युग उचाल्ने अक्षरकर्मीको अवसान (नाटक/एकाङ्की सङ्ग्रह)
- एकांकी ०१ - वादविवाद
- एकांकी ०२ - करार–विवाह
- एकांकी ०३ - दर्द
- एकांकी ०४ - आधा मेरोः आधा तिम्रो
- एकांकी ०५ - जस्तो मति उस्तै गति
- एकांकी ०६ - युग उचाल्ने अक्षरकर्मीको दुःखद अवसान
- एकांकी ०७ - पीडा एक : भाका अनेक
- एकांकी ०८ - एकता
- एकांकी ०९ - नम्र विनम्र
- एकांकी १० - नाम तिम्रो काम हाम्रो
- एकांकी ११ - परिवर्तन
- एकांकी १२ - छलछाम छात्ते छ पार्टी
- एकांकी १३ - दाइजो
- एकांकी १४ - देश हराएको सूचना
- एकांकी १५ - परिकल्पित सङ्घीय राज्यको परिचय
एकांकी ०१ - वादविवाद
(सुनसान रङ्गमञ्चमा घरको कोठाको झलक दिने वस्तुहरू यत्रतत्र छन् । सर्वप्रथम बहिनी रङ्गमञ्चमा आउँछे । ऊ बोल्न सुरु गर्दा नगर्दै क्षणभरमै अरू तीनजना पात्रहरू रङ्गमञ्चमा आउँछन् । एउटा कुनामा पाँच बर्से छोरी खेल्न थाल्छे । श्रीमान् श्रीमतीको ठाकठाकठुकठुक परेको आभास मिल्ने कुराहरू मनग्य छन् । रङ्गमञ्चको भित्ता कतै पानको रङले राताम्य छ भने कतै कालाम्य छ । कतै रङ्गमञ्च सुक्खा छ, कतै पानीले हिलाम्य छ । ऊ बोल्दै जान्छे, रङ्गमञ्चमा रौनक थपिँदै जान्छ । रङ्गमञ्चमा एकप्रकारको जिज्ञासा सर्वत्र छाउँछ ।)
बहिनी : आदरणीय दाजुभाउजू र मेरी प्यारी नानी ! भोलिका पुस्ताका निम्ति यही धर्तीमा रहने र हिँड्ने पूर्वाधार आजै बनाउन वादविवादको अन्त्य गरौँ । वादविवादविनाको अवस्थाका लागि मुखमा ताल्चा लगाउनेचाहिँ हैन, ठिक ठाउँमा मुख खोलौँ, बेठिक ठाउँमा मुख खोलेर समय र शक्तिको अपव्यय नगरौँ । हरेक दिन पटकपटक विवादमा फस्नुभन्दा समय निकालेर एकैपटक विवाद गरौँ र ठोस निष्कर्षमा पुगौँ ।
श्रीमती : सपना सजाउने छुट मान्छेलाई हुनुपर्छ । किनभने सपना सजाएर मान्छे बाँच्छ । सपनामै जताततै पुग्छ र भविष्यका लागि वर्तमानमा पाइला चाल्छ । सपनाको महल ठड्याउन नसक्ने वर्तमानकै हुलमा हराउँछ ।
श्रीमान् : (सामान्य कपडामा सजिएको छ) मान्छे वर्तमानका लागि बाँच्छ, भविष्य त उसको बसभन्दा बाहिर छ । वर्तमान सप्रिए भविष्य स्वत: सप्रिन्छ ।
(श्रीमती उसलाई ठेल्दै अघि सर्छे र जोडजोडले बोल्न थाल्छे ।)
श्रीमती : वर्तमान–भविष्य, भविष्य–वर्तमान यी सबै मान्छेकै लागि त हुन् । विवादलार्ई तन्काउँदै तपार्इं त भन्नुहुन्छ– इहलोक सपार्नुछ भने वर्तमान सपार, परलोक भन्ने कुरो कल्पना हो तर म भन्छु, यो जगत् ईश्वरीय लीला हो । त्यसैले इहलोक र परलोक दुवै सपार्न ईश्वरको साथ चाहिन्छ । ईश्वरसँग अलौकिक शक्ति छ ।
श्रीमान् : देवता, ईश्वर, परमेश्वर आदि कहीँकतै छैनन् । छन् भने केही मान्छेको कल्पनामा सीमित छन् । (केही आक्रोशयुक्त स्वरमा) मानिसले बनाएका, मानिसले कल्पना गरेका कुनै कुरा पनि कहीँ अलौकिक हुन्छन् र ? तिमीले भन्ने गरेको अलौकिक शक्ति भन्ने कुरो पनि कल्पनासिवाय अर्थोक होइन ।
श्रीमती : सानो वस्तु निर्माण गर्न नसक्ने मान्छेले ईश्वर छैनन् भन्नु नून गुलियो हुन्छ भन्नु बराबर हो । उसो भए मान्छे आफैँ ईश्वर हुनुपर्छ । लौ, त मान्छेले अर्कै पृथ्वी सृष्टि गरोस् त ?
श्रीमान् : मान्छे चन्द्रमामा बस्ती बसाल्दै छ । अन्य ग्रहउपग्रहमा प्राणीको अस्तित्व खोज्दै छ । चन्द्रमाको बाटो भएर मान्छे यात्रा गरिरहेको छ । तिम्रो प्रश्नको जवाफ आजको मान्छेले नै दिइरहेको छ । वैज्ञानिक चमत्कार भित्रिनु नै पृथ्वीले नयाँ स्वरूप धारण गर्नु होइन र ? ईश्वरीय अस्तित्व र स्वर्ग–नर्कको कुरा मान्छेको कोरा कल्पना हो । स्वर्ग–नर्कको कुरा गरेर महात्मा भनाउँदाहरूले आफ्नो प्रभुत्व जमाउन खोजेको कुरा तिमी किन बुझ्दिनौ ?
श्रीमती : ईश्वरले नै लालनपालन गरेका छन् । यो ब्रह्माण्ड संसारलाई अस्तित्ववान् पारेका छन् । ईश्वरको कृपा हुन्नथ्यो भने यस धर्तीमा ठमठम्ती हिँड्न सकिन्थ्यो र ?
श्रीमान् : (अघि सर्दै) भ्रम, यो सबै भ्रमबाहेक अर्थोक केही हैन । संसारमा ईश्वरको नाममा अन्धविश्वास जन्मिरहेछ, भ्रान्ति फैलिरहेछ, अहङ्कार झाङ्गिरहेछ, जिद्दीपन बढिरहेछ । तिम्रै ईश्वरीय
विश्वासलाई नियाल्ने हो भने पनि तिमीमा ईश्वरको नाममा भ्रम र त्रास फैलिएको मात्र देखिन्छ ।
श्रीमती : यो मान्छेले गरेको विश्लेषण हो । मान्छेले भनेको कुरा सबै ठिक हुन्छ भन्न सकिन्न । झुटको खेती गर्ने पनि धेरै छन् यहाँ ।
श्रीमान् : हो, अहिले भने ठिक बाटामा आयौ । यति कुरा बुझ, ईश्वरीय लीलाको वकालत गर्ने पनि मान्छे नै हुन् । मान्छे झुट हुन सक्छ भन्ने तिम्रो कुरालाई म स्वागत गर्छु । अधोगतितिर लम्केका साधुमहात्मा भनाउँदाहरूले स्वर्ग र नर्कको कल्पना गरी ईश्वरीय सत्ताका झुटा कथा सुनाएर जनतालाई ठगिरहेछन् र आफ्नो स्वार्थ सिद्ध गरिरहेछन् । हाम्रो बुद्धि बिगार्न, हामीमा भ्रान्ति पैदा गर्न र हामीलाई धार्मिक कट्टरपन्थी बनाउन ईश्वरको प्रपञ्च रचिएको हो । मिलेर हामी अघि बढ्न सके विष्णुको अङ्श मानिएका राजाहरूलाई त सत्ताच्युत गरी सामान्य नागरिक बनाइदिन सक्ता रहेछौँ भन्ने कुरो हाम्रो व्यवहारले प्रमाणित गरिसकेको छ । अँझै विष्णुको अस्तित्वलाई स्वीकार गर्नु बोक्रे आस्तिकतामात्र हो ।
श्रीमती : मसँग दह्रो विश्वास छ, ईश्वरीय लीला अनमोल छ । गल्ती गर्नेलाई सजाय ईश्वरले नै दिन्छन् । गल्ती सामान्य नागरिकले गरोस् या राजाले । ईश्वरले पनि सङ्कट भोग्नुपरेका थुप्रै घटनाहरू छन् । विश्वका हरेक कुरामा रहस्य छ । सृष्टिको संरचना सन्तुलित छ । समुद्रको पानी पृथ्वीभरि पुग्छ । पृथ्वीभरि छरिएको पानी अन्ततोगत्वा समुद्रमै मिल्न पुग्छ । ओहोरदोहोर भइरहन्छ । यी सबै ईश्वरीय लीला हुन् ।
श्रीमान् : हो, समुद्रको पानी खेतखेत पुग्छ, खेतखेतको पानी समुद्रमा मिल्न आउँछ । यी सबै प्राकृतिक नियम हुन् । प्रकृतिले नै सम्पूर्ण कुराको तारतम्य मिलाएको हुन्छ । तारतम्य बिग्रियो कि भूकम्प जान्छ, बाढी–पैह्रो जान्छ, महामारी फैलिन्छ । यस्ता विनाशकारी अवस्था सिर्जना हुन्छन् तर तिम्रो मत भिन्न छ । के यी सबै ईश्वरीय अनुकम्पाका प्रतिफल हुन् त ?
श्रीमती : (उत्साहित हुँदै) जरुर ! जब अधर्म बढ्छ, अन्यायीका हातबाट न्याय मर्छ, ईश्वरले नै यी सबै घटना घटाउँछन् । घटनापश्चात् धर्म र न्यायको स्थापना हुन्छ ।
श्रीमान् : (मुस्कुराउँदै गिल्ला गर्ने ढाँचामा) हो, तिम्रो कुरा मनासिब हो ! पूर्वी नेपालमा ०६५ भदौ २ गते सप्तकोसी बाँध भत्केर हजारौँ जनताको उठिवास भो, लाखौँजनाले महिनौँ कहर काट्नुपर्यो ।
पश्चिम नेपालमा फैलिएको हैजाले सयौँजनाको ज्यान लियो, सयौँ परिवारलाई बिचल्लीमा परे, अन्य क्षेत्रको बाढीपहिरोको कहिरन गरीसाध्य छैन । यी सब कुरा ईश्वरले धर्म र न्याय स्थापनार्थ गरेका हुन् होला, हैन ? धनसम्पत्ति गुमाउने, मर्ने र दु:ख पाउने सबैजना अधर्मी थिए, अन्यायी थिए, हैन ?
श्रीमती : त्यो त एकाधले गरेको गल्तीको प्रतिफल सबैले भोगेकोमात्र हो ।
श्रीमान् : उसो भए चिन्दै नचिनेको, जान्दै नजानेको मान्छेले गल्ती गर्छ भने त्यसको सजाय तिमी भोग्छौ ?
श्रीमती : (केही उत्साहित हुँदै) हँ, त्यसो गर्न त म तयार छैन ।
श्रीमान् : उसो भए अन्याय र अधर्म त तिम्रै ईश्वरबाट हुँदो रहेछ भन्ने यो ठोस प्रमाण हो, हैन र ?
श्रीमती : (एकक्षण घोरिन्छे) तपाईं जे ठान्नुस् । ईश्वरको लीला अपरम्पार छ, त्यसै भनिएको हैन ।
श्रीमान् : उसो भए अँझै वादविवाद छ । (सहज हुँदै) सुन, मानिसमा हुने आत्मबल, मानिसले देखाउने उदारता, मानिसले गर्ने प्रेम र इमान्दार भएर देखाउने सुकर्म नै धर्म हो । यस्तो धर्मले सबैको
कल्याण गर्छ बरु यस्तो धर्मलाई नै ईश्वरको नाम दिएकी भए हुन्थ्यो । बुझ, प्रकृतिले कसैको अहित गर्दैन । हो, जब मानिसले प्रकृतिलाई बिगार्छ, तब प्रकृतिले पनि मानिसलाई बिगार्छ । प्रदूषण बढाएर होस् या अन्य खाले अहङ्कार थोपरेर होस्, मानिस दिनानुदिन गलत कदम चाल्दै छ । त्यसबाट प्राकृतिक र भौतिक वातावरण बिग्रन गई असन्तुलित वातावरण देखा पर्छ । त्यसैको परिणामस्वरूप अनिष्टकारी अवस्था जन्मिएको हो ।
श्रीमती : उसो भए शान्ति खोई त ?
श्रीमान् : शान्ति पाउन ईश्वरको आराधना हैन, कर्मशील बन्नुपर्छ, वर्तमानको उपासक हुनुपर्छ । यसले नै मानिसलाई जीवनबोध गराउँछ, आत्मबल दिन्छ, कर्ममुखी बनाउँछ र शान्ति दिन्छ । यसका लागि मैले फूल, अगरबत्ती, धूपदीपको सट्टामा कलम, कुचो र खुर्पाको प्रयोग गर भनेको हुँ ।
श्रीमती : उसो भए गर्ने के त ?
श्रीमान् : आजैदेखि आफ्नै हातमा सबथोक रहेछ भन्ठानी आफूलाई सरिक गर्ने हो भने एक दशकमै चमत्कार भित्रिन्छ ।
श्रीमती : आपत् पर्दा ईश्वरलाई पुकार्ने र सुख पाउँदा अहङ्कार देखाउने त आजका मानिसको स्वभाव नै बनेको छ । हेर्नुस्, प्राणीमा पाइने चेतना नै ईश्वरीय सत्ताको प्रमाण हो । फेरि तपाईं एक दशकमै चमत्कार भित्रिन्छ भन्नुहुन्छ । त्यो कसरी सम्भव हुन्छ ?
श्रीमान् : सही रूपमा प्रगति गर्नका लागि प्रथमत: मानिसमा अहङ्कार, ईष्र्या, पश्चगामी र यथास्थितिवादी सोचको मृत्यु हुनुपर्छ । कर्मशील पाखुरीको विकास गर्नुपर्छ । आफ्नो बौद्धिक स्तर उकासेर मनमा परिवर्तन ल्याउनु जरुरी हुन्छ । न्यायको स्थानमा उभिने प्रण गर्नुपर्छ । शरीरमुखी हैन, श्रममुखी हुनुपर्छ । मनमा आउने अलौकिक कुराहरूकोपछि दगुर्नु हुन्न । यसो गर्न सक्यौ भने तिमी सप्रन्छौ । तिमीजस्ता एकएक मान्छे सप्रिए पूरै मानव समुदाय सप्रिन्छ ।
श्रीमती : यी सब मनगढन्ते कुरा हुन सक्छन् । प्रमाण पनि हुनुपर्यो नि । विनाप्रमाण पत्याउने कुरा पनि भएन ।
श्रीमान् : तिम्रो जिज्ञासा शतप्रतिशत सत्य छ । विनाप्रमाण लादेको कुरा ढोङ हो । विज्ञानले पनि प्रमाण खोज्छ । ईश्वर छन्, ईश्वरीय अनुकम्पाले यो चराचर जगत् चलेको छ भन्ने कुराको प्रमाण कहीँ भेटिन्न । न यसलाई विज्ञानले नै समर्थन गरेको छ । विज्ञानको समझबाहिरको कुरा हो यो तर यति कुरा बुझ, यस विश्व परिवेशमा जेजति सद्गुणी, विद्वान् र विलक्षण प्रतिभायुक्त मानिस थिए र छन् ती सबैले धेरथोर कर्मशील पाखुरीको विकास गरेका थिए, आफ्नो बौद्धिक स्तर उकासेर संसारिक जगत्का कुराहरूको बोध गरेका थिए । वस्तुले दिलाएको पाठ धोकेका थिए । जहिले पनि न्यायको स्थानमा उभिने र श्रममुखी भई कर्मपथमा निरन्तर सक्रिय हुने काम गरेका थिए । हरेक व्यक्तिमा हरेक किसिमका प्रतिभा र क्षमता अकर्मण्यरूपमा लुकेका हुन्छन्, जुन ऊ स्वयम्लाई थाहा हुन्न । त्यो सुषुप्त अवस्थाको प्रतिभा र क्षमतालाई सक्रिय पार्ने मुख्य काममा उसलाई उसकै निरन्तर अभ्यासले मद्दत गर्दछ । आत्मबल र सकारात्मक सोचका साथ कर्मपथमा अघि बढ, प्रमाण तिमी स्वय म हुन सक्छौ ।
श्रीमती : हामी अस्तित्ववान् छौँ, प्रकृतिका हरेक वस्तुमा अस्तित्व छ । यही कुराको प्रमाण नै ईश्वर हो । ईश्वरीय सत्तालाई मिथ्या कल्पना भनी धज्जी उडाउनु वैज्ञानिक यथार्थ हैन । ईश्वरको कृपा हुँदा जो पनि प्रतिभाशाली हुन्छ ।
श्रीमान् : (हाँस्दै र जिस्क्याउने पाराले) उसो भए त कर्म नगरीकनै ईश्वरीय आराधनामा संसार जुटे भइगयो नि त ।
श्रीमती : कर्म नगरीकनै फल पाउने अभिलाषा राख्नु मिथ्या कुरा हो ।
श्रीमान् : अनि विनाकर्म, विनाअभ्यास–साधना कसरी प्रतिभा प्रस्फुटन हुन्छ त ?
(त्यतिकैमा छोरी आमाको बुई चढ्छे ।)
छोरी : मामू ! मलाई ईश्वरसँग भेट गराइदिनुस् न । म ईश्वरलाई पापा दिन्छु । म ईश्वरसँग कुरा गर्छु । उसलाई साथी बनाउँछु । ईश्वर त जाती हुन्छन् भन्नुहुन्छ, हजुर । जाती ईश्वरले मसँग मित्रता गर्छन् नि, मामू ?
श्रीमान् : (मुस्कुराउँदै) अब देऊ उत्तर छोरीलाई । मनगढन्ते कल्पनाको महल बनाउन सिकाऊ छोरीलाई । आफूझैँ दुर्बल नारी बनाऊ छोरीलाई ।
श्रीमती : (झर्किंदै) आफूसँग कति रौँ छन् भन्ने कुरो बताउन नसक्नेले नास्तिक बन्नुको कुनै तुक छैन ।
श्रीमान् : मानव समुदायमा भ्रष्टाचार व्याप्त छ । रूढिवाद, अन्धविश्वास र नचाहिँदो अविश्वास बढ्दो छ । यी सम्पूर्ण कुराले अराजकता फैलाएको छ । अँझ दण्डहीनता बढाएको छ । जताततै
अहङ्कारीहरूको साम्राज्य फैलिएको छ । अहङ्कारले विवेकको ढोका थुनेको छ र मानिस तेस्रो विश्व युद्ध निम्त्याइरहेछ । यस अनिष्ट घडीमा तिम्रो ईश्वर किन आफ्नो अलौकिक चमत्कार देखाउँदैनन् । निराकार रूपमा रहेका भनिएका तिम्रा ईश्वर कल्पनाको तरङ्गमा रहेको मिथ्यापनबाहेक अर्थोक केही हैनन् भन्ने त स्वयम्सिद्ध छ नि ।
श्रीमती : (आक्रोशयुक्त वाणीमा) हो–हो । तपाईंकै अनुसार म यस जगत्मा पूरै स्वतन्त्र छु भने म जसलाई जे मानूँ । कटाक्ष गर्ने र धज्जी उडाउने तपाईंको हक छैन ।
श्रीमान् : तिम्रो कुरो पनि सही हो । मेरो कसैलाई तल पारेर आफू माथि उक्लने सोच कदापि हैन । वादविवादमा उत्रेपछि एक पक्ष तल र अर्को पक्ष माथि हुन्छ नै । खेलको सिद्धान्तमा पनि यी कुराहरू आउँछन् ।
(छोरी आफ्नै धुनमा खेलिरहेकी हुन्छे । आमाबुबातिर उसको ध्यान जाँदैन । आक्रोशयुक्त वाणी सुनेर बहिनी भने झस्किन्छे । वादविवाद निष्कर्षमा नपुगेको ठम्याएर ऊ आफैँ अघि सर्छे ।)
बहिनी : भो अब । अहिलेलाई भने वादविवादलाई निष्कर्षतिर लैजाऔँ । यी कुरामा वर्षौंदेखि बहस हुँदै आए पनि आजसम्म पूर्ण निष्कर्षमा पुग्न सकिएको छैन । निष्कर्षमा पुग्नेहरू थोरै होलान् । भान्सामा खाना पाकिसकेको छ । समयमा घरको काम सकेर कर्मपथमा सरिक भयौँ भनेमात्र सबैजना खुसी हुन्छन् । विनाकर्म अर्थ पाइन्न । विनाअर्थ व्यवहार चल्दैन । विनाव्यवहारको मानिस कहलिन गाह्रो छ । मानिस हुन पनि कर्म गर्नै पर्छ । मन्दिर पसेर आराधनामै समय खेर फालेर, गुफा पसेर तपस्यामै लिप्त भएर वा भाषणबाजीमा खरो उत्रेरमात्र व्यवहार चल्दैन । व्यवहार चलाउन सबैको राम्रो विचारको कदर हुनु जरुरी हुन्छ । अघोरै खराबलाई चाहिँ ठाडै खराब भन्नै पर्छ । अर्काको आस्थालाई जबरजस्ती खण्डित गर्दै आफ्नो आदर्शको भारी बोकाउनु किमार्थ उचित हुन्न । पूर्ण स्वतन्त्र जन्मेको मानिसलाई स्वतन्त्र नै रहन दिनुपर्छ । अर्काको स्वतन्त्रताको धज्जी उडाउने स्वतन्त्रता कसैलाई पनि छैन । भो, अब भो । खाना खान ढिला भो । आजको बसाइ जे भो उत्तम भो !!!
