दिपक लोहनीसँग आइतबारे लघुकथा वार्ता कार्यक्रममा मनोहर पोखरेल
दिपक लोहनीसँग आइतबारे लघुकथा वार्ता कार्यक्रममा मनोहर पोखरेल
लघुकथाक्रम-
१. अग्रजको लघुकथा- सिर्जना र व्यवधान -किशोर पहाडी
२. समकालीन/अनुजको लघुकथा-समय -विनोद नेपाल
३. नारी हस्ताक्षरको लघुकथा-खुसी -अनु विज्ञाति
+++
१. अग्रज लघुकथाकाको मन परेको लघुकथा
सिर्जना र व्यवधान
-किशोर पहाडी
देशमा प्रधानमन्त्रीको व्यापक विरोध हुदै थियो । भन्दै थिए–“हाम्रो माग पुरा हुनैपर्छ । प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ ।’
त्यही ताक मैले घर बनाउन शुरू गरेँ ।
उनीहरूले जुलुस निकाले–“प्रधानमन्त्री मुर्दावाद ।”
मैले घर बनाउन जग खनेँ ।
उनीहरूले चक्काजामको कार्यक्रम राखे ।
मैले जग्गाको ढुुङ्गा माटो हाल्ने काम गरेँ ।
उनीहरूले मशाल जुलुस निकाले ।
मैले झ्याल, ढोका हाल्दै गारो बनाउन थालेँ ।
उनीहरूले “नेपाल बन्द” को कार्यक्रम राखे ।
मैले घरमा छाना छाइदिएँ ।
अचेल म घरमा बसिरहेछु । उनीहरू अझै सडकमा ।
किंवदन्ती (२०५३) पृ. ५६
+++
२. समकालीन साथीको मन परेको लघुकथा
समय
-विनोद नेपाल
समय उसको प्रतीक्षामा थियो ।
ऊ टुप्लुकियो र भन्यो ‘क्षमा पाउँ, म समयमा आउन सकिन’
किन ? कस्ले रोक्यो ?
उसले जवाफ दिन थाल्यो ः
–अलिकति व्यस्तताले,
–अलिकति बेवास्ताले
–अलिकति लापर्बाहीले
–अलिकति अभावले
–अलिकति इर्ष्याले
–अलिकति डाहाले
–अलिकति लोभले
ऊ आफ्नै सुरमा एकोहोरो बोलिरह्यो ।
– यतिन्जेल समयले नेटो काटिसकेको थियो ।
२०८०।०५।२८
+++
३. लघुकथाकारको मन परेको लघुकथा
अनु विज्ञाति
खुसी
“म त घर नभएको मान्छे,” कसैको प्रश्नको उत्तर दिँदै थिइन् उनी ।
“अलि काम हुने शाखामा सरुवा माग्नु हौ म्याडम ! यसो घर बनाउने जोहो हुन्छ ।” – मैले आँखा खोलिदिएँ तर उनी चासै नदिई ब्यागबाट डायरी र कलम झिक्न थालिन् ।
एक दिन बैंकका कर्मचारी आफ्नो बैंकमा डिम्याट खाता खोल्न आग्रह गर्दै शेयरको लगानी रणनीतिका बारेमा बुझाइरहेका थिए । उनले लगानी परिचालन, शेयर बजार, सुरक्षित लगानीका बारेमा उल्टै सुझाइन् ।
“यस्तो वित्तीय दक्षता भएको मान्छे त शेयर कारोबार गरेर मालामाल हुनु नि हौ !”- मैले प्याट्ट सुझाएँ। उनी फिक्स हाँस्दै मोबाइलमा कुनै कविको कविता वाचन सुन्न थालिन् ।
अर्को दिन म कोठाभित्र प्रवेश गर्दै गर्दा फोनमा कसरी पढे लोकसेवा पास होइन्छ ? विषयमा र पाठ्यक्रमको गहन अध्ययनका लागि कस्ता सामाग्री छनोट गर्ने ? कसरी फरक ढंगले प्रस्तुति दिने भनेर सिकाउँदै थिइन ।
“यो ज्ञान बाढ्नको लागि मेरो साथीको ट्युसन सेन्टरमा यसो बिहानको दुई घण्टा खर्चनु । दाम राम्रै दिन्छ,” मैले अवसर देखाइदिएँ । उनी बिना प्रतिक्रिया डायरीमा केही लेख्न थालिन् ।
मैले सहनै नसकेर भनेँ, “म्याडम ! लेखेर जिन्दगी चल्दैन ! भए भरका अवसर लत्याएर साहित्य ! आखिर के पाउनु हुन्छ यसबाट ?”
कहिल्यै नबोल्ने उनी एकाएक लगातार प्रश्न गर्न थालिन् ।
“तपाईले यी सब काम गरेर के पाउनुहुन्छ ?”
‘पैसा ।”
“अनि.. ?”
‘इच्छा पूरा गर्छु !’
“अनि… ?”
‘सपिङ, घुमघाम, गरगहना, पाटी, मस्ती… ।’
“अनि… ?”
‘सुखी हुन्छु । खुसी हुन्छु ।’
उनले अदबका साथ भनिन्, “तपाईंलाई खुसी भेट्न यति लामो प्रक्रिया पूरा गर्नुपर्छ । मलाई त्यही खुसी भेट्न ‘लेखे र पढे’ पुग्छ । अब भन्नुहोस्, उस्तै खुसी भेट्नका लागि म त्यति लामो बाटो किन हिडूँ ?”
+++
टिप्पणियाँ
एक टिप्पणी भेजें