कथासमीक्षा क्रम
समीक्षा क्रम
१. ‘कमरेड पाताल’ कथाको वस्तुवादी विश्लेषण
२. समीक्षा ः कथाकार पुन्य कार्कीको ‘मध्यरातमा’ गुञ्जेका आवाजहरु
३. कथाकार धीरकुमारको ‘सहर’ कथाको वस्तुवादी विश्लेषण
http://www.majheri.com/taxonomy_vtn/term/1470http://www.majheri.com/taxonomy_vtn/term/1470info@majheri.com
‘कमरेड
पाताल’ कथाको वस्तुवादी विश्लेषण
–नन्दलाल आचार्य
१. कथाकार परिचय
वेदना, ज्योति, प्रलेस, विजय शब्दविम्बजस्ता साहित्यिक पत्रपत्रिका निरन्तररूपमा
सम्पादन कार्य गर्दै प्रगतिशील लेखक संघ, लोकतान्त्रिक
स्रष्टाहरूको संयुक्त मञ्च, नेपाल साहित्यिक
पत्रकार संघजस्ता विविध संस्थाहरूमा समेत संलग्न रहेर सांस्कृतिक आन्दोलनमा अग्रणी
भई जीवनरथ हाँकिरहेका ठानागाउँ–४, थामखर्क, उदयपुरका
साहित्यकार मातृका पोखरेल नेपाली साहित्य धरोहर निर्माणका नयाँ योद्धा होइनन् ।
उनको कथन छ– ‘समाजमा नङ्याउनु पर्ने मानिसहरू अझैसम्म
पनि नाङ्गिन सकेका छैनन् । शोषण, अत्याचार र
भ्रष्टाचारको भ¥याङ्गमाथि चढेर बनेको ‘इज्जत र प्रतिष्ठा’ लाई समाजले
अझैसम्म पनि आवश्यक घृणा गर्न सकेको छैन । अर्थात्, हामीले समाजलाई
त्यो स्तरसम्म चेतना सम्पन्न बनाउन सकेका छैनौं । समाज रूपान्तरणका निम्ति भिन्न
भिन्न क्षेत्रबाट क्रियाशील हामी सबैका लागि यो ठूलो चुनौतिको विषय हो ।’
सत्य, न्याय र
परिवर्तनको पक्षमा बहस गर्न कथा अत्यन्त प्रभावकारी विधा हो भन्ने कुरामा विश्वस्त
भई कथा लेखनमा सक्रिय कथाकार पोखरेलको २०६१ सालमा प्रकाशित “सन्त्रस्त आँखाहरू” पछिको दोस्रो कथा
सङ्ग्रहका रूपमा “घाम झुल्किनुअघि (०६७)” साझा प्रकाशनबाट प्रकाशन भएको छ । हुन त उनी कविता लेखनमा
लागेको एक दशकपछि मात्रै कथा लेखनमा हात हाल्न पुगेका हुन् । सचेत ढङ्गले सुरू
गरिएका जुनसुकै क्रान्ति, आन्दोलन र
लेखनहरूको मूल अभिष्ट भनेको समाजलाई रूपान्तरण गर्नु हो भन्दै केही कमीकमजोरीहरू
रहे पनि विगतको बाह्र वर्षको जनयुद्ध नेपाली समाजको रूपान्तरणका लागि एउटा
कोसेढुङ्गो थियो भनेर स्वीकारोक्ति दिने पोखरेल जनयुद्धको यस प्राप्तिलाई कमजोर
बनाउन अनावश्यक बहस गर्न खोज्नेहरू आफैंप्रति पनि इमान्दार छैनन् भन्ने ठहरमा
पुगेका देखिन्छन् ।
कथा लेखनको पाटो बारे केलाउँदा उनी भन्छन्– ‘कथामा काल्पनिक जीवनको रोमाञ्चपूर्ण विवरणमा मलाई कतै पनि
रूचि छैन । मैले लेखेका कथाहरूले मानिसहरूलाई एउटा उद्देश्यतर्फ प्रेरित गर्न
सकून् भन्ने मेरो चाहना हो । म कथा लेख्न बस्दा यो पाटोतर्फ विशेष ध्यान पु¥याउने प्रयत्न गर्छु । प्रत्येक लेखन पाठक र समाजप्रति
समर्पित हुन सक्नुपर्छ भन्ने मेरो मान्यता हो । त्यसतर्फ म विशेष सचेत छु ।’ वास्तवमा उनका कथामा रोमाञ्चकताको बखान पाइन्न सामाजिक
यथार्थताको खरो बखान पाइन्छ । कमरेड पाताल, धुवा, घाम झुल्किनुअघि, मौन संकेत, अँध्यारो गाउँ, निधो, मुक्ति, खाली ठाउँ, घोडाको गन्ध, बाध्यता, सपनाहरूको खोजी, देवीदत्तको चिन्ता, कालो चश्मा, भत्किएको घरनेर र
खाडल गरी १५ बटा कथाहरूको सङ्गालो “घाम झुल्किनुअघि” कथा सङ्ग्रहमा छन् । यस सानो लेखमा उनै आख्यानकार
