कथाक्रम Short Story

कथाक्रम


१. समयको नाऊ
२. पीडाको बखान
३. संगिनी बेचिनी
४. त्यो स्कूल
५. बाठा मच्छडहरु





१. समयको नाऊ
नन्दलाल आचार्य


प्रिय मित्र अभितकुमार,
वाल्यसखाको न्यानो सम्झना ।
   अहिले भने म यहाँ सुखी र खुशी छु । त्यहाँ तिमी पनि कुसल मङ्गल छौ भन्ने कुरामा आशावादी छु । यो नारानेले किन चिठी लेखेछ भनौला । खास विशेष कामले नै चिठी लेख्न बसेको होइन । तर यहाँ समेटिने मेरा कुराले तिम्रो मन छुने पक्का छ । अतः पहिले अनुभव मेरै ढाँचामा सुन, त्यसपछि तिम्रो जे विचार होला त्यसै गरौला, हुन्न ? यहाँ केवल विगतलाई वर्तमानमा ल्याउने काम मात्र हुनेछ ।
        प्रिय मित्र अभितकुमार, २०५९ फाल्गुन ९ गतेको कुरा वताउँदै छु । भयावह समय तेर्सिएको हुन्छ । जताततै मुखौले कानूनले जरा गाडेको हुन्छ । बोल्न र भन्न पाइन्न । सुन्नु मात्र पर्छ । सुन्दासुन्दा कान पाक्छन् । जुन प्रश्न सोधिन्छ, त्यसकै मात्र सटिक जवाफ पस्कनुपर्छ । राणाकालीन शैली, निरंकुशताको पराकाष्ठा जताततै व्याप्त हुन्छ । मनभरि कुराहरू गुम्स्याएर र भित्रभित्रै कुड्याएर धर्तीमा पाइला टेक्नुको विकल्प हुन्न । मानौंं जनताहरू धर्तीमा उत्पन्न भएका गुहेकीरा हुन् र मुखौले कानुनका निर्माता एवं संरक्षकहरू चाहिँ कथित स्वर्गबाट इन्द्रका आदेशले खटिएका देवदूत हुन् ।
    तराईको ठाउँ । फागुन महिनाको न्यानो घाम तापेर कामेश्वर किताबका पानाहरू उल्टाइरहेछ । सडक सुनसान छ । एकाध मान्छेहरू साइकल गुडाइरहेका छन् । पैदल यात्रुहरू यात्रामा छन् । यातायातका अन्य साधनहरू रत्तिभर सडकमा देखिँदैनन् । चारैतिर बन्दको हल्ला छ । कामेश्वरले पनि सुनेको छसरकारको अप्रजातान्त्रिक कार्यको विरोधस्वरूप जनयुद्धरत् शक्तिले बन्दको आयोजना गरेको हो । बन्दले सरकारको ध्यान खिचिदैन । सरकार जनताको आवाज सुन्न  तयार हँुदैन । कुर्सीको मोह प्रदर्शन मात्र गरिरहन्छ । सनातनी परम्परामा रत्तिभर सुधारको सङ्केत देखाउँदैन । उल्टै मुलुकमा सङ्कटकाल थोपरिएको छ । जनताको मौलिक हक शासकको पोल्टामा परेको छ । जोसुकै जुनसुकै बखतमा पनि गिरफ्तार हुन सक्छ । कारणले वा अकारणले जोसुकै जुनसुकै बेला मृत्युको मुखमा पस्न सक्छ । मन आतङ्क र त्रासदीले नराम्ररी गाँजेको अवस्था छ । कामेश्वर किताबका पानातर्फ ध्यान खिच्न खोज्छ तर सक्दैन । उसले टेकेको धर्ती जलिरहेको छ । त्यही धर्तीमा जल्नेहरू पौने तीन करोड छन् भने धर्ती जलेको तापले तात्तिएका, मात्तिएका र पात्तिएका मुठ्ठीभर शासकहरू छन् । मुठ्ठीभर शासकहरू र पौने तीन करोड निमुखाहरू बीचको फरक तुलना गर्नमा नै कामेश्वरको ध्यान खिचिन्छ ।
       एकाएक कामेश्वरको मनमा स्कूल जाने कुरा मनमा आउँछ । साँढे नौ बजे स्कूल पुग्नुपर्ने नियम छ तर साँढे एघार बजिसकेको हुन्छ । बन्दको कारणले स्कुल पनि बन्द छ भन्ने सोच्न उसले भुलेको छैन । जताततै बन्द छ, राष्ट्रकै स्पन्दन बन्द छ । स्कुलका झ्याल, ढोका बन्द नहुने कुरै भएन । उसले यही कुरा सोचेर ढिलाई गरेको थियो । एक मनले उसलाई भनिरहेको थियोशासकहरू चेत्दैनन्, शासितहरू कत्ति जल्नु र पलपल ढलपल भइरहनु ! आफ्ना हक अधिकार र स्वाधीनताका लागि नेतृत्व दिन सकिन्न भने पनि नेतृत्व दिनेको छहारीमा बस्न कन्जुस्याइँ गर्नहुन्न ।
      मनभरि कुराहरू खेलाउँदै कामेश्वरका पाइलाहरू स्कुलतर्फ मोडिन्छन् । बीच बाटोमा नै एक सहकर्मी शिक्षकको मलिन स्वर उसको कानमा ठोक्किन पुग्छ–“सर ! कामेश्वर सर, चैलजाउ । ई सहरेसँ चैलजाउ । सेना स्कूलके घेर्नेे अछि । अहाँके ताकिरहल अछि । हमरा अहाँके बजबैल पठाने अछि । अहाँ भागि जायव त हम सरके नहि भेटलौँ कैह देब । अहाँ बैच जायब । कृपया भागी जाउ ।” (सर ! कामेश्वर सर, भाग्नुस् । यो शहरबाटै भाग्नुस् । सेनाले स्कूल घेरेको छ । तपाईंलाई खोजिरहेछ । मलाई तपाईंलाई बोलाउन पठाएको हो । तपाईं भाग्नु भयो भने मैले सरलाई भेटिन भनिदिन्छु । तपाईँ बच्नुहुन्छ । कृपया भाग्नुस् ।) सहकर्मी शिक्षकको कुराले उसको मनमा आँधी आउँछ । उसलाई ठूलो अनिष्टको पहाड थाप्लामा नै बज्रेजस्तो हुन्छ । परिस्थितिलाई अंगाल्नु नै पर्छ भन्ने ठान्न वाध्य हुन्छ । उसले भाग्ने कुरालाई रत्तिभर पचाउन सक्दैन । पचाउनुपर्ने कारण हुनुपर्यो । उसले कारण नै भेट्दैन । उसका पाइला अझ छिटोछिटो स्कूलतर्पm लम्किन्छन् ।
       क्षणभरमै ऊ स्कूल पुग्छ । सैनिक मेजर विद्यालयका निर्देशक सरलाई केरकार गर्दै हुन्छन्् ।
  आज स्कूल किन बन्द ?
  स्कूल बन्द छैन, सरहरूमिसहरू हुनुहुन्छ । विद्यार्थीहरू चाहिँ आएकै छैनन् ।
  उसो भए तपाईँको कामेश्वर सर खोई ? किन भगाउनुभयो ?
  भगाएको छैन, भगाउनु पर्ने कारण पनि छैन । सायद आउँदै हुनुहुन्छ होला ।
  कामेश्वरको आनीबानीको एकएक रिपोर्ट दिनुस् ।
सर नियमित स्कुल आउँनुहुन्छ । लगातार ५ वर्ष यस विद्यालयमा सेवा दिइसक्नुभयो । श्रेष्ठ शिक्षकको रूपमा गनिनुहुन्छ । मर्यादित कुरो गर्नुहुन्छ । यस वाहेक कुनै कुरा उहाँको बारेमा अरू छैन ।निर्देशक सरको कुरा सकिनासाथ मेजरको नजर कामेश्वर माथि पर्र्छ । उनी भन्न थाल्छन्, “उसो भए तपाईँको शिक्षकलाई सोधपुछ गर्नुछ । अहिले म उहाँलाई लग्छु । तपाईँको अनुमतीले अर्थोक केही गर्छु । बुझ्नुभो ?” निर्देशक सर अक्कनबक्क पर्छन् । हेडम्याडम घृर्णित नजर मेजरतर्फ फ्याक्दै मुख खोल्छिन्, “कामेश्वर सर त आबि गेलयि । जे किछु पुछबाक अछि, एतै पुछिक भ जेतै न । हुनका बाहर ल जायके बात नहि करु ।” (कामेश्वर सर पनि आइपुग्नुभएछ । जे सोध्नुछ यहीँ सोध्दा भै गयो नि । शिक्षकलाई बाहिर लग्ने कुरा नगर्नुस् ।)
       कुन कुरा मिल्छ, कुन कुरा मिल्दैन  । त्यो शिक्षा मैले माथिबाटै प्राप्त गरेको छु । मलाई नपढाउनुस् । मेरो अनुसन्धानमा भाँजो हाल्ने काम गर्नुभयो भने बुझ्नुस् । तपाईँहरूले पनि मतियारको रूपमा दर्ता हुनुपर्छ । यो सङ्कटकाल हो । यसबेला हकअधिकारको वकालत नगर्नुस् । यो सङ्कटकाल निम्त्याउने तपाईँकै कामेश्वर सर जस्ता बुझ्झक्कडहरू हुनुहुन्छ, बुझ्नुभो ?” मेजर कुरो टुङ्गयाउँछन् ।
   कामेश्वरलाई अघि लगाएर मेजर बाहिरिन्छन् । पछिपछि ५,६ जना सशस्त्र सैनिक जवानहरू छन् । सैनिक गाडीमा कामेश्वरलाई अगाडि बसाइन्छ । अरू सबै सैनिक जवानहरू गाडीको पछिल्लो भागतर्फ बस्छन् । मेजर आफैँ ड्राइभरको रूपमा गाडी हाँक्छन् । गाडी विस्तारै गुड्छ । मेजर पनि विस्तारै कुरा कोट्याउँदै अघि बढ्छन् । सडकका पेटीमा, घरका छतमा विद्यार्थी, अभिभावक र अन्य शुभेच्छुकहरू कालोनीलो मुख लगाएर यो दृश्य हेरिरहन्छन् । गाडी गुडिरहन्छ । हरेकका मनमा हरेक थरीका प्रश्नहरू, आशंकाहरू जन्मिरहन्छन् ।
     कामेश्वर अबुझ व्यक्तिजस्तो भएर मेजरको मुहार नियाल्छ, वरपरको दृश्यको अवलोकन गर्दछ । करिव १० मिनेटको यात्रापछि मेजर यात्रा मन्द पार्छन् । प्रश्नको थुप्रो ठड्याउन थाल्छन् । करिव २० मिनेटसम्म प्रश्नको झटारो आइरहन्छ । उत्तर पनि गइरहन्छ । मन्दगतिमै यात्रा पनि अघि बढिरहन्छ । त्यसै बीच मेजरले मनको मैलो देखाउँदै भन्छन्,“हेर्नुस् कामेश्वर सर ! तपाईँहरू जस्तो विद्वान् मान्छेको कलिलो ज्यान निमोठ्ने मन मलाई छैन । म कर्तव्यले बाँधिएको मान्छे हुँ । राष्ट्रको सिन्दूर पहिरेको छु । माथिकाको मनोकांक्षालाई बुझेर मैले काम फत्ते गर्नुपर्छ । मलाई सहयोग गर्नुस् । मेरो मन मानवमन हो । वाध्यतावस् यो मनलाई पत्थरमनमा परिणत गर्न नलगाउँनुस् । चाँडै सत्य बक्नुस् । तपार्इँ कुन पदमा बसेर काम गर्नुहुन्छ ? तपाईँका हेड कमाण्डरहरू र सहयोगीहरू कुन ठाउँमा बसेर काम गर्छन् ? सबै नालिबेली बताउनुस् । नत्र पत्थरमनले नामोनिसान मेट्न सक्छ ।
     मेजरका कुराले कामेश्वरको मथिङ्गल रन्थनिन्छ । उसका आँखाका सपनाहरू एकाएक च्यातिन थाल्छन् । ओठ तालु जम्मै सुक्न थाल्छन् । ऊ गरुडपुराणमा वर्णित रौरव नरकको नालीवेली सम्झन्छ । पढेको कुरा यथार्थमा परिणत भएको आभाष हुन्छ । त्यही विभत्सकारी दृश्यहरू दोहोरिँदै गएर आफूकहाँ आइपुगेको आभाष हुन्छ उसलाई । ऊ मृत्युको भयले असाध्यै विचलित हुन्छ । आफ्नो भूत, वर्तमान सम्झन थाल्छ । भविष्यविहीन रूपमा आफू दुई दिने पाहुनाको रूपमा मेजरको सामु उपस्थित भएको ठान्छ । मनमा कुरा खेलाएको तर ओठ नखोलेको देखेर मेजरका मुखरावृन्दबाट पुनः बोली फुट्छ, “कामेश्वरजी, हतास नबन्नुस् । सास रहेसम्म आश गर्नुस् । तपाईँका निम्ति म कसाई मात्र होइन हैन, सहयोगी पनि हुँ । राष्ट्रका कलंकका निम्ति म कसाई हुँ, राष्ट्रका भविष्यका ताराका निम्ति म सेवक हुँ । तपाईँलाई कलंक र तारामध्ये कुन दर्जामा राखूँ भन्ने सबालमा तपाईँकै मुखबाट खुल्ने गोप्य रहस्यबाट ज्ञात हुन्छ । राष्ट्रलाई बचाउन सहयोगी भूमिका खेल्नुभएमा म पनि सहयोगी पात्रकै रूपमा उपस्थित हुनेछु ।
     मेजरले उसलाई सकेजति नचाउन खोज्छन्, तड्पाउन खोज्छन् । ऊ भने चुप नै रहन्छ । तेजविहीन, उत्साह विहीन मात्रै हैन ज्यान विहीन स्वरूपझैँ उसको शरीर देखिन्छ । कामेश्वरको मौनतालाई चिर्दै मेजर नै अघि सर्छन्, “कामेश्वरजी, निरास बन्दै नहुनुस् । यत्रो उमेर हुँदासम्म पनि विवाह भएको रहेनछ । विहे भएको भए घरभरि लालाबालाहरू हुन्थे । यत्रो उमेर कसरी एकलरूपमा विताउन सक्नुभएको हो ? सडकमा हिँड्ने राम्रा तरुणी देख्नासाथ तरुणो मनले माया खन्याइहाल्छ रे । तपाईँको मन पनि त्यस्तै भयो होला । कि तपाईँ कुनै तरुणीबाट धोका खाएको बबुरो हुनुहुन्छ ?”
       यस्तो अनावश्यक प्रश्नले कामेश्वरलाई अचम्भित पार्यो । मेजर कुन बाटोबाट आफ्नो मनका कुराहरू बुझ्न खोजिरहेछन् भन्ने कुरा उसले बुझ्न सक्दैन । ऊ अझै मौन हुन्छ । मेजर एकोहोरो बोल्दै जान्छन्, “म मात्र बोल्ने, तपाईँ श्रोता मात्र हुने हो भने तपाईँको पक्षमा निर्णय कदापी हुन्न । तपाईँ आरोपित व्यक्ति हुनुहुन्छ । आफ्नो सफाइ पेस गर्न कन्जुस्याईँ गर्ने हो भने जरुर तपाईँ दोषी हुनबाट  चोखिनुहुन्न । जो दोषी छ, जो कलंकित छ, उसले अस्तित्व सुरक्षित बनाउन हम्मे पर्छ । आफूलाई जोखिममा नपार्नुस् । म पुनः भन्छुु सत्य बक्नुस् । यो सङ्कटकाल छोट्याउन मद्दत गर्नुस् ।