(सबै मुस्कुराउँछन् । मञ्चबाट बाहिरिने तरखर गर्छन् । पर्दा बिस्तारै खस्दै जान्छ ।)
(०६६/०५/२९)
एकांकी ०२ - करार–विवाह
पुण्य : ३९ बर्से विवाहित युवक (शिक्षित–पठित, लेखन र शिक्षण पेसामा आबद्ध)
सृष्टि : २३ बर्से अविवाहित युवती (शिक्षित–पठित, अविवाहिता, संस्थामा जागिरका लागि विवाहदर्ता प्रमाणपत्रको खोजीमा भौतारिएकी)
अभित : ३२ बर्से अविवाहित युवक (शिक्षित–पठित, शिक्षण पेसामा आबद्ध)
लक्ष्मी : २७ बर्से विवाहित महिला (शिक्षित–पठित, शिक्षण पेसामा आबद्ध)
लक्ष्मीकान्त : ३५ बर्से अविवाहित युवक (शिक्षित–पठित, वकालत पेसामा आबद्ध)
कर्णकान्त : २५ बर्से अविवाहित युवक (शिक्षित–पठित, बेरोजगार, अर्धपागलजस्तो, बेला न कुबेला बोलिरहने, अर्काका कुरा त्यति ध्यान दिएर नसुन्ने तर आफ्ना कुराचाहिँ अरूले सुनून् भनी चाहने । आफूलाई प्रेम र विवाहसम्बन्धी विभिन्न विद्वान्हरूको दृष्टिकोणको ज्ञाता ठान्ने प्रकृतिको ।)
कर्णकान्त : (चारैतिर हेर्छ) हेर्नुस् दिदीबहिनी, दाजुभाइहरू, मक्ख पनि पर्नुस्, मक्ख पनि नपर्नुस् । (‘करार–विवाह’ लेखिएको तुल हेर्दै) विवाह त्यसमा पनि करार ! आश्चर्यमा पनि अर्को आश्चर्य !! उपयोगी विवाह गर्नुछ भने आफ्नो स्तरमा गर्नुस् ।
अभित : प्रिय चीजलाई प्रेम गरिन्छ । प्रेमलाई स्थायीत्व दिन विवाह अनिवार्य सर्त हैन । दुई मन मिल्यो, प्रेम जन्म्यो र फैलियो । दुई मन फुट्यो, प्रेम टुट्यो र मर्यो । जन्मेपछि कतिबेला मर्ला भन्ने त्रास लिनुपर्ने प्रेम मलाई स्वीकार्य छैन । प्रेमलाई गतिशील पार्न अर्थात् कानूनी मान्यता दिन गरिने विवाह पनि मलाई स्वीकार्य छैन ।
कर्णकान्त : विवाहजस्तो अरू कुनै कुराले पुरुषका सामु थेगिनसक्ने मागहरू तेर्साउँदैन ।
(मनासिब हुँदाहुँदै पनि अन्य पात्रहरू कर्णकान्तका कुरामा उति ध्यान दिँदैनन् । बेला न कुबेला प्रसङ्गविहीन अवस्थामा पनि कर्णकान्त बोलिरहन्छन् ।)
लक्ष्मी : अभित सर ! तपाईं त यो पनि अस्वीकार्य छ, त्यो पनि अस्वीकार्य छ भन्नुहुन्छ । हुँदाहुँदै कतिखेर भन्नुहोला– मलाई यो पृथ्वी पनि अस्वीकार्य छ, यो (सृष्टिलाई औँल्याएर) सृष्टि पनि अस्वीकार्य छ । (हाँसो छाउँछ ।)
कर्णकान्त : हाँसोले नै संसार थेगिने भए मान्छे हाँस्दै जन्मन्थे, हाँस्दै जिउँथे र हाँस्दै मर्थे होला । प्रेमसँग थोरै सम्बन्ध राखेर पाउनु र गुमाउनुको अर्को नाम नै विवाह हो ।
अभित : लक्ष्मी म्याम ! कुरो त्यसो हैन । पृथ्वीलगायत यो पूरै ब्रह्माण्डको सृष्टिलाई चुनौती दिँदै अस्वीकार गर्ने मेरो नीति हैन ।
कर्णकान्त : हामी प्राय:जसो हतारमा विवाह गर्छौं र फुर्सदमा पछुताउँछौँ तसर्थ अभित सर सचेत हुनुहुन्छ, हैन ?
अभित : त्यसो हैन ।
लक्ष्मी : अनि तपाईंसँग कस्तो नीति छ त ?
अभित : म आफूमा मात्रै सीमित हुन चाहन्छु । आफूलाई बाँड्न चाहन्नँ ।
पुण्य : गलत, तपाईं गलत सोचमा डुब्नुभएछ । तपाईं त भमरा फूलको सुगन्ध र रसमा डुबेर आफूलाई भुलाएझैँ पो हुनुभएछ ।
अभित : अब, अरूले गलत भन्दाभन्दै आफूले आफँैलाई ठिक भन्न मिलेन क्यारे ! यो कुरोचाहिँ साँचो हो कि मेरो जीवन तलमाथि भइदियो भने मेरा लागि दुई थोपा आँसु खसालिदिने यो पृथ्वीमा कोही छैन । यसको कारण हो— म सिङ्गो छु, सग्लो छु । म कतै बाँडिएकै छैन । सग्लो हतपत चोइटिँदैन, चोइटिएपछि दुई टुक्रामा मात्र विभक्त नभई अनेकानेक टुक्रामा विभक्त हुन्छ । विभक्त जीवन पनि कहीँ जीवन हो र ?
पुण्य : कुरा गर्यो कुरैको दु:ख भनेजस्तो मात्र हो । के तपाईं यस धर्तीमा आफ से आफ उत्पन्न हुनुभो र ? कि प्रकृतिले पनि स्वत: मान्छे पैदा गर्न थाल्यो हँ !
अभित : मेरो भनाइको अर्थ गलत लागेजस्तो छ । मलाई जन्माउने मेरा मातापिता सारसौँदै हुनुहुन्छ । म अभूतपूर्व मान्छे हैन । जस्तो तपाईं उस्तै म ।
पुण्य : उसो भए कसैको जीवन तलमाथि हुँदा अफसोस गर्ने मान्छे हुँदैनन् त ?
अभित : हुन्छन्, किन नहुनु ! बढेको, पढेको र आफ्नै खुट्टाले धर्ती टेकेको छोरो अकालमै सकियो भन्ने मातापितालाई हुन्छ । एक मनले अङ्श नै थपियो भन्लान् तर अर्को मनले दाजुभाइ पनि सुर्ताउलान् । चेलीहरू पनि माइती घट्यो भनी खिन्न होलान् । यी त स्वाभाविक कुरा हुन् तर मेरो भनाइ अर्कैतिर लक्षित थियो ।
लक्ष्मी : यो ’तर’ शब्दले जहिले पनि मलाई चिमोट्छ । शब्दकोशमै यो शब्द नभए हामी दुईचार हात अघि हुन्थ्यौँ कि ?
पुण्य : अब भने अभित सरले खाँट्टी कुरा नभनी सुख नपाउने हुनुभयो ।
अभित : भन्ने कुरा भन्छु नै । जीवनभर आँसु बगाउने मान्छे छैन पो भनेको त । अरूहरूले त दुईचार दिनपछि भुलिहाल्छन् नि । श्रीमती भई भने जीवनभर सम्झिरहन्छे । दु:ख परेका बेला पति सम्झेर आँसु चुहाउँछे । सुख परेको बेला पनि पतिको अभाव महसुस हुन गई सुख दु:खमा रूपान्तर हुन्छ । अत: दु:खको घर नबनाऊँ भन्ने मेरो इच्छा हो ।
पुण्य : फेरि त्यही सोच आयो । पुरातनवादी सोचका सिकार छौँ हामी । विश्व कोठामा कैद भइसक्यो । हामी भने सत्रौँअठारौँ शताब्दीको युगमा छौँ । अनि हाम्रो प्रगतिमा पूर्णविराम नलागे कसकोमा लाग्छ त ?
लक्ष्मी : हजुरको कुरा राम्ररी बुझिएन नि ।
पुण्य : बुझ्न सजिलो छ । सतीप्रथाको धङधङी मनमा राखिराख्यौँ भने नारीलाई पुरुषत्वको अहङ्कारले थिचिराख्यौँ भने अभित सरले भनेजस्तो विदुर/विधुवाको जीवन रोएरै बित्छ । मान्छेले मान्छेलाई पिजडामा कैद गर्ने मानसिकता त्याग्नुपर्छ ।
कर्णकान्त : विवाहलाई महान् बनाउन नर–नारी दुवैले जीवविज्ञानको ज्ञान लिनुपर्छ । सफल भन्न सजिलो छ तर सफल जीवन बाँच्न गाह्रो छ । विवाहले नै कुनै पनि मान्छेको पूर्ण परिचय र चिरत्रको गठन गर्छ । विवाह मान्छेको आनन्दको घडी हो या विनाशको सुरुआत हो ? त्यसको लेखाजोखा गर्ने काम दम्पत्तिको हो । अँझ म त भन्छु– विवाह भन्ने कुरा पुरुषका निम्ति समाप्तितिरको चरण हो भने महिलाका निम्ति आरम्भको चरण हो । विवाहले कुनै पनि वर्गमा सौभाग्य छाउनुपर्छ । यदि उसको वैवाहिक जीवन सौभाग्यशाली भएन भने उसको जन्म पनि व्यर्थ हुन्छ ।
सृष्टि : (केही अघि सर्छे । अभितको मुहारलाई एकक्षण नियाल्छे ।) मान्छे स्वतन्त्ररूपमा जन्मन्छ र स्वतन्त्ररूपमा नै मर्छ । त्यसैले मान्छे बाँच्दा पनि स्वतन्त्ररूपमा बाँच्न पाउनुपर्छ । आफ्नै बलले खुट्टा टेक्यो भने निश्चय नै ऊ स्वतन्त्र हुन्छ । विवाहको नाममा जिन्दगी बन्धकमा राख्ने काइदाचाहिँ ठिक हैन ।
पुण्य : म पनि यस कुरामा सहमत छु । अँझ म त भन्छु– विवाहपूर्व होस् यापश्चात् नर–नारी दुवै स्वतन्त्र हुनुपर्छ । दुवैले आ–आफ्नै दक्षता र क्षमताले बाँच्न पाउनुपर्छ । एकको अर्कोमाथि नचाहिँदो हस्तक्षेप स्वीकार्य हुन्न । दुईमध्ये कसैको मृत्यु भए अर्कोले पूर्णरूपेण स्वतन्त्र जीवन व्यतित गर्न पाउनुपर्छ । चाहे उसले पुनर्विवाह गरोस् या सधुवा जीवनको चालचलनमा रमाउन चाहोस्, त्यो उसको मौलिक हक हो । त्यसमा हस्तक्षेप गर्ने अधिकार कसैको हुन्न ।
कर्णकान्त : विवाह यस्तो होस्, जसमा जातीय समानता नहोस् अर्थात् अन्तर्जातीय विवाह उत्तम हो । जीवनका हर आँधीबेहरीमा साथ पाउँदामात्र त्यो जोडी उत्कृष्ट ठानिन्छ । झट्टै फैसला गर्ने कुरा हैन विवाह । जाँचविचार गरेरमात्र विवाह हुनुपर्छ । विवेक, बुद्धि र इन्द्रियजन्य सुख पाउन दुई हृृदय एक ठाउँ मिली सरितामा परिणत हुनुपर्छ । त्यो सरिता नै दुवैको मनको सरिता हो । कुशलतापूर्वक जीवन सञ्चालन गर्ने हो भने विवाह अनुपम प्रेम बन्छ । प्रेम गर्ने अनि त्याग्ने प्रवृत्तिबाट संसारमा कोही पनि सुखिरहन सक्तैन ।
लक्ष्मी : हुनत विवाह जीवनका लागि हो, जीवन विवाहका लागि हैन । सृष्टिको नियम चलिरहोस् भन्ने हो भने तपस्वी बनेर गुफा पस्नु पनि भएन, जीवनभरि कुमार–कुमारी भएर रहनु पनि भएन ।
कर्णकान्त : रूप एउटासँगभन्दा अर्कोसँग राम्रो, अँझ अर्कैसँग उत्तम हुन सक्छ । त्यस्तै धन, गुण, योग्यता, क्षमता, शील–स्वभाव, उच्च खान्दान पनि अरूसँग नै उत्तम हुन सक्छ । बजारको वस्तुजस्तो फेरबदल गर्न नसकिने भएकोले हामीले एकपटक विवाह गर्नुपर्छ तर त्यो विवाह रूप, धन, गुण, योग्यता, क्षमता, उच्च खान्दान, शील–स्वभावसँग हैन आत्मासँग गर्नुपर्छ । विवाह भइसकेपछि भने जे पाइयो, पाइयो त्यसैबाट सन्तुष्ट बन्न सक्नुपर्छ । अर्को कुरा, जुन पुरुषले आफ्नी स्त्रीलाई आफ्ना लागि श्रेष्ठ ठान्छ, जुन स्त्रीले आफ्ना पतिलाई आफ्ना लागि श्रेष्ठ ठान्छे, त्यो विवाहजस्तो उत्तम विवाह सायदै हुन्छ । त्यस्तो वैवाहिक सम्बन्ध चिरस्थायी हुन्छ । म त अँझ भन्ने गर्छु, जोसँग शारीरिक योग्यताका साथै उत्तम भावनात्मक योग्यता छ, उसैसँग विवाह गर्दा बेस हुन्छ ।
लक्ष्मी : ए बा–बा, सम्पूर्ण प्राणीमा यौनभोक हुन्छ नै । त्यसको तृप्ति भएन भने विकृति पैदा हुन सक्छ, यौनकुण्ठाले मान्छेको मन द्रविभूत हुन सक्छ ।
सृष्टि : राम्रोचाहिँ सबै मेरै भागमा परोस् भन्नु त ठीकै हो तर ठिक्क सेवन गर्दा नै उत्तम हुन्छ ।
अभित : म एक्लोले यो संसारको रथ हाँकिएको पनि छैन र मजस्ता पच्चीस प्रतिशत मान्छे अविवाहित बस्दैमा सृष्टिको नियममा कुनै फेरबदल पनि हुन्न ।
लक्ष्मी : हुन्छ, अवश्य फेरबदल हुन्छ । प्रकृतिको सृष्टिमा नभए पनि (सृष्टितर्फ नजर फ्याँक्दै) हाम्री सृष्टिको जीवनमा अवश्य फेरबदल हुन्छ । (हाँसो छाउँछ ।)
अभित : फेरि विश्वको जनसङ्ख्या पनि घट्नु छ नि !
लक्ष्मी : उसो भए औषधी, अस्पताल र डाक्टरहरू नहुँदै उचित भो, हैन ? (सबैमा हाँसो छाउँछ ।)
अभित : कुरो र कुलो जता लग्यो उतै जान्छ, म्याम तर वास्तविकताचाहिँ घामजूनझैँ छर्लङ्ग छ ।
सृष्टि : पुण्य सर ! मलाई उपाय बताइदिनुपर्यो । एउटा अनौठो खालको एन.जी.ओ.मा मैले जागिर पाएकी छु । त्यसका लागि मैले विवाहदर्ता प्रमाणपत्र पेस गर्नुछ । पहिले त ढाँटेर निवेदन दिएँ । परीक्षा भो । म उत्तीर्ण हुँदै गएँ । अहिले भने आपतमा परेँ । मैले त्यो जागिर नगरी भएकै छैन । अर्थोक सबै कुरा राम्रो छ ।
लक्ष्मी : म पनि विवाहित, पुण्य सर पनि विवाहित । अविवाहितले अविवाहितसँगै सल्लाह गर्नु बेस हुन्छ ।
सृष्टि : कुरो विवाहको हैन । विवाहदर्ता प्रमाणपत्रको हो ।
पुण्य : एक न एकदिन विवाह गर्नु नै छ भने आफूले राम्ररी खुट्टा टेकेपछि विवाह गर्नु उत्तम हुन्छ ।
सृष्टि : बेसकै कुरा गर्दा मसँग अर्को कुरो पनि छ ।
लक्ष्मी : के–कस्तो कुरो ?
सृष्टि : ममात्र एउटा सन्तान चाहन्छु, पति हैन । अहिलेचाहिँ विवाहदर्ता प्रमाणपत्र चाहन्छु, विवाहित जीवन हैन ।
लक्ष्मी : चिची पनि पापा पनि खोजेर कहाँ पाइन्छ त ?
पुण्य : पाइन्छ । यस धर्तीमा सबथोक पाइन्छ । सिर्फ आफूलाई जन्म दिने आमाबुबा पाउनु दुर्लभ हो ।
सृष्टि : (केही उत्साहित हुँदै) उसो भए उपाय बताउनुस् न त सर ।
पुण्य : हतार गर्नु हुन्न । हडबडको काम गडबड हुन्छ । पहिले अभित सरको मनको भावना बुझौँ अनि समाधान भनौँला ।
अभित : (खिन्न मनस्थितिमा) मैले अघि जे भनेँ, मेरो नीति र अडान त्यही हो । म आफ्नै मनले बाँच्न चाहन्छु । जोडिएको, गाँसिएको मन अस्वीकार्य छ मलाई ।
पुण्य : कसैको उत्तरोत्तर प्रगतिका लागि त्याग त गर्न सक्नुहुन्छ नि ?
अभित : मबाट संसारले लाभ लिन सक्छ । त्यस्तो लाभाङ्शमा अनिष्टकारी स्वार्थ भने लुकेको हुनु हुन्न ।
पुण्य : तपार्इं प्रकृतिको सृष्टि चलोस् भन्नुहुन्छ हैन ?
अभित : जरुर ।
पुण्य : उसो भए तपाईंसँग एउटा सन्तान हुनुपर्छ ।
अभित : विवाहविना सन्तान हुन्न । मलाई पत्नी अस्वीकार्य छ ।
पुण्य : तपाईंसँग एउटामात्र सन्तान हुन्छ, त्यो पनि तपाईं स्वयम्को रगत तर श्रीमती बिलकुलै हुन्न । अब त भो ?
लक्ष्मी : यो अर्को असम्भव कुरो !
सृष्टि : मन मिलेपछि असम्भव पनि सम्भव हुँदै जान्छ ।
(अभित र लक्ष्मी छक्क पर्छन् । पुण्य र सृष्टि मुखामुख गर्दै अभित र लक्ष्मीलाई हेर्छन् । केही क्षण सन्नाटा छाउँछ ।)
कर्णकान्त : कोही नबोलेको बेला बोल्ने मेरो काम हो । यसबेलाको मेरो बोलाइमा सबैको ध्यान गाडिन्छ । सुन्नुस्, म भन्दै छु– पति ठिक भए स्त्री ठिक हुन कर लाग्छ भने स्त्री ठिक भए पति पनि ठिक हुन बाध्य हुन्छ । को पिँजडा बनाउँदै छ र को जाल बुन्दै छ अनि किन ? पति र पत्नी दुवैले समयमै बुझ्नु आवश्यक हुन्छ । पति–पत्नीमा तिलको पहाड बनाउने सोच किमार्थ उचित हुन्न । सम्झौता नै जीवन हो । वैवाहिक जीवनमा त यो अँझ सक्रियताका साथ लागू हुन्छ । आमाबुबाले धनसम्पत्ति हेरेर विवाह गर्दिनु आफू स्वयम्लाई श्राप दिनु हो । शारीरिक सौन्दर्यलाई हेरेर विवाह गर्दा त्यो विवाहको मृत्य चाँडै हुन्छ किनकि शारीरिक सौन्दर्य जीवनभरि उस्तै रहन्न । शारीरिक सौन्दर्य ओइलाएझैँ वैवाहिक जीवन ओइलाउँछ । कुनै पनि मान्छेले आफ्नो स्तरभन्दामाथि विवाह गर्नु आफ्नो स्वतन्त्रतालाई बन्धक बनाउनु हो । मान्छेहरू प्रेममा सपना देख्छन् र अघोरै रमाउँछन् तर विवाहमा ब्यूँझन्छन् र पछुताउँछन् ।
पुण्य : कर्णकान्तजीको लामो कुरो पनि सुनियो । भन्नुस् त अभित सर, के म वकिल बोलाऊँ ?