पोखरेलद्वारा लिखित ‘घाम झुल्किनुअघि’ (कथासङ्ग्रह)मा समाविष्ट ‘कमरेड पाताल’ कथाको वस्तुवादी विश्लेषण गर्ने उद्देश्य राखिएको छ ।
२. शीर्षक, संरचना र विभाजन ः
विवेच्य कथा ‘कमरेड पाताल’ नवयुवा, वर्ष ११, पूर्णाङ्क ११३, २०६३ फागुनमा
सर्वप्रथम सार्वजनिक भई ‘घाम झुल्किनुअघि’ (कथासंग्रह)मा समाविष्ट १५ कथामध्ये पहिलो कथा हो । ‘कमरेड पाताल’ को अर्थ
कम्युनिष्ट क्रान्तिकारी नेता भन्ने बुझिन्छ । यहाँ, मानवीय
संवेदनाशून्य नेता जसमा बोली क्रान्तिकारी भए पनि वास्तविक व्यवहार प्रतिगामी
रहेको नेताको नाम पाताल राखिएको छ । आफ्नो स्वार्थ र सौखमा लिप्त हुने नेताहरूको
अराजक नेतृत्व शैलीले नेपालको कम्युनिष्ट आन्दोलन धरासायी हुँदै गएकोमा चिन्ता
व्यक्त गरिएको छ । नेतृत्व वर्गले कार्यकर्ता र जनताका दुःख र मार्का बुझ्न नसकेका
घटनाको इतिवृत्ति यस कथामा पाइन्छ । कथामा आएको प्रसङ्गअनुसार कमरेड पाताललाई
पूर्व सूचना नदिइकनै म पात्र थानकोटस्थित उनको घरमा पुग्नु, कमरेड शान्ता आधुनिक श्रृङ्गारमा सजिएर पाहुनाको स्वागतमा
व्यस्त भएको पाइनु, पाताल र शान्ता
दुबैले म पात्रको अकस्मात् आगमनलाई ननिको ठान्नु, नेपाल बन्दको
कार्यक्रममा कमरेड विशाखा, जसबहादुर, हिमाल, सौरभहरू भोकभोकै
पर्नु तर लिडर कमरेड पातालचाहिँ रेष्टुरेण्टमा पिजा र कोकाकोला खाँदै गरेको पाइनु, कार्यकर्ताहरूचाहिँ आफ्नै पकेटको पैसाले पाउरोटी किनी
क्षुधा मेट्न विवस हुनु, तिनै पातालजस्ता
नेताका मुखबाट कम्युनिष्ट पार्टीभित्र सांस्कृतिक परिवर्तन हुन नसकेको खोक्रो भाषण
गुञ्जनु, दरिद्र मानसिकताका नेतानेतृविरुद्ध कार्यकर्तामा आक्रोश रहे
पनि त्यो मनभित्र मात्र सीमित रहनु सार्वजनिक गर्न कसैमा हिम्मत नआउनु, इमान्दार कार्यकर्ता ओझलमा पनु र बेइमान तथा नेतृत्वका
पुच्छरहरूकै हालिमुहाली बढ्दै जानु जस्ता विविध पाटाहरूलाई ‘कमरेड पाताल’ कथाले समेटेको छ ।
विशेष गरी मुखले सबै सिद्धान्त ओकल्ने र क्रान्तिकारिता देखाउने तर कामले वैयक्तिक
स्वार्थमा लिप्त हुने कमरेड पातालको चारित्रिक पक्षलाई उदाङ्गो पारिएकोले र उनकै
इतिवुतिमा कथाको कथानक घुमेको हुनाले लाक्षणिक अर्थमा कथाको शीर्षक ‘कमरेड पाताल’ राखिनु
औचित्यपूर्ण, अर्थयुक्त र सामञ्जस्यमूलक ठहर्दछ ।
अर्कातिर पाताल अवनतिको प्रतीकका रूपमा आएको छ । कमरेड पातालजस्ता जनघाती
व्यक्तिले कम्युनिष्ट पार्टीको नेतृत्व समालिरहने हो र इमान्दार कार्यकर्ता र
निमुखा जनता पाखा परिरहने हो भने कम्युनिष्ट पार्टी नै पाताल पुग्न सक्ने कुरामा
खबरदारी गरेर समेत कथाको शीर्षकलाई सार्थक तुल्याउने प्रयास गरिएको छ ।
लामाछोटा गरेर ‘कमरेड पाताल’ कथामा ५९ अनुच्छेद
छन् भने हरफको सङ्ख्या पनि धेरै छ तर कथानक झिनो छ । कथाले ठूलो वाह्य संरचना
ग्रहण गरेको छैन । चार प्रकारले विभाजनको स्पष्ट रूपरेखा तय गरिएको भए पनि घटना र
प्रसङ्ग परिवर्तनले यसको एकिन गर्न हम्मेहम्मे पर्छ । कथाकारको विभाजनअनुसार
निम्नअनुसारको कथाको अवस्था देखिन्छ ।
पहिलो
परिच्छेद नेतृत्व वर्गको अदुरदर्शी नीतिका कारणले कम्युनिष्ट आन्दोलनको भविष्यको
बाटो झन्–झन् कमजोर र जीर्ण बन्दै गएको बोध गर्दै ‘म’ पात्र आफ्ना नेता