     कामेश्वरलार्ई खपिनसक्नु हुन्छ । ऊ अब मुख नखोलीकन थेगिने अवस्थामा रहन्न । उसका मुखबाट पनि आक्रोशयुक्त झिल्का देखिन थाल्छन्,“मलाई तपाईँ जे भन्नुस्, जे देख्नुस् । मैले कुनै गलत काम गरेको छैन । मैले राष्ट्रका निम्ति कलंकित सावित हुने कुनै काम गरेको छैन । म युद्ध मैदानमा बम, बन्दुक बोकेर खटिएको योद्धा पनि होइन । म कलमजीवि हुँ । कलमकै पौरखले बाँचेको छु । मेरो कलमले समयको तीतो क्षणप्रति आक्रोश पोख्यो होला । सत्यमा चल्ने, न्यायमा विश्वास राख्ने र प्रगतिशील समाजको निर्माणका लागि मेरो कलमले थोरै मसी चढाउने कोशिस गर्यो होला । त्यो तपाईँहरूले नै ठम्याउनु भएको होला । अर्थोक मैले केही गरेको छैन । मैले कतै मेरो नैतिक समर्थन दिएँ होला । त्यो मेरो नैसर्गिक हक पनि हो । तपाईँ राम्रो काम गर्नुस्, मेरो मन जित्ने काम गर्नुस् । मेरो पूर्ण समर्थन त्यस कामका लागि हुनेछ । मैले (वा अरूले) नै समाजका निम्ति पच्य काम गर्दाभने तपाईँ समर्थन गर्नुहोला । यस्ता कुरा बाहेक मबाट केही काम भएकै छैन । कसैको गलत कामलाई आँखा चिम्लेर समर्थन गर्दै, प्रचारप्रसार गर्दै हिँड्ने काम मबाट भएको छैन । मेरा यी हातले अक्षर कोर्नु बाहेक अर्थोक जानेका छैनन् । मेरा यी ओठहरूले स्वच्छ, हराभरा, सुखी, शान्ति र प्रगतिन्नोमुख समाजको निर्माण बाहेक अर्थोकको चाहना राखेका छैनन् । समाजमा व्याप्त विकृति, विसङ्गति र पूरातनवादी संस्कृतिलाई संसोधन गर्नु आवश्यक छ भन्न पनि म नपाउने ? हेर्नुस्, मेजर साहव, म मात्र भुसुनो हुँ, म मान्छे बन्न लालायित भुसुनो मात्र हँु । मबाट यस राष्ट्रका लागि केही हुनसकेको छैन । म कलमले बाँचेको र राष्ट्रको समुन्नतिमा थोरै भए पनि देन होस् भन्ने चाहना संगाल्ने व्यक्तिलाई राष्ट्रकै कलंकित व्यक्तिको रूपमा चित्रण गर्नुहुन्छ भने सुन्नुस्मेरो कुरा पनि सुन्नुस् । मेरो मनको कुरा सुनेर, बुझेर र गुनेर मात्र अर्थोक कुनै निर्णय गर्नुस् । हेर्नुस्, मैले २८ वर्षे जीवन विताइसकेँ । संसारलाई धेरै नजिकबाट चिनिसकेँ । यत्तिञ्जेलसम्म म न घर भित्रकाको भएको छु, न वनभित्रकाको भएको छु । म मात्र भुसुनो हुँ । म भुसुनोले राष्ट्रलाई सङ्कटको दलदलमा भसाएको हुँ भन्ने प्रमाण पेश गर्नुस् । मेरो हृदय सानो छैन, म असाध्यै डरपोक पनि छैन । मलाई मृत्युदेखि पनि डर लाग्न छाडेको छ । मेरो चित्त बुझाउँनुस् । मलाई राष्ट्रको कलंकको टीकोको रूपमा सावित गर्नुस् । अनि तपाईँलाई नियम कानूनले जे गर्न अधिकार दिएको छ त्यही गर्नुस् । नत्र भने यसरी तड्पाई तड्पाई नमार्नुस् । पलपल मर्नु साह्रै दुःखदायी हुँदो रहेछ, एकै पटक मर्नु बरू सुखदायक हुँदो हो ।
     उसको लामो कथनपछि मेजर तीन छक्क पर्छन् । चुपचाप रहन्छन् । कामेश्वरले पनि आफ्ना कुरा माथि परेको अनुभव गर्छ र पुनः मुख खोल्छ–“तपाईँ भ्रममा हुनुहुन्छ । तपाईँ सरकारी धन बेक्कारमा नष्ट गर्दै हुनुहुन्छ । मलाई यो सरकारी गाडीमा बसाएर यात्रा गराइरहनुको कुनै औचित्य छैन । मेरो बारेमा भएको भ्रम पनि हटाउँनुस् र मलाई आफ्नै सार्वजनिक जीवन विताउन दिनुस् । म अर्थोक....।उसका कुरा टुङ्गिन नपाउदै मेजरले गाडी किनारामा अड्याएर कुर्लन थाल्छन्,“ए तपाईँ मात्र विद्वान् । मलाई मूर्ख नै सम्झनुभएको ? याद गर्नुस्म मूर्ख हैन । मूर्ख त तपाईँहरू जस्तै व्यक्ति हुनुहुन्छ । २०, २२ जना विद्वान् शिक्षक, शिक्षिकाहरूमध्ये तपाईँलाई चुनेर ल्याउनु मेरो रहर हो ? तपाईँलाई यो १६ लाखको सरकारी गाडीमा सहरको सैर गराउँदा मलाई व्यक्तिगत के लाभ हुन्छ ? म मेरो ड्युटी गरिरहेछु । मेरो ड्युटीमा अवरोध पुर्याउने व्यक्तिका लागि एक गोली नै काफी छ । यस्ता एक गोलीका शिकार हुनेहरू धेरै छन् । तपाईँलाई पनि तिनकै पंक्तिमा उभिने मन छ भने त ठीकै छ । नत्र झुटको खेती गरेर मलाई अन्धकारमा नराख्नुस् । हैन, उज्यालोको खेती गर्ने व्यक्ति हुनुहुन्छ भने सत्य बक्नबाट टाढा नरहनुस् । सम्झनुस्, सुकरातले सत्य बकेर र सत्यकै लागि हेमलेट नामक विष पियर मृत्यु वरण गरेका थिए । त्यसैले पो उनको नाम संंसारले लिइराखेको छ । विद्वान् भएर पनि मूर्खता प्रर्दशन गर्दै सबै नेपालीलाई भ्रममा नपार्नुस् ।
           मेजर आप्mना तर्कहरू राख्दछन् । कामेश्वर पनि आप्mना मतले आफू निष्कलंकित भएको पुष्टि गर्दछ । करिब ४ घण्टे प्रश्नोत्तर पछि मेजर गाडी लिएर कामेश्वरको डेरामा पुग्छन् । बाकस खोलिन्छ, ट्रङ्क उघारिन्छ । एक एक किताब, कापी, पत्रिकाहरू उल्टाइन्छ । ओछ्यानमुनि भएका कागजपत्रहरू खोतलखातल पारिन्छ र ५ धोक्राहरू ठड्याइन्छ । ती धोक्राहरूमा खाली किताब, कापी र पत्रिकाहरू मात्र हुन्छन् । तिनमा पनि कुनै कामेश्वर आफैले लेखिसकेका कापीहरू हुन्छन्, कुनै प्रकाशोन्मुख कृतिका पाण्डुलिपीहरू हुन्छन्, कुनै आफ्ना रचनाहरू प्रकाशित भएका पत्रिकाहरू हुन्छन् तर धेरै जसो आई.ए., बी.ए., एम.ए. र शाखा अधिकृत परीक्षाका निम्ति सङ्कलित पुस्तकहरू हुन्छन् । एकाध पुस्तकहरू मात्र कम्युनिष्ट पार्टी, राजनीति, राजदरबार हत्याकाण्ड सम्बन्धी हिन्दी, अंग्रेजी भाषामा लेखिएका पत्रिकाका कटिङ्ग र नेताहरूका बारेमा हुन्छन् । ती पुस्तकहरूमा पनि धेरै जसो  साझा प्रकाशन र प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित पुस्तकहरू हुन्छन् । सैनिक जवानहरू यी सबै आतङ्ककारी दस्तावेज हुन् भन्दै धोक्रामा हाल्ने गर्छन् । कामेश्वरको असहमतीका कारणले केही पुस्तकहरू छाडिन्छन् । आखिरमा कामेश्वरलाई पुर्याइन्छ, जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा र नाम खुल्न नसकेको आतंकारीको कोठाबाट तीन बोरा आतङ्ककारी दस्तावेज र पाँच थान नयाँ पुराना हतियार बरामत भएको झ्याली पिटाइन्छ ।
    प्रिय मित्र अभितकुमार, के लेखौँ । सानो कोठा । १५ जना मुस्किलले सुत्न हुने कोठा । पिउने पानीको कल त्यहीँ, ट्वाइलेट त्यहीँ । जताततै हिलै हिलो । मच्छडको ठूलो हुलले आतङ्क मच्चाएको हुन्छ त्यहाँ । कालकोठरी नामाकरण गरेको ठीकै रहेछ भन्ने हुन्छ उसलाई । पडका पड्काएको आरोपमा पक्राउ परेका १२ वर्षका केटाहरूदेखि लिएर नाती भगाएको आरोपमा गिरफ्तार गरिएका ७७ वर्षिय बूढासम्मका त्यहाँ हुन्छन् । आशाराम चौधरीजस्ता हतियार सहित पक्राउ परेका र भोजपुरधनकुटा जिल्लाबाट आतङ्ककारीको आरोपमा जेल चलान गर्दै ल्याइएकाहरू पनि हुन्छन् त्यहाँ । पक्राउ गर्नु परेपछि खान, बस्न र सुत्न दिनुपर्छ तर ती कुनै कुराहरू पनि त्यहाँ उपलब्ध हुन्न । मानव अधिकारकर्मीहरू त्यहाँको बिजोग हेर्न कहिल्यै पुग्दैनन्् । उसले पनि मान्छेको दशा नजिकैबाट हेर्न पाउँछ । प्रायः जसो सबै कैदीका शरीरभरि निलडाम हुन्छन् । अर्को कोठामा महिलाहरू थुनिएका हुन्छन् । तीमध्ये अधिकांस थारू समूदायका हुन्छन् । उनीहरूका औंलाका नङहरू उक्काइएका हुन्छन् । हाम्रो हविगत यस्तो बनाए, हेर्नुस् न भन्दै उनीहरू रोइरहेका हुन्छन् । पुरूषहरूमा पनि धेरैजसो थारू समूदायका हुन्छन् । जताततै विजोग वाहेक अर्थोक हेर्न, बुभm्न र सुन्न पाइने अवस्था नै हुन्न । अरूहरूजस्तै प्रत्येक रात आधा पाउण्ड जति खुन मच्छडलाई चढाएर रात कटाउँछ कामेश्वर पनि । दिनहरू पनि उस्तै नमीठो तवरले वित्छन् । कैदी कोठा बाहिरका कसैले बोलाई हालियो भने पनि भन्ने गरिन्छ, “रै आतङ्ककारी ! खुब पुलिस, सेना मारलिही न, बाहर ? आब भित्रेभित्रे मरैके बारी तोहर ।” (ए आतङ्ककारी ! खुब पुलिस, सेना मारिस् हैन, बाहिर ? अब भित्रभित्रै मर्ने पालो तेरो ।)
       एक रात १ बजे कामेश्वर डाकिन्छ । सोधपुछ, केरकार गरिन्छ । आतङ्ककारी हुँ, आतङ्क मच्चाउँदै हिँडेँ भन्न कर गरिन्छ । कामेश्वरको मनले मान्दैन । उसले ठाडै भन्दिछ, “म मेरो मनले नस्वीकारेको कुरा भन्न सक्तिनँ ।उसको शब्दकोशमा आतङ्ककारीले देश र जनताको कुभलो मात्रै गर्दै हिँड्छन्, उनीहरू राजनैतिक शक्ति हु्ँदै होइनन् भन्ने हुन्छ । ऊ आफूलाई सचेत नागरिक भन्न मन पराउँन्छ, मुलुकको कुभलो चिताउने नागरिक कदापी हैन भन्ठान्छ । दिनरात सोधपुछको कार्यक्रम भई नै रहन्छ । प्रश्नहरू नाना थरीका हुन्छन् तर उसको जवाफ एकै थरीको हुन्छ । आस्था मर्दैन, विश्वास हराउँदैन । आस्था जता पनि ढल्कन सक्ला । बुझ्नेहरू असल कर्मतर्फ आस्था ढल्काउँछन् । अबुझहरू आँखा चिम्लेर जता पायो त्यतैतिर आस्था र विश्वास खन्याउँछन् ।कामेश्वर बेलाबखत यिनै कुराहरू दोहोर्याउँछ ।
   प्रिय मित्र अभितकुमार, पाँच दिनपछि कामेश्वर मुक्त हुन्छ तर उसका प्रमाणपत्रहरू मुक्त हुँदैनन् । हप्ता दिन नवित्दै  मेजरले सैनिक क्याम्पमा नै बोलाएर भन्छन्,“विद्वान् मान्छे भएर पनि विश्वले नै आतङ्ककारीको सूचिमा सूचिकृत गरेकोे सङ्गठनको छहारीमा किन बस्नुहुन्छ ? त्यस्ता विनासकलाई मलजल किन पुर्याउँनुहुन्छ ? तपाईँ र तपाईँको सङ्गठनले दिवास्पना देखिरहेछ । यो साँढेको राजखानी लिने दाउ तपाईँहरूको हो । यसका लागि ५ वटा घेरा तोड्नुपर्छ । एउटा, दुइटा तोड्दैमा साँढे नजिक पुग्यौँ भन्ने भ्रममा नबस्नुस् । जनपथ पछि पर्ला, सके सशस्त्रलाई पनि पछि नै पार्ने योजना होला तर कदापि हामीलाई हराउन सक्नुहुन्न । जबसम्म हामी छौँ तबसम्म साँढेको कसैले केही विगार्न सक्दैन । विश्व इतिहासमा कतै आतङ्ककारीहरूले सैनिकलाई हराएर राज्य कब्जा गरेका छैनन् ? त्यही पनि मान्नुस् कि हाम्रो घेरा पनि तोडिहाल्नु भएछ भने पनि त्यस साँढेलाई केही गर्न सक्नुहुन्न । साँढे जिउँदो छ । आफना तीखा सिङले सबलाई चटनी पारिदिन्छ किनकि जिउँदो साँढेको स्वभाव नै यस्तै हुन्छ । तसर्थ आउँनुस् हामी सबै मिलेर उसकै छहारीमा बसौँ अनि आतङ्ककारीहरूका हरेक आतङ्ककारी गतिविधिहरू निर्मूल गरौँ । शक्तिको उपासक बनौँ ।
     मेजर बोल्दाबोल्दा थाक्छ र उसलाई बोल्न कर गरिन्छ । उसलाई मेजरको कुरामा दिलचस्पी हुन्न । उसले उही पुरानो भनाइ दोहयाउँछ । अरू केही बोदैन । दुई घण्टे बसाइलाई ऊ टुङ्गयाउन चाहन्छ । मेजरको पनि मुण्टो हल्लिन्छ । नागरिकता र केही शैक्षिक  प्रमाणपत्रहरू मात्र ऊ फिर्ता पाउँछ । केहीे वर्ष वित्न नपाउँदैमा कामेश्वर परिणाम पाउँछजनमतका अघि सारा शक्ति र अहम्ताहरू निर्मूल हुने रहेछन् । शताब्दियौंदेखि जरो गाडेका हरेक जिउँदा साँढेहरू, उसका हरेक मतियारहरू र उसका गार्डहरू पनि मुर्छित हुँदै जाँदा रहेछन्, ढल्दै जाँदा रहेछन् ।
प्रिय मित्र अभितकुमार, पत्र यत्तिमै रोक्न खोज्दै छु । अन्तमा ठूलो कुरा गर्नैपर्यो । भेद त खोल्नैपर्यो । अहिलेसम्म कामेश्वर भनिएको मान्छे म स्वयम् हुँ भन्यो भने तिमीलाई कस्तो अनुभव हुन्छ ? आफ्ना मनका विचार म पनि पाउने नै छु भन्ने अपेक्षा सहित पत्रान्त गर्दछु ।

