लक्ष्मी सित पैसाको कुनै अभाव थिएन तर उनी लाटोकोसेरोको सबारी गर्थी । विद्याको देवी सरस्वतीको झन् विजोग थियो । विज्ञानको ज्ञान नभएकोले विचारी हाँसको सबारी गर्थी । यति ठुलो देवताहरू थिए तर सञ्चारको विज्ञान नजानेको ले विचारा नारदलाई दिनरात दौडाइ रहन्थे । जाबो एउटा मोबाइल पनि थिएन संसारको सृष्टिकर्ताहरू सँग । कस्तो सर्मनाक कुरा....! तर जब भारतले विज्ञान बुझ्यो अहिले चन्द्रमामा पुग्यो ।
अनि जहां सम्म घरपरिवार र देश दुनियाँ वर्वादीको कुरा छ त्यो दलाल पुँजीवादी व्यवस्थाले गर्दा हो । करोडौं रूपैयाँ खर्चहुने निर्वाचन प्रणालिमा देश होमिएपछि नेता तथा कर्मचारीले भ्रष्टाचार कमिसन बाहेक अरू के गर्छन् त ? हजुरले पुजा गरेर के विकास भयोे त ? विकास अन्धविश्वास भगाएर तथा विज्ञान प्रविधि अपनाएर पो हुन्छ । भएको उद्योग बन्द गर्ने अनि कसरि विकास हुन्छ ? अब जनतालाई राहदानी होइन रोजगार दिऩे, आत्मनिर्भर बनाउने नीति भएको व्यवस्था चाहिन्छ । अनि पो विकास हुन्छ । यो व्यवस्था बदल्नु पर्दछ । '
नातिको कुरा सुनेर बाजेले भने - ' हामी सोझा मान्छेलाई के थाहा बाबु । बेक्कारको विज्ञानलाई दोषी भन्नेछु । विज्ञान त सबैले बुझ्नैपर्ने र अपनाउनु पर्ने कति राम्रो कुरो पो रहे छ । तिम्रो बुबाले मलाई कहिले यस्तो कुरा सुनाएन । आज आउन दे ,अब म गर्छु विज्ञानको तर्फबाट उ सँग विवाद........! '
+++
८) लघुकथा : बेलौती -पदम पौडेल
रन्जुले च्याप्प समाएर जोडले हल्लाउँदा राजुको होसहवास उड्यो ।
उनको करको अगाडी, इच्छा नहुँदा नहुँदै एउटा गम्छा लिएर राजु करेसा बारीको छेउमा पुग्छ । उपाय केही नलागे पछि, रन्जुको इच्छा पुरा गर्न, राजु चढ्छ । उ चढ्दा बित्तिकै हल्लाउन सुरु गर्छिन् ।
यसरी झड्कारेर हल्लाउँदा बेलै नभएका दानाहरू झर्छन् । लडेर चोटपटक लाग्न सक्छ । तिमिलाई पुगेको छैन भने बरु पाकेका सबै टिपौला । बेलौतीको बोटमा चढेको राजुले सानी छोरी रन्जुलाई सम्झाउँदै भन्छ ।
रत्ननगर - ८, चित्रसारी,
चितवन, नेपाल
२०८०/०५/१२, मंगलबार
+++
स्रोत-लघुकथा ‘राखी’ -तारा श्रेष्ठ र उत्तर-लघुकथा ‘दक्षिणा’ -नन्दलाल आचार्य
९) स्रोत-लघुकथा : राखी -तारा श्रेष्ठ
"रामु, घर र सानी मालिक्नीकाे राम्रो ख्याल गरेस् है" भन्दै राधा बाहिर निस्किन् । व्यापारकाे सिलसिलामा बाहिर गइराख्नु राधाकाे दिनचर्या थियाे । आफुभन्दा सानै भए नि रामु सानी मालिक्नीलाई आदर गर्दथ्याे भने निशा नाेकर भनेर हेला गरेर बाेल्थी ।