अभित : (हैरान हुँदै) कुरो स्पष्ट नबुझीकन म के भनूँ र ? वकिलको प्रयोजन पनि ज्ञात हुनुपर्यो नि ।
लक्ष्मी : हाम्रो यो जमघटमा वकिलको के काम ?
पुण्य : विनाकाम कुनै पनि पेसेवर मान्छेलाई बोलाउनु हुन्न भन्ने कुरा मलाई पूरा हेक्का छ । कुरो स्पष्ट भएनछ । म स्पष्ट पार्दै छु । (उनी सृष्टितर्फ नजर घुमाउँछन् ।)
सृष्टि : पुण्य सर ! जसोभन्दा र गर्दा दुवै पक्षलाई उत्तम हुन्छ, त्यसै गर्नुहोला ।
अभित : भन्नुस् । मैले के–कस्तो त्याग देखाउनुपर्यो ?
पुण्य : तपाईं पुरुष हुनुहुन्छ, पति हुनु हुन्न । पति हुनुपर्यो र सृष्टिलाई विवाहदर्ता प्रमाणपत्र दिलाइदिनुपर्यो । तपाईंहरू दुवैको मन वैवाहिक जीवन बिताउने रहेनछ । यस कुराको सम्मान गर्दै म सल्लाह दिन्छु– दुवैसँग एकएक सन्तान हुनु जरुरी छ । अत: तपाईंहरू पाँच बर्से ‘करार–विवाह’ गर्नुस् ।
कर्णकान्त : गर्नुस्–गर्नुस् । ‘करार–विवाह’ गर्नुस् । पृथ्वीको गर्भका वस्तुको भाउ त्यति अनमोल छैन, जति नारीको प्रेमभित्र बन्द पुरुषको छ । सुखमय वैवाहिक जीवनको नयाँ प्रारम्भ हो । पुरुष हुन विवाहपूर्व पूरा आँखा खोल्नुपर्छ तर विवाहपछि आधा आँखा चिम्लिनुपर्छ ।
अभित : अँझ अरू केही छन्, त्यस्ता सर्तहरू ?
कर्णकान्त : वैवाहिक जीवनको कलिलो मुनालाई जोगाउन दुवैले बराबरी प्रयास गर्नै पर्छ । एकोहोरो रोटी पाक्दैन । पति पट्टी हो, उसले पत्नीको घाउ निको पार्नुपर्छ । पत्नी मलहम हो, उसले पतिको पीडा कम पार्नुपर्छ । जब विवाह हुन्छ, तब नयाँ जीवनको अध्याय सुरु हुन्छ । हृदयको स्वीकारोक्तिविना विवाह जीवनका लागि अभिशाप हो ।
पुण्य : कर्णकान्तजी, यो ‘करार–विवाह’ हो । मात्र पाँच वर्षका लागि औपचारिक पति–पत्नीको नाता कायम हुन्छ । यसलाई ध्यानमा राखेर केही कुरा भन्नुस् न ।
कर्णकान्त : भन्नै थाल्ने हो भने कुरा त कति आउँछन्–आउँछन् । ‘करार–विवाह’ को कुरो एकदमै मनासिब छ । समाजमा पनि पच्छ । नपचे पचाउनुपर्छ । पहिलो सन्तान अभित सरको हुनेछ । पाँच वर्षको अन्तरालमा जन्मने अर्को सन्तान सृष्टिको हुनेछ ।
पुण्य : कुरो त मेरै मनको भन्नुभयो । यसो गर्दा सृष्टि घाटामा पर्नुहुन्छ नि त !
कर्णकान्त : यसको क्षतिपूर्तिस्वरूप अभित सरले आर्थिक व्ययभार बहन गर्नुपर्छ ।
लक्ष्मी : लौ अभित सर, तपाईंको राय बुझौँ न त !
अभित : म सहमत छु ।
सृष्टि : (खुसी हुँदै) धन्यवाद ! धन्यवाद !! मेरो मनको अभिष्ट पूरा हुने भयो । अब म जागिरे हुने भएँ ।
पुण्य : उसो भए वकिल बोलाऊँ त ?
(सहमति स्वरूप अभित र सृष्टि दुवै टाउको हल्लाउँछन् । पुण्य फोन गर्छन् । केही क्षणमै वकिल लक्ष्मीकान्तको प्रवेश हुन्छ । ऊसँग पुण्यले सामान्य खासखुस गर्छन् । ऊ कागजपत्र तयार पार्छ र अभित तथा सृष्टि दुवैलाई सहीछाप गराउँछ । पुण्य र लक्ष्मीलाई साक्षीका रूपमा सही गराउँछ र एकएक प्रति दुवैलाई दिन्छ ।)
ल अबका पाँच वर्षका लागि तपाईंहरू दुवै पति–पत्नी । आआफ्नो पेसा र वैयक्तिक कारोबारमा एकअर्काको कुनै हस्तक्षेप हुने छैन । एकले अर्काको भावनामा खेलबाड गर्न सख्त मनाही छ । जे हुन्छ र जे गर्नुहुन्छ, दुवैको मन मिलेपछि गर्नुहुन्छ । बेमेल भएमा हामी साक्षी छौँ ।
लक्ष्मी : शुभकार्यमा किन विलम्ब !
(सबैजना उठ्छन् । अभितले सृष्टिलाई र सृष्टिले अभितलाई पूmलमाला पहिर्याउँछन् । दुवैले एकअर्कासँग हात मिलाउँछन् । अरूहरूले ताली बजाउँछन् । पर्दा बिस्तारै खस्दै जान्छ ।)
(०६६/०५/२७)
एकांकी ०३ - दर्द
पात्रहरू
मञ्जरी : अधबैँसे नारी, पतिले त्यागेकी, दुई सन्तानकी आमा, दु:खजिलो गरेर गुजारा चलाइरहेकी गृहिणी, आफ्ना दुई सन्तानको भविष्य उज्यालो बनाउने काममा कटिबद्ध ।
बबलध्वज : गाउँका एकजना सज्जन, आफ्नो सुखभन्दा अर्काको सुखमा आनन्द प्राप्त गर्ने स्वभाव, गाउँको हालखबर बुझ्दै हिँड्ने नि:स्वार्थी मान्छे, जसलाई कतिपयले नारदको संज्ञा पनि दिने गरेका छन् । उनलाई श्रीमतीले पनि अर्धपागल भनेर त्यागिदिएकी छिन् ।
प्रमोद : मञ्जरीको ८ बर्से छोरा ।
प्रमिला : मञ्जरीकी ११ वर्षकी छोरी ।
प्रकाश : बबलध्वजका छिमेकी र सहयोगी ।
स्थान : सामान्य भुइँतले घरको दलान र आँगन
(मञ्जरीको सपरिवार त्यहाँ बसाइँ सरेको छ महिनामात्र भएको छ । उनी त्यस नयाँ गाउँका सबै मानिसलाई चिन्दिनन् र उत्तिसाह्रो वास्ता पनि राख्दिनन् । लोग्नेले त्यागेकी आइमाई भनेर कसैकसैले कुरा काट्छन् । त्यस्ता घटनाबाट उनी त्रसित छिन् । प्रमोद र प्रमिला सामान्य भुइँतले घरको दलानमा पढिरहेका छन् भने उनीहरूकी आमा मञ्जरी आँगनको एक कुनामा गिटी कुटिरहेकी छिन् । नजिकै ठूल्ठूला ढुङ्गा थुपारिएका छन् । उनको पेसा नै गिट्टी कुट्ने हो भन्ने स्पष्ट हुन्छ । एउटै मञ्च दुई भागमा विभक्त छ ।)
मञ्जरी : (दलानमा पढिरहेका प्रमोद र प्रमिलातर्फ सङ्केत गर्दै) लौ छोराछोरीहरू, राम्ररी पढ है । जसले धेरै पढ्छ, उसले धेरै ज्ञान बटुल्छ । जसले धेरै ज्ञान बटुल्छ, उसले धेरै धन कमाउँछ । जसले धेरै धन कमाउँछ, उसैले सुख पाउँछ । सुख पाउने कि दु:ख पाउने ? यो कुरा तिमीहरूकै हातमा छ ।
प्रमोद : हुन्छ मामू, त्यसमा तपाईंले चिन्तै लिनु पर्दैन । पढ्दापढ्दा किताबै कण्ठ हुन लागिसक्यो ।
प्रमिला : म पनि पढिरहेकी छु । मैले दिएको पाठ त याद छ नि तपाईंलाई ? तपाईंले मलाई सन्तुष्ट बनाउनुपर्छ ।
मञ्जरी : हुन्छ बाबा, हुन्छ । म मेरी प्यारी छोरीका हर आज्ञा शिरोधार्य गर्न तयार छु ।
(सबै आ–आफ्नै काममा मग्न हुन्छन् । कामबाट आँखा हटाउने फुर्सद कसैलाई हुँदैन । त्यसैबेला मञ्जरी बबलध्वज र प्रमोद आउँछन् । मञ्जरी शिर उचालेर उनीहरूलाई पुलुक्क हेर्छिन् र आफ्नो काममा क्रियाशील भइरहन्छिन् । उनीहरूप्रति उत्ति साह्रो वास्ता राख्दिनन् ।)
बबलध्वज : हजुर मञ्जरीजी, घुम्दैफिर्दै यहाँ आइपुगियो । तपाईंको घर बाटैमा रहेछ । गाइँगुइँ केही कुरा सुनेको थिएँ । वास्तविकता बुझ्न मन लागिरहेछ ।
मञ्जरी : विनाभूमिका खुलस्तभन्दा हुन्छ । हुनत धेरै कुरा सुनेकी छु । अँझै सुन्नुपर्छ भने सुनुँला ।
बबलध्वज : आजसम्म त तपाईंको र मेरो बोलचाल नै भएको छैन । परको मरिचे माइलोले तपाईंका बारेमा एकाध कुरा भन्यो र वास्तविकता बुझ्न आएको हुँ ।
मञ्जरी : (आफ्नो लोग्ने नभएकोले आफूलाई जिस्काउन आएको शङ्का गर्छिन् र हेर्दै नहेरी अटेरी भएर) त्यति धेरै कुरा सुन्ने फुर्सद छैन मलाई । मैले जीवनमा धेरै सुनेँ । पहिलेको गाउँमा पनि सुन्नै नसक्ने कुरा सुनेँ र हार खाएर यहाँ आएँ । यहाँ पनि मनग्गे सुनिसकेँ । (झर्को मान्दै) कतिका कस्ता–कस्ता कुरा सुन्न जुरेको छ !
बबलध्वज : हैन, नराम्रो कुरो सुन्न र सुनाउन म आएको हैन ।
मञ्जरी : धेरै कुरा सुन्नु पनि छैन र बुझ्नु पनि छैन मलाई । मेरो संसार यही गिट्टी हो । गिट्टीको थुप्रो जति ठूलो भयो, त्यति नै राम्ररी म मेरा दुई सन्तानको हेरचाह गर्न सक्छु । बस्, मलाई यति नै थाहा छ ।
बबलध्वज : हजुर मञ्जरीजी, म यहाँ सुनाउन हैन सुन्न आएको हुँ । भन्नुस्, तपाईं कसरी यो हालतमा आइपुग्नुभो ? तपाईंका मुखराबिन्दबाट कुरा सुन्न पाए समस्याको निदानमा म पनि सहयोगी हुने थिएँ ।
मञ्जरी : भो–भो, मसँग यस्ता रसिला र मीठा कुरा नगर्नुस् । अब म कसैको गुलियोको लोभमा फस्दिनँ । जवानी थियो, मगमगाउँदो फूलको थुँगा थिएँ । त्यही बास्नामा लठ्ठ परेर एउटा भमरा बस्यो । मसँग रस छउन्जेल चुस्यो । रस सकिँदै गएपछि अन्यत्रै गयो । त्यस्तै भमराका रूपमा आउनुभएको हो भने चुपचाप यहाँबाट गइहाल्नुस् किनभने अहिले म फूलको ओइलिएकी थुँगा भएकी छु । मसँग न रस छ न मगमगाउँदो बास्ना नै .... ।
बबलध्वज : (मञ्जरीलाई बीचमै रोकेर) भो अब भो, मैले धेरै सुनेँ, मन अघायो । यहाँभन्दा बढी सुन्ने धैर्य मसँग छैन । म यतिखेर भ्रमको पात्र बनेछु । म कसैलाई भ्रममा राख्न चाहन्नँ । यतिखेर धेरै बोल्नुको अर्थ छैन । समय आएछ भने बोलौँला । अहिलेलाई यतिमात्र बुझिदिनुस्, म कुनै व्यक्तिगत स्वार्थ लिएर आएको हैन ।
(प्रमोद र प्रमिला आफ्नै धुनमा लेखपढ गरिरहेका हुन्छन् । प्रकाश छट्पटिन्छ ।)
प्रकाश : हैन, अब त जाऔँ । कुराको बिट मरेन ?
(मञ्जरी आफ्नै काममा व्यस्त हुन्छिन् ।)
बबलध्वज : (त्यहाँबाट प्रस्थान हुँदाहुँदै प्रकाशसँग) हिँड भाइ प्रकाश, यिनीसँग अहिले केही कुरा गर्नु हुन्न । यिनले अहिले भदौरे सप्तकोसीको रूप लिएकी छिन् । यिनले भनेका प्रत्येक शब्द वाण बनेर मेरो मुटु छियाछिया पारिरहेछ । म कसरी सहुँ ? मलाई त्यो बोली घाँटीसम्म आएको छ । एउटा पुरुषसँग उठेको रिस अर्को पुरुषमाथि खन्याउनु, के नारी धर्म हो ?
प्रकाश : (मञ्चबाट निस्किँदै) आखिरमा कुनै पुरुषले त उनीमाथि अत्याचार गरेकै रहेछ नि, हैन र ? (स्वीकारोक्तिस्वरूप बबलध्वज शिर हल्लाउँछन् र दुवै बाहिरिन्छन् ।)
प्रमोद : दिदी, आवाज निकालेर पढ्नुस् न । म सुनेर पनि धेरै कुरा जान्दछु र बुझ्दछु । हामीले हरेक कुरा नजानीकन हुन्न ।
प्रमिला : तिमी पढ न । म सुन्छु ।
प्रमोद : मेरो किताब त हजुरले पढिसक्नुभएको छ ।
प्रमिला : मेरो किताब पढ्ने तिम्रो बेला भएको छैन ।
प्रमोद : किताब पढ्न, कुरा बुझ्न र ज्ञान बटुल्न पनि समय पर्खनुपर्छ र ?
प्रमिला : अर्काको किताब पढ्नाले पास भइन्न क्या ।
प्रमोद : के पढ्नुको अर्थ पास हुनुमात्र हो ?
प्रमिला : प्रश्नमाथि प्रश्नका खात लगाइरहेका छौ तिमी । म तिम्रा हरेक प्रश्नको जवाफ दिऊँ कि आफ्नो गृहकार्य पनि तयार गरूँ ? विजय आखिरमा तिम्रै भयो ।
प्रमोद : सधैँ सत्यको जित हुन्छ । म सत्यको पक्षमा थिएँ । आखिरमा सत्यवादी पाण्डवकै जित भएको थियो महाभारतमा । कौरव पक्ष युगौँयुगदेखि हारिरहेछन् । (हाँस्दै, ठट्यौलो पारामा एक्लै एकपक्षीय नारा लगाउँछ ।) यो जित कसको ? प्रमोदको । यो हार कसको ? किताब नपढ्नेको ।
प्रमिला : भो–भो नारा नलगाऊ । नारा भए पनि तिम्रै जित, नभए पनि तिम्रै जित । अब त भयो ? आवश्यकताभन्दा बढी जो बोल्छ, त्यो हार्छ । ठिक्क खटाएर बोल्ने मान्छे विजयी हुन्छ । जीवनमा सधैँ विजयी हुने कुरा सोच्नुपर्छ र प्रयास गर्नुपर्छ ।
मञ्जरी : बाबुहरू ! कुराकानीचाहिँ बढी भएजस्तो छ है । अब एकैछिन पढ अनि खाना खानुपर्छ ।
प्रमोद : शुभकार्यमा किन विलम्ब ? अब ठिक पार्दा भइगयो नि ?
मञ्जरी : ल, भइगो त । आओ । (प्रमोद जान्छ तर प्रमिला जान्न ।) नानी छोरी, किन नआएकी ? आऊ चाँडो । भान्साको काम सकौँ ।
प्रमिला : मेरो सर्त पूरा भयो कि भएन ? म हजुरलाई खुसी पार्न खोज्छु । हजुरले मलाई खुसी पार्नुपर्छ । म त्यसबेला खुसी हुन्छु, जब मैले दिएको गृहकार्य लेखेर र घोकेर मलाई देखाउने र सुनाउने गर्नुहुन्छ । हिजो बेलुकी दिएको गृहकार्य मलाई चाहियो अनिमात्र म खाना खान्छु नत्र रिसाएर बस्छु ।
मञ्जरी : नानी, त्यसो नभन न । पहिले खाना खाऊ । त्यसपछि मेरो गृहकार्य हेरौली । ज्ञानी मान्छेले धेरै जिद्दी गर्दैनन् त ।
प्रमिला : ठीकै छ । खाना खाएरै हेर्छु र सुन्छु । मामूले भनेको पनि मान्नै पर्यो ।
(दुवैजना खाना खान थाल्छन् । मञ्जरी पनि खाना खान थाल्छिन् ।)
प्रमोद : आजको खानेकुरा निकै स्वादिलो रहेछ ।
प्रमिला : अरू दिन पनि स्वादिलै हुन्थ्यो त ? आजमात्र किन भन्यौ ?
प्रमोद : खै मलाई थाहा छैन । अरू दिन यति स्वादिलो भएको थाहा छैन ।
मञ्जरी : यसको कारण परिश्रम हो । आज बिहान सबेरै उठेर तिमीहरूले नुहायौ । त्यसपछि कसरत गर्यौ । अहिले तिमीहरू मानसिक श्रम गरिरहेका छौ । यसले गर्दा शरीरका सम्पूर्ण अङ्गप्रत्यङ्ग चलायमान भए । तिमीहरूका बौद्धिक र शारीरिक कसरत भए तसर्थ आज शरीर फुर्ती भएको महसुस गर्दै छौ होला, हैन ?
प्रमोद : निश्चय नै मामू ! तपाईंले भनेजस्तै भएको छ । अब मलाई आज जस्तै गरी सधैँ चाँडै उठाइदिनुहोला । सूर्योदयपूर्व नै म आफ्नो काम सकिसक्छु । दिनदिनै थोरै समय दिँदा बौद्धिक र शारीरिक पक्ष सबल हुन्छ र सुदृढ हुन्छ भने यस्ता कुरामा किन आनाकानी ?
प्रमिला : भाइसँग म पनि सरिक हुन्छु ।
मञ्जरी : (खुसी हुँदै) राम्रो सोच मनमा ल्यायौ । म अति नै प्रसन्न छु आज । तिमीहरू हाँसीखुसीरहनु मेरो सौभाग्य हो । उत्पादनमुखी शारीरिक र मानसिक कसरतले व्यक्ति-व्यक्तिमा परिवर्तन ल्याउँछ र पूरै समुदायलाई सपार्छ भन्ने कुराको पुष्टि भइसकेको छ ।
प्रमोद : हो मामू ! बबलध्वज अङ्कलले पनि यी र यस्ता कुरा धेरै अघि भन्नुभएको थियो ।
प्रमिला : स्कुलमा कुनै सर अनुपस्थित भएका बेला उहाँ आफैँ आउनुहुन्छ । हाम्रो हेडसरले उहाँलाई नै कक्षा लिन आग्रह गर्नुहुन्छ । उहाँ सारै राम्रा कुरा सुनाउनुहुन्छ । उहाँले भनेका धेरै कुरामध्ये एउटा कुरा सुन्नुहुन्छ मामू ?