दिनाङ्क२०६८०६०१

कथा ः पीडाको बखान
नन्दलाल आचार्य
–––पाएँ,
प्रिय भाइ,
शुभाशीर्वाद !
आकाश गर्जन्छ, पानी बर्संदैन । हिमाल फुलेको महसुस हुन्छ, खेतमा फुङ्ग धूलो उडेको भेटिन्छ । लामो समयसम्म जनताको तिरो खाएर जिम्माको कामको टुङ्गो नलगाई घर फिरेका आधा दर्जन मान्छे गाउँ चहार्न हिँडेको देखिन्छ । तीमध्ये आधा जतिले भोलिबाटै काँधमा हलोजुवा बोकी खेततिर लाग्नुपर्छ । दिनमा असिनपसिन भएर काममा जोतिनु र साँझपख घर फर्कनु अनि खाना खाएर आकाशका तारा गन्नु नै उनीहरूको दिनचर्या हुन्छ । नजिकै नहर दौडिरहेछ । त्यो नहर हेर्नका लागि मात्र यो बाटो भएर बग्छ । हाम्रो खेतमा सिँचाइ हुँदैन । कारण, नहर खेतभन्दा दश÷पन्ध्र फिट गहिरो छ । पम्पसेटले पानी तान्न महङ्गो पर्छ । अर्कातिर चाहिएको बेलामा डिजेल उपलब्ध हुन्न । जसोतसो सिँचाइ गरेर रोपे पनि बीउ नसरीकनै मर्न थाल्छ । पटकैपिच्छे पम्पसेट प्रयोग गर्ने हो भने फसल राम्रो उब्जदैन । थोरै उब्जे पनि लागत जोडजाड पार्दा सुन र धानको मोल बराबर हुन जान्छ । र, पनि हामीले बाँच्नु परेको छ । स्वतन्त्र जन्मेको मान्छे चाहेर पनि संसार छाड्न सक्दैन । स्वतन्त्र बाँच्न पनि सक्दैन । बन्धनभित्रै आफूलाई खोज्नुको विकल्प उससँग हुन्न ।
भाइ जनार्दन ! तिमीलाई पढाउने बेलामा पानीको झेलोखेलो थियो । आकासे पानीले पनि त्यत्ति साह्रो धोका दिँदैनथ्यो । सानोतिनो पानी पर्दा पनि धेरथोर रोपाइँ हुन्थ्यो । महङ्गीले आकाश छोएको थिएन । प्रदूषणले गाउँलाई बन्दै खाएको थिएन । प्राकृतिक प्राङ्गारिक मल नै पर्याप्त हुन्थ्यो । अहिलेकोजस्तो मलका लागि सामलखाजा बोकेर एक साता राजधानीमा कुर्नु पर्दैनथ्यो । युग सोझो थियो । सोझो तवरले दिनचर्या चलेको थियो ।
अरू त के ! नेतानेतृ कम थिए । खाने मुख कम थियो । भ्रष्टचार कम थियो । महङ्गी बढ्न पाएको थिएन । नेता हुन छैटीमा भावीले भाग्यमा लेखेको हुनुपर्छ भन्ठानिन्थ्यो । मानसिक होस् या शारीरिक, सामथ्र्य हुनेले काम पाउँथ्यो । हात बाँधेर भोकै मर्ने अवस्था थिएन । अहिले जमाना उल्टेको छ । स्वच्छ दिमाखले सोच्न पनि पाइएको छैन । गरिवलाई बाँच्नकै लागि रातोदिन जोतिँदा पनि हम्मे हम्मे छ । धनीलाई चारैतिरबाट धन ओहिरिएको छ । राजनैतिक चेतनाले सबै जसोमा उग्र विकृत मानसिकता जन्माइदिएको छ । मभन्दा जान्ने र बुझ्ने अरू कोही छैनन् र हुनु पनि आवश्यक छैन भन्ने आभाष फैलिएको छ । धेरै जसो नागरिक राजनैतिक गुट÷उपगुटको नेतानेतृ बन्न लालायित छन् । साधरण नागरिक भई बाँचिरहेकाहरू अल्पसङ्ख्यामा छन् । केके छन्, छन् ! कहिरन उतारेर साध्य छैन । गाउँले धेरै खाले नेतानेतृ जन्माएको छ ।
यही युगको एक अनागरिक बनेर हामी बाँचिरहेका छौँ । नागरिक बनाउने महाअभियानमा सोलुखुम्बु पुगेका तिमी चाहिँ अहिले केकसरी बाँचेका छौ ! त्यो हामीलाई थाहा भएन । पानी नपरेर खेतमा घाँसैघाँस भएको कहिरन बताएर डिजेल र मलका निम्ति पैसा पठाइदेऊ भन्न चिठी लेखेको हुँ । तिमीले पठाएका पुराना पत्रहरू पढ्दा तीन छक्क परेको छु । पैसाको माग गर्ने हिम्मत पुगेको छैन । जति तलव भए पनि खान र बस्न पनि धौधौ भएको कथन अघि सारेका थियौ । चौमासिक तलवको प्रतीक्षामा भोकै बस्न नसकिने रहेछ । यता र उताको उधारो टालटुल गर्दागर्दै पाएको तलव तुरिने गरेको इतिहास बरोबर दोहो¥याएका थियौ । तिम्रो विवशता अवगत हुँदाहुँदै पनि म यत्ति कुरा लेख्न बाध्य भएँ । अब कसो गर्छौ, सम्झीबुझी काम गर्नू ।
(१)
–––हुत्याएँ,
प्यारी शारदा,
सप्रेम सम्झना !
म छु यहाँ, तिमी छ्यौ त्यहाँ । सरकार छ उहाँ, भोकमरी छ जहाँतहाँ । खबर छ मकहाँ, महङ्गी छैन र कहाँकहाँ ? तिमी कहाँ पनि त्यही होला, म कहाँ पनि यही छ । अतः महङ्गीले शिखर चुमेपछि, हाम्रो व्यवहारिक खर्चबर्चको सिलसिला तल नझारीकन रहन सक्ने अवस्था छैन ।
सरकार परिर्वनसँगै बजार भाउ परिवर्तन हुन्छ । यस दुर्गम भेगमा सानो जागिर छ । तराईको मान्छे, चामलकै खाना चाहियो । अरू कुराले छाक टार्न सकिँदो रहेनछ । म ठूलो मूल्य चुकाएर मात्र रहन सकेको छु । विशेषत खानपिनकै सवालमा समस्या छ । शुद्ध तलव र भत्ताभन्दा अरू आम्दानी छैन । छोरी लिएर तिमी सहरमा छ्यौ । म धेरै किसिमका वाध्यता र वन्धनमा छु ।
सदाझैँ यस सरकारले पनि गौरवमय परम्परालाई अक्षुण्ण राख्यो । हामीलाई चाहिँदा÷अचाहिँदा सबै वस्तहरूुको भाउ बढायो । सरकारको निउ बनाएर पौँठेजोरी खेल्दै निजी निकायहरूले पनि वस्तुको भाउ प्रायः शतप्रतिशत बढाए । बढाबढ गर्दागर्दै अब बढाउने ठाउँ नै रहेन । तिमी पनि बढ्यौ, म पनि बढेँ । बढ्दाबढ्दै हामीले छोरी थपेर अझ बढायौ । र, पो आज म अलिक फरक धारमा पत्र लेख्न वाध्य छु ।
प्यारी शारदा ! धन्दा नमान । अबका कामकुरा व्यापारिक प्रयोजनका हुनुपर्छ । खास कामका बारेमा हुनुपर्छ । अबका विचार अग्रगामी हुनुपर्छ । फजुल खर्च गर्ने युग विदा भयो । जे चाहना थियो, त्यसलाई पनि विदावारी नगरी भएन । मेरा यसखाले वाध्यताहरूलाई समझदार बनेर सम्झनेछ्यौ भन्ने आशा र भरोसामा छु । साथै, अलिखित रूपमै पनि वाध्यता सम्प्रेषण भएको महसुस गर्नेछ्यौ । लेखेरभन्दा नलेखेरै, गरेरभन्दा नगरेरै अनि भनेरभन्दा नभनेरै मान्छे व्यावहारिक युगमा आयो भने त्यसभन्दा अर्कोे उत्तम काम नहोला ।
हेर, सरल युग थियो । आम्दानीसँग महङ्गी समायोजन हुन्थ्यो । त्यसैले भनेजस्तो गरी कार्य गर्न सकिन्थ्योे । खर्चले धान्ने खालको थियो । अब आम्दानी चाहिँ जहिँको त्यहीँ छ, खर्च भने कहाँ छ, कहाँ ! आम्दानी फेदमा छ, वस्तुको मूल्य भने टुप्पामा छ । आम्दानी टुप्पामा नपुगी खर्चको समायोजन गर्ने एउटै बाटो छ । त्यो होचुपचाप सहिरहनु । चुपचाप हेरिरहनु । चुपचाप भोगिरहनु । यही अचूक अस्त्र अपनाउने निर्णय लिन पनि सकिनँ । अतः यस महिनामा तिमीलाई खर्च पठाउन नसक्ने अवस्थामा छु । अरू महिनामा पनि यसै भन्न सक्दिनँ । पहिलेको झंै रकम पठाउन त सकिँदैसकिँदैन । सबै कुरामा बढाएर कहाँ समायोजन गर्न सकिन्छ र ! मिलनबिन्दु भेट्न माग र पूर्तिका बीच अन्तरक्रिया हुनैपर्छ । त्यसबाट नै बाँच्न सकिन्छ, त्यसबाट नै टिक्न सकिन्छ । मैले टिक्नुछ । अतः मैले युगबाट सिक्नुछ । तिमीले पनि बुझ्नुछ । अनि कार्यमा ढाल्नुछ ।
हेर शारदा ! जमाना बदलियो तर मितव्ययी हुने विचार जन्मिएको छैन । जमानाअनुसार चल्न नसक्ने मान्छे काम नलाग्ने भएको छ । म पनि त्यसकै अनुयायी भएको छु । अबका दिनमा गुलिया लाग्ने कतिपय अनावश्यक शब्दलाई आवश्यक बनाएर म तिम्रो अन्तःस्करणमा धक्का पु¥याउन चाहन्न । बोलेअनुसार काम फत्ते हुनुपर्छ । मेरो जीवनको गति त्यतैतिर लयबद्ध हुनेछ ।
हेर शारदा ! म र तिमीमा धेरै अन्तर छ । निक्कै मात्रामा भौगोलिक दूरी छ । हरेकका आआफ्ना शारीरिक व्यथाहरू छन् । कुनै भित्रभित्रै दबिरहेका छन् । कुनै बाहिर प्रकट हुने अवस्थामा छन् । फेरि, महङ्गीको महासागरमा पौडिरहनु पर्दा को पो कुसल रहन सक्ला र । यता फर्कंदा पनि पोल्छ, उता ढल्कँदा पनि पोल्छ । यस्तो पीडादायी क्षणमा जीवन सहज रहेकोे ढोंग रच्ने मन छैन ।
शारदा ! अबदेखि आकासकुसुम कुरा गर्ने चाहना छैन । सत्यको रङ्ग बेग्लै हुन्छ, उज्यालो हुन्छ । असत्यको रङ्ग कालो हुन्छ, अँध्यारो हुन्छ । म सूर्यलाई बादलले छोपोस् भन्ने चाहन्न । बादललाई सूर्यले छिन्नभिन्न पारोस् भन्ठान्छु । म मनको बेखुशीलाई उदाङ्गो पारेर संसार हँसाउन चाहन्न । असत्यको सिँढी चढेर भूलको महाजालमा फँसाउन पनि रुचाउँदिनँ । तिम्रो कार्यशैलीमा प्रश्न तेर्साउन चाहन्न । तिमीले पोखे पनि म चाहिँ गुनासो पोख्दिनँ । पारिवारले सहयोगको अपेक्षाले हात बढाउँदा रित्तो फर्काएर म अझै बर्बादीमा फँस्न चाहन्न । उनीहरू पनि महङ्गीको युगबाट अछूतो रहन सकेका छैनन् । परेको बेलामा सहयोग नगरेर पछि गरूँला भन्यो भने लगन पछिको पोतेको के काम !
शारदा ! मेरो विवसता बुझिनौ भने त्यसले एक किसिमको उल्झन ल्याउँछ । म आफ्नी पुत्रीको पूर्ण स्वास्थ्य लाभ चाहन्छु । त्यसैले त तिमीलाई सहरमा बसाएको छु । रहरमा बसाएको हैन । उधारो काम लिएर साराका सारा स्वास्थ्यकर्मीहरू र औषधी पसलेहरूको मन खल्लो हुने अवस्था दिलाउँदिनौ भन्ने आशामा छु । अब त केही भरथेग आफूबाट पनि होस् भन्ठान न । कुनै महिना भरणपोषणमा कमी हुँदा आफूले पनि होसियारी अपनाउन सक्नुपर्छ । सहरमा बाँच्न थोरै कसरत त गर्नैपर्छ । खर्चबर्चमा मितव्ययी बन । कसलाई पो सन्तान अस्वस्थ होस् भन्ने मन हुन्छ र ! कसलाई पो धन सञ्चय नगरूँ भन्ने हुन्छ र ! म अरूको मन कुड्याउन चाहन्न । दाजुले खोलेको मुख निरर्थकरूपमा बन्द नहोस् भन्ने चाहन्छु । त्यसकै लागि सहयोग गर्नुपरेको हो ।
विगतका चर्चापरिचर्चामा दिमाख गिजोल्न चाहन्न । हाम्रा कुरा ऐरेगैरेले पढेर, बुझेर खिल्ली नउडाऊन् भन्ने कुरामा म सचेत छु । घरपरिवारको समस्यालाई हल्कारूपमा मूल्याङ्कन नगरियोस् भन्ने चाहन्छु । अतीतलाई सम्झेर वर्तमानको पीडालाई भुल्न खोज्दिन । वर्तमान जस्तो छ, त्यसलाई त्यहीरूपमा भोग्न चाहन्छु । नदुखेको कपाल दुखाउन चाहन्न । दुखिरहेको कपाललाई वेवास्था गरी दर्द सहिरहने मन पनि छैन । बाध्यताका अगाडि झुक्न पनि जान्नुपर्दो रहेछ । घरलाई नहेरी तिमीहरू आमाछोरीलाई मात्र हेर्ने हो भने म परिवारको जागिरे सन्तान भएको के काम भयो र ?
शारदा ! शेष कुराका लागि तिमी नै जानिफकार छ्यौ । आजसम्म मैले भनेका एउटै कुरा पनि तिम्रा लागि पच्य भएका छैनन् । मान्य ठहरिएका छैनन् । मेरो सोच तिम्रो सोच हुन सकेको छैन । मेरो कुरा तिम्रो हुन पाएको छैन । म गर्छु आग्राको कुरा तिमी गर्छेयौ गाग्राको कुरा । मेरो सत्यलाई असत्य देख्छ्यौ । मेरो कर्तव्यलाई बन्धन सम्झन्छ्यौ । मेरो कामलाई बदनाम ठान्छ्यौ । मेरो व्यक्तित्वलाई मगन्तेको जीवन बुझ्छ्यौ । मेरो बचत प्रवृत्तिलाई मख्खिचुसको लीला ठह¥याउँछ्यौ । म पूर्व फर्के तिमी पश्चिम हेर्छेयौ । म आनन्दित भए बेचैनमा पर्छेयौ । भो अब भो अरू भूल गर्ने छैन । कसैको मनको तीतो बन्न चाहन्न । प्रष्ट कुरा प्रष्ट राख्न रुचाउँछु । यस महिना तिमीलाई सहयोग गर्न सक्दिनँ ।
यस्तै भइरहे, यस्तै सहिरहे अवश्य केके पर्ला पर्ला ! परिवारले नै पतिपत्नीको व्यवहारमा तगारो हाल्ला भनौली । नबल्ने आगो पनि हुरहुरी बल्ला भन्ठानौली । हेर, तिमी नामकी मात्र शारदा नभई कामकी पनि शारदा बन । मख्ख नपर । बौद्धिक दरिद्रता हटाऊ, आत्मियता बढाऊ । हो, तिम्रो मनझैँ महङ्गो हाम्रो समय भयो । बाँच्न कठिन हुने भो । दिनानुदिन मूल्य बढाएर केके पार्ने भो, भो । भोकै राख्ने भो । नाङ्गै पार्ने भो । हुने नहुने सबै एकै पटक ल्याउने भो । भो अब भो, कलमलाई दुःख दिन चाहन्न । अरू कुनै शब्द लेख्न चाहन्न । धन्यवाद !
(३)
–––किक्लिक्क भएँ,
प्रिय श्रीमान्,
सप्रेम सम्झना !
पत्र पाएँ, भाउन्निएँ । मसँग केही थियो धेरै पहिलेदेखि लुकाए÷दबाएर राखेको, आज त्यही दिँदै छु । र, रोएको मनलाई मलहम लगाउने जमर्को गर्दै छु । त्यसबाट पर्न जाने असुविधाप्रति म जिम्मेवार रहने छैन भनी निवेदन गर्दछु ।
म यहाँ सोखका साथ बसेको ठान्नुभएछ । आफू चाहिँ मेरै लागि नौ डाँडा पारी गएर कहर काटिरहनु भएको विश्लेषण गर्नु भएछ । शब्दले पनि कति मार्नु हुन्छ ? सीमामा रहेर शब्दबाण चलेको भए, म चुपचाप हुन्थेँ । सम्झनुस् त, मेरा रहर कति मरे, मरे । ती रहरहरूलाई कुल्चेर मैले तपाईंलाई साथ दिएकी थिएँ । म स्वतन्त्र जीवनलाई परतन्त्री बनाउन राजी भएकी थिएँ ।
तपाईंले बिर्सनुभयो होला । मलाई त यादै छ, अमिट छाप बनेर मेरो मस्तिष्कमा बसेको छ । म अवोध युवती आफ्नै जीवनशैलीमा रमाएकी थिएँ । मेरो तपाईंप्रति न घृणा थियो न द्वैष नै । मसँग प्रेम रे, त्यो पनि एकलौटी । प्रेम गर्न कसैलाई कुनै शक्तिले रोकेको छैन । तर, प्रेमको नाममा जीवनलाई नै बलिदानी दिने तपाईंको दुस्साहस कस्तो प्रेम थियो त्यो ! मैले बुझ्न सकेकी थिइन र अझै छैन पनि । मैले हँसियाले त्यो डोरी काटेर तपाईंको जीवनलाई बचाउनु त मेरो मानवता थियो । प्रेमको प्राप्तिका लागि मैले त्यो कर्म गरेकी पनि थिइन् । बाध्यताबस्, तपाईंको जिद्दीको दासी बनेर प्रणयसूत्रमा आवद्ध हुन मञ्जुरी दिएँ । त्यो त मेरो महानता थियो, रहरहरूको वलिदानी थियो । तपाईं कुन पृष्ठभूमिमा मेरो जीवनमा गाँसिनुभएको हो ? त्यो आफैं सम्झनुस् । अर्को कुरा, तपाईंको धन मैले खर्चेकी छैन, केवल प्राण धान्न र इज्जत लुकाउन मात्र केही खर्च गर्ने गरेकी छु । बाँकी सबै छोरीको उपचारमा नै स्वाहा भइरहेको छ । त्यस कुराबाट न तपाईं अनविज्ञ हुनुहुन्छ, न परिवारजनहरू नै । कुनै घडीमा मबाट कुनै गल्ती भएको भए मलाई महसुस गराउनुस्, म तपाईंको सजाय भोग्न राजी छु । तर, हातमा हतकडी भएको यस घडीमा कठोर नबनिदिनुस् । नबन्नुस् भनेर धेरै प्रार्थना गर्ने पक्षमा समेत छैन । तर, बन्धन काटिदिएर आफ्नो वाध्यताको सीमाभित्र रहनुस् ।
सन्तान रहरको उपज हुनुपर्छ, बाध्यताको उपज हुनुहुन्न भन्ने मेरो अडानको पर्खाललाई शब्द जालमा फँसाएर तोड्नुभयो । रोगी छोरी जन्मिई । लामो समयसम्म उपचार गर्नुपर्ने र डाक्टरको निरगानीमा रहनुपर्ने बाध्यताका कारण सहरमा मलाई बसाउनु भयो । रोगीको कुरुवा बनेर म जीवन व्यतित गरिरहेछु । र, पनि यसो भयो, उस्तो समय आयो भन्दै खर्च पठाउन असमर्थता चाहेर गर्नुहुन्छ भने बुझ्नुस् म तपाईंकी दासी होइन, म एक्काइसौं शताब्दीकी नारी हुँ । नारीले जीवन चलाउन श्रीमान्को धोती पक्रिरहनुपर्छ भन्ने छैन । तपाईंको कृपामा श्वास फेर्नुपर्छ भन्ने छैन । मसँग पनि सुन्दर संसार छ, मसँग पनि सहास छ । केवल मेरो हात सिक्रीले नबाधिदिए पुग्छ । जीवनयात्राको मार्ग म पनि बनाउने थिएँ ।
सक्नुहुन्न भने सक्नैपर्छ भन्ने छैन । तपाईंको इच्छा पूरा होस्, मेरो शुभकामना ! तर, मेरो हातमा लागेको यो जन्जिर खोलिदिनुस् । मेरो यही निवेदन छ । यहाँभन्दा अर्को कुनै इच्छा पूरा गर्नुस् भन्ने चाहना र कामना गर्ने छैन भनी बाचा गर्दछु ।
(४)
दाजुको पत्रले म धर्मसङ्कटमा फसेँ । सहयोग गरूँ, परिवार धान्न गाह्रो । नगरूँ, दाजुको व्यथा बुझेर पनि बुझपचाएको आरोप लाग्ने त्रासमय अवस्था ! विवाहपूर्व दाजु नजिक थिए, विवाहपश्चात् टाढा भए । टाढा भएकाहरूलाई भन्न विचार गर्नुपर्छ । नजिक रहेकाहरूलाई मन लागी भन्दा पनि त्यत्रो बिग्रन्न । सजिलो टाढा रहेकाहरूसँगभन्दा नजिक बसेकाहरूसँग नै हुन्छ । दाजु मेरो पत्रको अभिलाषी हुनुहुन्नथ्यो । सहयोग पाउने आशा सङ्गालेर रहनुभएको थियो । धर्मपत्नी सहयोगका साथमा पत्रकी अभिलाषी थिई । मैले दुबै कुरा पठाउने हैन एकएक कुरा पठाएँ । दाजुलाई पैसा पठाएँ, प्रत्युत्तर भेटिनँ । श्रीमतीलाई चिठी हुत्याइदिएँ । गजबकोे महाभारत पढ्न भेट्टाएँ ।
व्यथै व्यथा ! मुटु कुटुकुटु खाने व्यथा ! एउटा जोड्यो, अर्को फुट्ने डर ! एउटा समायो अर्को छुट्ने डर ! भय नै भयमा श्वास फेर्नुपर्छ यहाँ । त्रासभित्र जीवन खोज्नुपर्छ यहाँ । मन पन्छाएर हिँड्न र चल्न सके गन्तव्य चुमिएला । नत्र भने हातमा शून्यको शून्य नै । त्रासदी निर्णय नगरी भएको छैन । अब एक पटक मुटुको व्यथा निको पार्न मुटुलाई नै धक्का नदिई भएको छैन । सोच्दासोच्दै निद्रा देवीको शरणमा पुगिएछ । आनन्द ! बडो आनन्द !!
०६९.०४.२२