कमरेड पाताल र शान्ता निवास थानकोट पुगेको र त्यहाँको अराजक चर्तिकलाबाट वाक्क भएर
फर्केको कुरा वर्णित छ । दोस्रो परिच्छेद सरकारद्वारा पेट्रोलियम पदार्थको
मूल्यवृद्धिको विरुद्धमा आयोजित ‘नेपालबन्द’को कार्यक्रम सफल पार्न मशाल जुलूसको तयारीका लागि मशाल
बनाउन इन्द्रचोकको एउटा पुरानो घरमा जम्मा भएका कार्यकर्ता सामु पार्टीको कामको
व्यस्तताले ढिलो भएको जनाउ दिँदै उपस्थित कमरेड पातालको कार्यशैलीको झलक दिने
कुरामा केन्द्रित छ । त्यस वेला उनले ‘नेपालको
कम्युनिष्ट आन्दोलनमा सांस्कृतिक रुपान्तरण नै भएन ! अघिल्लो पुस्ताका नेताहरुको
व्यवहार र कुरामा कतै सामान्यजस्यता र तालमेल मिलेन ।’ भन्ने रटान दोहो¥याएका थिए । तेस्रो परिच्छेदमा नेपाल बन्दको कार्यक्रम सफल
पार्न बिहानैदेखि जुटेका कार्यकर्तालाई खानपिनको व्यवस्था नमिलाई आफूसँग पैसा
नभएको र आफैं पनि भोकै रहेको कुरा बताइरहेका कमरेड पातालको चरित्रलाई उदाङ्गो
पार्ने प्रयास गरिएको छ । भोका कार्यकर्तालाई ‘क्रान्तिका लागि
भोक सामान्य कुरा हो ! तपाईंले सर्वहारा संस्कृतिलाई आत्मसात गर्ने प्रयत्न
गरिरहनु भएको छैन । भोको बस्न सकिँदैन भने क्रान्तिका लागि केही पनि गर्न सकिँदैन
।’ जस्ता आदर्श वाक्य फलाकेका पाताल एकै छिन है भनेर बाहिरिएर
कोकाकोला र पिजा हसुर्दै गरेको रहस्य ‘म’ पात्र र जसबहादुरले फेला पारेका छन् । त्यस वेला ‘नेपालको कम्युनिष्ट आन्दोलनले मानिसहरुको सांस्कृतिक
पक्षलाई मूल्याङ्कनको विषय बनाएन । केवल सक्रियता र वाक्टुताको भरमा मानिसहरु
नेतृत्व तहमा पुग्नथाले ।’ भनेर कमरेड सौरभले
गरेको विश्लेषण निकै मार्मिक देखिन्छ । यिनै कुरामा तेस्रो परिच्छेद केन्द्रित छ ।
चौथो परिच्छेदमा भने तिनै पातालजस्ता नेताहरूकै हालिमुहाली रहँदै आएको र तिनकै
अराजक शैलीको छहारीमा बस्नु परेकोमा जीवनकै पीडादायी क्षण भएको ‘म’पात्रको
स्पष्टोक्तिसँगै कथा नै टुङ्ग्याइएको छ ।
३. कथानक
कथामा आएका घटनाहरूको नालिबेली वा रूपरेखा नै कथानक हो ।
कच्चा पदार्थ मानिने कथावस्तुलाई कथाकारले कथानकको कलात्मक साँचोमा ढालेर पूर्णता
दिने काम गर्दछ । ‘कमरेड पाताल’ कथामा नेतृत्व तहका नेताहरूको स्वार्थी मनोवृत्तिलाई
सूक्ष्मरूपमा देखाइएको छ । बाह्यरूपमा सभ्य देखिने नेतामा पाइने आन्तरिक असभ्यताको
चिनारी दिइएको छ । ‘सादा जीवन उच्च
विचार’ लिने मात्र
कम्युनिष्ट नेता–कार्यकर्ता हुनुसक्ने गफ चुट्ने तर
व्यवहारमा भने आधुनिक नारी बनी घरमै पार्टी दिने कमरेड पाताल पत्नी कमरेड शान्ताको
चरित्रलाई देखाउने काम गरिएको छ । आफ्ना लागि पिजा र पेयपदार्थमा भुल्न पैसा हुने
तर विहानदेखि खटेका कार्यकर्ताको क्षुधा मेट्न एक पैसा नहुने लिडर कमरेड पातालको
पतनोन्मुख चरित्रको झलक दिने काममा समेत कथावस्तु केन्द्रित छ । त्यस्तै नेतृत्व
वर्गको कर्तुत बुझेर पनि मुख खोल्न नसक्ने कायर कम्युनिष्ट कार्यकर्ताको मानसिकतालाई
समेत देखाउने काम कथाले गरेको छ । अर्कातिर बेइमान नेताहरूको हालिमुहाली र
सोझासीधा र इमान्दार कार्यकर्ताहरूको निसाशाको क्षण कम्युनिष्ट पार्टीमा देखिँदै
गएकोमा चिन्ता व्यक्त गरिएको छ ।