(बबलध्वजको नाम सुन्नासाथ मञ्जरी तीनछक्क पर्छिन् । उति वास्ता नगरे जस्तो गर्छिन् तर मनमा भने जिज्ञासा उब्जिरहन्छ ।)
प्रमोद : (हतारिँदै) भन्नुस् न दिदी, हामीलाई त जहिले पनि सकारात्मक चिन्तनका साथ शारीरिक र मानसिक कसरत गर्नू स्मरण शक्ति बढ्छ, अन्य कैयौँ लाभ मिल्छ, कहिल्यै रोगले समात्दैन भन्नुहुन्छ । तपाईंहरूलाई चाहिँ केके भन्नुहुन्छ, दिदी ?
प्रमिला : सुन, हाम्रो अहिलेको शिक्षाले बुद्धि कम र महत्त्वाकाङ्क्षा बढी सिकाउँछ रे । आजकल पढेका मान्छे बढी महत्त्वाकाङ्क्षी हुनु यसको प्रमाण हो रे । एउटा विद्यार्थीले हिँड्डुल गर्दा सामान्य ठक्कर लगाएछ र माफ मागेछ । अर्काले भने माफ नै दिएनछ र उल्टै त्यसलाई पर्खालमा ठोक्काएर रगतपच्छे पारेछ । यस प्रसङ्गमा उहाँले भन्नुभयो– एकपटक बुद्धले शिक्षादीक्षा प्राप्त गरिसकेका एक शिष्यलाई आफूले प्राप्त गरेको ज्ञानको प्रचार गर्न लगाउनुभएछ । शिष्य भारतको विहार राज्यको एक दुर्गम गाउँमा ज्ञानको प्रचार गर्न जान तयार भएछ । यो देखेर बुद्धले जाँच लिनका निम्ति भन्नुभएछ– त्यहाँका मान्छे खराब छन् । तिमीलाई गाली गर्न सक्छन् । उनले उत्तर दिएछन्– त्यहाँका मान्छे कति जातिरहेछन् केवल गाली गर्दा रहेछन् । कुटपिट पनि गर्न सक्थे । बुद्धले अगाडि भन्नुभएछ– उनीहरूले तिमीलाई कुटपिट पनि गर्न सक्छन् । त्यसबेला के हुन्छ ? उनले सहज भावमा जवाफ दिएछन्– मेरो मनमा यही भावना आउँछ कि त्यहाँका मानिस कति असल रहेछन् केवल कुटपिट गर्दा रहेछन्, मार्न पनि सक्थे तर त्यसो गर्दा रहेनछन् । बुद्धले मौका छोप्दै भन्नुभएछ– उनीहरूले तिमीलाई मार्न पनि सक्छन्, मर्ने बेलामा चाहिँ के सोच्छौ ? उनको जवाफ थियो– हजुरबाट प्राप्त ज्ञान प्रेमको नजरले संसारलाई हेर भन्ने हो, यो कुरा महसुस गर्र्दै म कथंकदाचित् बाँचेको भए मबाट कतै भुल हुन सक्थ्यो, त्यस्तो भुल हुन र गर्नबाट म जोगिएँ । मेरो नजर प्रेमको भावनाले भरिएकोले म सर्वत्र प्रेमकै नजरले हेर्छु, मर्नै पर्यो भने पनि मर्ने बेलामा भुल गर्नबाट बचेँ भनेर सोच्छु । हामी यस्तो लचिलो बन्न त नसकौँला तर कोही प्रायश्चितले जलेको छ र गलेको छ भने क्षमाशील बन्न सक्छौँ ।
प्रमोद : अर्थोक पनि भन्नुस् न दिदी ।
प्रमिला : अरू थुप्रै कुरा छन् । भनेर साध्य छैन । मात्र सङ्केत गर्न सक्छु । सुन, हामीले जानेको ज्ञान र सीप आफूमा मात्र सीमित राख्नु हुन्न । यसले लोककल्याणको बाटो पक्रिनुपर्छ । जब हाम्रो ज्ञानले समाजलाई उज्यालोपन दिन सक्तैन, तब त्यस खाले ज्ञानको खाँचो यस युगलाई छैन । मुक्ति सङ्ग्राममा हामी लामबद्ध हुन सके शोषितपीडित भएर कसैले रहन पर्दैन रे । श्रमको उचित मूल्याङ्कन जहाँ हुन्न, जहाँको उत्पादन लोककल्याणको साटो विनाशकारी हुन्छ, त्यहाँ श्रम दिनु ठूलो भुल हुन्छ । जसरी भए पनि आफ्नो श्रमले लोकको कल्याण गर्नुपर्छ ।
मञ्जरी : (मनमनै सम्झेर) यी बबलध्वज भन्ने मान्छे त साह्रै असल पो रहेछन् ! बित्थामा चाहिँदो नचाहिँदो कुरा भनेँ । चित्त दुखाए होलान् । मेरै हितका कुरा पो गरेका रहेछन् । मैले कुरै सुन्न चाहिनँ । कसका कुरा सुन्नु ? कति आइमाईले भनिसके मलाई– ’बबलध्वजकी पत्नी छैन, तिम्रो लोग्ने छैन । ठ्याक्कै जोडा मिलेको छ, विवाह गर ।’ मलाई मन नपरेको कुरा यही थियो । केवल अरूसँग उठेको रिस बबलध्वजमाथि खन्याएर भुल गरेँ ।
प्रमिला : (मामू झोक्राएको देखेर चकित हुँदै) मामू ! किन झोक्राउनुभएको ? मैले अन्यथा भने र ?
मञ्जरी : हैन–हैन । तिमीले त्यस्तो केही नराम्रो भनेकी छैनौ । जे सुन्यौ, जे बुझ्यौ; ठिक बुझ्यौ । मेरो चित्त बुझ्यो ।
प्रमिला : तर मेरोचाहिँ बुझेको छैन ।
मञ्जरी : किन ?
प्रमिला : मैले गृहकार्य हेर्न पाइनँ नि ।
मञ्जरी : ए ! पढाउन त पढाए नानी तर लेख्न हातै चल्दैन । कामले फुर्सद पनि पाउँदिनँ । अहिले यो उमेरमा मरिहत्ते गर्दा पनि नहुँदो रहेछ । उतिखेरको कहिरन अर्कै छ ।
प्रमिला : कस्तो कहिरन मामू ?
मञ्जरी : तिम्रो यो बानी मलाई असाध्य मन पर्यो । यसरी जुनसुकै कुराको जरोसम्म पुग्ने बानी राम्रो हो । हेर नानू, तिम्रो यो र मेरो त्यो उमेर, संस्कार एवं चालचलनका बीच आकाश पातालको फरक छ । हामी त्यतिखेर जरुर पढ्थ्यौँ तर तिमीहरूको जस्तो कापीकिताब लिएर हैन । तिमीहरूको जस्तो स्कुल धाएर हैन । घरमा नै सबै कुरा पढ्नुपर्थ्यो । आमा हजुरआमाहरूले सिकाउनुहुन्थ्यो । पढ्ने कुरा यिनै हुन्– (वस्तुलाई देखाउँदै) कुचो, मस्को र पोतो । अरू पनि भन्नुपर्दा खुर्पी, हँसिया, कुटो, कोदालो आदि । अहिले तिमीहरूका लागि किताब, कापी, कलम भएजस्तै यिनै वस्तु औजार हुन्थे हाम्रा लागि । बिहान कुखुरो बासेदेखि रातको एघारबाह्र बजेसम्म काममा जोतिनुपर्थ्यो र पो अहिले चार गाँस खाने एक धरो लगाउने र यही भए पनि मुन्टो लुकाउने झुपडी जोडेका छौँ । धन्दा नमान, तिमीहरूले हामीले जस्तो बिजोग खेप्नु पर्दैन । तिमीहरूलाई राम्ररी हातखुट्टा नलगाई म मर्दिनँ ।
(आँखाभरि आँसु बनाउँछिन् । मामूको अवस्थाले प्रमिला पनि दु:खित हुन्छिन् र गहभरि आँसु पार्छिन् ।)
प्रमोद : मामू ! तपाईं दिदीसँगमात्र कुरा गर्नुहुन्छ ? मसँग पनि गर्नुस् न । दिदी जति त म पनि बुझिहाल्छु नि ।
मञ्जरी : तिमी पनि बुझ्छौ छोरा, म तिमीसँग पनि कुरा गर्छु । फरक यति हो कि म तिमीसँग जीवनभर कुरा गरिरहन्छु, दिदीसँग गर्न पाउँछु कि पाउँदिनँ ! भन्न गाह्रो हुन्छ । यस कुरूप समाजले दिदीलाई ठगेको छ बा । उनी त आज यहाँ छिन्, भोलि कहाँ पुग्छिन्, कसलाई के थाहा ? जोई बन्ने मान्छेले पोइको खटनमा चल्नुपर्छ । सासू–ससुराको बुहार्तन खप्नुपर्छ । तिमीलाई के थाहा ?
प्रमोद : अहँ मामू, दिदी जहाँ जानुहुन्छ, म पनि त्यहीँ जान्छु । म त दिदीलाई छाड्दै छाड्दिनँ । दिदीसँग भएँ भने कसैले हेप्न पनि पाउँदैन । कसैको पिटाइ पनि खानु पर्दैन । दिदी स्कुल गए म पनि जान्छु, दिदी क्याम्पस गए म पनिसँगै हुन्छु । म त सधैँ दिदीसँगै हुन्छु ।
मञ्जरी : (मञ्जरी मुस्कुराउँदै) हुन्छौ, खुब हुन्छौ होला नि ! दिदीभिनाजुसँग हुँदा पनि साथमै हुन्छौ त ?
प्रमोद : जुनसुकै हालतमा पनि म दिदीसँगै हुन्छु ।
मञ्जरी : (मञ्जरी हाँस्दै) स्याबास् छोरा, स्याबास् ।
(सबैजना हाँस्छन् । पर्दा बिस्तारै खस्दै जान्छ ।)
(०६६/०५/२९)
एकांकी ०४ - आधा मेरोः आधा तिम्रो
लक्ष्मी: एक अधबैँसे युवती
नरनाथ: एक अधबैँसे युवक
रञ्जना: एक ठिटी
पुष्पकमल: एक बालक
नेपथ्यमा रहने अन्य केही पात्रहरू
(बिहान दस बजेतिरको समय छ । घरको सिकुवामा एक अधबैँसे युवती काम गरिरहेकी छिन् । एक ठिटी पढलेख गरिरहेकी छिन् । एक बालक खेलिरहेको छ । त्यसैबेला नरनाथलगायतका केही पुरुषहरूको आवाज आउँछ । नरनाथ भने सिकुवातिर उक्लिन्छन् । अरू पुरुषहरू बाटोबाटै अन्यत्र लाग्दछन् ।)
नरनाथ:- (झोला राख्दै र लक्ष्मीतर्फ ध्यान केन्द्रित गर्दै) आउँदाआउँदै ढिलो भइगो, साथीहरूले घेरी हाले ।
रञ्जना:- (मामा नरनाथतर्फ फर्केर) हिजो तपाईंले बिहान सबेरै खाना तयार पार्नु भन्नुभएको थियो नि । माइजूले हतारहतारमा खाना तयार गर्नुभएको छ । खाना खान बस्नुभए हुन्थ्यो ।
नरनाथ:- हुन्छ, हुन्छ भाञ्जी, तिमी चाहिँ खाना खाइहाल र फटाफट स्कुल गइहाल ।
रञ्जना:- (मुस्कुराउँदै) हुन्छ, हुन्छ मामा, म कपाकप भात खान्छु र फटाफट स्कुल जान्छु ।
नरनाथ:- (हाँस्दै) अनि स्कुल पुगेर थ्याच्च बेञ्चमा बस्नु तर साथीलाई प्याच्च केही पनि नभन्नु नि । (ऊ हाँस्दै झोला लिएर स्कुलतर्फ हिँड्छे ।)
लक्ष्मी:- (छोरातर्फ हेर्दै) जाऊ नानी, बाबालाई खाना खान बस्नुस् भन ।
नरनाथ:- छोरो बाबालाई बोलाउन सक्ने भा'को छैन । आमा, छोराले खाना खाए भयो । मैले साथीहरूसँगै होटलमा खाएँ । मलाई पर्खनु परेन ।
लक्ष्मी:- आमा, नाम मात्रकी आमाले के गर्न सक्छे र ? फेरि तपाईंको संविधानमा छोरो आमाको पनि हुन्छ र ?
नरनाथ:- नानाथरीको अड्को थापेर कुरो नलम्ब्याऊ है । भेटिएका साथीहरूसँग एक क्षण गफिँदा के अनिष्ट भो त ? ढिलो भए पनि बरालिएको त हैन नि ।
लक्ष्मी:- (केही रिसाउँदै) मेरा इच्छा आकाङ्क्षालाई बुझिदिनुस् भनेर निवेदन गर्दा मेरो के गल्ती भो ? छोरालाई हर्लिक्स ल्याइदिनुस्भन्दा मेरो के अपराध भो ? चाहिँदा काम कुरा चाहिँ एक कानले सुनेर अर्को कानले उडाउँने र नचाहिँदा काम कुरामा चाहिँ सामलखाजा लिएर लागि पर्ने श्रीमान्लाई श्रीमतीले केही भन्न नपाउने ?
नरनाथ:- रिसाए कसको अनुहार अँध्यारो हुन्छ र ?
लक्ष्मी:- उज्यालो अनुहार लगाउन त तपाईँले कहिले दिनुभएको छ र ?
नरनाथ:- जहिले पनि 'के निउँ पाऊँ कनिका बुक्याऊँ' जस्तो नगर न । श्रीमान्सँग जोरी खोज्नुहुन्न क्या ।
लक्ष्मी:- (अँझ रिसाउँदै) म तपाईंकी को हुँ र, तपाईंसँग जोरी खोज्नु । सानो प्रस्ताव के राखेकी थिएँ, मलाई त परपरै राख्नु भो है ।
नरनाथ:- तिम्रो नचाहिँदो प्रस्ताव स्वीकार्नुपर्छ भनेर कहाँ लेखेको छ र ? गनगन गर्ने यी आइमाईहरूको बानी नै खराब । चाहिँदो कुरामा त ठीकै छ । नचाहिँदो काम कुरामा पनि बडो गनगन । कहिलेकाहीँ यिनेरूले श्रीमान्को कोर्रा त खानैपर्ने हो ।
लक्ष्मी:- (क्रोधी भएर) तपाईं र तपाईंको समाजकै बानी राम्रो । नारीलाई पैतालामुनिको धूलो सम्झने तपाईंकै समाजको परिपाटी राम्रो । समाजको कुसंस्कारी रीतिथितिलाई मलजल दिने तपाईंकै चालामाला नै असल । समय जति छिप्पिए पनि नारीलाई हेर्ने तपाईंका दरिद्र आँखा नै असल । अनेकन् परिवर्तनका बाबजुत पनि तपाईंको पुरातनवादी सामन्ती सोच नै सर्वत्र जाति नै जाति ।
नरनाथ:- (क्रोधी हुँदै) ऐ तँ निकै बाठी हुँदै छेस् । तँ हरतरहले लक्ष्मण रेखा नाघ्दै छेस् । तैँले उत्पात मच्चाउन मिल्दैन । मेरा लागि तँ को र के होस् भन्ने बुझेकी छेस् ? तँ त मेरा लागि तेरा बाउआमाले दान दिएकी मान्छे मात्र होस् । दानमा पाएको कुरो त्यत्ति अमूल्य र अनमोल हुन्न । के घुर्की लगाउँछेस् ?