बाठा मच्छडहरू
नन्दलाल आचार्य

प्रिय मित्र भुनेश्वर,
वाल्यसखाको न्यानो सम्झना !
    म यहाँ सुखी र खुशी छु । त्यहाँ तिमी पनि कुसल मङ्गल छौ भन्ने कुरामा आशावादी छु । यो लक्ष्मणेले किन चिठी लेखेछ भनौला । एउटा विशेष कामले नै चिठी लेख्न बसेको हुँ । त्यो विशेष कामका वारेमा अहिले नै बताइहालेँ भने ममाथि अन्याय हुनेछ, मेरो अन्तस्करणमा खलल पुग्नेछ भन्ने पक्का छ । अतः पहिले कुरा सुन, त्यसपछि तिम्रो जे विचार होला त्यसै गरौला, हुन्न ? म त कालो अक्षर भैँसी बराबर हुँ । म के यी चिठीका तानाबुना बुन्न सक्थेँ र ! प्रौढशिक्षा पढेर जानेका दुईचार अक्षर जोडजाड पार्दै थिएँ, मेरो हिसाबले चाहिँ लगभग टुङ्ग्याउनै लागेको थिएँ । तिम्री सहरमा बस्ने बहिनी गरिमा छिन् नि । हो, तिनैलाई राम्ररी लेखिदेऊ भनेर लेख्न लगाएको हुँ । उनी पनि तिमीजस्तै फरासिली रहिछन् । उनीसँग एक डोको कुराकानी भए । ती सम्पूर्ण कुराहरू उल्लेख गर्दा मेरो भूमिका पूरा हुन्छ । त्यसपछि भने तिमी अवश्य मेरो आकांक्षालाई कदर गर्नेछौ भन्ने मलाई लाग्दछ ।
        यत्तिखेर परिवर्तनको आभाष जताततै छ । सबै वर्ग र समुदायका कुनै न कुनै संगठनहरू छन् । हाम्रो पनि संगठन छ तर अझै पूरातन विचारधारा र दासमनोवृत्तिले युक्त छ । हो, म पनि त्यही मनोवृत्तिले ग्रसितमध्येको एक हँु । तर कत्ति दिनसम्म हजुर, हजुर र ज्यू, ज्यू गर्ने ? कम्तिमा आफ्नो हकअधिकार वारे त सचेत बनौँ भन्ने विचार मनमा केलाइरहेको थिएँ । एउटा विचार मनमा आयो र त्यही विचार तिमीलाई बाँडूँ, राय सल्लाह लिऊँ, सहयोग एवं सद्भाव पनि बटुलूँ भनेर चिठी लेख्न बसेको हुँ । कुरा कताबाट सुरू गरौँ भनेर अलमलाई रहेको छु ।
        बहिनीसँगका वातचितका प्रसङ्गबाट नै कुराकानी अघि बढाउँछु । मेरो हातमा बाँसका चोया देखेर, नजिकै तयारी अवस्थाका कोनिया, पङ्खा, ढाकी, नाङ्लो, ठेक (भकारीजस्तो), बेदही (बिरूवा घेर्ने वस्तु), चाल्नी आदित्यादि देखेर उनी छक्क परिन् र म धनी भएको जिकिर गरिन् । कुरैकुराका क्रमका उनले लामो कुरा गरिन् ।
      यत्ति धनी भएर पनि कस्तो दरिद्रता झल्काउनुभएको तपाईँहरूले ! म सानी छँदा यहाँ खरको झुप्रो थियो । चारैतिर फोहोरै फोहोर मात्र थियो । कतै मन अड्याउने ठाउँ नै थिएन । अहिले परिवर्तन त देखिरहेकी छु । टिनको छानो खडा भएछ । छेउछाउमा बोटबिरूवा हुर्केछन् । सिँगाने बालबच्चाहरू हातमा मोवाइल नलिइकन सुँगुर चराउन नजाने भएछन् । कुरा गराइमा पनि परिवर्तन भएछ । तर सफासुग्घर रहनुपर्छ भन्ने विचार चाहिँ ल्याउन भुसुक्कै विर्सेछन् । राम्रा काम गर्ने संस्कार पक्रिएछन् यो डोम समाजले भनेको त । मूल कुरामा चाहिँ उही पुरानै चलन रहेछ । आखिरमा यो डोम समाज किन अघि नबढेको ?” उनलाई बोल्न दिइराख्ने भए त उनी केके बोल्थिन कुन्नि ? मैले मनका कुरा उनलाई नबुझाइकन भएन भनी बुझाउन थालेँ, “हेर नानी, जसले जे देख्छ, त्यसले त्यही भन्दछ ।  परिवर्तन जुन दिशामा भइराखेको छ, त्यसले अनिष्ट त निम्त्याएको छैन तर सकारात्मक दिशावोध गराउन भने सकेको छैन । पढेर परिवर्तन हुनुपर्नेमा यहाँ हामीझैँ परेर संसार थाम्न खोजिँदै छ । आम्दानी चाराना छ तर खर्च भने बाराना छ । बचतमा कसैको रूचि छैन । आज गोजीमा ढौवा छ भने मज्जाले दारूपानी र जुवातास चल्यो । ढौवा रित्तियो कि हत्त न पत्त उधारोमा बाँस ल्यायो र सामग्री बनाउन थाल्यो । भोलिको दिनको लागि चिन्ता नहुनु हाम्रो ठूलो कमजोरी देखिरहेको छु । 
       मेरा कुराले उनी केही उत्साहित भइन् र मलाई नै व्यंग्य गर्दै भन्न थालिन्–“तपाईँ कुरा बुझ्ने मान्छे पर्नुभएछ । धन कमाउने निक्कै उपाय र आधार देख्छु । अनि जताततै किन फोहोर तपाईँको घरमा ? किन सुँगुर र मान्छे बस्ने एउटै घर ? छोराछोरीलाई किन नपढाएको, किन जागिर खान घर बाहिर नपठाएको ? किन तपाईँको समाजमा यत्ति विघ्न झैँझगडा र कोलाहल ? थोरैमा पनि मान्छे सुखी भएका छन्, खुसी रहेका छन् । तर यहाँ भने मन नै हराएझैँ लाग्छ ।
       एकाएक प्रश्नमाथि प्रश्न तेर्सिए । कतिपय प्रश्नले मन छोए । कतिपयले मेरो सुद्धि र बुद्धिमा नै बिक्रो लगाइदिने काम गरे । जवाफ नदिइकन पनि हुन्नथ्यो । दिनै पर्यो । शिवचरणको पोता (नाती) भएकोमा अहिले भने लज्जित बोध भयो । उनको सप्तरीको पूर्वी भागमा २२ विघा जमिन थियो रे । उनी बेला बेलामा विशाल भोजको आयोजना गर्थे रे । त्यस भोजमा सुनसरी, मोरंग, उदयपुर, सिराहा, धनुषाका डोमहरू आमन्त्रित हुन्थे रे । भोज पनि हप्ता दिनसम्म चल्थ्यो रे । भोज खानका निम्ति निम्तालुहरू सुँगुर सहित आउँथे रे । एक पटकको भोजमा निम्तालुका सुँगुरले छिमेकी गेना मडरको ८ विघा जग्गाको अन्नबाली नष्ट गरिदिएछन् । त्यस बेला गेना रिसले मुर्मुरिँदै कुर्लिएछन्–“हौ शिवचरण ! तोहर पाहुनासभक सुग्गरसभसँ नास केलाह अन्नबालीक हर्जना तिर । नै त ठीक नै हेतै ।” (ए शिवचरण ! तेरा पाहुनाका सुँगुरले नष्ट पारेको अन्नबालीको अर्मल तिर् । नत्र ठीक हुने छैन ।) त्यस बेला मेरा हजुरबाले पनि पाखुरी सुर्कँदै भनेछन्–“देखियौ गेना मडरजी ! ई सामाजिक आ सांस्कृतिक चलन छियैक । हमरासभक सुग्गर बाली नास केनै अछि त भोजके आयोजना करू । तखन अहाँक पाहुनासभक घोडा, बरदसभ किया हमरा बाली नास केलक कहिक हम एक शब्द नहि पुछब । हम यतैक बुझै छी ।”(हेर्नुस् गेना मडरज्यू ! यो सामाजिक र सांस्कृतिक चलन हो । हाम्रा सुँगुरले बाली नष्ट गरेकै हुन् त भोजको आयोजना गर्नुस् । त्यसबेला तपाईँका पाहुनाका घोडा, गोरूले किन मेरो बाली नष्ट पारे भनेर म एक शब्द पनि भन्दिनँ । म यत्ति मात्र जान्दछु ।”) त्यसपछि गेनाले पनि भोजको आयोजना गरेछन् । त्यसबेला हाम्रो हजुरबाको १२ विघा बाली नष्ट भएको थियो रे । यसरी तैँ चुप मै चुप भएछन् । यसको अर्थ हामी धन नभएका मान्छे होइनौँ । अचाहिँदो मन भएका मान्छे भने अवश्य हौँ ।
        अर्को कुरा, सफासुग्घर रहने मन कसलाई हुन्न र ? हामी पनि मनुष्य नै हौँ । मन त सबैको एक नासकै हुन्छ । वाध्यता पनि उस्तै उस्तै हुनसक्छन् तर ती सब जीवन चलाउनका लागि । मैले भने–“गरिमा नानी ! हामीझैँ समाजबाट बहिष्कृत भयौ भने तिमी पनि फोहोरी नै हुन्छ्यौ र देखिन्छ्यौ । हामी कत्रो अन्यायलाई मुटुभित्र दबाएर बाँचेका छाँै, त्यो त हामीलाई नै थाहा छ । यो छुत समाजले हामीलाई अछुत भन्छ । हामीले गाउँ बाहिर बस्नुपर्छ । हाम्रा केटाकेटीले उनीहरूका केटाकेटीसँग हाँसखेल गर्न सख्त मनाही छ । नयाँ सोच जन्माउन पनि असल संगत चाहिन्छ । त्यस्तो संगत हामीले कहिल्यै पाएनौँ । हामी प्रति समाज कहिल्यै उदार भएन । हामी जन्मदै कुठाराघात लिएर जन्मियौँ । दासमनोवृत्तिलाई हुर्कायौँ । आजसम्म हरेक समाजका मनमस्तिष्कमा हामी एक सदस्य हैन एक अभिसाप सावित भएका छौँ । पछि बस्नुपर्दो रहेछ भन्ने व्याकरण मात्र हामीले घोक्यौँ, घोकिरहेकै छौँ । कत्तिञ्जेल धोक्नुपर्ने त्यो भने अज्ञात छ । त्यही अज्ञातलाई ज्ञातमा बदल्ने अभियानमा म लागेको छु ।
         मित्र भुनेश्वर, मैले स्कूलको मुख देखिनँ । छोराछोरीलाई पठाएकै हुँ । दुईचार दिन गए । फेरि जान बन्द गरेँ । कर गरेँ तर मानेनन् । बरू सरक्क सुँगुर चराउन जान थाले, कोही चारो खोज्नतिर लाग्न थाले । एकएक वटा लगनी पक्रेकोमा खुशी लाग्यो । हामी पतिपत्नीले पनि ढुक्कले यिनै बाँसका चोयासँग लाप्पा खेल्न पाउने प्रसस्त समय पायौँ । दुईचार पैसा भए पनि आम्दानी बढ्न थाल्यो । पढीगुनी के काम हलो जोती खायो मामभन्ने उखान हाम्रै लागि बनेको रहेछ भन्ठानेर चुपचाप बसेँ । पछि पो थाहा पाएँ । मेरा नानीहरूलाई माष्टरहरू नै भेदभाव गर्दा रहेछन् । सुँगुर चराउने जातले पढ्न खोज्नु भनेको सरस्वतीलाई रूष्ट पार्नु हो, लक्ष्मीलाई लत्याउनु हो भन्दा रहेछन् । यसखाले हेपाहा प्रवृत्तिलाई पचाउन नसकेर नानीहरूले स्कूल छाडेका रहेछन् । त्यस बेला मेरो मन कस्तो भयो होला ! तिमी आफैँ महसुस गर्न सक्छौ । अरू के भनूँ र ! झगडाको कुरामा चाहिँ म पनि हैरान छु । यहाँ पनि म त समाजको हात नै देख्छु । जहानपरिवारले कसैको संगत गर्न पाएनन् । बनिबुतोमा जाँदा पनि खुरूखुरू काम गर्यो, बनी लियो फर्कियो । हामीसँग धेरै बोलचाल गरेमा नरककै वास होलाझैँ गर्छन् । अनि जे जति कुरा हुन्छन्, आफूमै सीमित हुन्छन् । झगडाको मुख्य कारण सुझबुझको कमी नै हो । यी गन्थनका प्रसङ्गलाई यहीँ विश्राम दिँदै अब भने मूल मुद्दामा प्रवेश गर्न खोज्दै छु ।
          प्रिय मित्र भुनेश्वर, हप्ता दिन अघि गाविसमा गाउँसभा थियो । सबै डाकिए, मलाई कसैले वास्ता गरेन । दलितका कुरा आउँदा पनि निर्णय गर्ने आफैँ र पेट भर्ने पनि आफैँ गर्ने गरेको कुरा थाहा पाएँ । हाम्रो जातीको नाम बेचेर किन पैसा कु्म्ल्याउँछौ भनेको त मैले मुखभरिको जवाफ भेट्टाएँ । सबैले एक मतका साथ मलाई वाक्युद्धमा पराजित गरे तर म मानसिक युद्धबाट भने पराजित भएको छैन । कुरा सुन्न चाहान्छौ, भुनेश्वर ? तिमीले पनि सुन्नैपर्छ । सुन्न सक्यौ भने मात्र तिमी मेरो विचारसँग निकट हुनसक्छौ ।
    त्यस वेला सबै मिलेर मलाई उल्लीबिल्ली पारे । सभ्य मेरो छिमेकी आनन्देले ठूलै स्वरमा भन्यो–“के बुझैछी रै लक्ष्मणमा, तोरा राजनीति के सिखेलकौ ? तोरा भाँतीभाँतिके गन्थन कक आखिरमे कि भेटतौ ? चुपचाप जी, जी कक रही न ।” (¬के ठान्छस् ए लक्ष्मणे, तँलाई राजनीति कसले सिकायो ? तँ नानाभाँतिका गन्थन गरेर आखिरमा के पाउँछस् । चुपचाप हजुर, हजुर भनेर बस् न ।)
       अर्को घनश्याम कुर्लियो–“अपन औकातसँ उपर उठैलासभ हरदम खसले अछि । तोँ किया आफतमे परैल चाहैछ ? दलित वस्तीमे खानेपानीक व्यवस्था केलगेल अछि । बच्चासभके पढैल स्कूलोँके दरबज्जा खुल्ले छोडल अछि । आब कि ताकै छी, लक्ष्मणमा ?” (आफ्नो औकातभन्दा माथि उठ्नेहरू सधैँ लडेका छन् । तँ पनि किन भड्खारामा पर्न चाहन्छस् ? दलित वस्तीमा खानेपानीको व्यवस्था गरिदिएकै छ । बच्चाहरूलाई पढ्न स्कूलको ढोका खुल्ला छाडेकै छ । अब के खोज्छस्, लक्ष्मणे ?)
      पुराना विचारका धुथर बूढाले समेत नयाँ कुरा गरे–“रौ लक्ष्मणमा ! दलित विकासक लेल आएल बजेट जगहजगहमे लगाए देने अछि । तोहर परिवारक बरतनमेँ चाउर राखिदैल सरकारी बजेट अलग केनै नहि अछि ।” (अरे लक्ष्मणे ! दलित विकासका लागि आएको बजेट ठाउँठाउँमा लगाइदिएकै छ । तेरो परिवारको भाँडोमा चामल हालिदिन भनेर सरकारी बजेट छुट्याएको पनि त होइन ।)
      युवा नेता कहलिएको हरिचनले अझ कड्किँदै भन्यो–“बेसी नहि बुझैबलाके बकबक केनाई मनासिव नहि होइछै । चुपचाप अपन काज करैल, निकनिमन खाइल आ देह झापैल व्यवस्था होइके स्थितिक हमसभ सिर्जना कैयैदेने छी । गाउँबासीसभक काज केनार्ई, गाउँबासीसभके  खुशी बनेनाई आ आनन्दसँ रहनाईमे मात्रे तोरासभके जय छौ, बुझलिही लक्ष्मणमा !” (धेरै नबुझ्नेले बकबक गर्नु मनासिव छैन । खुरूखुर आआफ्नो कर्म गर्न, मीठोमसिनो खान, आंग ढाक्ने व्यवस्था हुने स्थिति हामीले सिर्जना गरिदिएकै छ । गाउँलेको काम गर्नु, गाउँलेलाई  रिझाउनु र आनन्दले रहनुमै तिमेरूको जय छ, बुझिस् लक्ष्मणे !)
       त्यत्रा गाउँलेले मान्दै आएका अशोक माष्टरले समेत मेरो मनमा आँधी ल्याउने कुरा गरे–“लक्ष्मणमा ! दोसरके बहकाउमे लागलिही आ दलित उत्थान कहिक छुतक सोच विपरीतक कोनो काज केलहि त तोरा टिकट ई गाँमसँ मात्रे नहि ई जगहेसँ कैट जेतौ ।” (लक्ष्मणे ! अर्काको बहकाउमा लागिस् र दलित उत्थान भन्दै छुतको सोच विपरीतका कुनै काम गरिस् कि तेरो टिकट यो गाउँबाट मात्र होइन यस ठाउँबाटै कट्छ ।)
          लौ भन त भुनेश्वर, मेरो भाँडामा छिमेकी भनाउँदा ती अशोकेहरूले दालचामल त हालिदिएका छैन नि । म र मेरो परिवारको इज्जत ढाक्न कपडा किनेर दिएका त छैन नि । बरू उल्टै मानसिक दबाब दिएर बाँच्न बाध्य पारेका छन् । मलाई मात्र हैन पूरै दलित वर्गलाई मान्छे नै नगन्ने सोच हो यो । के म गलत भन्दै छु ? हामीले काम नगर्दिने हो भने तिनीहरू भोकभोकै पर्ने थिए । हलो जोत्छन् श्रमजीविहरू, पेट भर्छन् अशोकेहरू । दूध दिने गाईको लात पनि सहनुपर्छभन्ने उखान व्यर्थमै बनाइएको रहेछ । भन त, यी मान्छेहरू कत्तिसम्म अत्याचार गर्छन् ? मैले बनाएको कोनिया, ढाकी पूजाआजामा नभई  हुन्न तर म भने मन्दिर पस्न पाउँदिन । मैले लगेको, फूलप्रसाद भगवान्लाई चल्दैन रे । यी धर्मका ठेकेदार र भगवान्का पीए भनाउँदाहरूले आफूलाई ठूलो बनाउन कत्रो जाल रचेका छन्, भ्रमको खेती लगाएका छन् ।
       हेर भुनेश्वर ! भगवान् मेरा पनि हुन् । मैले पनि फोटा ल्याएर घरमा टाँसेको छु । नुहाईधुवाई सफासुग्घर बनेर विहान बेलुका पूजाआजा गर्छु । खै, मसँग देवता बेखुशी भएका छैनन् त ! ट्वाइलेट सफा गर्ने काम हामीबाट गराउँछन् । उचित पारिश्रमिक दिने बेलामा भने दाँतबाट पसिना चुहाउँछन् र सामलखाजा लिएर दलाली गर्न बस्छन् । हामीले हजुर, हजुर भने पनि अशोकेहरू तँ, तँ र म, म भन्न छाड्दैनन् । आखिरमा हामीलाई किन मान्छे गन्दैनन् ? हरेक काममा हामीलाई सरिक गराउने तर समाजको एक अभिन्न अङ्गको रूपमा स्विकार्न नसक्ने यी मान्छेलाई निमकहराम नभनेर के भन्ने त ?
         भुनेश्वर, तिमी मान या नमान । समाजका यी घिनौला कर्तुतहरूको पर्दाफास गर्न मैले अहिले कम्मर नकसे पछिल्ला पुस्ताले मलाई सराप्छन् । मेरो मनपेट दिएँ तिमीलाई ।  हुन त मैले पनि तिम्रो मनपेट छामेको छु । तिम्रो हृदयको भावना बुझेको छु । तर अहिले तिमी परिवर्तन भयौ कि भन्ने त्रास मनमा छँदै छ । अब भने म आखिरी कुरा भन्दै छु । आउँदो स्थानीय चुनावमा म एक बागी उम्मेद्वार हुनेछु । राजनीतिका नाममा जनता ठग्ने दलहरूले मलाई टिकट दिने होइनन्, दिए पनि म लिने होइन । त्यस वेला तिमीले मलाई चुनावमा सहयोग गर्नुपर्छ । हामी दलितलाई पनि समाजमा मान्छे भएर बाँच्ने हैसियत दिलाउनुपर्छ । मेरा केही शुभेच्छुक मित्रहरू दिलोज्यानले सहयोग गरिरहेका छन् । म यी समाजका बाठा मच्छडहरूलाई तह लगाउन चाहान्छु । लक्ष्मणमाके ई सभ बकबास गन्थनसँ माथ दुखैलो ।  (लक्ष्मणेका यी बकवास गन्थनले टाउको दुखायो ।) तिम्रो मुखबाट यस्तो वाक्य निस्केला कि भन्ने त्रास पनि छ ।
        ल त मित्र, अब भने मैले मन रित्याएँ । जे गर्छौ, त्यो तिम्रो खुशी र जे भन्छौ त्यो सुन्ने मेरो काम हुनेछ तर प्रतिक्रिया पाउन भने ढिलो नहोस् भन्दै पत्रान्त गरेँ । धन्यवाद !