कमरेड
पातालजस्ता सुविधाभोगी नेताहरूको नेतृत्वका कारणले नेपालको कम्युनिष्ट आन्दोलनको
भविष्यको बाटो झन्–झन् कमजोर र जीर्ण
बन्दै गएको पीडाबोध गर्दै ‘म’ पात्र तिनै नेता निवास थानकोट पुगेका छन् । त्यहाँ कमरेड
शान्ताको अराजक चर्तिकला र कमरेड पातालको वेवास्थाभावबाट आजित भएर फर्कन्छन् ।
नेपाल सरकारद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्धमा आयोजित ‘नेपालबन्द’को कार्यक्रमको
बैठमा ‘म’पात्रसमेत समयमा
नै उपस्थित हुन्छन् । पार्टी कामको व्यस्तताको दुहाई दिँदै ढिलो उपस्थित भएका लिडर
कमरेड पातालको कार्यशैलीले उनमा अझ वितृष्णा भाव जागेर आउँछ । नेपालको कम्युनिष्ट
आन्दोलनमा सांस्कृतिक रुपान्तरण गर्न नेता र नेतृत्व नै वाधक भएको निष्कर्षमा ‘म’पात्र पुग्दछन् ।
भोकभोकै नेपाल बन्दको कार्यक्रम सफल पार्न बिहानैदेखि जुटेका कार्यकर्तालाई
खानपिनको व्यवस्था नमिलाई क. पातालचाहिँ रेष्टुरेन्टमा मस्ती लुटेको रहस्य थाहा
पाएपछि ‘म’पात्र अझ आक्रोसित
हुन्छन् । वास्तवमा जनक्रान्तिका लागि भोक सामान्य कुरा हो ! सर्वहारा संस्कृतिलाई
आत्मसात गर्न त्याग र समर्पणको बाटो हिँड्नुपर्छ । तर, एकै छिन है भनेर
बाहिरिएर कोकाकोला र पिजा आफू मात्रै हसुर्नु चाहिँ क. पातालको नैतिकहीन कार्य हो
। नेपालको कम्युनिष्ट आन्दोलनले मानिसहरूको सांस्कृतिक पक्षलाई मूल्याङ्कनको विषय
नबनाई केवल सक्रियता र वाक्टुताको भरमा मानिसहरु नेतृत्व तहमा पुग्नथाल्नु घनतक
भएको पसङ्ग कथामा वर्णित छ । क. पातालजस्ता नेताहरूकै हालिमुहाली रहँदै आएको र
तिनकै अराजक शैलीको छहारीमा बस्नु परेकोमा जीवनकै पीडादायी क्षण भएको ‘म’पात्रको
स्पष्टोक्ति कथाको अन्त्यमा छ ।
समग्रमा भन्दा सामाजिक यथार्थका पाटाहरूलाई शसक्त ढङ्गले
समेटेर कथाकार मातृका पोखरेलले भोगेको वर्तमानलाई टपक्क टिपी कथाको आकार दिएका छन्
। कम्युनिष्ट आन्दोलनभित्रको अवसरवादका बारेमा सैद्धान्तिक छलफल गर्न आवश्यक रहेको
कुरा औल्याएका छन् । समग्रमा कथाकार पोखरेल कथामनिषि गुरूप्रसाद मैनालीको सामाजिक
यथार्थवाद र वरिष्ठ कथाकार ऋषिराज बराल एवं घनश्याम ढकालको क्रान्तिकारितालाई
एकसाथ अनुसरण गर्दै कथायात्रामा निस्किएका छन् । समाजमा देखिएका दुर्बल पक्षलाई हटाउने
चाहना र उद्देश्यका साथ उनको मसी खर्च भएको कुरामा कसैको दुई मत नहोला ।
४. सहभागी र सहभागिता
नेपाली कम्युनिष्ट नेता र तिनको नेतृत्वको सजीव चित्रणमा ‘कमरेड पाताल’ कथा केन्द्रित छ ।
कथामा प्रत्यक्षरूपमा आएका पात्रहरू थोरै छन् । त्यसमा पनि कमरेड पाताल पात्रमा
कथाको कथानक फनफनी घुमेको छ । यो चरित्रप्रधान कथा हो । सामान्य घटना घटेका छन् तर
कर्तुतको पर्दाफास गरी यथार्थलाई चित्रण गर्नमा आधारित रहेको कारणले पात्र कमरेड
पाताल केन्द्रित कथा हुन गएको छ । यस कथामा भएका पात्रहरू निम्न प्रकृतिका छन् ।
– कमरेड पाताल, कमरेड शान्ता, ‘म’पात्र, कमरेड विशाखा, कमरेड जसबहादुर, कमरेड हिमाल, कमरेड सौरभ आदि ।
(क) उभयलिङ्गमा पर्ने पात्रहरू हुन् ः ‘म’ पात्र तर भूमिकाको
आधारमा यो पुरुष पात्र भएको प्रष्ट छ ।
(ख) पुलिङ्गमा पर्ने पात्रहरू हुन् ः