लक्ष्मी:- (क्रोधी अवस्थामा नै रहेर) ए तिमी रातभरि अलप भएर बिहानभरि बरालिएर रहँदा उत्पात भएन ? मैले सुसेधन्दामा अलमलिएर यो चार दिवालभित्र नै थुनिएर बस्दा पनि उत्पात भयो । बदलिँदो समयअनुरूप चलौँभन्दा घोर आपत्ति भो ? तिम्रो यही स्वभावले त म जलिरहेकी छु, गलिरहेकी छु र पाकिरहेकी छु । तिमी अहङ्कारी पुरुषको पैतालाको धूलो बनी जीवन गुजारा गरिरहेकी छु । हेर, अब तिम्रो धम्कीले डराउने जमाना गए । तिम्रो अभावमा मेरा हातगोडा कुँजा हुन्छन् भनेको होला । बरु तिमी पो भ्रममा छौ । यस्तो कदापि नसोच । मेरो साथमा मेरो छोरो छ, छोरो । मसँग के छैन र म तिमीलाई बाउआमाले दिएको दान भइरहने ? अब यस कुराको छिनोफानो हुनुपर्छ । के मलाई तिमीले कोठामा सजाएर राखेका छौ ? दिनभर काम गर्नैपर्छ । काम गरेपछि माम जहाँ पनि पाइन्छ । (छोरातर्फ नजर लगाउँदै) म यसकी आमा हुँ । मेरो थर यसले पाउनुपर्छ । यस बारेमा मैले तिमीलाई पटकपटक भनिसकेकी छु । आज त्यसको छिनोफानो हुनुपर्छ ।
नरनाथ:- (र्झकंदै) बडो बहस गर्छेस् । तैँल्ो त तेरो बाउको थर पाउँदिनस् भने तैँले जन्माएको यो छोराले कसरी तेरो बाउको थर पाउँछ ? तँलाई तेरो बाउको वंश चलाउने इच्छा रहेछ । तेरो त्यो चाहना पूरा गर्ने ठेक्का मैले लिएको छैन । जा, पहिले तेरो बाउसँग बहस गर अनि मात्र मकहाँ बहस गर्न आइज । अर्को कुरा कान खोलेर सुन- यस घरको र तेरो मालिक म हुँ म । तँ त खोजेर ल्याएकी न होस् । मुखमा ताल्चा लगाएर बस्, बस्नु नै छ भने । हैन यसो गर्न सक्दिनस् भने तँ आफ्नो बाटो आफैँ बना । मनपरी भन्ने र मनपरी गर्ने नै हो भने तेरो आकाश खुल्ला छ । म तेरो आकाशलाई बादल बनेर छेक्दिन । मैले तेरो लागि गर्नसक्ने यत्ति नै हो ।
लक्ष्मी:- (च्याठ्ठिँदै) भो, तिमी नै बस, यस घरमा, नारीलाई पाल्तु कुकुर सम्झने यस मसानघाटमा । जहाँ नारीको नामै रहँदैन त्यहाँ मैले कसरी बस्ने ? (जोसिँदै) म तिम्रो गुलाम हुँ र ? के म तिम्रो खेलौना हुँ ? खेलाउन मन लागुञ्जेल खेलायौ खेलाउन मन नलागेपछि तिरस्कारको चरमोत्कर्षमा पुग्यौ हैन ? मैले तिम्रो के खाएकी छु र ? यहाँ तिमीले मलाई के दिएका छौ ? (रिसको उत्कर्षमा पुग्दै) एक चिम्टी सिन्दूर र एक लुङ पोते दिएँ भन्दैमा मलाई जता मन लाग्यो उत्तै फर्काउँछौ ? तिमीले जति सताए पनि म सहेर बसुँ ? अहँ, अबदेखि मबाट त्यस्तो काम हुन्न । म न तिम्रो मनोरञ्जनको साधन हुँ न सन्तान जन्माउने मेसिन ।
नरनाथ:- होसमा आएर कुरा गर् । तँ पूरै स्वतन्त्र छु भन्ठान्ने नगर ।
लक्ष्मी:- म पुरापुरी होसमा छु । तिमी चाहिँ यस धर्तीमा स्वतन्त्र म चाहिँ परतन्त्र ? तिमीले फेर्ने श्वास र मैले फेर्ने श्वासमा के भिन्नता छ ? तिमीले खाने गाँसमा र मैले खाने गाँसमा के भिन्नता छ ? हेर, मात्र तिम्रो स्वार्थ पूरा गर्न म मेरो अन्तस्करणको आवाजलाई तिलाञ्जली दिन सक्दिन । (छोरातिर हेर्दै) यसलाई तिम्रो समाजले तिम्रो छोरो मान्छ तर यो मेरो हो । मुखले तेरो पनि हो भनेर हुँदैन । उधारो सम्झौता गर्ने र नारीलाई सङ्कुचित घेरामा दास बनाएर राख्ने दिन गए । यसको नामसँग तिम्रो मात्र हैन मेरो पनि नाम गाँसिनुपर्छ । एक जिम्मेवार आमा भएर मैले यत्ति चाहेँ त के बिराएँ ? (एकक्षण सन्नाटा छाउँछ ।) तिमीले कुरो बुझ्यौ ? यसको नामसँग तिम्रो मात्र हैन मेरो पनि नाम गाँसिनुपर्छ । यतिखेर एक आमा बोलिरहेकी छे । प्रसवपीडाले आक्रान्त भएकी आमा वात्सल्यप्रेमको साँचो मूल्य खोजिरहेकी छे ।
नरनाथ:- समाजमा नभा'को कुरो नगर है ।
लक्ष्मी:- ए तिमीलाई मेरो नाम, मेरो हक दिन डर लाग्यो हैन ? विवाह बन्धनमा बाँध्ने तिम्रो समाजलाई भन्न सक्दैनौ ? म मेसिन हैन, मान्छे हुँ मान्छे । मान्छेले मान्छेको हक खोज्छ । चाहे त्यो पतिले हरण गरेको होस् या अरूहरूले । (अलिक सहज भएर) हेर, दाम्पत्य जीवन सुखमय बनाउन साहसले पुगेन भने दुस्साहसको पनि खाँचो पर्छ । मलाई तिम्रै पत्नीको रूपमा हेर्न चाहन्छौ भने यस पुरातनवादी समाजले धर्मको नाममा, संस्कृतिको नाममा अनि परम्पराको नाममा लादेको यो नियम बाहिर आऊ । बाटाका हरेक तगाराहरू तोड्दै र फोड्दै आऊ । म तिम्रै साथमा रहनेछु । यस समाजले हाम्रासामु घुँडा टेक्नुपर्छ । यसो भएमा मात्र यो एक्काइसौँ शताब्दीको समाज कहलिन्छ ।
नरनाथ:- (शिर निहुर्याउँदै र घोरिँदै) हेर्, यो समाज मलाई पनि चाहिन्छ, तँलाई पनि चाहिन्छ ।
लक्ष्मी:- चाहिन्छ, चाहिन्छ सबथोक चाहिन्छ । मलाई तिमी चाहिन्छौ, तिमीलाई म चाहिन्छु । यो मलाई पनि थाहा छ । भन, तिमी यस नारीको श्रीमान् बन्न रुचाउँछौ या रुचाउँदैनौ ? तिमीलाई पनि थाहै होला । विज्ञान भन्छ- यो सन्तानको प्रत्येक अङ्गप्रत्यङ्ग मेरो रगतले बनेको छ । मेरो प्रसवपीडाले त भनिरहेछ- मेरो देन कैयौँ गुण ठूलो छ । तिम्रो देन त बालुवाको कणसरह छ । यो कुरा तिमीले कहिल्यै सम्झेका छौ ? विचार गर, अरू सोच । बच्चा जन्माउन लोग्ने नै हुनुपर्छ भन्ने छैन । एकै क्षण लोग्नेमान्छे भइदिए काफी हुन्छ । तिमीलाई थाहा छ ? तिम्रो बाबु यही हो भनेर चिनाउने काम आमाले गर्छे, आमाले । त्यसैले आमा सन्तानको लागि सत्य पात्र हो । बाबु त आमाको विश्वास पात्र मात्र हो । त्यसैले तिमी राजी हुन्छौ त ठिक छ । समानताको अंशियारमा सहभागी बन । म लक्ष्मी रिजाल, तिमी नरनाथ आचार्य । आधा मेरो आधा तिम्रो थर मिलाऔँ । हाम्रो छोराको पूर्ण नाम भयो- पुष्पकमल रिचार्य ।
नरनाथ:- (छक्क पर्दै) लक्ष्मी, तैँले यो के भनेकी ? मलाई पनि बोल्न दे न । हाम्रो परम्परालाई नतोड् । तेरो प्रस्तावलाई मैले स्वीकारेँ भने यो समाजले तीखा भाला लिएर मलाई घेर्नेछ । त्यस बेला म के उत्तर दिऊँ ? तेरो यो गुलियो भाषणले उनीहरू टेर्नेवाला छैनन् ।
लक्ष्मी:- टेर्छन्, अवश्य टेर्छन् । हेर, यो समाज कुसंस्कारीको मात्र हैन । यो समाज अग्रगमन चाहने हरेक नर र नारीको पनि हो । नौलो कुरो सुरुमा अपाच्य हुन्छ । बिस्तारै पाच्य बन्दै जान्छ । यस कुराको उद्घाटन तिमी र मबाट गरौँ । सारा समाजको घोचो उठ्ला तर आफैँ लत्रेर पनि जान्छ किनभने यो समाजमा महिला अघि र पुरुष पछि हुनुपर्ने हो । महिलालाई चिनाउन पुरुष अनिवार्य छैन तर पुरुषलाई जन्माउन महिला अनिवार्य छे । (नरनाथको हात समाउँदै) आऊ, तिमी र म सँगसँगै नौलो धर्ती टेकौँ । हामीलाई साथ दिने धेरै छन्् । हुनु नै पर्छ । अब त होस्मा आऊ । आऊ छोराको हात समाऊ । यो आधा तिम्रो : आधा मेरो हो । (दुवैले छोराको हात समाउँछन् र मुस्कुराउँदै कोठाभित्र छिर्छन् । पर्दा खस्छ ।)
एकांकी ०५ - जस्तो मति उस्तै गति
प्रभु : पति
प्रभा : प्रभुकी पत्नी
प्रमोद : प्रभा र प्रभुको छोरो
प्रमिला : प्रभा र प्रभुकी छोरी
प्रकाश : प्रभा र प्रभुको छिमेकी
प्रणिता : प्रकाशकी पत्नी
प्रपन्नाचार्य : गाउँका जान्नेबुझ्ने मानिस
प्रकृति : प्रपन्नाचार्यकी पत्नी
अन्य : मञ्चमा भौतिक उपस्थिति देखाउने तर अमुक व्यक्तिहरू
स्थान : पीपलको चौतारी
समय : दिनको नौ बजे
(हातमा घण्टी लिएको, निधारमा चन्दन घसेको, गेरुवस्त्र धारण गरेको प्रभु चौतारीमा बसेको छ । नजिकै कमण्डलु छ । छेउमै तुल टाँगिएको छ जसमा लेखिएको छ, पत्नी पीडित महासङ्घको दोबाटे कार्यालय)
पत्नी पीडितहरू — एक हौँ
पीडाको कहिरन — लेखौँ/लेखाऔँ
पीडाको पोखरी — ठूलो पारौँ ।
प्रभु : (माइक्रोफोनमा बोलेको जस्तो गरेर) हेलो, हेलो, हेलो । आउने जति आउनुस् । जाने जति जानुस् । जोजो जानुहुन्छ, जानुस् तर पीडा बोकेर फेरि आउनुस् । पीडा अरूले दिएको हुनु हुन्नm मात्र पत्नीले दिएको हुनुपर्छ । आजकी एक्काइसौँ शताब्दीकी पत्नीले दिएको पीडा हुनुपर्छ । पेट नभरिउन्जेल पीडा खानुस् । भरिएपछि यहाँ आउनुस् । पीडा जति यहीँ खन्याउनुस् । रित्तो पेट पार्नुस् । यो पत्नी पीडित पतिहरूको पीडा जम्मा हुने पोखरी हो । (यतिभन्दा नभन्दै त्यहाँ मान्छेहरू जम्मा हुन्छन् ।)
प्रकाश : (नमस्कार गर्दै) प्रभु, पीडाको पोखरीमा के फुल्छ ? के कमल फुल्छ ?
प्रभु : (नमस्कार फर्काउँदै) हैन–हैन । कमल फुल्दैन । यहाँ फुलेकी कमली अन्त्य भएको इतिहास छ । हुर्केकी मखमली ओइलाएको प्रमाण छ । तिनै मखमलीहरू बाइसौँ शताब्दीमा पनि पतिहरूलाई पीडा दिन सक्षम हुन्छन् । तिनीहरू आजै ओइलाउनु आवश्यक छ । तिनीहरूलाई पाठ पढाउन पनि पोखरी निर्माण हुनुपर्छ ।
प्रणिता : (अघि सर्दै) उसो भए यो नाङ्गो नाच यहाँ किन ? मान्छे बहकाउन कत्रो नाटक !
प्रभु : (तथास्तुभन्दा हात उठाएझैं गरेर) शान्त, शान्त बालिके । मसँग पीडाको सानो कुवा छ । त्यस्तै कुवाहरूको मेल र योगबाट पोखरी निर्माण गर्न चाहन्छु । त्यस पोखरीमा कमलीहरूको इतिहास फुलाइरहेको हुन्छु । हुर्किरहेका भविष्यका मखमलीलाई पाठ सिकाइरहेको हुन्छु ।
प्रणिता : (रिसाउँदै) धत्, म यत्री स्वास्नी मान्छेलाई पनि बालिके भन्छ । नारीको तागत नूनभन्दा चर्को छ । नारीको आवाज खुनभन्दा महँगो छ । नारीको नसा खोर्सानीभन्दा खरो छ । हाम्रो एक चुड्कीमा सारा पतिहरू पत्नीकै वरिपरि (जाँतो घुमेझैं हात घुमाउँदै) र्याइँर्याइँ घुम्छन् र सुख जति धूलोपिठो पार्छन् । हाम्रो सुख तिमेरूको दु:ख हुन्छ । हाम्रो एक चुड्की तिमेरूको फुर्ती हुन्छ । पहिले पत्नीलाई दु:ख पतिलाई सुख, अहिले पत्नीलाई सुख पतिलाई दु:ख । नारी–पुरुष बराबरी । सारा पतिका पीडक पत्नीहरू— जिन्दावाद ! सारा पत्नीका पीडक पतिहरू— मुर्दावाद ! (ऊ पति प्रकाशलाई कठालोमा समातेर मञ्चमा ल्याउँछे ।)
प्रभु : देख्नुभो त, महानुभावहरू ! पत्नी राज्यमा पतिको कस्तो हालत हुँदो रहेछ । महानुभावहरू ! (आफ्नो घर देखाउँदै) ऊ त्यो घर छ नि । हो, त्यस घरमा एक पत्नी महारानीको खोपी छ । मौसुफ त्यहीँ विराजमान होइबक्सन्छ । बिहान सबेरै चिया–नास्ता ज्युनार गरिबक्सिन्छ । बिहान आठ बजे मर्निङ वाकका लागि सवारी होइबक्सिन्छ । नौ बजेसम्म पतिले खाना तयार पारिसकेको हुनुपर्छ । पत्नी महारानीका निमित्त पतिले बाहिरीदेखि भित्री लुगा बाथरुममा टक्र्याइसकेको हुनुपर्छ । मनतातो पानीले ट्याङ्की भर्दिसकेको हुनुपर्छ । स्नानपछि मौसुफको डिनर ज्युनार हुन्छ र अफिसतिर सवारी हुन्छ । त्यसपछि भने सन्चोको सास फेर्न पाइन्छ । साँझमा फेरि उही ड्युटी गर्नै पर्छ । मौसुफ सरकारका आदेशहरू अक्षरश: पालना नगरे के–के भोग्नुपर्छ, पर्छ ।
प्रपन्नाचार्य : के–के भोग्नुपर्छ ? हामी पनि सुनौँ न ।
प्रभु : के भन्नूँ ! भन्न पनि लाज हुन्छ ।
प्रपन्नाचार्य : भएको कुरा भन्नलाई केको लाज । लाज मान्ने मान्छे भए यत्रा नाराहरू लेखेर किन मान्छे भेला पार्थ्यौ ?
प्रभु : लौ त भन्छु । यसको नालीबेली छैन । लेखाजोखा छैन । (रुन्चे स्वरमा) गल्ती गरेमा मुर्गा बन्नुपर्छ । आधा घण्टा डान्स गरेर पत्नी महारानीलाई खुसी तुल्याउनुपर्छ । के गर्नु बाचामा बाँधिएपछि निल्नु न ओकल्नु हुँदो रहेछ । अति भएपछि होस खुल्यो । होस खुलेको छ र म यहाँ तपाईंसामु छु नत्र गुलामी गरिरहेको हुनेथिएँ ।
प्रकृति : महिलालाई मैला बनाउन खोज्दा यस्तै हुन्छ ।
प्रपन्नाचार्य : अनि यस चौतारीमा किन आएको त ? किन यो सङ्गठन खोल्यौ ?
प्रभु : किन भन्नूँ । आफूलाई परेको भए चाल पाउनुहुन्थ्यो । आजसम्म दशपटक मुर्गा बनिसकेँ । पन्ध्रपटक महारानीलाई डान्स देखाइसकेँ । हिजो बेलुका खै कहाँ सानो त्रुटि भएछ । आज बिहानै सजाय भोग्नुपर्ने फैसला सुनाइयो । पहिलेकै दरमा भए त ठीकै थियो । चारैतिर महँगीले आकाश छोयो रे । हरेक कुराको भाउ बढे जस्तै सजायको पनि भाउ बढ्यो रे । अब मैले दुई घण्टाको बदलामा तीन घण्टा मुर्गा बन्नु पर्ने भो रे । आधा घण्टाको सट्टामा एक घण्टा डान्स गर्नुपर्ने भो रे । जब सजाय बढाइएको ज्ञात भो, ममा विद्रोह जाग्यो । बिग्रेको मान्छेको भत्केको घर भत्केपछि केको डर । सन्यास जीवन धारण गरियो । बस् लण्ठा साफ !
प्रकृति : कुरा त ठीकै हो । बाचामा जो बाँधिन्छ, त्यसअनुसार काम फत्ते गर्नै पर्छ । तिमी उम्कन पाउन्नौ ।
प्रभु : नियमलाई गोली मार्दिएँ । म अब घर फर्किन्नँ । पूर्णरूपेण सन्याश्रम लिएँ । म पीडा खाएर प्राण बचाउँदिनँ । म साधुको भेषमा सोझा पतिहरूलाई उकास्छु र पत्नीहरूलाई पीडित बनाउँदै जान्छु । (केही कडा स्वरमा) अनि सबैले भेट्नुहुनेछ प्रत्येक घरमा पीडा सहेर बाँचेका पत्नीहरू ।
प्रपन्नाचार्य : एउटाले बिराउने सारा पिराउने । यो त जायज काम भएन नि ।
प्रभु : जायज र नाजायजको तुलना अब सिद्धान्तमा हुन्छ । मेरो सिद्धान्तले भन्छ— जति पति पीडामा बाँच्ने पत्नीहरूको सङ्ख्या बढी हुन्छ त्यति नै पत्नी पीडामा बाँच्ने पतिहरूको सङ्ख्या कम हुन्छ । यो नियम माँग र पूर्तिको नियमसँग मिल्छ । अर्थात् पत्नीको मूल्य घट्दा पतिको मूल्य बढ्छ भने पत्नीको मूल्य बढ्दा पतिको मूल्य घट्छ । मेरो उद्देश्य सारा पत्नीहरूको सम्मान क्षय गराउनुछ । तसर्थ महानुभावहरू ! आउनुस् पतिहरूको सम्मानमा वृद्धि गराऔँ ।
प्रकृति : उसो भए तिमी पत्नीलाई खेलौना नै सम्झन्छौ, हैन ?
प्रभु : कागले आफ्नो नाम आफै काड्छ । मैले भन्न पर्दैन ।
प्रपन्नाचार्य : प्रकृति ! तिमीले धन्दा मान्नुपदैन । अब तिमी घर जाऊ । पति एउटा पाङ्ग्रो पत्नी अर्को पाङ्ग्रो । लोग्नेस्वास्नीको झगडा परालको आगो भन्ने उखान बुझेकै हौली । मैले धेरै भन्नु नपर्ला । (ऊ जान्छे । एकै क्षणमा प्रभुका छोराछोरी क्रमश: प्रमोद र प्रमिलाको प्रवेश हुन्छ ।)
प्रमोद : (आत्तिएझैं गरेर) बाबा, बाबा आमाको नाना खै ?
प्रभु : अँझ पीडा थप्न आएका तिमेरू ! तेरी आमाका नाना थानामा पुगे ।
प्रमिला : बाबा, भोक लाग्यो ! खाना !
प्रभु : अब आमाले मामा बोलाउँछे । मामाले खाना बनाउँछ । त्यतिञ्जेल तिमेरूचाहिँ हावा खाएर बस्ने । अहिले जाओ, झट्टै गइहाल । (केही बुझेजस्तो केही नबुझेजस्तो गर्दै दुवै बाहिरिन्छन् ।)
प्रभु : यिनीहरू मेरो सेरोफेरोबाट त हटे । प्रणिताले प्रकाशलाई आफ्नो पञ्जामा पारेर पीडाको पहाड बोकाएझैं आज सारा पतिहरू पत्नीको पुच्छर भएका छन् । मेरो यस महान् अभियानमा साथ दिन खुलेर कोही आएनन् । हुनत, पुच्छर हुनु र पुच्छर पार्नु पौराणिक कालदेखिकै रीतिथिति हो ।
प्रपन्नाचार्य : अनि त्यसको उल्लङ्घन गर्न हज्जार जीव्रा भएका शेष नागले त सकेनन्, महादेवको त वसको कुरा रहेन भने तिमी हामीको के जोर चल्छ र ? महिलाको मन बुझेमा नै महान् काम मज्जाले फत्ते गर्न सकिन्छ ।
प्रभु : (हेलैसित हात जोडेर) पत्नीभक्त परमेश्वर प्रपन्नाचार्य प्रभु ! प्रस्ट सुन्नुस् । आफ्नी पत्नीलाई घर पठाएर पत्नीका बारेमाप्रकारप्रकारका कुरा प्रकट गर्न लाज लाग्दैन तपाईंलाई । सारा पतिहरूको पीडा परपर पार्ने हो भने मनैदेखि, तनैदेखि फरक्क फर्किनुस् । आउनुस् यस महायज्ञमा साथ दिनुस् ।
प्रपन्नाचार्य : प्रभु ! तिमीले गलत बुझेछौ । तिम्रो दु:ख साराको दु:ख हुनसक्दछ । दु:ख परेकाहरूलेमात्र तिम्रो साथ दिनुपर्छ भन्ने छैन । नारी नाम महान् छ । यही महानताभित्र तिमी पनि अल्झियौ । म पनि बल्झिएँ । साथ होसियारको लिनुपर्छ, वात काम चोरको पनि सुन्नुपर्छ । काम नाम राख्ने गरी गर्नुपर्छ ।
प्रभु : हामीकहाँ यही छ । आज जसलाई जे पर्छ उसलेमात्र सहन्छ । भोलि जसलाई जे पर्ला उसैलेमात्र सहला । एकले अर्कोलाई अर्कोले एकलाई सहयोग गर्ने र सहयोग लिने चलन नै छैन । हिजो छिमेकीकहाँ चोरले चोरी गर्यो म टुलुटुलु हेरी बसेँ, भोलिपल्ट मकहाँ चोरी गर्ला ऊ टुलुटुलु हेर्ला । चलन यस्तै छ तर आजचाहिँ मलाई पर्यो, मजस्तै पर्नेहरू आओ । सडक जाम गरौँ । आम हडताल गरौँ । पत्नी पीडित पतिहरूको महासङ्घको विस्तार गरौँ । समस्या अँझै चर्काऔँ । पत्नी विरोधी माहोल बनाऔँ । समस्या जन्माऔँ । समस्या खुवाऔँ । समस्या लगाऔँ । समस्या नचाऔं ।
प्रपन्नाचार्य : (कडा स्वरले) समस्या ! समस्या !! समस्या !!! यता समस्या, उता समस्या, जताततै समस्यै समस्या । समस्याको यस महासमुद्रबाट सरासर सास्ती मुक्त गर्न नसक्नु सरोकारवालाहरूको सोचको कमी हो । तसर्थ पुरुषहरू महिलाकहाँ जाऔँ । महिलाहरू पुरुषहरूकहाँ धाऔँ । आपसमा मिलेर मिलन राज्य बनाऔँ । विछोडको विद्रुप विष नपिऔं, नपिलाऔं ।
प्रभा : (ताली बजाउँदै मञ्चमा एक्कासि देखापर्छे ।) महान् महान् महानुभावहरू ! महाशयहरूको यस महान् मञ्चमा म मेरा मसिना कुराहरू राख्दै छु । (प्रभूतिर फर्केर) मेरा पति महाशयको नजरमा यो संसार सबैका लागि र सधैँका लागि स्वर्ग थियो । म नयाँ छँदा मलाई उहाँ स्वर्गकी अप्सरा बनाएर राख्नुहुन्थ्यो । म उहाँकी भोग्या वस्तु थिएँ । न म काम गर्न पाउँथेँ न उहाँ नै दुई पैसा कमाउनुहुन्थ्यो । मैले पुख्र्यौली धन जोगाउन हरप्रयत्न गरेँ, सबै प्रयत्नहरू बालुवामा पुल बनाए सरि भए । म रातोदिन उहाँलाई खुसी पार्न, मनोरञ्जन दिन खटिएकी थिएँ । त्यसबेला आम्दानी चाराना हुन्थ्यो भने खर्च सोह्र आना हुन्थ्यो । उहाँ वर्ष पाँचेकमै करोडपतिबाट कङ्गालपति हुनुभयो । उहाँसँगसँगै म र हाम्रा यी (छोराछोरीतिर हेरेर) दुई सन्तान पनि कङ्गालपतिका हिँस्सेदार भयौँ । हाम्रो भविष्य कुहिरोको काग भयो । ठूलो प्रलय आएपछि मैले एउटा सर्त तेर्साएँ ।
प्रपन्नाचार्य : सर्त के थियो ?