०६८।०६।१२ आइतबार

      
त्यो स्कुल
नन्दलाल आचार्य


प्रिय मित्र
सपे्रम सम्झना !

        यहाँ म र मसँग सम्बन्धित सबै कुराहरू ठीकठाक छन् । त्यहाँ तपाईं र तपाईंसँग गाँसिएका कुराहरू पनि ठीकै छन् भन्ठान्छु । चिठ्ठी नलेखीकनै नहुने त्यस्तो कुरा त केही थिएन तर जीवनका उकालीओरालीका अनुभवहरू बाँडचुड गर्नाका निम्ति लेख्न बसेको छु ।  
        लगभग सात वर्ष पछि सम्झनाका ती समयहरूलाई लिपिबद्ध गर्दै छु । म तपाईंसँग  हिजो थिएँ, सायद भोलि हुनेछु तर आज छैन । मलाई लागिरहेछवर्तमान निष्ठुर भयो र मसँग तपाईंलाई छुटायो । एकै ठाउँमा सधैँ सधैँ बस्न नमिल्ने रहेछ । एक्लाएक्लै हुँदा एउटै कोठामा बसियो, एउटै ओछ्यानमा सुतियो र एउटै भाँडाको खाना खाइयो । मेरा भाइबहिनी थपिँदा तपाईंको पनि भाइ थपियो । भिन्नाभिन्नै डेरा नलिइकन धरै पाइएन । त्यसमा पनि शिक्षकको जागिर । एक्लाएक्लै बस्नैपर्ने अवस्था पनि आएकै हो । टिउशन नपढाए धर नपाइने, गौँडागौँडामा डेरा लिएर नबसे स्कुलले स्पष्टिकरण सोध्ने । त्यस बेला बोर्डिङ्गका शिक्षकहरूले सारै चर्को मूल्य चुकाउनुपथ्र्यो ।
     प्रिय मित्र ! मलाईझैँ तपाईंलाई पनि सम्झना नै हुनुपर्छ । विर्सनु नै भएको भए एउटा लामो लहरो तान्दै छु । यसमा कोको आए, कोको कहाँ गए, विचार गर्दै गर्नुहोला । पत्रको अन्तिमतिर पुग्दा नपुग्दै एउटा सानोतिनो इतिहास बन्ला भन्ठान्छु ।
       बाह्र बजेको खरो घाम, चुइँकिने साइकलमा चढेका छन् दुई जना । उत्तरतिर हाँकिँदा छन् । बाटाभरि विद्यार्थीहरू भेटिन्छन् । एक किसिमको गुन्जायमान वातावरण फेला पर्छबाई, बाई सर....बाई...........। आफूले पनि नफर्काएमा पाखे भइएला भन्ने त्रास छ, साइकल यात्रीहरूमा । उनीहरूका पनि ओठ खुल्छन्बाई, बाई स्टुडन्टस्.......बाई.......।
        दुबै बोर्डिङ्गका शिक्षकहरू हुन् । दुवैमा युवा जोस छ, नयाँ रगत दगुरिरहेको छ तर नयाँ सोच उम्रन सकिरहेको छैन । दुबै आफू तालिम अप्राप्त काँचा, कलिला शिक्षक मानिन तयार छन् । तर उनीहरूका प्रिन्सिपल भने शिक्षकलाई शिक्षकका रूपमा हैन, एक रेलका यात्रुकारूपमा सम्झन्छन् । स्कुललाई रेल्वे स्टेशन सम्झन्छन् । यात्री त रेल्वे स्टेशनमा कत्ति आउँछन् र जान्छन्, यस्तो क्रम निरन्तर चलिरहेकै हुन्छ । जसले थोरै तलव स्विकार्यो र गोरु जोताइ जोतियो ऊ टिकाउ सर भयो । तर जसले यथोचित पारिश्रमिक लिएर श्रम बेच्न खोज्यो, उसका लागि छोटोभन्दा छोटो समय प्राप्त हुने भयो । उनीहरूका बीचमा यस्तै यस्तै कुरा हुन्थे ।
          प्रिय मित्र, म लहरो तान्दै छु । हिजो उम्रेर, हिजै ढाकिएको लहरो तान्दै छु । आज समेत त्यसले शैक्षिक क्षेत्रलाई हल्लाउन सक्छ । हुन पनि हो, हिजोको लहरो नतानीकन आजको लहरो झ्याङ्गिने वातावरण तयार पार्न सकिन्न । मलाई त पूरापूरी थाहा छभोलिको शैक्षिक धरातलको पूर्वानुमान गर्न पनि वर्तमानमा विगतलाई राम्ररी केलाउनु जरुरी छ ।
    हजुर, म धेरै ठाउँमा बहकिन सक्छु । त्यो त्यस्तै कुरा हो । अहिले भने म दुई जना साइकल चुइक्याउने शिक्षकका कुरा गर्दै थिएँ । तिनीहरूकै स्वरूपको, चरित्रको संक्षिप्त चर्चामा शब्द खर्च गर्दै छु ।
       साइकलको पछिल्तिर बस्ने गहुँगोरो थियो, सिकुटे थियो, फुँङ्ग उडेको मुहार थियो । जे बोल्थ्यो त्यो गथ्र्यो । जे गथ्र्याे त्यो बोल्थ्यो । हण्डर खान जानेको थियो । पीडा भोग्नेलाई नै सुखको आनन्दानुभूति प्राप्त हुने कुरामा ऊ विश्वस्त थियो । विद्यार्थीमाझ ऊ पातर सरका नामले चिनिन्थ्यो । अर्को साइकल चालक सरचाहिँ खरो अङ्ग्रेजी बोल्थे । सेतो भेष्ट लगाउँथे । मंगोलियन आकृतिका रातोपीरो मुहारका थिए । थोरै बोल्ने र धेरै काम गर्ने उनको विशेषता थियो । सैनिकले आफ्नो जीवनमा आमाबाबु पनि नभनी  कर्तव्य निर्वाह गरेझैँ उनी पनि त्यस्तै कर्तव्य निर्वाहमा कटिबद्ध थिए । पढ्ने बेलामा पढेनन् भने, दुईतीन पटक राम्ररी सम्झाउँदा पनि पढाइमा रूचि देखाएनन् भने, उनलाई छक्याउने काम गरे भने ती विद्यार्थीहरूले उनको कडा दृष्टिभित्र फँस्नै पथ्र्यो । उनीहरूले नैतिकरूपमा गिर्नै पथ्र्यो । शारीरिक पीडाले नभए पनि मानसिक पीडाले रन्थनिनु पथ्र्यो । आँखाभरि आँसु पार्नै पथ्र्यो । हायलकायल हुनै पथ्र्यो । त्यसैले विद्यार्थीहरूले उनको नाम कडगर सरराखेका थिए ।
   पातर र कडगर दुबै सरको गाढा मित्रता थियो । तिनीहरूको एक मन थियो, शरीरमात्र दुई । सोच एक थियो, मस्तिष्क मात्र दुई । पेट एक थियो, मुख मात्र दुई । यसरी दुईभित्र एक भएर बाँचेका ती दुबै प्राणीको बोर्डिङ्ग स्कूले शिक्षण क्षेत्रमा नाम थियो ।
      राजदेवी मन्दिरमा घण्टहरू बज्न सुरु हुनासाथ पातर सर जुरुक्क उठेर दैनिक कार्य गरी स्कूलका लागि तयार हुन्थ्यो । सडकमा उभिन्थ्यो र कडगर सरलाई कुथ्र्यो । घरिघरि भुक्के घडी हेथ्र्यो । प्रार्थनाको समय ढिलो हुन लाग्यो भन्दै हतारिन्थ्यो । कडगर सर साइकल चुँइक्याउँदै आइपुग्थे । बुढियाले मुराईतरकारी नखाइकन आउनै दिइनँ, ढिलो गर्दिई ।”, उनी स्पष्टिकरण दिन्थे । त्यस बेला उनी मलेठ गाउँमा  बस्थे । उनका कुरा सुनेर पातर भने मुख मिठ्याउँथ्यो । कारण मुराईतरकारी उसलाई पनि मन पथ्र्यो ।
     साइकलको पछिल्तिर पातर सर बस्थ्यो । फेरि साइकल चुँइकिन थाल्थ्यो । बाटाभरि फेरि विद्यार्थीहरूकै लावालस्कर भेटिन्थ्यो । गुड मोर्निङ्ग सर...... गुड मोर्निङ्ग सर......, स्वर गुन्जिरहन्थ्यो । हरेक विद्यार्थीलाई अभिवादन फर्काउनु सम्भवै थिएन । केही विद्यार्थीहरूलाई भने गुड मोर्निङ्ग स्टुडन्टस्..... गुड मोर्निङ्ग ..... भन्दिन्थे । केहीलाई भने टाउको हल्लाएर नै अभिवादन स्विकार गरेको जनाउ दिन्थे ।
        नयाँ शैक्षिक सत्र सुरु हुनासाथ प्रिन्सिपल राम्रा शिक्षकका नजिक नजिक हुन्थे । उसलाई रिझाउनलाई हरसम्भव प्रयत्नमा रहन्थे । कडगर सर सबैका आँखाका नानी भइसकेका थिए । हुन त स्कूल प्रवेश गर्नेहरूको सुविधा मासिक नौ सयदेखि पन्ध्र सयसम्म थियो । राजविराज सहरमा एक जना मान्छेलाई सामान्यरूपले बाँच्न कम्तिमा मासिक तेह्र सय लाग्थ्यो । त्यो समयको कुरा हो । कडगर सरको कडा विचार देखेर नै उनको तलव मासिक सोह्र सय तोकिएको थियो । उनको यस लोकप्रियतामा डाहा गर्ने अन्य पुराना शिक्षक मित्रहरूको कमी थिएन । कडगर चौधरी टिचर जकाँ नहि लागैत अछि मुदा निक टिचर अछि ।” (कडगर चौधरी शिक्षकजस्तो लाग्नुहुन्न तर असल शिक्षक हुनुहुन्छ ।) अभिभावहरूको आवाज सुनिन्थ्यो ।
    उनी बोर्डिङ्ग स्कूलका शिक्षक मात्र नभएर महेन्द्र विन्देश्वरी क्याम्पसमा पढ्ने विद्यार्थी पनि थिए । क्याम्पसको कक्षा छुटाउनु आफ्नो धर्म विपरीत ठान्थे । सारा अङ्ग्रेजी विभागमै उनको नाम थियो । त्यहाँ भने उनको नाम मिष्टर एभिटथियो । सायद उनी होचो कदका र आफ्ना कुराहरू निर्धक्क राख्ने भएकाले ठट्यौलो पाराको नाम रोजिएको हुनसक्छ । शेक्सपियरका नाटक वा नाट्यकारिताका कुरा हुन् या अ कम्पेनियन टु लिटेरेचरका कुरा हुन्, उनका जिज्ञासा कडा खालका हुन्थे । जवाफ दिन नसकेर उनलाई पढाउने कतिपय शिक्षकहरू कहिलेकाहीँ विलखबन्दमा समेत पर्थे । गम्भीर समीक्षकले पर्गेल्न नसक्ने प्रसङ्गहरू उनले तेर्साएका हुन्थे ।  कक्षामा प्रवेश गर्नासाथ सबैको ध्यान उनीतिर खिचिन्थ्यो । उनको उपस्थिति देखेमा प्राध्यापकहरू बढी सचेत भएर पढाउँथे ।
       बोर्डिङ्ग स्कूलमा शिक्षकहरूको तलव बढाउने दिन आयो । उनको तलव भने सोह्र सयबाट बत्तीस सय पुर्याइयो । त्यस बेला प्रिन्सिपलले उनलाई भनेका थिए, ‘एभिट सर ! आजसम्म मैले अङ्ग्रेजी विषयको तपाईंजस्तो शिक्षक पाएको छैन । तलव पनि तपाईंलाई जस्तो कसैलाई दिएको छैन । सप्तरी जिल्लाकै श्रेष्ठ शिक्षकमध्ये एक ठानेर तपाईंलाई श्रेष्ठ दर्जामा राखेको छु ।शिक्षकको प्रशंसामा एक शब्द पनि राम्रो कुरा गर्न नरुचाउने  प्रिन्सिपल उनीबाट भने पग्लिएका देखिन्थे । नपग्लून् पनि कसरी । उनलाई नै कतिपय मामलामा सिकाउने, बाटो देखाउने काम एभिट सरबाट हुन्थ्यो । वार्तालापकै क्रममा प्रिन्सिपलको अन्तिम वाक्य थियो, ‘सतप्रतिसत तलब वृद्धि गरिदिएको छु । अर्को वर्ष भने केही प्रतिशत मात्र तलव वृद्धि हुनेछ । आफ्नो कार्यमा यस्तै जागरुकता रहोस् ।नयाँ शैक्षिक सत्र सुरु हुनासाथ कतिपय शिक्षकलाई केही हदमा वास्ता गर्ने र कतिपयलाई वेवास्ता गर्ने बानी पुरानै हो भन्ने सबैलाई थाहा थियो । त्यस वेला एभिट सर भने मौन रहे । यी शब्दहरु केवल उनीहरू दुई जनाले मात्र सुने अरू कोही साक्षी थिएन ।