कमरेड पाताल, कमरेड जसबहादुर,
कमरेड हिमाल, कमरेड सौरभ आदि ।
(ग) स्त्रीलिङ्गमा पर्ने पात्रहरू हुन् ः
कमरेड शान्ता, कमरेड विशाखा आदि ।
यसमा पनि ‘म’पात्र, कमरेड विशाखा, कमरेड जसबहादुर, कमरेड सौरभ अनुकूल पात्र र कमरेड पाताल, कमरेड शान्ताहरू प्रतिकूल पात्रका रूपमा देखिएका छन् । अरू
सबै जसो पात्रहरूको कार्यव्यापार आ–आफूमै केन्द्रित छ
। कमरेड हिमाल गौण पात्रकै रूपमा आएका छन् । यद्यपि सक्रिय भूमिकामा कमै मात्र
देखिएका र कथामा सक्रियता दर्शाएका दुबै खाले सहभागीहरूको सहभागितालाई विश्वसनीय, सहज एवं यथार्थपरक ढङ्गले देखाउन खोजिएको छ ।
५. परिवेश
स्थान, समय र वातावरणलाई
समेट्ने काम गर्ने कथाको एक तत्व परिवेशले कथानक र पात्रहरूलाई विश्वसनीय तवरले
प्रस्तुत हुने आधार प्रदान गर्दछ । यस कथाको शीर्षकले नै कथा सहरमुखि परिवेशको हो
भन्ने ठम्याउन सकिन्छ । काठमाडौंको इन्द्रचोक, बहाल, थानकोट चर्चा र छेउछाउको अवस्थाको चित्रणले कथा काठमाडौं
केन्द्रित छ । यो कथाको समयावधि छोटो छ तर ‘म’पात्र पुराना कार्यकर्ता भएकाले पहिलेको राजनैतिक अवस्था
अहिलेको कुरूप अवस्थाभन्दा सुन्दर थियो भन्ने आशय प्रकटले कथाको आशयगत अवधि लम्बिन
जान्छ । क. पाताल र क. शान्ताको बैठक कोठामा खाइलाग्दा मान्छेहरूको एउटा जमात रहनु, कम्युनिष्ट कार्यकर्ता भएर पनि शान्ताको ओठमा लिपिष्टिक र
अनुहारमा लाली, पाउडर देखिनु तर धेरै बैठक एवम्
भेलाहरूमा भने ‘सादा जीवन र उच्च विचार’का धारणाहरू व्यक्त गरिनु, मशाल जुलुसको
चर्चा, नेपालबन्दको कार्यक्रमको बखान, क. पातालले
कोकाकोला र पिजा खाएको प्रसङ्ग आदिले कथा सहरिया वातावरणलाई दर्शाउँछ । त्यसमा पनि
आधुनिक खोक्रो संस्कृतिको ज्वलन्त नमुनाका प्रसङ्गहरू यत्रतत्र सशक्त ढङ्गले आएका
छन् ।
६. उद्देश्य
प्रत्यक्ष वा परोक्ष उद्देश्यमा केन्द्रित रचनाले नै
पाठकलाई गन्तव्य देखाउँछ । विनाउद्देश्यको जीवन त बाँदरको पो हुन्छ, विना उद्देश्यको काम त पशुको पो हुन्छ भनिन्छ । त्यसैले ‘कमरेड पाताल’ कथाले परोक्षरूपमा
राखेका उद्देश्यहरूलाई केलाउनु यहाँ मनासिव ठहर्दछ । निमुखा वर्गको पीडादायी
परिस्थिति, कम्युनिष्ट नेता र नेतृत्वमा गिर्दै गएको
नैतिकता, ह्रासोन्मुख मानवीय सम्वेदना, सोझासीधालाई
सताउने प्रवृत्ति, दण्डहीनताको
ज्वलन्त नमुना, विरोधको नाममा जनतालाई प्रत्यक्ष असर
पुग्ने मात्र नभई राष्ट्रलाई आर्थिक घाटा पुग्नेजस्ता पक्ष प्रस्तुत गरेर कथाले
समाजको नाजुक पक्ष देखाएको छ । तिनै समाजका कमजोरीहरू हटाएर मानवताको जगेर्ना गर्न
र असल नेता र नेतृत्वको विकास हुनुपर्ने चाह प्रकट गर्ने काम समेत कथाले गरेको छ ।
७. दृष्टिविन्दु
कमरेड पातालको कुटिल चरित्र उद्घाटित ‘कमरेड पाताल’ कथाका समाख्याता
कथाकार नै रहेका छन् । उनको भूमिका तटस्थ नभई क. पाताल प्रवृति धरासायी
हुनुपर्नेमा छ । कथाकारले कथा पाठकलाई सुनाउँदै गरेको आधारलाई हेर्दा तृतीयपुरूष
दृष्टिविन्दु हुन्छ । ‘म’पात्र प्रत्यक्षरूपमा कथामा आएका हुनाले
प्रथमदृष्टिविन्दुको प्रयोग भएको कुरालाई नकार्न मिल्दैन । यस कथामा ‘म’ पात्र नै सर्वज्ञ