केही बेरपछि बाथरुममा केही गडबड आवाज आयाे । रामु कुदेर जाँदा निशा लडिरहेकाे देख्याे । सानी मालिक्नीलाई उठाएर काेठामा लग्याे कपडा फेराएर सुतायाे । रामुकाे दबाइ, पानी, स्याहारसुसार पछि निशा तङरिन् । रामु अरु काममा जुटिसकेकाे थियाे ।
"रामु दादा ! रामु दादा !" स्वर सुनेर रामु झस्कियाे । आजसम्म ऊ त्याे घरमा रामे मात्र थियाे । नीशाकाे शरिरमा छाेइएकाे कुराले ऊ डराइरहेकाे थियाे । जब स्वर निशाकाे भन्ने बुझ्याे तब ऊ धामी बनेर काम्न थाल्याे । रामेकाे व्यवहारले निशाकाे मनमा डेरा जमाएकाे बुझ्याे । ऊ डरले छेउ पर्न सकेन ।
मालिक्नी आएर थाहा पाउलिन् कि भन्ने डरले बाटाे तताउने सुरले झाेला टिपेर बिदा माग्न गयाे । यताउति निशालाई देखेन । निशा फुत्त आएर अप्ठ्यारो पार्ने हुन कि भनेर डराइरहेको थियो । उसकाे बाेली फुट्न सकेकाे थिएन ।
कसैले पछाडिबाट हातमा तानेकाे जस्ताे लाग्याे । पछाडि फर्कँदा निशा भन्दै थिइन्, "रामु दादा साेफामा बसिस्याे न म हजुरलाई राखी बाँधी दिन्छु ।"
बिराटनगर- ६ मिति -२०७९/०४/२६
+++
१०) उत्तर-लघुकथा– दक्षिणा –नन्दलाल आचार्य
‘हजुरको हातबाट म राखी लगाउन सक्तिनँ ।’ ओठ कपाउँदै रामुले भन्यो ।
निशा निरीह भएर उभिइरही । आफूले गरेको हेलाहोचाका घटना एकपछि अर्को गरेर आए र तुरुन्तै गए । उसलाई रामुका सामु उभिइरहन पनि सकस भयो । घर छाडेर हिँड्न तयार पारेको झोला खोसेर भित्र राखी ।
हातमा राखी खेलाउँदै उसले उसले विनम्रता जाहेर गरी– ‘दादा, मबाट आज के अपराध भयो ? आइन्दा म भुल दाहो¥याउँदिनँ ।’
‘हजुरबाट त्यस्तो केही भुल भएको छैन । मबाट पो महाभुल भयो ।’
‘मैले गरेको विगतको सारा गन्दे हर्कत बिर्सनुस् । आइन्दा मलाई चेली मान्नुस् र राखी लगाउन तयार हुनुस् ।’
‘तर....!’ रामुले बोली टुङ्ग्याउन नपाउँदै निशाले खबरदारी गरी; ‘म यस घरबाट ननिस्कुन्जेल तपाईंले यस घरलाई त्याग्न पाउनुहुन्न । मलाई यही वचन दक्षिणा चाहियो दादाबाट ।’
राधा पनि आइपुगिन् । हरि मामा पनि आइपुगे । राधाले दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै राखी बाँधिदिइन् । निशाले समेत रामुलाई राखी बाँधी ।
‘रामु दादाको विशाल हृदयलाई मेरो संकुचित बुझाइले ठम्याउन सकेको रहेनछ । यस जन्ममा त यसरी नै हामी दाजुबहिनी भयौँ । अर्को जन्ममा मेरै आमाको कोखबाट हजुर फल्नुपर्छ ।’
निशाको यस्तो कथन सुनेर हर्षाश्रु खसाउँदै रामुले भन्यो; ‘असल नियतको कर्मले भाग्य चम्काउँदो रहेछ ।’
०००
२०८०.०५.१३ सिद्धार्थटोल, उदयपुर ।
टिप्पणियाँ
एक टिप्पणी भेजें