        सबै शिक्षकलाई व्यक्तिगतरूपमा बोलाएर तपाईंको यत्ति र उत्ति प्रतिशत तलव वृद्धि भयो भनिन्थ्यो । समय महंगिँदै थियो । टिउशन नपढाए सहरमा टिक्न गाह्रो हुन्थ्यो । प्रायः सबै शिक्षकहरू क्याम्पस पढ्ने विद्यार्थीहरू नै थिए । धेरै जसो चाहिँ घरबाट चामल ल्याउँथे । डेराभाडा समेत ल्याउँथे । स्कूलले दिएको तलवले केवल तरकारी किन्न र सामान्य पकेट खर्च गर्न मात्र पुग्थ्यो । नयाँ शिक्षक सबैको दिनचर्चा त्यसरी नै चल्थ्यो । तलव वृद्धि सम्बन्धमा प्रिन्सिपलका अगाडि बोल्न कोही सक्दैनथे । उनी जे जति तलव बढाउँथे, सबै जसो शिक्षकहरू त्यसैलाई स्विकार्थे । दस प्रतिसतदेखि माथि सबैको तलव बढाएको छु भनेर मख्ख पार्थे । हजार रुपैयाँ तलव पाउने शिक्षकको तलव कत्ति नै बढ्थ्यो र ?
      करिब छ वर्षपछि एभिट सरलाई रामजानकी माध्यमिक विद्यालयले निजी स्रोतको शिक्षककारूपमा काम गर्न बोलायो । सरकारी स्कूलमा पसिना बगाइयो, खुन सुकाइयो भने भोलिको लागि राम्रो हुने ठानेर उनी त्यतातिर हानिए । एक महिना वित्ता नवित्तै उनले राम्रो लोकप्रियता कमाए । निजी विद्यालयमा पेलिएर काम गरेका त्यहाँ पेलिनु परेन । ज्यादै हल्का लाग्यो । उनलाई बरोबर आफू शिक्षक हुँ कि हैन भन्ने लागि रह्यो । उनी बेलाबेलामा प्रधानाध्यापकहरूसँग भन्ने गर्थे, “यसरी शैक्षिक स्तर कहाँ उक्सन्छ र ? यस्तो काइदाले शिक्षकको जिम्मेवारी कहाँ पूरा हुन्छ र ? विद्यार्थीका दैनिक आवश्यता र यथोचित चाहना विपरीत हिँड्दा अभिभावकको जिम्मेवारी कसरी पूरा भयो र ?” उनले त्यहाँ विद्यालय व्यवस्थापन, शिक्षक र अभिभावक तीनै थरिको कमजोरी देखे । सबै जसो शिक्षक शिक्षण क्षेत्रमा सुधारभन्दा पनि समय कटाउन र तलव भत्ता पकाउनमा नै मख्ख र मस्त भएको देखे । जसरी भए पनि कक्षा चढाउनु पथ्र्यो विद्यार्थीलाई । उनले पचहत्तर प्रतिशत विद्यार्थीलाई अनुत्तीर्ण पार्नुपर्ने अवस्था देखे । त्यहाँ भएकाहरू मध्ये अधिकांश स्थानीय शिक्षकशिक्षिका थिए । कसैका नानीहरू अनुत्तीर्ण भइहाले भने चौतर्फी गुनासाका स्वरहरू गुन्जिन्थे । यी माष्टर सब सालभर कि करैछै ? हमरा बच्चाके फेल क्या देलकै । हम किताबकापी किन्देने चिए । सब दिना स्कूल भेज्ने चिए । आब हम कि करबै ?” (यी शिक्षकहरू सालभर के गर्छन् ? मेरो बच्चालाई फेल गरिदिए । मैले किताबकापी किन्दिएको छु । सधँै दिन स्कूल पठाइदिएको छु । अब म के गरूँ ?) अभिभावकहरूको स्वरले स्कूल थर्कन्थ्यो ।
    बोर्डिङ्ग स्कूलमा यस खाले समस्या नदेखिने भने होइनन् तर विरलै । एभिट सरको मनले मनसँग कुरा गरिरह्यो । विचारा विद्यार्थीको मात्रै के दोष ? उनीहरू त अग्रजको लावरवाहीका सिकार भएका मात्रै हुन् । सबै शिक्षक  वर्गमा अघोषित नीति थियो परीक्षाको कापी जाँच्नुस् या नजाँच्नुस्, त्यसको त्यत्रो अर्थ छैन तर विद्यालयको  रिपोर्टमा परीक्षा दिए जति सबै उत्तीर्ण हुनैपर्छ । यहाँ शिक्षक भएर हैन, तलव भत्ता पाक्ने काम गरे पुग्ने रहेछ ।
देसअनुसारको भेषमा रहनुपर्छ भन्ने कुरा एभिट सरलाई पनि राम्ररी थाहा थियो । नेपालका शैक्षिक ऐनकानुन र नियमावलीहरूको पनि राम्रो अध्ययन थियो । जनताको नुन खाएपछि काम गर्नैपर्छ भन्ने ठोस निष्कर्षमा उनी पुगेका थिए । एक्लो वृहस्पति बन्छु भन्ने भय उनमा रत्तिभर थिएन । त्यसैले उनी आफ्नो कर्तव्यको बाटोमा डटेर लागे, लागि नै रहे । कक्षाकोठामा अनुशासन कायम गर्न होस् या नियमित पार्न होस् वा पढाइप्रति अभिरूचि जगाउने काममा होस्, उनले हरसम्भव प्रयत्न गरे र विद्यार्थीमा आमूल परिवर्तन ल्याइदिए । उनले त्यहाँ एउटा प्रणालीको विकास गरिदिए । अरू शिक्षकहरूमा पनि धेरै परिवर्तन आयो । उनी माथिल्ला कक्षाका विद्यार्थीहरूलाई भन्ने गर्थे–“हेर नानी हो ! म आफ्नै कुरा भनेर तिमीहरूलाई सोच विचारेर काम गर्न प्रेरित गर्दै छु । म अहिले एक माध्यमिक तहको अङ्ग्रेजी शिक्षकको रूपमा तिमीहरूको सामुमा छु । यहाँसम्म आइपुग्न मैले धेरै धेरै भेलहरू तर्नुपरेको छ । अनगिन्ती कराल पहाडहरू फोर्नुपरेको छ । कक्षा पाँचको विद्यार्थी छँदादेखि नै मैले अर्काको घरमा बसेर ससाना बच्चालाई पढाएर पढाइको खर्च बटुलेँ । टिउशनको मुख देखिनँ । अरूलाई पढाएर धेरै जान्ने भएँ । आफूले जानेको जति धेरैलाई बाँड्न सक्यो उत्ति जान्ने भइँदो रहेछ । मनमा भएका जिज्ञासाहरू  शिक्षकसामु राखी समाधान पाउन सके पढाइप्रति अभिरूचि जाग्छ । मनमा अँध्यारो पाटो नरहनु भनेको उज्यालोको राज्य स्थापित हुनु हो । सोच ठूलो राखी कर्ममा डटेर लाग । आजको समयले भोलिको जीवन सुनिश्चित पार्छ । गफले संसार हाँक्छु भन्न छाडिदेओ । कर्मले संसारलाई रिझाउन सक्नुपर्छ । कर्मशील हातपाखुरीलाई संसारले चुम्छ । आज बाबुआमाको पाखुरीमा नाच्ने काम गरेमा त्यसकै असरले जीवनभर रुनुपर्ने अवस्था आउन सक्छ । आजलाई मनमा राख र कर्ममा विश्वस्त बन ।
       उनले शिक्षण पेशालाई उत्तम पेशा ठानिसकेका थिए । म शिक्षक बनेर नै मान्छेको मनमन्दिरमा उज्यालो छर्न जन्मेको हुँ भन्न पनि उनी छाड्दैनथे । स्थायी जागिरको बाउन्न साले परीक्षा दिएका थिए । अन्ठावन्नको अन्तरवार्तामा समेत खरोसाथ प्रस्तुत भएका थिए । कतै प्राथमिक तहकै भए पनि शिक्षक बन्न सकिएला कि भन्ने झिनो आशा थियो । सप्तरी जिल्लामा शिक्षक बन्नु थियो । वैधानिक प्रकियामा अघिअघि भए पनि सोर्स, फोर्स, दानदक्षिणाका मामलामा पछि हुनुहुन्छ, आश गर्दै नगर्दा वेस हुन्छ, अमितजी भनेर नजिकका साथी र छरछिमेकीहरू उनलाई भन्दथे । जे देख्छन् अरूहरू त्यही भन्छन्, स्थायी शिक्षक बन्ने सपना देख्नु मेरो नाजायज सोच हैन भन्ने उनको ठहर थियो ।
      पछिको कुरा जान्ने को छ र यहाँ ? नभन्दै रिजल्ट भयो । उनी सफल भएछन् । उनको पोष्टिङ्गको सवाललाई लिएर प्रधानाध्यापकहरूमा तँ छाड् मछाड् भएछ । सबैको आआफ्नै खाले स्वार्थ । उनी थिए स्नातक डिग्री पाएका तालिम प्राप्त शिक्षक । कतिपय स्कूलमा माध्यमिक विद्यालयमा पढाउने शिक्षक पाउनै गारो थियो । पछि थाहा पाए, उनले आफ्नै गाउँको स्कूलमा प्राथमिक शिक्षकको रूपमा माध्यमिक तहमा पढाउनुपर्ने भएछ । ठीकै छ भन्दै उनी आफ्नै गाउँतिर हानिए । २७ असार, २०६१ को निर्णय बमोजिम भदौ १ गतेदेखि तलब भत्ता पाउने गरी उनी नियुक्त गरिए । अनवरतरूपमा उनी पढाइ नै रहेका छन् र लोकप्रियता कमाउने उनको इतिहासलाई त्यहाँ पनि निरन्तरता दिएकै छन् । 
    प्रिय मित्र, लामा कुरा सुनाएँ । तपाईंलाई पट्यार लाग्यो होला । विद्यार्थी सामु कडगर सर, प्रिन्सिपल सामु एभिट सर, अभिभावकका सामु कडगर चौधरी, प्राध्यापकहरू बीच मिष्टर एभिट र मित्रहरू सामु अमितजी भनेर पुकारिने व्यक्ति अरू कोही नभएर तपाईं नै हुनुहुन्छ । सबैले सबै प्रकारका नाम दिए । म भने जीवनका महत्वपूर्ण क्षणहरू साथै विताएको मित्रको नाताले र पातर सर भनेर विद्यार्थी माझ परिचित भएको हैसियतले तपाईंलाई तपाईंकै प्रमाणपत्रको नाम दिन्छुअभितकुमार चौधरी ।
     प्रिय मित्र, बोलेरभन्दा लेखेर नै धेरै कुरा जाहेर गर्न सकिने रहेछ । बोल्दा हराइने डर हुँदो रहेछ, लेख्दा समेटिन सकिने रहेछ । फेरि जीवन कहाँबाट कहाँ पुग्दो रहेछ । कसैको घोषणा र अनुमानभित्र जीवन कहाँ गुम्सदो रहेछ र ? मैले देखेका, सुनेका, भोगेका र अनुभव गरेका कुराहरू रिठ्ठो नविराईकन प्रस्तुत गरेँ । हिजो विताएको त्यो स्कुल (निजी) र आज जीवनरथ हाँकिरहेको यो स्कुल (सरकारी)का बीच फरक केके पाउनु भयो ? म पनि तपाईंबाट आफ्नो स्वभावअनुकूलको खरो प्रतिक्रियासहितको जवाफ पाउने प्रतिक्षामा हुलाकीको बाटो कुरेर बसिरहने छु । धन्यवाद ।
                                        