भएर आएका छन् । कथामा घटनाको प्रस्तुति मार्मिक छ । पात्रहरूको संवादबाट नै चरित्र
र घटनाको विश्लेषण गर्ने काम कथाकारबाट भएको छ । कथाकारको स्पष्ट मत पाठकले
सहजताका साथ पाउन सक्ने र निष्कर्षमा पुग्न सक्ने देखिन्छ । यस कोणबाट हेर्दा
पाठकलाई भ्रमबाट जोगाई आधुनिक सुविधाभोगी सहरी सभ्यताका नेताहरूका विकृत
पाटाहरूलाई आधार बनाई ‘कमरेड पाताल’ कथाले मानवीय मूल्य र मान्यता विरूद्धका कार्यका लागि खेद
समेत प्रकट गरेको प्रतीत हुन्छ ।
७. भाषाशैलीय विन्यास
‘कमरेड पाताल’ कथामा छोटा तर
अर्थयुक्त वाक्यको छनौट गरेर सरल, सहज र स्वभाविक
कथ्य भाषाको प्रयोग गरिएको छ । अझ, सहरी सभ्यताको
सजीव तस्विर प्रस्तुत गर्ने भाषा र शैलीको प्रयोगले कथालाई सुरूचिपूर्ण बनाएको छ ।
अतः सहज, स्पष्ट एवं स्वतःस्फूर्त प्रवाहमय भाषाशैलीय विन्यासको
प्रयोगभएको कारणले ‘कमरेड पाताल’ कथा रोचक, घोचक, श्रवणीय र पठनीय बनेको छ ।
८. उपसंहार
नेपाली कविता र आख्यान विधामा निरन्तर कलम चलाइरहेका एवम्
विद्यालयस्तरका स्मारिका एवं साहित्यिक पत्रिकाहरूको सम्पादन, लेखन र प्रकाशन गर्दै आएका हुनाले स्रष्टा मातृका पोखरेल एक
श्रेष्ठ साहित्यसेवी भएको प्रमाणित हुन्छ । ‘सेतो दरबारको
छेउबाट’ (कविता सङ्ग्रह, २०५७), ‘यात्राको एउटा दृष्य’ (कविता सङ्ग्रह, २०६०), र ‘अनुहार’ (कविता सङ्ग्रह, २०६४) जस्ता तीन ओटा कविता र २ वटा कथा विधाका सङ्ग्रह
निकालेका स्रष्टा पोखरेल बलियो कलम भएका जनपक्षीय साहित्यकार हुन् । ‘सन्त्रस्त आँखाहरू’ कथाकृतिमार्फत् एक कुशल कथाशिल्पीका रूपमा देखिएका पोखरेलको
कथाकारिताको छवी ‘घाम झुल्किनुअघि’मा अझ खारिएको
पाइन्छ । ‘कमरेड पाताल’ कथामा भने विशुद्ध
सहरीया परिवेशलाई कथात्मक संरचना प्रदान गरेका छन् । यसमा मानिसको निर्दयीपन, अभाव, छटपटी एवं
बेचैनीलाई यथार्थपरक ढङ्गले प्रस्तुत गरेर कथाकार पोखरेलले कथा साहित्यमा एउटा इँट
थप्ने काम गरेका छन् । त्यही कार्यको एउटा सानो नमुना ‘कमरेड पाताल’ कथा हो भन्दा अतिशयोक्ति गरेको नठहर्ला ।
–नन्दलाल आचार्य
१. कथाकार परिचय
नेपाली साहित्यमा कथा, निबन्ध र उपन्यास विधामा दर्विलो स्थान बनाइसकेका स्रष्टाको नाम नै धीरकुमार श्रेष्ठ हो । उनले घतलाग्दा कथा लेखेर बालसाहित्यमा योगदान पुर्याएका छन् । नेपाली व्याकरण र नेपाली पाठ्यपुस्तकको निर्माणमा समेत सक्रिय श्रेष्ठले शब्दाङ्कुर, दीपशिखा, ज्योतिपुञ्ज जस्ता साहित्यिक र वार्षिक पत्रिका निरन्तर सम्पादन गर्दै आएका छन् । २०३८ सालमा ‘दिदी’ शीर्षकको कथा छपाएर साहित्यमा हाम फालेका श्रेष्ठले आजसम्ममा आरम्भ अर्थात् सुरुवात (कथासंग्रह ०६३), घुर (उपन्यास ०६४), जेब्रा क्रसिङ (सचित्र बालकथा), तन्द्रामा अमेरिका (हाँस्यव्यङ्ग्य निबन्धसङ्ग्रह ०६५) लेखेका छन् भने कक्षा एकदेखि पाँचसम्मका ‘सरल नेपाली बालव्याकरण र रचना’, नर्सरीदेखि कक्षा पाँचसम्मका ‘मेरो प्यारो नेपाली’ किताबको संयुक्त लेखन र सम्पादन गरेका छन् । ‘एक जुगमा एक दिन, चैत्र २८’ नामक पुस्तकको लेखन एवं सङ्कल पनि गरेका छन् । साहित्ययात्रामा निरन्तर साधनारत् एक साधकको नामले चिनिने व्यक्ति नै धीरकुमार श्रेष्ठ हुन् । साहित्यको श्रीवृद्धिमा आख्यान विधामा उनको हात श्रेष्ठ छ । यस सानो लेखमा उनै आख्यानकार श्रेष्ठद्वारा लिखित ‘आरम्भ अर्थात् सुरुवात’ (कथासंग्रह ०६३)मा समाविष्ट ‘सहर’ कथाको वस्तुवादी विश्लेषण गर्ने उद्देश्य राखिएको छ ।