प्रभा : (प्रभूतिर सङ्केत गदै) भन्नुस्, सर्त के थियो ? मुख खोल्नुस् ।
प्रभु : (मलिन स्वरले) सब थोक नासिएर, सब थोक मासिएर मरुभूमि भएको यस घरलाई म पहिलाझैँ हराभरा पार्छु, सदाबहार राख्छु भन्ने यिनको सर्त थियो ।
प्रभा : मुख्य कुरा महत्त्वपूर्ण हुन्छ । कुरो चुरोमा नै पुगेको छैन । धन छउँञ्जेल उहाँले मलाई सक्तो सताउनुभयो, भरमग्दुर नचाउनुभयो । पुख्र्यौली धन छउँञ्जेल धनको चुरिफुरी देखाउनुभयो । हामीलाई पनि जोड्न दिनुभएन । कङ्गालपति भएपछि मैले प्रस्ताव राखेँ– अब म कमाउँछु । मेरो कमाइले बाँचुञ्जेल मेरो भनाइ अनुरूप तपाईं चल्नुपर्छ । उहाँले त्यतिखेर स्वीकार्नुभयो । जे भोगेकी थिएँ मैले उहाँलाई त्यहीमात्र गर्न लगाएकी हुँ । यसमा मेरो के दोष ? सुरुवात उहाँले नै गर्नु भा‘को हो क्यारे । अहिले यो विद्रोह ? महान् महान् महानुभावहरू ! महाशयहरूको यस महान् मञ्चमा म मेरो कुराको सुनुवाइ गर्न अनुरोध गर्दछु । (प्रभूतिर फर्केर) बोल्नुस् । अघि बढेर बोल्नुस् । साधु भएपछि अँझै स्वतन्त्र भएँ भन्ठान्नुभएको होला । अँझ परतन्त्री बन्नुपर्छ । सहमतिमा आए जे पनि सम्भव हुन्छ । असम्भव मेरो शब्दकोषमा छैन ।
प्रपन्नाचार्य : हो, प्रभु ! प्रभाको कुरा सत्य हो ?
प्रभु : (मनमनै) हुनसम्मको अल्छ्याइँ त मैले पनि प्रदर्शन गरेकै हुँ । म पनि श्रीमती जस्तै कमाउने भएको भए यस्तरी काम किन गर्नुपर्थ्यो ? ममा पुरुषत्व हराएको रहेछ । आफूले श्रीमतीबाट अपहेलना पाएँ भन्दैमा अरूलाई पनि भड्काउँदै हिँड्नु किमार्थ उचित होइन । यो फत्तुरको सन्याश्रम रोज्नुभन्दा कर्मशील बन्नु लाख गुणा उत्तम हो । मसँग पाखुरी चलाउने क्षमता पनि छ । सानो तिनो जागिर खाने योग्यता र अनुभव पनि छ । अरूका श्रीमतीले कमाउँदैनन्, मेरीले कमाउँछे । आखिरमा आम्दानी बढ्नु र बढाउनु त उत्तम हो नि । मैले पनि उत्पादनमुखी अन्य काम गर्न थालेँपछि त श्रीमतीले त्यस्तो व्यवहार नगर्ली ।
प्रपन्नाचार्य : के हो ? किन बोल्दैनौ ?
प्रभु : (सर्माउँदै) हो, सबै कुरा सही हो ।
प्रपन्नाचार्य : प्रभु, सही पनि भन्छौ, अर्थोक केही पनि बोल्दैनौ । बोल्नुपर्ने ठाउँमा बोल्नुपर्छ ।
प्रभु : (मुन्टो हल्लाउँदै र केही सर्माउँदै) हो, म नै गलत हुँ । पुख्र्यौली धन बढाउनु पर्नेमा सक्दै गएँ । पत्नीको सर्त मान्नुपर्नेमा लत्याउँदै गएँ । कस्तुरी मृगले आफ्नै नाभीबाट निस्केको बासना थाहा नपाई रनवन डुलेझैँ म पनि दगुरेँछु । (प्रभातर्फ फर्केर) अब म होसमा आएँ । मेरो पुनर्जन्म भयो । जसरी भए पनि कमाउँछु अब । पाखुरी चलाएर होस् या दिमाग खियाएर होस् । जबसम्म मेरो मति सुधारोन्मुख र उत्पादनमुखी हुन्छ तबसम्म मलाई तिमी त्यो गतिमा लग्न पाउँदिनौ जुन गति मेले भोगेर आएको छु । (प्रभा खुसी हुन्छे र सर्माउँदै प्रभुका हात समाउँछे । ऊ पनि खुसी हुन्छ । सबैले ताली बजाइरहन्छन् । पर्दा बिस्तारै खस्दै जान्छ ।)
(२०६५/०५/०७ दायित्व)
नाटक एकांकी ०६ - युग उचाल्ने अक्षरकर्मीको दुःखद अवसान
बर्दिधारी-१ - उच्च तहका प्रहरी कर्मचारी
बर्दिधारी-२ - मध्यम तहका प्रहरी कर्मचारी
बर्दिधारी-३ - निम्न तहका प्रहरी कर्मचारी
बन्दी-१ -४६ वर्षे तेजिलो आकृतिका सिकुटे व्यक्ति
बन्दी-२ -२६ वर्षे तेजिलो आकृति भएकी बहुलाहीजस्ती देखिने केटी । हाउभाउ पत्रकारकोजस्तो गर्ने गर्छिन् । मन परेको बेला बर्दिधारीहरू उनलाई संगीता भनेर बोलाउँछन् । अधिकांस समय उनलाई पागल्नी भनेर बोलाइन्छ ।
तेश्रो दृश्यमा बेलाबेलामा नेपथ्यबाट आवाज आउँछ ।
दृश्यः-१
पुलिस क्लवको भीआइपी कोठा । डोरीले पछाडि दुबै हात बाँधेर बन्दी-१ लाई लडाइएको छ तर पनि उनी आत्तिएजस्ता देखिदैनन् । उनमा ढुक्क भएजस्तो मानसिकता देखिन्छ । उनी वरपर चार जना बर्दिधारीहरू उभिएका छन् । बन्दी-२ नजिकै उभिएर यताउती हेर्छिन् । कलम यताउती घुमाउँछिन् । केही लेख्न खोज्छिन् तर उनीसँग कागज हुन्न । बन्दी-१ यातना सहन नसकेर पानी मागिरहेका छन् । पानीको सट्टामा उनलाई अझ यातना दिइन्छ । बन्दीको चित्कार सुनेर बर्दिधारीहरू हाँसोको फोहोरा छुटाइरहेका छन् । हातखुट्टा सुनिएर बन्दी-१ विरुप देखिन्छन् । यी दृश्यहरू क्रमशः क्रमशः आइरहन्छन् आइरहन्छन् ।
बन्दी-२ - आँखा ठूल्ठूला पार्दै कुट अझै कुट । तेरो महाराजलाई बेस्कन कुट तिमीजस्तो पाखण्डी छोरो जन्माउने आफ्ना बाउ र आमालाई बेस्कन कुट । इच्छुकको "सिम्ठारो धानू" शीर्षकको कविता वाचन गर्दछिन् ।
म रक्तवर्णको अश्वेत जाति गोराहरू राज गर्छन्
दास ठानेर ममाथि म दीन हीन मलिन र उदास सिम्ठारो धान
म सधैं आकाशे पानीको भरमा रुखो खेतमा
उपेक्षाले फालिन्छु विना मल तैपनि उम्रन्छु बढ्छु
हुर्कन्छु फल्छु कष्टकर जीवनपथमा अथक र अविचल
म खस्रो र जर्रो कुरुप र वेस्वाद सिम्ठारो धान
विलासी महलहरूका चौरासी ब्याजनहरूमा म कहिल्यै परिनँ
कुलिन जिब्राहरूका राजसी परिकारहरूभित्र म कहिल्यै परिन
कसले खिच्यो यो रङ्गभेदको कालोरेखा
म जन्मजात नै वर्णभेदको सिकार सिम्ठारो धान
धान भएर पनि सधैं अपहेलित म हिन्दु भएर पनि
मानौं अछुत जात हुँ धर्म लेख्ने अधर्मी हातहरू बताऊ
तिम्रो विभेदको कर्मशास्त्रमा कुन निच कुलको म कुजात हुँ
एक क्षणपछि तर याद गर । कलम मसी र कागजमार्फत् नेपाली जनजनको मस्तिष्क र हृदयमा बाँचेका मान्छे सेनजीलाई चाहिँ बन्दै नकुट ।
बर्दिधारी-१ - बहुलाही भएर पनि सद्देको जस्तो कुरा गर्छे । बोलाउँदै ए जवानहरू हो एक क्षण कुट्न बन्द गर । सेनसँग कुरा गरौँ । कुट्न बन्द गरिन्छ ए सेन भन त यो देशको माया कसलाई छ ?
बन्दी-१ - पीडाले छटपटाउँदै यो देशको माया सबै नेपालीहरूलाई छ ।
बर्दिधारी-१ -बन्दीमाथि खनिदै यो देशको माया तेरो बाउ प्रचण्ड बाबुराम र वादललाई पनि छैन । शेरबहादुर तत्कालीन प्रधानमन्त्री र गिरिजाप्रसादलाई पनि छैन । यो देशको माया त राजा ज्ञानेन्द्र सरकारलाई मात्र छ । बुझिराख् यो देश ठकुरीहरूले बनाएको हो । साला म पनि ठकुरी हुँ तँ पनि ठकुरी होस् ज्ञानेन्द्र सरकार पनि ठकुरी होइबक्सन्छ । एक क्षण सन्नाटा छाउँछ । तेरो दिमाखमा प्रचण्ड बाबुराम र वादलले गोबर भरिदिएका छन् गोबर । गोबर भरिएको दिमाखले गोबरैगोबर मात्र सोच्छ न कहिल्यै सुन सोच्छ न कहिल्यै सुन बन्छ ।
बन्दी-१ -पुलुक्क बर्दिधारी-१ तर्फ हेर्छन् । बोल्न खोज्छन् तर शरीरमा असाध्यै पीडा हुन्छ । उनको मनमा आक्रोस पैदा हुन्छ तर मुख खोल्न सक्दैनन् । हो ज्ञानेन्द्रको तर्फबाट तिमीहरूजस्ताको दिमाखमा गोबर भरिएको छ र पो जनताको रक्षक भएर पनि भक्षकको काममा ज्यूज्यान छाडेर लागेका छौ । जनताको पक्षमा आफ्नो दिमाखका अक्षरहरू समर्पित गर्ने प्रेरणा प्रचण्ड बाबुराम र वादलहरूले मलाई दिएका छन् । म अक्षरहरूसँग खेल्छु अक्षरहरूसँग रमाउँछु । म मात्र अक्षर र शब्दहरूको वाण चलाउँछु । म जनताको अक्षर र शब्दहरूको नायक भएर तिमीहरूजस्ता वर्गिय दुस्मनको विरुद्ध शब्द प्रहार गर्छु । म अक्षर र शब्दहरूको भरमा बाँचेको मान्छे हुँ । आजसम्म मेरा अक्षर र शब्दहरूले मलाई धोका दिएका छैनन् । बरु तिमीहरूजस्ता जनताका वैरीको मनमा ठ्याङ्ग्रो बजाइरहेका छन् । मेरो यस महान् अभियानप्रति मलाई गर्व छ । यी कुराहरू सोचिरहेकै अवस्थामा बर्दिधारी-१ ले भकुरेको लातले उनको ध्यान खुल्छ । पीडा बढ्दै जान्छ । उनी रगत छाद्न थाल्छन् । केही क्षणपछि जमिनतिर हेरेर घोरिई रहन्छन् ।
बन्दी-२ - उनी सेनजीको "तिम्रा युद्ध र बन्दुकहरूका विरुद्ध" शीर्षकको कविता भन्दै यताउति गर्छिन् ।
तिमी मलाई उग्रवादी सावित गर
यतिखेर मेरा पीडाका निरीह आवाजहरू नै
तिम्रो दृष्टताका विरुद्ध पड्कने बमहरू बनिरहेछन् ।
तिमी मलाई आतङ्कवादी प्रचारित गर
म त युग-युगदेखि निरन्तर जारी
केवल तिम्रा बन्दुक र बर्बर युद्धका विरुद्ध
यत्तिखेर उठाउँन विवस छु बन्दुक
तिमी मलाई युद्ध अपराधी सावित गर
म त मुक्ति र स्वतन्त्रता चाहन्छु
म त केवल न्यायपूर्ण युद्ध चाहन्छु
मेरो विरुद्ध युग-युगदेखि निरन्तर जारी
तिम्रो अन्यायपूर्ण युद्धको अन्त्यका लागि ।
बर्दिधारी-१ - भन् मनमा आए जति भन् । सारा पागलहरूलाई भन्न छुट छ । रिसले मुर्मुरिदै र बन्दी-१ को जुल्फी उखल्दै एई सेन यो देशमा सेना परिचालन हुँदै छ । अमेरिकी सेना नेपाल आउँदै छ । त्यत्तिवेला तँ कहाँ हुन्छस् थाहा छ
बन्दी-१ - सकिनसकी मुख खोल्छन् छ म जहाँ पुगे पनि नेपालमै हुन्छु । नेपालीकै निम्ति हुन्छु ।
बर्दिधारी-१ -आँखा तर्दै र दाह्रा किट्दै साला तँ माटो मुनि हुन्छस् । म श्री ५ को वफादार सिपाही हुँ । एई सेन बुझिराख् । त्यत्तिबेला तेरा प्रचण्ड बाबुराम र वादलहरू पनि माटो मुनि हुन्छन् । गिरिजा र शेरबहादुर पनि जेलमा हुन्छन् । बन्दी चुप नै रहन्छन् । उनीसँग राक्षस जस्ताहरूसँग बोलिरहने शारीरिक क्षमता हुन्न ।
बन्दी-२ - तिमीहरू जे भन । भन्न छुट पाएकै छौ । याद राख सर्वहारावादी क्रान्तिकारीहरूले ठूलो गल्ती गरेनन् भने प्रतिकि्रयावादीहरूसँग साधन र स्रोत जतिसुकै भए पनि क्रान्तिकारीहरूको विजयलाई कसैले पनि रोक्न सक्दैन । ए हुकुमी सत्ताका सच्चा पहरेदारहरू हो सुन सुन र मनमा गुन ।
बर्दिधारी-२ - तँ बहुलाहीले भनेका कुरा के सुन्नु र सुनो भने हामी नै पागल हुन्छौँ । वाक्क हुँदै ए संगीता हामीलाई पनि पागल नपार त । बन्दुकको खेती गर्दागर्दा बहुलाएकी न परिस् ।
बन्दी-२ -हाँस्दै हिं… हिं…म पागल …म पागल…। फनक्क फर्केर के भनिस् पागल त तँ होस् तँ ।
इच्छुकको तिम्रा युद्ध र बन्दुकहरूका विरुद्ध शीर्षकको कवितांश भन्दछिन् ।
म त किसान हुँ हलो जोत्छु
कहाँ जोतें मैले खेतबारीहरूमा हलोको सट्टा बन्दुक
म त किसान हुँ बाली रोप्छु
कहाँ रोपें मैले यस धरतीमा बालीको सट्टा बन्दुक
म त किसान हुँ अन्न फलाउँछु
कहाँ फलाएँ मैले बस्तीहरूमा अन्नको सट्टा बन्दुक
म त मजदुर हुँ पसिना बगाउँछु
मेरै पसिनाको जोडबलले
फलाम पनि गलाएर इस्पात बनाउँछु
किन चाहियो मलाई
मेरै पसिनाका आर्जनहरूको सट्टा बन्दुक ।
केही क्षण रुकेर पागल त तेरो महाराज हो । पागल त तेरो पाखण्डी सरकार हो । हिजो पाचायतीकालमा जस्तै आज फासिवादी सत्ताले पनि सेनजी जस्ता सपुतलाई झ्यालखानामा थुनेर उनका सिर्जनामाथि धावा बोल्ने असफल प्रयास गरिरहेको छ । त्यही फासिवादी सत्ताका पहरेदार तिमीहरू रहेछौ । सद्देलाई पागल र पागललाई सद्दे ठान्ने तिमीहरूको दिमाखमा पो भूस भरिएको रहेछ ।
बर्दिधारी-२ - धेर नबोल एई पागल केटी । आकाशतिर नथुक् । तँ पागल्नी केटीको कुरामा हामी ध्यान दिँदैनौं ।
बर्दिधारी-१ - यो के टेथ्र्यो बोल्न सक्ने हुँदो त आगोका फिलुङ्गाहरू नै ओकल्थ्यो होला । बन्दुकका नायकहरूभन्दा यी अक्षर र शब्दका नायकहरू खतरनाक हुन्छन् भनेको सुनेको थिएँ हो रहेछ । बडो पत्रिकाको सम्पादक भइखाको । हामीलाई मारेको समाचार लेख्दालेख्दै तेरो कलम मरिसक्यो । अब आफू मरेको समाचार पनि लेख् ।
बर्दिधारी-२ - बडो हाम्रो कर्तुत सार्वजनिक गर्ने महान् पत्रकार भई खाुको । हामी प्रतिकि्रयावादी रे । यो र यसका मतियारहरू चाहिँ अग्रगमनकारी रे । अब बुझिरहेको होलास् नि ।
बर्दिधारी-१ - जहाँ शक्ति छ त्यसको भक्ति सबैले गर्नुपर्छ । राजा ज्ञानेन्द्रसँग शक्ति छ बुद्धि पुर्याएर काम गर् । अझै केही भाुको छैन । शक्तिको पूजा गर् । तेरो कल्याण हुन्छ । तेरो जीवन बन्छ । कुरा बुझिस् सेन ।
बन्दी-१ - आँखा खोल्दै बुझेँ राम्ररी बुझेँ । बुझेर नै कलम चलाएको हुँ । म साराका लागि गद्दार बन्न सक्छु तर अढाई करोड नेपाली जनताको गद्दार बन्न सक्तिन ।
बर्दिधारी-१ - ललितपुरको भट्टेडाँडास्थित इलाका चौकीमा ०५६ साल फागुन महिनामा माओवादीले आक्रमण गरेको समाचार फोटो सहित जनादेशमा छाप्ने यो सेन आफूलाई िसंह नै स्ाम्झन्छ । यो त्यहाँ उपस्थ्ाित नहुँदो हो त कसरी फोटो लियो
बन्दी-१ - मलाई तपाईँहरूले पिटेर केही पनि सूचना प्राप्त गर्न सक्नुहुन्न । यद्यपि म माओवादी पार्टीको जिम्मेवार तहको मान्छे हुँ । त्यसैले त्यहीअनुसारको व्यवहार गर्नुस् ।
बन्दी-२ - सेनको "बर्मझिया" शीर्षकको कविता भट्याउने सोच गर्दै
हेर पुलिस दाइहरू कुरा बुझ र सेनजीलाई सम्मान गर । उनी भन्दै छन्-
एउटै रगतको साइनो रहेछ आखिर
मेची र महाकालीका साँधहरूमा
एउटै नाताको नातो रहेछ आखिर
कमला र भेरीका छालहरूमा
एउटै धर्मको उपासना रहेछ आखिर
झापा र धनुषाका बलिदानीहरूमा
एउटै कर्मको आराधना रहेछ आखिर
गोर्खा र रोल्पाका अनुष्ठानहरूमा
निरन्तर चलेको रक्तिम युद्धमा
मिसिसिप्पीदेखि भोल्गासम्म एउटै रंग छ ।
एक क्षण रोकिन्छिन् र ईश्वरचन्द्र ज्ञवालीको इच्छुक स्मृति ग्रन्थमा भएको लेखसँग मिल्दोजुल्दो एकाध अंश भन्न थाल्छिन् ।
यी सेन समकालीन प्रगतिवादी स्रष्टा हुन् । क्रान्तिका गायक र कवि हुन् । युगचेतनाको साचार कविताबाट गर्न चाहने विचार निष्ठा र आन्दोलनका कवि हुन् । वर्गचेतना वर्गप्रेम वर्गघृणा र वर्गमुक्तिको शाश्वत अभिव्यक्ति यिनका कविताको विशिष्टता हो । त्यसैले यिनका कविताहरूको मूल्य नैतिक सन्देश हो । यिनले समाजवादी यथार्थवादी नैतिक मूल्य र संवेदनालाई कवितामा अभिभूत गरेका छन् । त्यसैले बुझ पुलिस दाइहरू म फेरि भन्छु । कुरा बुझ र सेनजीलाई सम्मान गर सम्मान गर ।