०६८।०२।२१ शनिबार


संगिनी बेचिनी
नन्दलाल आचार्य


प्यारी संगिनी बेचिनी,
सपे्रम सम्झना ।   

म र मसँग सम्बन्धित सबै मान्छेहरू आराम छौँ । त्यहाँ तँ र तँसँग गाँसिएका मान्छेहरूमा पनि कुसलमङ्गल छ भन्ठान्छु । चिठ्ठी नलेखीकनै नहुने त्यस्तो कुरा त केही थिएन तर जीवनरथ हाँक्ने क्रममा अनुभूतिहरू बाँडचुड गर्नाका निम्ति लेख्न बसेकी छु ।  
लगभग पन्ध्र वर्ष पछि तेरो र मेरो भेट यसै पत्रमार्फत् हुँदै छ । यस बीचमा तेरो जीवनमा पनि ठूलै परिवर्तन भएको होला । आज म तेरो अगाडि एउटा सर्त तेर्साउँदै छु । त्यो के हो भने आजसम्मको मेरो जीवन कहानी पढेपछि तैँले पनि आफ्नो जीवन कहानी हुवहु अक्षरमा उतारेर मकहाँ पठाउनुपर्छ ।
          बेचिनी ! म यस पत्रमा सम्पूर्ण कुरा लेख्छु । जे भए पनि लेख्छु, लेख्छु । म तँलाई मेरो विगत सुनाउन सक्छु, सुनाउँदै छु । पढाउन सक्छु, पढाउँदै छु । मेरो कथा तँलाई सुनाएर, पढाएर म हल्का हुन चाहन्छु । मेरो थाप्लोको पीडा केही हदमा तँलाई सार्न चाहन्छु । के तँ आफ्नो पीडा पनि मकहाँ सार्ने सर्तमा मेरो पीडा लिन रुचाउँछेस् ?
हेर् संगिनी बेचिनी,
म बहुलाएँ धेरैका लागि तर एक जनाका लागि मात्र बहुलाइनँ केही वर्षसम्म ।
केही कालसम्म छोराकी आमा बन्नबाट बञ्चित गरिएँ तर तीन छोराकी महतारी भइछाडेँ ।
कलुषित मन छिद्र पार्ने संकल्प गरेँ र संघर्षबाटै जितेँ पनि ।
म मुखिया थिएँ, मण्डल भएँ र केही वर्ष गोइतमा समेत परिणत भएँ ।
अहिले भने ती सबै थर पाखा लागे र म कडगर मौगी (दरिली स्त्री)मा दरिएँ ।
आफ्नो थर मनुवा रोजेँ र औतारी मनुवा, प्रकाण्ड मनुवा र प्रसाद मनुवाकी महतारीका रूपमा चिनिइरहेकी छु ।
कतै बाध्यता, कतै रहर, कतै जिद्दी मेरो जीवन वरपर घुमिरहे, घुमिरहेछन्, संभवत घुमिरहने छन् ।
           प्यारी संगिनी बेचिनी, लोग्ने फेर्दै हिँड्ने यो मोहिनीसँग के कुरा गर्नु भनेर तँ तर्कन लागिस् होला । धन्दा नमान । अवश्य, मीठो रस र सुगन्धदेखि लट्ठ परेर मौरी फूलमा झुम्मिन्छ । तातो भेटेर बलेको आगोछेउ मान्छे झुम्मिन्छ । मान्छे सुखमा साथ दिन्छ दुःखमा परपर तर्कन्छ । अहिले म निभेको आगो हैन, बलेको आगो नै हुँ । मात्र म मेरो विगतको पाटो पल्टाउँदै छु । थोरै चाख लिइस् भने म धन्य हुने थिएँ । अहिले ममा पीडा पचाउने सामथ्र्य छ । घृणा बोक्ने बानी छ । पीडाले गर्दा मैले सपनाको महललाई विपनामा बदलेँ । घृणाले गर्दा मैले मेरो मनोकांक्षा पूर्ण पारेँ ।
            मेरो जीवनमा धेरै पात्र आए र गए । एक पात्र जो मेरो पतिको भूमिकामा धेरै दिन अडिएको थियो, त्यसले पनि सम्बन्धविच्छेद गरेको आज ठ्याक्कै चार वर्ष पूरा भयो । अब मेरो कथा मेरै मुखबाट सुन् । मैले मात्र चौध वसन्त फक्राएकी थिएँ । ममा कुरकुरे वैंस चढ्दै थियो । बौद्धिकताको सुको थिएन तर व्यवहारिकताको भँगालो थियो । म आफ्ना संगिनीहरूका साथमा खाँडो खोलाको किनारमा बाख्रा चराउँदै थिएँ र सारा धर्ती थर्कने गरी गीत पनि गाउँदै थिएँँ । त्यसै बखत एक पुरुष स्वर मेरो कानमा ठोक्किन आइपुग्यो ।
ई खाँडोके घाटपर कतके लता मंगेष्कर गाविरहल अछि ? (यस खाँडो खोला किनारमा कहाँकी लता मंगेष्कर गाउँदै छिन् ?)
        म झस्किएँ । लता प्रख्यात गायिकाको नाम हो भन्नेसम्म मलाई थाहा थियो । बोल्ने मान्छेको मुहार नहेरीकनै जवाफ फर्काएँ– “अपन रफी साहव भक एत के उगल ?” (आफू रफी साहव भएर यहाँ को झुल्किएको छ ?)
          सुरिलो र कोमल स्वरले तानिएर मात्र म यहाँ झुकिएको हुँ भन्दै एक खाइलाग्दो ज्यान भएको युवक देखापर्यो । म अझ भयभित भएँ । बाटो हिड्ने बटुवा धेरै हुन्छन् । तर यस्तो लक्काजवान ठिटो म नजिक आउँदै छ । म त्यहाँ एक्लै छु, संगिनीहरू पर्तिर गट्टा खेल्दै छन् । म नजिक नजिक युवक आइपुग्नै लाग्यो म भने बुर्कुसी मार्ने दाउ हेर्ने थालँे । म भयभित भएकै कारणले होला उसले मुख खोल्यो, “नाई, नाई डरायवा क कोनो जरुरत नहि अछि । हम जंगलक बाघभालु नहि छी । हम अहाँके डराब नहि आएल छि, हम भूतप्रेत सेहो नहि छी । गावु, गावु हम अहाँक गीत सुनैल आएल छी । कनिके काल सुस्तावी आ एतेक निक स्वरक धनीके मुहोँ देखली कहिक आयल छी ।” (पर्दैन, पर्दैन डराउनु पर्दैन । म जंगलको बाघभालु हैन । म तिमीलाई तर्साउन आएको हैन, म भूतप्रेत पनि हैन । गाऊ, गाऊ म तिम्रो गीत सुन्न आएको हुँ । एकैक्षण सुस्ताउनु पनि पर्यो र यति मीठो स्वरकी धनीको मुहार पनि हेर्नुपर्यो भनेर पो आएको हुँ ।)
          ऊ दस मिटर परकै ढुंगामा टुक्रुक्क बस्यो । म आश्वस्त भएँ । मेरो वरपरको त्रास हरायो । उसले गाउने आग्रह गर्यो । म मुस्कुराएँ मात्र । मलाई संकोच लाग्यो । उसले मेरा पारिवारिक कुराहरू सोध्यो । मैले सविस्तार बताएँ । आधा घण्टे गफसफको क्रमलाई टुंगाउँदै ऊ उठ्यो र गन्तव्यतर्फ जान लम्कियो । जाँदाजाँदै भन्यो, “मधुर स्वरजँका मुहोँ सुन्नर अछि अहाँके । अहाँक नाम त सुन्नरी होवाक चाही । लिए त, सुन्नरी ! फेर भेटव ।” (मधुर स्वरझैँ सुन्दर मुहार परेकी रहिछ्यौ । तिम्रो नाम त सुन्दरी हुनुपर्छ । लौ त, सुन्दरी ! फेरि भेटांैँला ।)
     म खुब खुशी भएँ । आजसम्म सबै जना मलाई मोहिनी, मोहिनी भन्थे । आज एकजनाले सुन्दरी नाम राख्यो । सुन्दरी शब्दले सम्बोधित हुनु पाउनु गर्वको कुरा थियो मेरा निम्ति । संगिनीहरूलाई पनि सोधेँ । हैन यो मोहिनी पोक्ची के भन्छे भन्दै सबैले हाँसोमा उडाए । म हरघडी त्यही युवकको मुहार सम्झन थालँें । आधा घण्टे समय मेरो जीवनकै सौभाग्यको समय रहेछ भन्ठानेँं ।
            सधैंँभरि बाख्रा चराइन्थ्यो, गीत गाइन्थ्यो, गट्टा खेलिन्थ्यो । यही क्रम जारी रह्यो । म युवकलाई कतै भेटिहाल्छु कि भनेर संगिनीहरूभन्दा अलिक टाढा पुगेर गीत गाउने गर्न थालेँ । हुँदाहुँदै एकहप्तापछि युृवकले मलाई भेट्यो । सहज वातावरणमा कुराकानी भए । उसले मसँग प्रेम प्रस्ताव राख्यो । मैले बुवाआमा नै सर्वैसर्वा हुनुहुन्छ भन्दिएँ । उसले व्यक्तिगत रूपमा निर्णय गर्न कर गर्यो । मैले त्यसलाई स्वीकार्न सकिनँ । ऊ केही निराश भएर उठ्यो र हिंड्यो । यस पटक भने ऊ रिसाएझैँ लाग्यो । बित्थामा रिसाउने बनाएँछु भनेर पछुताएँ । आफूले आफैँलाई धिक्कारेँ । मसँग अरू उपाय पनि थिएन । जीवन बारे निर्णय लिने क्षमता बिल्कुलै ममा थिएन ।
            यस घटनाको पन्ध्र दिन पछि उसलाई मैले बुवाआमासँग कुरा गर्दै गरेको भेट्टाएँ । एउटा वाक्य चाहिं मेरो कानमा पर्यो ।.... हम कहुना क भी मोहिनीसँ विवाह करवे, करव । (म जसरी भए पनि मोहिनीसँग विहे गर्छु, गर्छु ।)
            त्यसबेला मैले अरू कुरा सुन्न पाइनँ । मनको एक कुनामा उमङ्ग सञ्चार भइरहेको थियो, अर्को कुनामा त्रासले घोचिरहेको थियो । म विवेकशून्य भएँ । बाख्रा लिएर खाँडो खोलातिर हुइँकिएँ । साँझमा घर पुगेँ । परिवारजनमा उत्साह शून्य भएको पाएँ । कुनै अनिष्टको घडी आइरहेछ झैँ लाग्यो । एकले अर्काको मुहार हेर्ने क्रम मात्र दोहोरियो । हप्ता दिनसम्म कुराकानी गुपचुपमै रह्यो ।
            एक साँझ बुवाले मलाई डाक्नुभयो । परिवारका सबै सदस्य बस्नुभएको रहेछ । सबै गम्भीर मुद्रामा देखेर म पनि गम्भीर भएँ । केही वेरको सन्नाटालाई चिर्दै बुवा बोल्नुभयो, “हेर् छोरी, तेरो पुरपुरोमा यस्तै लेखेको रहेछ । दुनियाँलाई सचेत पार्ने म ज्योतिषी आज भड्खारामा परेँ । त्यो भड्खारमा तँलाई जाक्न पुगेँ । केटाको जिद्दीको अगाडि मेरो केही लागेन । इज्जत जानुभन्दा तँलाई सुम्पनै जाति भन्ठानेर तँलाई गोठालामा भेट्ने केटालाई तेरो जोडी बाँध्न बाध्य भएँ ।
     म भित्रभित्रै खुशी भएँ । बुवाको भूमिकाले भने मनको एक कुनामा खैलाबैला मच्चिन थाल्यो । अझ प्रष्ट्याउँन आमा अघि सर्नुभयो,“हेर छोरी ! त्यो केटो विहे नगर्दिए, भगाएर लैजान्छु भन्छ । भाग्न नमाने घिसारेर लैजान्छु भन्छ । घिस्रिन पनि नसके ढुङ्गाले हानेर मार्छु र आफू पनि मर्छु भन्छ । यस जन्ममा तँलार्ई श्रीमती बनाउन नसके पनि अर्को जन्ममा त अवश्य बनाइछाड्छु भन्छ ।
            केटो त लायकको थियो । जोडा नमिल्ने पनि हैन । किन बुवाआमाले नमान्नु भएको रहेछ भन्ने जिज्ञासा मनमा उब्जिरह्यो । मुख खोल्न सकिनँ । चुपचाप मुर्तिवत् बसिरहेंँ ।
            यस हिसाबले विवाह भयो युवक अर्थात् रामसुरत मण्डलसँग । सुरुसुरुका दिन सुखद नै भएर बिते । मनग्यै सम्पत्तिको मालिक रहेछ रामसुरत । तराईको घरखेती ऊ आफू हेर्दो रहेछ । पहाडतिरको व्यापार अरूले गर्दा रहेछन् । ठूली छोरी जन्मिई, कहिले काहीँ ठाक्कठुक्क गथ्र्यो । वर्षेनी जसो तीन वटी छोरी जन्माएँ ।
        ऊ विस्तारै रक्सी पिउन थाल्यो । दिनभरि सँगसँगै काम गथ्र्यो । साँझमा भट्टीमा पस्थ्यो र टन्न पिएर मलाई नानाथरी भन्थ्यो । मैले मुख खोलेँ भने लादी फर्किउँजेली पिट्थ्यो । छुट्याउन कुनै छिमेकी आए भने तिनीहरूलाई नै सात हात पर धकेलिदिन्थ्यो । तर एउटा कुराचाहिँ भन्नुपर्छ । ऊ मलाई आसाध्यै माया गथ्र्यो । रक्सीको नाशा हराएपछि मलाई पिठिउँमा बोकेरै सगरमाथा अंचल अस्पताल, राजविराज पुर्याउँथ्यो । त्यसवेला रिक्सागाडी भेट्न मुस्किल थियो । एक त बाटोघाटोको असुविधा, अर्कातिर रिक्सागाडीको संख्या नै कम थियो । बयलगाडाको चलन थियो, आफूसँग थिएन । अरूसँग माग्ने कुरा आएन । सायद पत्नीलाई पिटेकोमा ऊ पनि लज्जित हुँदो हो । उसले मलाई दर्जनौँ पटक कुटेर उपचार गराउन लगेको थियो । उपचारका लागि लगेको देखेर सबै गाउँलेहरू रामसुरतलाई हेर्दै भन्थे, “मदिराके नहि छुवेत धेर रामसुरत मण्डल देवते छियैक, मदिराके छुविते देरी ई राक्षस भ जाइत अछि ।” (रक्सीले नछुँदा रामसुरत मण्डल देउतै हो, रक्सीले छोयो कि यो राक्षस भइहाल्छ ।) रक्सी खाएको बेलामा तैंले मुख खोल्दै नखोल्नु भनेर मलाई पनि सचेत पार्थे । मैले पनि त्यसै गरेंँ । एकदिन हैन, दुई दिन हैन, सधैँं जसो भट्टीको रस नपिइकन नहुने देखेर कहिलेकाहीँ मेरो पनि रिसको पारो तातिहाल्थ्यो । म तातिएपछि रामसुरत आगो बन्थ्यो र मलाई कच्याककुचुक पाथ्र्यो । पीडा खेप्दै गएँ । घरभरि धन थियो, छोरीहरू थिए तर छोरा थिएनन् । अंगालाभरि श्रीमान् थियो । ऊ राक्षसमा परिणत भइदेला कि भन्ने त्रास पनि थियो ।
            एक दिन दिउँसो बुवा घरमा आउनुभयो । रामसुरत मण्डल र काका नरनाथ भैँसी गोठाला गएका थिए । बुवा त्यस क्षेत्रकै नामी ज्योतिषी कहलाउनु हुन्थ्यो । उहाँले नातिनीहरू मात्रै जन्मेका देखेर भन्नुभयो, “तेरो यो भाग्यमा छोरा छैनन् । ज्वाइँ पनि अल्पायुमै मर्छन् । धन मनग्यै छ । दुःख त हुँदैन । तर छोराको आश अब मारिदे । यही कुराले गर्दा मैले तिमेरूको विहे नगर्दिने सोच बनाएको थिएँ । ज्वाइँले जिद्दी गरे, मैले हारेँ । इज्जतकै लागि म हारेको हुँ ।यस कुराले भने मलाई दुःखित तुल्यायो । छोरा नभए, पिण्ड दान पाइन्न, स्वर्गको बास भेटिन्न भन्ने कुरा मैले बुझेकी थिएँ । म छोरोको चाहमा पिल्सिरहँें । पछि कुरा बुझेँ, रामसुरत मण्डललाई पनि यी सबै कुरा थाहा रहेछ । त्यसैले मैले छोरी, छोरी जन्माउन थालेपछि रक्सीमा डुब्न थालेको रहेछ । नभन्दै कान्छी छोरी डेढ वर्ष पुगेकी मात्र थिई रामसुरत मण्डलले धर्ती नै छाडिदियो ।
            दुःखसुख छोरी हुर्काउँदै गएँ । छोराको चाह पूरा गर्न मैले काका नरनाथलाई आफ्नै घरमा खान र सुत्न भनेकी थिएँ । उनी पुरुष थिए । उनी भए पछि घरमा भूतप्रेत आउँदैन भन्ने मलाई विश्वास थियो । तीन छोरी हुर्कंदै गएँ । काकालाई हेरेर नै म छोराको तिर्सना मेट्थेँ । मेरी जेठी छोरीभन्दा थोरै जेठा मात्र थिए काका । तिनलाई मैले दूध चुसाएकी छु, उनको गुहुमुत पनि गरेकी छु । असल धाइआमाको भूमिका निर्वाह गरेकी छु । म ईश्वरसँग पुकारा गर्थेें–“हे ईश्वर ! उनलाई हजुरआमाले जन्माए पनि उनी मेरा छोरा हुन् । म उनलाई जीवनभर छोराकै दर्जामा राखिराख्न पाऊँ ।
            हामी सामाजिक संस्कारले जेलिएका थियौँ । म उनलाई छोरा भन्न पाउँदिनथँे, काका नै भन्थँे । उनी मलाई आमा भन्न सक्दैनथे । मोहिनी भनेर सम्बोधन गर्थे । मैले एक दिन भावुक हुँदै उनीसँग प्रस्ताव राखेँ –“काका, तोँ हमरा माए कह त ! हम तोरा अच्छा वेटा कहब ।” (काका, तिमी मलाई आमा भन ल ! म तिमीलाई प्यारो छोरा भन्छु ।) मेरो कुराले उनको बालमनस्थितमा खै कस्तो चोट प¥यो कुन्नि ? मैले अनुमान गर्न सकिनँ । उनी त्यस दिनदेखि मसँग खुलेर कुराकानी गर्न हिच्किचाउन थाले । यो कुरा कसैलाई नभन्नु नि भनेर सम्झाउँथेँ । एक दिन मैले ठट्यौलो पारामा उनलाई ज्वाइँ खोजिदेऊ भनेँ । उनले प्रौढ मनस्थितिझैँ पारेर नातिनीहरू सानै छन् भन्ने जवाफ फर्काए । उनको जवाफ परिपक्व थियो । मैले ज्वाइँ मेरो लागि खोज्न भनेकी थिएँ तर उनले छोरीहरूको लागि सम्झेछन् ।