२. शीर्षक, संरचना र विभाजन ः
विवेच्य कथा ‘सहर’ ‘आरम्भ अर्थात् सुरुवात’ (कथासंग्रह ०६३)मा समाविष्ट १५ कथामध्ये अन्तिममा कथा हो । ‘सहर’ को अर्थ सुविधासम्पन्न, औद्योगीकरणले भेटेको, घना मानववस्ती भएको स्थान भन्ने बुझिन्छ । यहाँ, मानवीय संवेदनाशून्य भएका मान्छेहरूको बसोबास भएको ठाउँ नै सहर हुन गएको छ । आफ्नो स्वार्थमा लिप्त हुने मान्छेहरूले अरूको दुःख र मार्का बुझ्न नसकेका घटनाको इतिवृत्ति यस कथामा पाइन्छ । कथामा आएका आफ्नो शरीरमा नै समान झुण्ड्याएर घुम्दैफिर्दै व्यापार गर्ने व्यापारी, ढकी पसल थाप्ने र नगर प्रहरीको आगमनको सुइको पाउना साथ पसलै बोकेर टाप कस्ने साना व्यापारी, धारामा पानी आउँछ कि भनी जर्किन र गाग्राको लामो लाइन लगाएर बाटो कुरेर बस्ने मानिसहरू, नगर प्रहरीहरूको व्यापारी लखटाइ, पार्कको एकान्त ठाउँमा प्रेमालिङ्गनमा मस्त प्रेमिप्रेमिकाजस्ता पात्र र तिनले घटाएका घटनाहरूलाई नियाल्दा सहरी सभ्यताप्रति नै प्रश्न चिन्ह तेर्सिने गरेको छ । यी सबै, सबै कामकुरा समाजका कुरूप पक्ष हुन् । सोचविचारै नगरी अर्काको पछि लागिहाल्ने मानवीय स्वभाव, तागतदारले निर्धोलाई हरतरहले दवाउने प्रवृत्ति, चोरी, लुटपाटका घटनाहरूजस्ता निम्नस्तरीय कुराहरूले सहरमा नै प्रश्रय पाउने गरेका हुनाले र कथा पनि तिनै कुराहरूको सेरोफेरोमा घुमेको हुनाले लाक्षणिक अर्थमा कथाको शीर्षक ‘सहर’ राखिनु औचित्यपूर्ण, अर्थयुक्त र सामञ्जस्यमूलक ठहर्दछ । सहर सभ्य र सबैखाले मान्छे बस्न र अटाउनलायकको हुनुपर्छ भन्ने चाह प्रकट भएको देखिन्छ ।
लामाछोटा गरेर ‘सहर’ कथामा १३ अनुच्छेद छन् भने जम्मा १५४ हरफमा प्रस्तुत छ । कथा पाँच पृष्ठको वाह्य संरचनामा आबद्ध छ । विभाजनको स्पष्ट रूपरेखा तय नगरिएको भए पनि घटना र प्रसङ्ग परिवर्तनले यसको एकिन गर्दा निम्नअनुसारको अवस्था देखिन्छ ।
पहिलो अनुच्छेद सहरको सूक्ष्म परिचयमा केन्द्रित छ भने दोस्रो अनुच्छेद सहरको सूक्ष्म परिचयका सिलसिलामा नगररक्षक टोलीदेखि बच्न पेटी पसलेहरूको पीडादायी म्याराथुन दौडमा केन्द्रित छ । तेस्रो अनुच्छेदमा थोत्रे हिरोहोण्डा मोटरसाइकलवाला पात्रले ‘आयो, आयो’ शब्द सुन्नासाथ बन्द र हडतालका कारणले हल्ला चलेको भन्ठानी आफ्नो थोत्रे भए पनि हिरोहोण्डा जलाइनबाट बचाउनुपर्छ भनेर ज्यान छाडेर भागेको कुरामा केन्द्रित छ । चौथो अनुच्छेदमा काठमाण्डू सहरले पानीको अभावमा काकाकुल नियति भोगिरहेको र रातको दुई बजे ‘आयो, आयो’को आवाजसँगै पानी लिन धारामा पुग्दा क्षणभरमै पानी आउन बन्द भएको व्यथालाई समेटेको छ । ‘आयो, आयो’को आवाजसँगै साना व्यापारीहरूको भागदौड र पार्कको एकान्तमा प्रेमालिङ्गनमा मस्त प्रेमिप्रेमिकाको विपरीत दिशाको दौडाइलाई पाँचौँ अनुच्छेदले समेट्ने काम गरेको छ । छैटौँ अनुच्छेदले भने ‘आयो, आयो’को आवाजसँगै भागदौड हुँदा सडकका लुतेकुकुर पनि भीडको पछिपछि दौडेको हाँस्यस्पद प्रसङ्ग