बर्दिधारी-२ - तँ झन् महासेन होस् । हामीलाई नफका । तेरो पागल कुराको पछि लाग्ने हो भने हामीलाई हाम्रै श्रीमतीले पनि पागल नै घोषणा गर्छन् ।
बर्दिधारी-१ - यो पागल केटी के के बक्छे बक्छे । त्यसका कुरा सुन्नुहुन्न । यो सेन मान्नेवाला छैन । आफूलाई बडो जननायक ठान्छ । पिट्न थाल्छ । अब बचाउन तेरा जनता आऊन् त । अनि म बुझ्छु । बर्दिधारीहरू मुखामुख गर्छन् । बर्दिधारी-१ पिट्दापिट्दै थाक्छन् र अरुलाई पिट्न संकेत गर्छन् ।
बन्दी-१ - सकिनसकी आफूले नै लेखेको कविता भन्दछन् ।
म मरे पनि
देशका जम्मै सन्ततीहरू
तपाईंकै प्रिय पुत्र हुन् आमा
तपाईंकै सपनामा
ती आज सुनबुट्टे विपना कुद्दै छन्… ।
बर्दिधारी-१ - मर्दा पनि यो कविता नै खाएर कविता नै पिएर मर्ने रहेछ । जति कुट्दा पनि देशकै आमाको नाम लिन्छ । लौ खा । बेस्कन पिट्छन् । पिट्दापिट्दै बन्दी मुर्छित हुन्छन् ।
बन्दी-२ - पिट्न रोक्न खोज्दै बुझेनौ पुलिस दाइहरू कुरा बुझेनौ र सेनजीलाई सम्मान गर भनेको झन अपमान गर भनेको पो बुझेछौ तिमीहरूलाई पनि धिक्कार छ मलाई पनि धिक्कार छ । गर अब मोज गर । देशलाई लुछ्दै जाओ खाँदै जाओ । सेनको मुर्छित शरीर हेर्दै उनको ूहात लाग्यो शुन्यू शीर्षकको कविता भट्याउँछिन् ।
मर्नु पनि गाह्रो
बाँच्न पनि अफ्ठ्यारो
जीवन सुखको मालसिरी गीत हो
या दुःखको करुण चित्कार
म असिम वेदनामा अथाह डुबिरहेछु ।
चारैतिर हेर्छु हात लाग्यो शून्य
मेचीदेखि महाकालीसम्म जम्मै उस्तै छ
यो नूतन परिवर्तन हो य या पाखण्डीहरूको नर्तन
म छली इतिहाससँग बारम्बार सोधिरहेछु ।
म छली इतिहाससँग बारम्बार सोधिरहेछु ।
एक क्षण चुप रहन्छिन् । डा जगदिशचन्द्र भण्डारीको इच्छुक स्मृती ग्रन्थमा रहेको लेखमा आधारित एकाध अंश कोट्याउँदै यी इच्छुकका कविता जनयुद्ध वर्गसंघर्ष तथा उच्च लक्ष्यका बीच रहेको एकात्मकताको विशिष्ट अभिव्यक्ति हुन् । यिनका कविता आफ्ना समयका सशक्त लयात्मक दस्तावेज हुन् र तिनले पाठकलाई आफूतिर आकर्षित गर्दछन् । मुक्त जीवनको सतत् कामना र प्राप्तिका निम्ति गरिने महत्तम संघर्षसँग गाँसिई संघर्षकै बिशिष्ट रुप कि्रया र त्यसलाई बुझाउने शब्द र भाव संकेतका माध्यमबाट सर्वहारावर्गीय चेतना र तत्जन्य संघर्षलाई अभिव्यक्ति दिनु यिनका रचनाको ध्येय हो ।
त्यसैले यस्ता मान्छेलाई नमार नपिट । बन्दै नपिट ।
उनलाई पनि गलहत्याइन्छ । उनी पछारिन्छिन् । उठ्न खोज्छिन् सक्तिनन् । पर्दा विस्तारै खस्छ ।
दृश्यः-२
पर्दा विस्तारै उघ्रन्छ । पुलिस क्लवको भीआइपी कोठा । बन्दी-२ नजिकै उभिएर यताउती हेर्छिन् । मानौं उनलाई त्यही काममा खटाइएको छ । कलम यताउती घुमाउँछिन् लेखे जस्तो पनि गर्छिन् । पागलपनका झल्काहरू दिन्छिन् । डोरीले पछाडि दुबै हात बाँधेर बन्दी-१लाई खडा गरिएको छ । उनी वरपर अरु सबजना बर्दिधारीहरूलाई हटाइएको छ । बन्दी-१ लाई चरम यातना दिइसकेको स्पष्ट झलक देखिन्छ किनकि उनका शरीर हातखुट्टा सुनिएर विरुप देखिन्छन् । बन्दी विना अडेस खडा भइरहने अवस्थामा छैनन् । घोर यातनाले उनको शरीर भित्रैबाट जलन हुन्छ । त्यही जलन मेट्न उनी पानी मागिरहेका छन् ।
बन्दी-२ - यताउती पानी खोज्छिन् । पाउँदिनन् । इच्छुकको ूरोगी देशू कविता भन्ने तरखर गर्दै चारैतिर हेर्छिन् । महाशय सुन्नुस् एउटा कवितांश ।
यो पीडा मेरो होइन देशको पीडा हो ।
यो पीडा तिम्रो होइन युगको पीडा हो ।
विदा भएर गएको वूढो शताब्दी जस्तो अस्पतालको शैप्याबाट
अशक्त र रोगाक्रान्त भएर ढलिरहेछु म
बाढी आइरहेको बेला छालहरू उर्लिरहे जस्तै
मनभित्र चिन्ताका हिमतालहरू फुटिरहेछन् ।
र यस्तो लाग्छ आज मलमपट्टि होइन
यो देशले पूर्ण रोगको जड नै निर्मूल पार्ने
एउटा ठूलो चिरफार खोजिरहेको छ ।
एक क्षण रुकेर डा नन्दीश अधिकारीको इच्छुक स्मृित ग्रन्थमा भएकॊ लेखको अंशसँग मिल्ने अभिव्यक्ति दिँदै यी कृष्ण सेन'इच्छुक' नेपाली साहित्यमा प्रगतिवादी कविका रुपमा अत्यन्त सुपरिचित व्यक्तित्व हुन् । नेपालको साहित्यिक साँस्कृतिक र पत्रकारिताको जगत्मा पनि सुविख्यात व्यक्ति हुन् । यिनको सपना आदर्श मूल्य र मान्यताको अनुसरण गर्ने र गर्न खोज्ने व्यक्ति व्यक्तित्व आजको नेपाली समाजमा भेटिन्छन् भेटिएका छन् । बुझेदेखि तिमीहरूले नै अनुसरण गर्दिए कस्तो हुन्थ्यो ! एकक्षण पछि बुझेनौ पुलिस दाइहरू कुरा बुझेनौ सेनजीलाई सम्मान गर भनेको अपमान गर भनेको पो बुझेछौ । तिमीहरूलाई पनि धिक्कार छ मलाई पनि धिक्कार छ । गर अब मोज गर । देशलाई लुछ्दै जाओ खाँदै जाओ । बन्दी-१ लाई पानी खुवाएझै अभिनय गर्छिन् तर त्यहाँ पानी नै हुँदैन ।
बर्दिधारी-१ - आँखा तर्दै पानी तँलाई पनि पानी चाहिन्छ र यो देशको पानी खानु थियो भने त त्यस्तै काम गर्थिस् । पानी हैन माटो खाने पनि काम गरेको छैनस् । मात्र माटोमा मिल्ने काम गरेको छस् । एक क्षणपश्चात् एई सेन भन त यो देश कसको हो
बन्दी-१ - देश नेपाली जनताको हो ।
बर्दिधारी-१ - रिसले आक्रामक हुँदै अझै जनताको भन्छस् बुझ यो राजाको देश हो । यो ठकुरीको देश हो । तसर्थ राजाको भन् राजाको बन्दीको शिरमा मुक्का हान्दै साला म पनि ठकुरी तँ पनि ठकुरी राजा ज्ञानेन्द्र पनि ठकुरी । ठकुरी भएर देश बनाउने ठकुरीहरूकै विरुद्धमा लाग्छस् तँ किन ठकुरीको वंशमा कलङ्क बन्छस् के तँलाई ठकुरी बन्नुमा कहिलेकाहीं गर्व हुन्न
बन्दी-१ -मुख खोल्दैनन् । तर मनमा भने गुन्छन् । ठकुरी वंशको हुनुभन्दा नेपाली हुनुमा मलाई गर्व छ । तिमीहरू जस्ता मुीभरका केही जनताका दुश्मनले ठकुरी वंशमै कालो दाग लगायौ । ठकुरीको देन यो देशमा रत्तिभर छैन । देन त नेपालीको छ । त्यो नेपाली ठकुरी पनि हुन सक्छ अरुहरू पनि हुनसक्छन् । उनको मनको यो आवाज मनमा नै रह्यो । बाहिर निकालिदिने कोही भएन । अर्थात् मनका अनगिन्ती कुराहरू सुनिदिने त्यहाँ कुनै मानव थिएन् । मानवको नाममा दानवहरूको ठूलो जत्था उनलाई यातना दिन मात्र आतुर थियो । असहाय बन्दी-२ को कुनै भाउ थिएन ।
बन्दी-२ - इच्छुकको काठमाण्डौं मेरो देशको राजधानी शीर्षककॊ कवितांश भन्दै
यो राजधानी जहाँ ठूलाठूला साहुजीहरू छन्
बडेबडे लालाजीहरू छन् दिनरात गुप्त मन्त्रणामा व्यस्त
सफेदपोस बाबुजीहरू छन् प्रत्येक दिन साँझ विहान यहाँ
िसंगो नेपालको मोलतोल हुन्छ राष्ट्रघाती गद्दारहरूका मुखमा
जहाँ केवल नेपाली खोल हुन्छ विदेशका महङ्गा दामहरूमा
स्वदेशको सस्तो गरिवी बेच्न प्रत्येक दिन साँझविहान जहाँ
राष्ट्रको स्वाभिमान लिलाम हुन्छ काठमाण्डौंं मेरो देशको आखाँको नानी
यस्तो लाग्छ यो कुनै दृष्टिभ्रमहरूको नगर हो
जहाँ अभाव भन्नु पनि छैन दवाव भन्नु पनि छैन ।
खुइय सुस्केरा हाल्छिन् । केही वेर पछि इच्छुक स्मृति ग्रन्थमा समाविष्ट रमेशप्रसाद भट्टराईको लेखको एकाध अंशसँग मिल्ने कुरा अघि सार्छिन् । यी इच्छुक निडर र शत्रुका सामु कहिल्यै नझुक्ने क्रान्तिकारी योद्धा हुन् । तिमीहरूको जस्तो कायरता र कुरुपता यिनको शब्दकोषमा पाइन्न । महान् जनयुद्धले जन्माएका असल स्रष्टा यी इच्छुकले युद्धको विजय र सुन्दर भविष्यको सपनालाई नजिकैबाट ठम्याएका छन् । जनताको विजयलाई देख्न सक्ने इच्छुक लेनिनले भनेझैँ स्रष्टाहरूले सपना देख्न सक्नुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्ने कवि हुन् । तसर्थ मान्छेको मन बनाएर यिनीसँग व्यवहार गर्देओ । म तिमीहरूकी पागल्नीको यत्ति कुरा मान्देओ ।
बर्दिधारी-२ - तँ खासमा पागल्नी होइन रछेस् । तेरा कुराले त तँ साँचो इतिहास लेख्ने सामथ्र्य राख्छेस् जस्तो लागिसक्यो । तापनि तँ नारी होस् । ठीक ठाउँमा बस् । अहिले यत्ति नै ।
बर्दिधारी-१ - एई सत्य बता नत्र…।दाह्रा किट्छन् । तेरो वादलको कोठा कहाँ छ अहिले त्यो कहाँ के गर्दो हो
बन्दी-१ -सकसका साथ मुख खोल्छन् वादलसँग सम्पर्क छैन । माओवादी नेताहरू मुमाराम खनाल र कृष्णध्वज खड्का मार्फत् मेरो सम्पर्क हुन्थ्यो उहाँहरू समातिए पछि अब मेरो कसैसँग पनि सम्पर्क हुन्न ।
बर्दिधारी-१ - फेरि अर्को झुटको खेती गरिस् हैन । यस्ता आतङ्कवादीलाई दया देखाउनु पनि अपराध गर्नु हो । तसर्थ दया देखाउँनु पर्दैन । उनी बर्दिधारी-२ तर्फ संकेत गर्दै पिट्न भन्छन् ।
बर्दिधारी-२ -रिसले आक्रामक हुँदै लौ खा ली बन्दी-१ का शिरमा बजार्दै आतङ्कवुारीका निम्ति शब्द चढाउँने तँ जस्तो अर्को आतङ्कवादीले पाउने पुरस्कार यही हो । जथाभावी फर्काइफर्काई पिट्ने क्रम तीव्र हुन्छ । उनी अचेत भएर जमिनमा ढल्छन् । पिट्न बन्द गरिन्छ । बर्दिधारी-१ र बर्दिधारी-२ बाहिरिन्छन् । केही बेरपछि उनको चेत खुल्छ । हत्तनपत्त बर्दिधारी-३ ले उनलाई पेनकिलर खुवाउँछन् । त्यसै बेला उनलाई अघाउँज्ोली पानी पनि पिउँन दिइन्छ । उनलाई केही विसेक हुन्छ । बर्दिधारी-२ को मात्र प्रवेश हुन्छ ।
बर्दिधारी-२ -केही नम्र हुँदै एई सेन तँलाई समातेपछि ज्ञानेन्द्र सरकार पनि खुशी होइबक्सेको छ । अब तेरो ज्यान लिए पछि मौसूफ अझ खुशी होइबक्सनेछ । मेरो पनि प्रमोशन हुनेछ । भरसक पुरस्कार पनि पाइएला जस्तो छ । यो अनुपम मौका मेरो काँधमा आउनु कम गौरवको विषय हैन । लौ त सेन मर्न हिंड् ।
बन्दी-१ - उनका आँखा बन्द नै छन् । ओठ मात्र खोल्न सक्ने अवस्थामा छन् । म हिंड्न सक्तिन तानेर लानुस् । बर्दिधारी-३ नजिक आउँछ ।
बर्दिधारी-३ -छक्क पर्दै हैन यो कस्तो ज्याद्रो मान्छे हो मर्न हिंड् भन्दा पनि तान्नुस् पो भन्छ बा । त्यसपछि बन्दीलाई तानेर नै अन्यत्र सार्न खोजिन्छ । केही पर लगेपछि पुनः त्यहीं छाडिन्छ । केही बेरमा नै खाना खान दिइन्छ । उनी हात उठाउँन खोज्छन् हात उठ्दैनन् । दुबै हात भाँचिएका हुन्छन् । बन्दी-२ सहयोग गर्न खोज्छिन् तर बर्दिधारी-३ को रोकावट हुन्छ । थालको भात खुट्टाले सार्छन् । थाल घोप्टिन्छ । जमिनमा छरिएको भात मुख जोतेरै खान्छन् । दुई गाँस भात खाई नसक्दै उनी उल्टी गर्छन् । उनमा असह्य पीडा हुन्छ ।
बर्दिधारी-२ - यसलाई पाँच दिनसम्म लगातार जस्तो एक्लै राखेर करेन्ट लगाउने पानीमा डुवाउने र खाल्टोमा हाल्नेसम्मका यातना िदंदा पनि खासै केही भएको थिएन । अहिले के भो यसलाई
बर्दिधारी-३ - चोट धेर भो क्यार । यसको टाउकाको मूल्य नै २५ लाख भनेर सरकारले तोकेको छ । मूल्यवान् टाउको लिएर जन्मेको रहेछ बा ।
बन्दी-१ - तातो पानी दिनुस् न ।
बर्दिधारी-३ - खालास् तातो पानी । पानी उम्लदै छ । त्यसैमा हालेपछि पानी खान्छस् एक क्षणपछि । बन्दीको शरीरमा जताततै कोर्रा बसा्रइन्छ । बन्दीको क्रन्दन टाढासम्म पुग्छ । त्यो सुनिदिने त्यहाँ मान्छे कोही रहदैन ।
बन्दी-२ - बन्दी-१ लाई कुटेको देखेर हातले छेक्छिन् । पानी पियाएको जस्तो गर्छिन् । इच्छुककॊ ूझुल्केघामका राता किरणहरू शीर्षककॊ कविता भन्दै
ए ! सानासाना नानी ए ! प्रिय भाइबहिनीहरू
मिरमिरे पछिका ए ! सुनौला विहानीहरू
नरोऊ तिमी मुस्कुराउँदै उठ
नरोऊ तिमी जुर्मुराउँदै उठ
पीडाका आरनहरूमा पाइन चढेर
तिमी तेजिलो धार बन्दै उठ
दुः खका आगो ओकल्ने भट्टीहरूमा
तिमी इस्पाती तरबार बन्दै उठ
उठ गरिवीका विरुद्ध लड्ने योद्धा बनेर उठ
उठ विषमताको विरुद्ध लड्ने मोर्चा कसेर उठ
हुर्क तिमी यिनै अभावहरूमा हुर्क
हुर्क तिमी यिनै दबाबहरूमा हुर्क
शिरमाथि सिङ्गो आकाश उचाल्न सक्ने तिमीहरू बच्चाहरू
बाहुलीमा सम्पूर्ण संसार थाम्न सक्ने तिमीहरू बच्चाहरू ।
आँखाको आँसु पुछि्र्छन् । डा गोपिन्द्र पौडेलद्वारा लिखित इच्छुक स्मृति ग्रन्थको लेखमा मिल्न खोज्ने कुराहरू कोट्याउँछिन् । यी कृष्ण सेन'इच्छुक' नेपाली क्रान्तिकारी आन्दोलनको योद्धा सांस्कृतिक आन्दोलनको शिखरपुरुष अर्थात् आस्थाको धरोहर व्याक्तित्व हुन् । हेर हेर यिनको पातलो शरीर ठीक्क अग्लो कद गोरो वर्ण हिस्सी परेको अनुहार माया लाग्दो बोलीवचन लोभ लाग्दो व्यवहारलाई हेर । अनि उच्च उदात्त ओजस्वी विचारले युक्त संस्कृतिकर्मी हुन् भनेर चिन । विचार र व्यवहारको सम्यक मिलन खोज्दै सुन्दर भविष्यको सुन्दर जीवनलाई पछ्याउन उद्दत सौन्दर्यप्रेमी व्यक्तित्व हुन् यिनी । कार्यक्रशलता शिष्टता मर्यादा एवम् आस्थाको धरोहर शालिन व्यक्तित्व छ यिनको । व्यवहारमा लचकता विचारमा दृढता बोलाइमा शिष्टता प्रस्तुतिमा नम्रत्ाा र चिन्तनमा वस्तुनिष्ठताले ओतप्रोत अनुकरणीय व्यक्तित्व छ यिनको । अझ निचोड निकालेर भन्नुपर्दा प्रतिभावान् कवि क्षमतावान् पत्रकार निष्ठावान् राजनीतिज्ञ अनि सबैका प्यारा मित्र आदरणीय अभिभावक हुन् यिनी । यस्ता व्यक्तिले आज पानी पानी भनिरहनुपरेको छ । धिक्कार छ तिमीहरूलाई । बरु मलाई पिट । शक्ति छ भने आओ विचार लिएर आओ । विचारको युद्ध गरौं ।