            रामसुरत मण्डलका पहाडका परिवार पनि व्यापार छाडेर तराई झरे । थप जग्गा किने, घर बनाए । रामसुरतले ओगटेको जमिनको अधिकांश भाग मलाई नै दिए । छोरीहरू ठूला भएपछि नामसारी गर्दिउँला, समेत भने । खेतीपातीमै गुजारा चल्दैथ्यो । गाउँघरका आइमाईहरू काकालाई छोरो बनाउँछे यो मोहिनी, बरु अर्को विहे गरेर छोरो जन्माउनु नि भन्न  थाले । गाइगुइँ कुरा चल्दाचल्दै धेरैले मेरा कानैमा पनि भने । बाइस वर्षमै लोग्ने परलोक भयो । बाँकी जीवन कसरी विताउने होला भन्ने पिरलो मलाई पनि लागेको थियो । छोरीहरू विहे गरेर आआफ्ना घर जान्छन् । मैले भने फक्रदो वैँसलाई ओइलाउँदै काल पर्खेर एक्लै झोक्राएर जीवन विताउनुपर्ने भो भन्ने सोच्न थालेँ । मनको वह पोख्ने एउटै पात्र थिए काका । उनीसँग मनको वह पोखेँ । विचरा काका के जवाफ दिन्थे र ! उनले भने, “मोहिनी, वियाह करैके वात नहि सोच । आब वियाह करैसँ निक पागल भेनाइ अच्छा अछि ।” (मोहिनी, विहे गर्ने कुरा नसोच् । अब विहे गर्नुभन्दा बहुलाउनु निको हुन्छ ।) हो, साँच्चै उनको कुरा सही हो भन्ने लाग्यो केही दिन ।
            एक दिन धान कुटाउन राइस मिल पुगें । अन्तिममा मेरो पालो पर्यो । सबै मान्छे हिँडिसकेका थिए । गोइत ड्राइभर र म मात्र थियौँ । एकान्त पारेर उसले मलाई आज राती तिम्रो घरमा आउँछु है भन्यो । म छक्क परेँ । उसले नाना भाँतिका लोभ देखायो । मैले स्वीकृति दिन सकिनँ । मन भारी भयो । घर फर्किएँ । छोरीहरू टुलुटुुलु मेरै बाटो हेरिरहेका रहेछन् । म ढिलो आएकाले काकाले किन ढिलो गरिस् भनेर प्रश्न तेर्साए । मैले मिलमा भीड भएकाले ढिलो भयो भनेर टारेँ ।
            खाना खाइवरी काका र छोरीहरू निदाइसकेका थिए । करिब रातको १० वजेको थियो । ढोका कसैले ढक्ढकायो । खोल्दा त उही ड्राइभर पो देखियो । म के गरूँ न कसो गरूँ भएँ । ऊ भित्र पस्यो । म ढोकै नजिक उभिइरहेँ । उसले ढोका लगायो । उसको एउटा हातमा रक्सीको बोतल थियो भने अर्को हातमा कुखुराको काँचो मासु थियो । ऊ पिरा तानेर बस्यो र मलाई पनि बस्न आग्रह गर्यो । मैले अस्विकार गरेँ । त्यहाँबाट निस्किहाल्न अनुरोध पनि गरेँ तर ऊ मानेन । ऊ मेरो रूप रङ्ग र जवानीमा लठ्ठ परिसकेको रहेछ । विन्ती गर्न थाल्यो । मैले गाउँलेहरूलाई हारगुहार गर्छु भनेर धम्क्याएँ । उसले पटक्कै मानेन ।
            बेचिनी ! त्यसबेला उसले भनेका कुरा अहिले पनि झल्झली सम्झन्छु । उसले भनेको थियो, “हेर मोहिनी ! तिम्रो मनको अबको राजकुमार मै हुँ । मसँग ती दुईटी श्रीमती भएको देखेर तिमी आत्तिएकी हौली तर डर नमान । त्यो जेठी मभन्दा तीस वर्ष जेठी हो । सम्पत्तिको लोभले ल्याएको थिएँ । अहिले मसँग जे जति सम्पत्ति छ, त्यो त्यसकै कारण हो । त्यो अब चाडै मर्छे, टी.बी. रोगले ग्रसित छे । त्यसले तिमीलाई कुनै डिस्टर्व गर्दिन । अर्की त्यो चण्डाल खालकी छे । त्यसबाट मैले छोराछोरी पनि जम्माएको छैन । त्यसलाई ल्याएको वर्ष सातेक भयो । मनोरञ्जनका निम्ति ल्याएको हुँ । त्यो चुपचाप आफ्नो लगनी गरेर बसी भने बसोस् । त्यसका लागि भिन्नै घर छँदै छ । हैन, हामीलाई डिस्टर्व गर्न थालिछ भने पिटपाटे कम्पनी लगाउन थाल्छु । एउटालाई टिपेर त्यो हिँडिहाल्छे । अनि हुन्न त हाम्रो चैन ।उसको लामो गन्थन पछि म यही निर्णयमा पुगेँ कि जेठी मरिहाल्छे, कान्छी पोइल हिँडिहाल्छे, ड्राइभरकी श्रीमती म मात्र हुन्छु ।
            यस्तै सोचेर त्यो रात मासु पकाएँ । उसले रक्सीसँगै मासु खायो । मलाई पनि खान आग्रह गर्यो । मैले सुरुमा मानिनँ तर विभिन्न हाउभाउका साथ उसले मलाई खुवाइछाड्यो । गफ गर्र्दै खाइयो । काका र छोरीहरू व्युउँझेलान् कि भन्ने त्रास भइरहन्थ्यो । म नखाने मान्छेलाई थोरैले पनि नशा चढिहालेछ । बोल्दा मेरो आवाज ठूलो भइहाल्दो रहेछ । ड्राइभर नै कन्ट्रोल गर्दो रहेछ । त्यस रात खाँदा खाँदै कति खाइयो र कतिखेर सुतियो पत्तै भएन । विहान झलमल्ल घाम लाग्दा पो व्युउँझिएँ । मेरा कपडाहरू ल्याङ्फ्याङ् थिए । मेरो सारा अस्मिताको बलिदान भइसकेको थियो । मेरो चेतन मनले भने गोइत ड्राइभरलाई लुट्न दिएको थिएन । अचेतन मनले भने सर्वस्व दिएछ । ड्राइभरले लुट्नसम्म लुटेर टाप कसेछ ।
            धन्न, काका र छोरीहरूले मेरो त्यो अर्धनङ्न अवस्था देखेनन् । विहान मैले नउठाई नउठ्ने उनीहरूको बानी थियो । त्यसैले म जोगिएँ । यो क्रम निरन्तर चलिरह्यो । म नशामा लठिन्थेँ । ऊ के के गथ्र्यो, मेरो अवचेतन मनलाई सब स्वीकार थियो । पछिल्ला दिनहरूमा मलाई त्यति विघ्न नशाले गाँज्दैनथ्यो । चेतन मनले नै यौनभोक तृप्त गरेको महसुस गर्न थालेँ । पछि गर्भ बोकेको थाहा पाएँ । उसले नै विहे गरौँ भन्यो । मलाई निर्णय लिन गाह्रो भयो । छोरीहरूको मुहार हेर्थें, ती अबोध बालिकाहरूलाई कसरी एक्लै छाडेर पोइल जानू ? म विलखबन्दमा परँें । मानसिक द्वन्द्वमा केही समय फसिरहेंँ । काकाले पागल भेनाई निक’ (बहुलाउनु निको) भनेको कुरो सम्झिएँ । अर्थोक गर्ने सामथ्र्य थिएन । म बहुलाएँ भने रामसुरत मण्डलका बाउआमाले छोरीहरू जिम्मा लिन्छन्, घरबारी जिम्मा लिन्छन् र म फुर्सिदिली हुन्छु भन्ने ठहरमा पुगेंँ ।
            ड्राइभरसँग सल्लाह गरेँ । ड्राइभरले गुड आइडियाभन्दै स्वीकृति दियो । अब भने मेरो कठिन परीक्षाको घडी आयो । कसरी बहुलाएको अभिनय गर्ने भन्ने सोचमा म हरदम डुब्न थालेँ ।
            एकदिन योजना मुताविक विहानै झिसमिसेमा उठेँ । शारीरिक रूपमा बहुलाहीको रूप धारण गरेंँ । घरको चारै दिशामा आगो बालेँ । भैँसी र गाई खोलेर कलकलाउँदो गहुँबारीमा हुलिदिएँ । आफू भने टिन ठटाउँदै नाच्न थालेँ । हरेक किसिमका कुराहरू बकेको र टिन ठटाएको आवाजले मान्छेहरू आए । म बौलाएको ठम्याए । सचेत पार्न खोजेंँ । मैले अझ उग्ररूप लिएँ । धामीहरू बोलाइए । कसैले केही ठम्याउन सकेनन् । संयोगले मेरो ड्राइभर पनि नामी धामी थियो । उसलाई डाकियो । सुरुमा आफू आउन नसक्ने वहाना गर्यो । पछि मेरा बाबुआमा र सासूससुराको विनम्र आग्रहलाई स्वीकार्दै ड्राइभर आयो । धामी बस्यो । जोखाना हेर्यो र भन्न थाल्यो, “ई बच्चियाके अल्पायुमे स्वर्गवास भेलाहा श्रीमान् एकर दोसर वियाह होय से चाहत अछि । ई बच्चियाके जल्दी वियाह करादेलासँ मात्र एकर उद्दार होयत, दुःखधन्दा हेैट जायत अछि । नैत देरी भेलै त पूरै जीवन अहिना भ क गुजारा चलाव पड सकैत अछि ।”(यस बालिकेको अल्पायुमा स्वर्गवास भएको श्रीमान्ले अर्को विहे गरोस् भन्ने चाहेको छ । यस बालिकेलाई चाँडै विहे गर्दिए मात्र यसको उद्दार हुन्छ, सेसन्तरहरू हटेर जान्छन् नत्र ढिलो भएमा पूरै जीवन यस्तै भएर गुजारा चलाउनु पर्नेछ ।) यस कुराले सबैलाई चकित तुल्यायो ।
            अब मेरो विहेको ढोका खुल्यो । मेरा बुवाआमा र सासूससुराले सरसल्लाह गरे । उनीहरू बाध्य भएर विहे गराइदिने निर्णयमा पुगे । चारैतिर केटा खोजियो । एक त विधुवी अर्कातिर बहुलाही पनि । कोही पनि मसँग विहे गर्न राजी भएनन् । महिना दिनसम्म नभेटेपछि दुवै थरी विलखबन्दमा परे । कुनै विकल्पको बाटो छ कि भनेर पुनः ड्राइभरलाई जोखाना हेराइयो । उसले ढिलो विहे गर्न ढिलो भइसकेको कुरा बताउँदै अगाडि थप्यो, “जेतक बेसी सौतिन होएत, ओतेक वेसी लाभ ई बचियाके भेटत ।” (जति धेरै सौता हुन्छन्, त्यतिकै लाभ यस बालिकेलाई मिल्दछ ।) धामीको कुराले अझ संकट थपियो । त्यस एरियाभरि दुई जोईको पोइ ड्राइभर मात्र थियो । धामी बसिसकेपछि गाउँलेहरूको सभा बस्यो । त्यस सभामा ड्राइभर पनि ससम्मान डाकियो । सभामा कुरा सुरु हुनु पूर्व नै एकजना गाउँलेले मुख खोले, “धेरै सौता हुन सक्ने घर त धामी बाजेको मात्र छ । अब मोहिनीको उद्दार गर्ने काम धामीबाट मात्र हुन्छ । त्यसैले घुमिफिरी धामीकै पोल्टामा गोल छिरिरहेको छ ।यस कुरामा सबैले सहमति जनाए । यसरी भयो धामी अर्थात् ड्राइभर कुलानन्द गोइतसँग मेरो विहे ।
            ड्राइभरले खुशीका साथ मलाई भित्र्यायो । म पनि खुशी नै थिएँ । छोरीहरूको सम्झना आउनासाथ खपिनसक्नुको छटपटी हुन्थ्यो । ड्राइभर सम्झाउँथ्यो । विस्तारै विस्तारै मैले पागलपनको अभिनय कम गर्दै गएँ र दुई महिनापछि सद्दे भएँ । त्यतिञ्जेलसम्ममा मेरो पेट पनि बढिसकेको थियो । छोरो जन्मियो । दुःखले जीवन चल्दै गयो । ड्राइभरसँग जग्गा थिएन । दुईटी स्वास्नी बसिबसी खान्थे । म पनि थपिएपछि अरू सङ्कट थोपरियो । ड्राइभरले एउटा झुप्रो बनाएर मलाई र माइलीलाई अलगै राख्यो । ऊ आफू भने जेठीसँग बस्थ्यो । जेठी कुप्री परेकी थिई । ऊ यौन भोक मेट्न प्रायः मकहाँ आउँथ्यो । कहिलेकाहीँ माइलीकहाँ पनि धाउँदो रहेछ । मेरा प्रत्येक वर्ष जसो गरेर लगातार तीन जना छोरा भए । पछि ल्याप्रोस्कोपी गराएँ । मसँग रस छउन्जेल ड्राइभरले चुस्यो । मन लागी चुस्न पाउँदा आफूले कमाएको केही रकम दिन्थ्यो । पछि त दिनै छाड्यो । बनिबुतो गरेर छोराहरू हुर्काउन थालेँ । सहयोग माग्दा ड्राइभर मङनीपर चडनी तैपर दतखिस्टी’ (आफू त महादेव उतानो टांग कसले देला वर) भनेर मलाई निरास बनाउन थाल्यो । उसको यस्तो चालामालाप्रति रुष्टता देखाउँदा उल्टै रहस्य खोलिदिन्छु भनेर मलाई त्रास देखाइरह्यो । साँच्चै, म बहुलाही भएको कुरा अभिनय मात्र थियो भन्ने अरूले थाहा पाए भने माइती पक्षले समेत मलाई घृणित नजरले हेर्नेछन् भन्ने त्रासले मेरो मनमा डेरा जमायो ।
       म बनिबुतो गरेर जेनतेनले जीवन चलाउँदै थिएँ । उल्टै भण्डाफोर गर्दिने कुरा गर्दै ड्राइभर मसँग पैसा चुड्न थाल्यो । केही दिनसम्म त आफूले खाइनखाई जम्मा गरेको पैसा दिएँ । पछि दिन सकिनँ । उसको र मेरो झडपको अवस्था सिर्जना भयो । दुःखबाट आएकी नारीलाई अझ घनघोर दुःखमै जाक्नुपर्छ भन्ने मानसिकता उसमा जन्मिएको ठहरमा पुगेँ ।
            आजित भएपछि मैले पनि रिसकै झोँकमा ड्राइभरलाई लोप्पा खुवाउँदै साफ साफ भनिदिए– “अहिले छोराहरू हुर्काउन मद्दत गरेनौ, बुवाको धर्म पालना गरेनौ । नेपाल सरकारले नयाँ कानुन बनाएको छ । सन्तानको परिचयका लागि आमा नै काफी हुने व्यवस्था छ । तिमीलाई म मेरो लोग्ने नै मान्दिन र बुझ यी छोरा पनि तिम्रा होइनन् । मेरा मात्र हुन् । म अर्थात् मोहिनीका मात्र । अब यी छोराहरूको जीवनमा कुनै घडी पनि तिमीजस्तो बुवाको आवश्यकता पर्दैन । आमा नै काफी छे । बच्चाको लागि आमा पहिलो र प्राथमिक सम्बन्ध हो र बुवा त आमाले चिनाइदिएको गौण विषय मात्र हो । तसर्थ आइन्दा मलाई आफ्नी श्रीमतीको रूपमा नहेर्नू । विगतका सम्पूर्ण उठबस बिर्सिदिनू । यसैमा तिम्रो कल्याण छ ।मेरा कुरा सुनेपछि उसको मुखमा भोटे ताल्चा लाग्यो ।
            त्यसपछि जीवन चलाउन मैले किराना पसल थापेँ । त्यसबाट उत्तिसाह्रो प्रगति गर्न सकिनँ । विहान बेलुकाको छाक टार्न पनि धौधौ भयो । छोराहरूको उचित स्याहारसुसारको कुरा त परै रह्यो । भोकै मर्नुभन्दा केही गर्नु वेस भन्ठानेर रक्सी बनाउने र बेच्ने काम गर्न थालेँ । सुँगुर पनि पाल्न थालेँ । राम्रो आम्दानी हुन थाल्यो । मुखियाकी छोरी भएर रक्सी बनाउँछे, सुँगुर पाल्छे भनेर अरूहरू नाक खुम्च्याउन थाले । भोकभोकै मर्नुभन्दा सकेको गरेर बाँच्नु नै जाति भनेर जवाफ फर्काउन थालेँ । अहिलेसम्म मेरो गुजारा त्यसैबाट चलिरहेको छ ।
       म चारैतिरबाट गलहत्तिएँ । खुट्टा नकमाई कर्मपथमा जुट्न भने छाडिन । छोराहरूको अनुहार हेरेर संसारसँग युद्ध गर्ने साहस आयो । उनीहरूको भोलिको लागि आज म लडिनँ भने क्षमायोग्य रहन्न भन्ने लाग्यो । अहिले मसँग आफ्नै घर छ सुन्दर खालको  । समाजले पनि मलाई मान्छेको रूपमा हेरेन । एक विवस नारीको दर्द बुझिदिने कोही भएन । त्यसैले मैले पनि सबैलाई त्यागिदिएँ । छोराहरूको नाम क्रमसः औतारी मनुवा, प्रकाण्ड मनुवा र प्रसाद मनुवा राखेँ र आफूचाहिँ मोहिनी मनुवा भएँ । उनीहरू मध्ये जेठो र माहिलो लेखपढ सिध्याएर आआफ्नो जीविकोपार्जनमा लागेका छन् । कान्छो भने क्याम्पस पढ्दै छ । घरपरिवार चलाउन कामदारहरू छन् । उनीहरूले नै सबै काम गर्छन् । मेरो काम मात्र रेखदेख गर्नु  भएको छ । मकहाँ छोरीहरू र नातिनातिनीहरू पनि भेटघाट गर्न बेलाबेलामा आइरहन्छन् । अहिले मसँग सबथोक छ । म परितुष्ट नारी भएकी छु ।
            प्यारी बेचिनी, धेरै लामो समयपछि मात्र नरनाथ काकाले ड्राइभरसँग मैले हिमचिम बढाएको कुरा बुझेका थिए । उनले त्यतिबेला त्यो रहस्य खोलिदिएका भए म साँच्चैकी पागल्नी बन्थेँ । मैले उनलाई यो कुरा कसैलाई नभन्नू नि भनेर मीठामीठा खानेकुरा खुवाउने गरेकी थिएँ । जहाँ गुलियो त्यहीँ बच्चा भुलियो भनेझैँ उनी भुलिए । अहिले भने मोहिनीले जात फाली भन्छन् रे । न म उनलाई भेट्छु न उनी नै मलाई भेट्छन् । मेरो अनुहार नै नहेर्ने कसम खाएको कुरा सुन्छु । मलाई भने मेरा प्यारा काकाको मुहार नहेरी भएको छैन । एक समयमा मेरा छोरा भएका तिनलाई भेट्न सकेँ म भन्ने थिएँ– “काका ! मैले तिमीलाई पनि जितेँ । भविष्यवाणी गर्ने मेरा ज्योतिषी बाबुलाई पनि जितेँ । हुँदाहुँदै मैले ड्राइभरलाई पनि जितेँ । मेरो अन्तर्हृदयको इच्छा भने नारीलाई तुच्छ सम्झने साराका सारालाई जित्नेछ ।
          प्यारी संगिनी बेचिनी, मेरो जीवनको एउटा लामो पाटो सुनाएँ । मेरो साँचो जीवन तेरा अगाडि ओछ्याएँ । म समाजको आँखामा गलत हुँदै, अहिले भने सत्यतिर लम्केँ । तँ पनि आफ्नो जीवनको रहस्य आफ्नो पत्रमा खोल्नेछेस् भन्ने अपेक्षा प्रकट गर्दै पत्रान्त गरेँ । धन्यवाद ।
                                         ०६७।११।१२

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

कविता

विशेष समय विशेष लघुकथा कार्यक्रमका लागि मिति २०८०.०५.१६ गते शनिबार-कामना आचार्य/गजल आचार्य/नन्दलाल आचार्य