बर्दिधारी-२ - पिटाई रोक्दै भो भो । अब कैदीहरू कसैलाई नपिट्ने है यहाँ । यो सेन यहाँ पिट्दापिट्दै मर्यो भने देख्नेहरू बाहिर भुक्छन् । त्यो भुकाइले हामीलाई ठूलो असर पार्छ । अझ यो सेन त झन् शक्तिशाली मान्छे हो । यसलाई जहाँ जेल चलान गर्दा पनि पत्रकारहरू मानवअधिकारवादीहरू पछि लागिहाल्छन् । यो पत्रकारहरू मानवअधिकारवादीहरूको जात पनि अचम्भकै हुँदो रहेछ । साथीहरू भन्थे- यसलाई राजविराजबाट जेल सरुवा गर्ने बहानामा बेपत्ता पार्ने योजना थियो । पत्रकार महासंघ सप्तरीले थाहा पाइहालेछ । त्यहाँबाट सिराहा ल्याउन भनेर हिँड्दा तत्कालिन पत्रकार महासंघका अध्यक्ष वैद्यनाथ झा साथ लागिहाले रे । सन्त पत्रकारका रुपमा चिनिएका दारी पाल्ने ती पत्रकार आँटी रहेछन् । फर्कभन्दा जहाँ लान्छौ सेनलाई म पनि त्यही जान्छु भन्थे रे । जेल सरुवा गरेकै हो भने र सिराहा लाने नै हो भने जेलभित्र सेनजीलाई पठाउनुस् अनि म पनि दुईचारवटा कुरा त्यहाँका जेलरसँग गरेर सप्तरी फर्कन्छु भन्थे रे ।
बर्दिधारी-३ - यसले लेखेको जेल सम्बन्धी कविता चाहिं मलाई पनि कण्ठै छ । सुनाऊँ त । ऊ इच्छुकको जेल शीर्षकको कविता भन्न थाल्छ ।
जहाँ जीवन बन्धनहरू भित्र कैद हुन्छ
जहाँ सुन्दर सपना सधैं अवैध हुन्छ
जहाँ मुक्त आकांक्षाहरू बन्देज हुन्छन्
जहाँ हार्दिक भावहरूमा ठेस लाग्छ ।
अनि जहाँ बासी हावा बहने दुर्गन्धमा पनि
निर्धक्क सास फेर्न प्रतिवन्ध हुन्छ
बन्दुकको पहरा होस् अथवा त्यो कानुनको घेरा होस्
के फरक पर् यो र मित्र भयभित परिवेशमा
त्रासित जिन्दगी जहाँ बाँच्नु परेपनि त्यो जेल हुन्छ ।
कविता त यसले राम्रो लेख्छ । अनि कसरी यसलाई यहाँ ल्याइयो त साहब
बर्दिधारी-२ - सबै कुरा त मलाई पनि थाहा छैन । ती पत्रकार महासंघका अध्यक्ष वैद्यनाथ झाले नछाडेपछि सेनलाई बोकेर हिँडेको गाडी सिराहाको विष्णुपुरबाटै राजविराज फर्काइएछ । पुनः राजविराज जेलमा नै पठाएपछि झा फर्किएछन् । त्यही राती नै यो सेनलाई राजविराज जेलबाट महोत्तरीको जलेश्वर जेल चलान गरिएछ । पछि यो विशिष्ठ वर्गको व्यक्ति भएकाले दवाव सिर्जना भएछ । अदालतले रिहाई गरिहाल्यो । जनदिशा दैनिक पत्रिकाको सम्पादन गर्नु पनि यसको अपराध हो । चटक्कै लेख्न छाडेको भए त हुन्थ्यो नि । भुस भरिएको दिमाखमा यी कुराहरू कहाँ आउँछन् ! मर् अब मर् । कुकुरको मरण भोग् ।
बन्दी-२ -सुधा त्रिपाठीको इच्छुक स्मृति ग्रन्थमा लेखिएको लेखको अंशसँग मेल खाने कुरा गर्छिन् ।
अभिव्यक्तिको जोखिम मोल्ने कवि हुन् इच्छुक । भन्न मन लागेको कुरा कवितामा भन्दै नभन्ने गरी लेख्ने कवि मध्येमा पर्दैनन् यिनी । निरर्थक बाँच्नु भन्दा सार्थक मर्नु उचित सम्झन्छन् यिनी । यिनी मृत्युलाई पहिले स्वीकारेर क्रान्तिमा होमिएका हुन् । त्यसैले यिनले आफ्नो अभिव्यक्तिको जोखिम पनि उठाएका छन् । आखिरमा तिमीहरू पनि तड्पिई तड्पिई मर्छौ । यिनलाई मारेर तिमीहरू इतिहासमा ठूलो भुल गर्दै छौ । कहिल्यै नसुध्रने भूल…… सेनको नाजुक अवस्था देखेर रुन थाल्छिन् ।
बन्दी-१ - दर्दले छटपटाउँदै हुँ…मरे…मरेनि आमा । अब मैले तिम्रो सेवा गर्ने मौका नपाउँने भएँ । केही क्षणमा नै बर्दिधारी-१ को प्रवेश भीआईपी कोठामा हुन्छ । त्यहाँ बर्दिधारी-१ को मुक्कासँगै बुट र लाठी बजि्ररहँदा बन्दीको प्राणपखेरु उड्छ । बन्दीको मृतक शरीरलाई बोरामा पोको पारेर एक कुनामा थुपारिन्छ । सरकारी नम्बर प्लेट परिवर्तन गरी रातो बनाइएको बा१च६०७ नम्बरको सेतो रङ्गको हाइलक्सपिकअफ भ्यानमा हालेर क्लव बाहिर निकालिन्ो तरखर हुन्छ । अन्य तल्ला दर्जाका बर्दिधारीहरू सम्मिलित टोलीले राती लासलाई आर्यघाट लग्ने कार्यक्रम बन्छ । घटनालाई गोप्य राख्न उच्च सतर्कता अपनाइन्छ । कुनै कैदीलाई त्यहाँ राखिन्न । नयाँ बर्दिधारीहरूलाई समेत अन्यत्रै खटाइन्छ ।
दृश्यः-३
रातको समय छ । आर्यघाटको स्थानमा बर्दिधारीहरू उभिएका छन् । शहरका मान्छेहरूको चालचुल छैन । निम्न तहका बर्दिधारीहरूको मुहारमा निराशाका वादलहरू मडारिएको प्रष्ट आभाष हुन्छ । उच्च तहका बर्दिधारीहरू भने मनमा त्रास लिएर पनि ओठमा हाँसो ल्याउँने असफल प्रयास गरिरहेका हुन्छन् । सर्वत्र अनिष्टै अनिष्ट निम्तेला जस्तो वातावरण हुन्छ ।
नेपथ्यबाट आवाज आउँछ - दण्डको पनि सीमा हुन्छ । युद्धको पनि नीति हुन्छ । यी विचारा सेनको के गल्ती कलमका भरमा बाँच्नेहरूको यो दुर्दशा । यो त सरासर अत्याचारको पराकाष्टा हो । यो कालको इतिहासले हामी बर्दिधारीहरूलाई सक्तो सराप्दछ । केही मलिन स्वरमा हामी सबैले विराएका छैनौँ सेन । हामीलाई माफ गर । ठूला ओहोदाका केही मच्छडहरूबाट तिम्रो यो हविगत हुन गयो । यो कालो इतिहासलाई जस्ताको तस्तै लेख्न हामी सहयोग गर्नेछौँ । तिम्रो यो कायरतापूर्ण हत्यामा हाम्रो भौतिक उपस्थिति नभए पनि दोषी छौँ । किनकि हामी रमिते भयौँ । रमिते तमासे भएर हामीले ठूलो भुल गर्यौँ । हामीलाई माफ गर ।
बर्दिधारी-२ - छक्क पर्दै साहब यो कसको आवाज हो
बर्दिधारी-१ - आवाज जसको होस् । कर्तव्य पूरा गर्दा गर्दै सेन खलास भइगयो । मेरो पनि चाहना हैन यसलाई मारिहाल्ने । यो भवितव्यमा पर्यो । यसलाई हामीले यही रुपमा लिनुपर्छ ।
नेपथ्यबाट चर्को आवाज आउँछ - ए अफिसरहरू तिमीहरूको यो खेलले धेरै सपुतहरू मरे । जो मरे पनि गरिब बाउआमाका सन्तान मरे । तिमीहरू जस्ता जल्लादहरूको यो खेलले हामी बदनाम भयौ । यस्तै अत्याचारले पि_िल्सएकाहरू यहाँ अनगिन्ती छन् । यत्तिखेर हामी इतिहासको संगीन घडीमा यात्रा गरिरहेका छौँ भन्ने नविस्र । विगतको जस्तो कालो इतिहास सधैँ रचिन्न । यी कृष्ण सेन इच्छुकको बारेमा जे जति भनिएपनि त्यसले यिनको समग्र मूल्यांकन हुन सक्तैन । यिनको दिव्य महान्ताको वयान गर्न शब्दको अर्थ लगाउने सामथ्र्य गुमेको क्षणमा छौँ हामी कायरतापूर्ण दमन गर्ने यो यात्रा गद्दारहरूको यात्रा हो । जे नहुनु थियो भइगयो । अब यिनले हिँडेको बाटोका सक्कली पथगामी बनौँ । यिनले देखाएको बाटोमा लागौं । हैन लाग्न सक्तैनौं भने पनि लागेकाहरूलाई समर्थन गरौँ । जबसम्म हामी यी सेनलॆ उमारेका बेर्नाका सुसारे हुँदैैनौँ तबसम्म यिनले आफ्नो जीवनमा जोडेजस्तै शब्द र कर्मको सन्तुलन आ-आफ्नो जीवनमा जोड्न सक्तैनौँ । होसियार ! होसियार !! होसियार !!! होसमा आऊ होसमा ल्याऊ ।
बर्दिधारी-१ -चारैतिर नजर लगाउँदै जताततै अन्धकार छ । आवाज कहाँबाट आइरहेछ । आवाज त हाम्रै ग्रुपको हो भन्ने प्रष्ट छ ।
बर्दिधारी-२ - घोर आश्चर्य । नगर्नुपर्ने काम भयो ।
बर्दिधारी-३ - अझ पत्रकार मानवअधिकारवादीहरूले थाहा पाए भने अर्को आपत् आइपर्ला ।
बर्दिधारी-१ - ठीक भनिस् । दोहोरो भिडन्तको क्रममा यस्तो यस्तो हुलियाको एक अज्ञात आतंकवादीको लास फेला पर्यो भनेर रिपोर्ट तयार पार्नुपर्ला ।
नेपथ्यबाट पुनः चर्को आवाज आउँछ - खबरदार गल्ती माथि अर्को गल्ती गर्नु मुर्खता हो । सेनको मूल्यांकनको सार यी गद्दार शब्दमा उनेर मृत आत्मामाथि अर्को आक्षेप नतेसा्रऔँ । वास्तविकताको निष्कर्षलाई समात्न नसक्ने हामी घोर पापी कहलाउँछौँ । हाम्रो डिपार्टमेण्ट नै अत्याचारले सीमा नाघेको डिपार्टमेण्टको रुपमा इतिहासमा दर्ज हुनेछ । तसर्थ सही सूचना प्रकाशन गरेर मृत आत्माको शान्तिको लागि प्रार्थना गरौँ । इच्छुकको प्यारो मधेशप्रति शीर्षकको कविता सुनिन्छ ।
यति निकटबाट पहिले कहिल्यै भएको थिएन
तिम्रो गहन सम्वेदनाको आशा म पहाड हुँ तिमी मधेश
म हिमाल हुँ तिमी मैदान ढुङ्गाको भर माटो तिमी हौ
माटाको भर ढुङ्गा म हुँ म लाली गुराँस तिमी रातो गुलाफ
म लालुपाते तिमी लाल गुलमोहर म शितल बतास तिमी न्यानो हावा
तिमी ग्रीष्म हौ म बर्षात हुँ तिमी शरद् हौ म बसन्त हुँ
भिन्न-भिन्न पंछीहरूको भिन्न भिन्न गान जस्तै
हाम्रो भाषा हाम्रो वेशभुषा भिन्नाभिन्नै भएपनि
सप्तरङ्गी इन्द्रेणीको सप्तरङ्गी माला जस्तै
हाम्रो रुपरङ्ग हाम्रो मुखमुद्रा भिन्नाभिन्नै भए पनि
ए मेरो प्यारो मधेस ए सुन्दर शश्यश्यामल प्रदेश ।
बर्दिधारी-१ - यो नाटक देखाउँने को हो चिनेर पाता कस त
बर्दिधारी-३ - कसलाई कस्ने यो नाटक त पक्कै होइन । कुरा त सत्य नै हो । धेरै जानकारले बोलेको कुरा हो यो ।
बर्दिधारी-२ - तर सत्य-असत्य छुट्याउँने बेला होइन यो ।
बर्दिधारी-३ - प्रलय आउला जस्तो छ साहब ।
बर्दिधारी-१ - तँ लाटै छस् । कुन बेला के गर्नुपर्छ । तँलाई के थाहा तँलाई थाहा हुँदो हो त म झैँ ठूलो पदमा पुगिहाल्थिस् नि ।
बर्दिधारी-३ - त्यो त हो ।
बर्दिधारी-१ - शब जल्दाजल्दै उपस्थित सहपाठीहरूसँग ख्यालख्यालमै स्विट एण्ड सावर गुलियो र अमिलो गर्दागर्दै कृष्ण सेन त माथि पुग्यो । जसलाई जे लेखेको हुन्छ त्यही भोग्नुपर्छ । अब मेरो पनि प्रमोशन तिमीहरूको पनि प्रमोशन भएन त मज्जा आहासको हाँसो छाउँछ ।
नेपथ्यबाट पुनः भिन्न किसिमको कडा आवाज आउँछ - जीवनभर जनताका हितमा शब्द समर्पण गर्दै आएका आस्था र विश्वासका एक सतिसाल प्रगतिवादी कवि एवं वरिष्ठ पत्रकार यी कृष्ण सेन'इच्छुक' को भौतिक जीवन लीला यही समाप्त भइरहेको छ । यिनका शब्दहरूको पहाड सगरमाथाझैं उच्च छ । त्यस पहाडले तिमीहरू जस्ता बर्दिधारी-१ बर्दिधारी-२ बर्दिधारी-३ हरू र जनताको भक्षक गर्ने अन्य सारा बर्दिधारीहरूलाई बाँकी छाड्ने छैन । यी इच्छुकको महान्ता र वलिदानीले जनता पिरोल्ने पिराहाहरूलाई थिचिइरहनेछ थिचिरहनेछ । बदलामा जनताहरू भने उ_िक्सरहनेछन् उ_िक्सरहनेछन् । इच्छुक हरेक कलमजीविहरूलाई कलमबाटै राष्ट्र सेवा गर्न प्रेरित गरिरहनेछन् गरिरहनेछन् । धन्य धन्य जनताका प्यारा मान्छे सेन ! तिम्रो कलमलाई यो सच्चा नेपालीको सलाम !! तिमीलाई पौने तीन करोड नेपालीको श्रद्धासुमन !!!
लास जलिरहन्छ जलिरहन्छ । प्रतिबन्धू शीर्षकको कृष्ण सेन'इच्छुक' को चर्चित गीत कविता बजिरहन्छ बजिरहन्छ । नेपथ्यबाट पनि सोही गीत गुनगुनाएको आवाज प्रष्ट सुनिन्छ-
हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा ओठहरूमा ताल्चा झुण्ड्याउँदै
तिमी भन्छौ-गाऊ न त गाऊ
तर यो गीत नगाऊ
हामी भने त्यही गीत गाइरहन्छौँ ।
हाम्रा विचारमा प्रतिबन्ध लगाउँदै
हाम्रा हातमा हतकडी पहि-याउँदै
तिमी भन्छौ-लेख्न त लेख
तर यो गीन नलेख
हामी भने त्यही गीत लेखिरहन्छौँ ।
हाम्रा आस्थाहरूमा प्रतिन्ध लगाउँदै
हाम्रा खुट्टाहरूमा नेल गिराउँदै
तिमी भन्छौ-हिँड्न त हिँड
तर यो बाटो नहिंड
हामी भने त्यही बाटो हिँडिरहन्छौँ ।
ओ शासक ! प्रशासकहरू !
अस्वीकार्य त हामीलाई
तिम्रा निरंकुश आदेशहरू
तिमी जतिसुकै जुलुम र
उत्पीडनहरू शुरु गर
सक्छौ भने हाम्रा चेतनामा प्रतिवन्ध लगाऊ
र सत्यलाई कैद गर
तर ओ तानशाहहरू !
तिम्रा बर्बर स्वेच्छाचारका विरुद्ध
हामी भने निरन्तर आवाज उठाइरहन्छौ
उठाइरहन्छौ हामी तिम्रा विरुद्ध विद्रोहका मुटठीहरू
ओ अत्याचारका पहरेदारहरू !
जित हाम्रै हो
तिम्रो हार माथि विजयको झण्डा गाड्दै
हामी भने अथक र अविचल
संघर्ष गरिरहन्छौँ ।
संघर्ष गरिरहन्छौँ ।
गरिरहन्छौँ ।
नोटः- यो नाटकको पहिलो दृश्यको घटना कृष्ण सेन'इच्छुक' को जीवनमा जेठ ७ गते २०५९ मा महेन्द्र पुलिस क्लवमा घटेको घटनामा आधारित छ । दोश्रो दृश्यको घटना भने उनको जीवनमा विहानको ११ बजे जेठ १३ गते २०५९ मा सोही क्लवमा घटेको घटनामा आधारित छ । तेश्रो दृश्य भने आर्यघाटमा घटेको घटनामा आधारित छ । यो नाटकका अधिकांश कुराहरू जनदिशा दैनिकका तत्कालिन पत्रकार भरत सिग्देल र अर्की जनादेशकी तत्कालिन पत्रकार संगीताका अनुसार छन् । युग उचाल्ने अक्षरकर्मीको दुःखद अवसान शीर्षकको यो नाटक अशोक सुवेदीद्वारा सम्पादित तथा प्रकाशित आस्था र निष्ठाका सतिसाल कृष्ण सेन'इच्छुक' शीर्षकको पुस्तकमा समाविष्ट पर्शुराम काफ्लेको लेख लगायतका सोही पुस्तकका अन्य लेखहरू तत्कालिन पत्रकार महासंघ सप्तरीका अध्यक्ष वैद्यनाथ झासँगको बातचित इच्छुक स्मृति ग्रन्थका लेखहरू र आफ्नै अनुभवमा आधारित छ । पर्शुराम काफ्लेको लेखको शीर्षक छ- यसरी भएको थियो कृष्ण सेनको हत्या । उक्त लेखमा उल्लेख भएअनुसार नाटकमा पात्र सिर्जना गरिएको हो । जस अनुसार बर्दिधारी-१ प्रहरी उपत्यका हेर्ने तत्कालिन डीआईजी अमरिसंह शाह हुन् भने
बर्दिधारी-२ प्रहरी उपत्यका हेर्ने तत्कालिन डीएसपी विक्रम थापा हुन् । अर्का बर्दिधारी-३ भने सामान्य दर्जाका प्रहरी हुन् । यी बर्दिधारी-३ र बन्दी-२ मात्र काल्पनिक पात्र हुन् । बन्दी-२ नामाकरण गरिएकी पात्र काल्पनिक भए पनि उनले नेपालका धेरै विद्वान्हरूको प्रतिनिधित्व गरेकी छिन् । उनी पागलजस्ती देखिए पनि सच्चा नागरिकको भूमिकामा छिन् । त्यस्तै बन्दी-१ नामाकरण गरिएका पात्र भने कृष्ण सेन'इच्छुक' स्वयम् हुन् । २०१३ सालमा भारतको देहरादुनमा जन्मेका सेन जनादेश साप्ताहिक कलम त्रैमासिक साहित्यिक पत्रिका र जनदिशा दैनिक पत्रिकाको सम्पादन गर्थे । उनका शोकााजली इतिहासको यस घडीमा बन्दी र चन्द्रागिरी कविता संग्रह प्रकाशित छन् । उनी सफल कवि समीक्षक भूमिका लेखक, गद्यकर्मी, संस्मरण लेखक पत्रसाहित्य लेखक थिए । उनकी श्रीमती तक्मा केसी र छोरी समीक्षा छन् । तक्मा श्रीमान्को हत्यारालाई पत्ता लगाई उचित दण्ड देऊ भनेर पुकारा गरिरहेकी छिन् । सेनको योगदानको कदर गर्दै कृष्णसेन अनलाइन खोलिएको छ । मरणोपरान्त उनलाई सहासिक पत्रकारिता पुरस्कारले समेत सम्मानित गरिएको छ । उनको योगदानका वारेमा यस पिढी र आउँदा पिढीलाई
यथेष्ठ जानकारी दिन विभिन्न संघसंस्थाले स्मृति ग्रन्थ निकाल्दै आएका छन् ।
http://www.majheri.com/taxonomy_vtn/term/1470
टिप्पणियाँ
एक टिप्पणी भेजें