समेटिएको छ । गर्दन बाङ्गिएको मानिस त्यही बाङ्गो गर्दनको सहाराले हेर्दा आकाशतिर हेरिरहेको हुन्छ । उसको विवस परिस्थितिलाई ध्यानमा नराखीकन एउटा जमात उसकै नजिक उभिएर आकाशतिर हेरिरहेको अर्को हाँस्यास्पद क्षणको चर्चा सातौँ अनुच्छेदमा गरिएको छ । आठौँ अनुच्छेदमा पकेटमारालाई चिनाइदिँदा बदामव्यापारीले मरणासन्न हुने गरी पिटाइ खानुपरेको कुरामा केन्द्रित छ भने नवौँ अनुच्छेदमा बदामव्यापारीलाई म पात्रले चिनेको र उसलाई बाटो हिँड्ने कसैले पनि वास्ता नगरेर सम्वेदनाशून्य काम गरेको कुरामा केन्द्रित छ । दशौँ अनुच्छेदमा चाहिँ सहरका उद्दारकर्मीले मरणासन्न अवस्थाको बदामव्यापारीलाई भ्यानमा कोचेर लगेको देखाइएको छ । स–साना एघारौँ, बाह्रौँ र तेह्रौँ अनुच्छेदले सहरको बदाम व्यापारी पिट्ने केटाहरूमध्ये एकले ‘खाली शिशी पुरानो कागज’वालाको साइकल टिपेर भागेको र साइकलवाला ‘चोर चोर’ भन्दै लखेट्दै गर्दा कथा समाप्त भएको देखाइएको छ ।
३. कथानक
कथामा आएका घटनाहरूको नालिबेली वा रूपरेखा नै कथानक हो । कच्चा पदार्थ मानिने कथावस्तुलाई कथाकारले कथानकको कलात्मक साँचोमा ढालेर पूर्णता दिने काम गर्दछ । ‘सहर’ कथामा सहरको सूक्ष्म गतिविधि देखाइएको छ । सहरी सभ्यतामा पाइने असभ्यताको चिनारी दिइएको छ । नगररक्षकहरूदेखि बच्न साना पेटी पसलेहरूको बेलाबेलामा पीडादायी म्याराथुन दौडमा भाग लिनुपरेको विवशता देखाइएको छ । ‘आयो, आयो’को आवाजसँगै भागदौड हुँदा सडकका लुतेकुकुर पनि भीडको पछिपछि दौडेको हाँस्यस्पद प्रसङ्ग हेरेर हाँसिरहेको यस कथाको बदामव्यापारीको चरित्र चाहिँ गहन छ । ऊ पनि फिरन्ते व्यापारी हो । बदाम बेच्नु नै उसको दिनचर्या हो । ऊ दुःखलाई लुकाएर जिउन खोज्ने पात्र हो । उसले पकेटमारालाई चिनाइदिँदा मरणासन्न हुने गरी पिटाइ खानुपर्यो । उसलाई पिटेको देख्नेले कुनै प्रतिक्रिया देखाएनन् । सास छउँजेल आश रहन्छ भन्ठानेर होला व्यापारी म चोर हैन, यी पकेटमारहरूलाई चिनाइदिँदा रिसले मलाई भकुरिरहेछन्, मलाई बचाउनुस् भन्ने आशयका थुप्रै कुरा भनिरह्यो तर कसैले उसको कुरामा ध्यान दिएनन् । वैयक्तिक स्थार्थको जालोले बेरिएको सहर एक निर्धो मान्छेको उद्दार गर्न विउँझिएन । आफूले चिनेको बदाम व्यापारीलाई बाटो हिँड्ने कसैले पनि वास्ता नगरेर सम्वेदनाशून्य काम गरेको कुराले म’ पात्रलाई चिन्तित तुल्याउँछ तर ऊ पनि यथोचित भूमिका निर्वाह गर्न सक्दैन । केही समय पछि सहरका उद्दारकर्मीले मरणासन्न अवस्थाको बदामव्यापारीलाई भ्यानमा कोचेर लग्छन् । यसरी राम्रो काम गर्न खोज्ने पात्रले पीडाको आहालमा पौडिनुपरेको कुरा कथामा समेटिएको छ । पछि व्यापारी पिट्ने केटाहरूमध्ये केहीले ‘खाली शिशी पुरानो कागजवालाको साइकल टिपेर भागेको र साइकलवाला ‘चोर चोर’ भन्दै लखेट्दै गरेकोे देखाएर पिट्ने केटाहरू बदमास नै भएको पुष्टि गर्ने काम कथाकारले गरेका छन् । मुख्य पात्रसँग गाँसिएको कथा यत्ति नै हो ।
सहायक पात्रले भोगेका र घटाएका कुराहरूलाई अघि बढाउनु यहाँ मनासिव ठहर्दछ । थोत्रे हिरोहोण्डा मोटरसाइकलवाला सहायक पात्रले ‘आयो, आयो’ शब्द सुन्नासाथ ज्यान छाडेर भागेको देखाइएको छ । बन्द र हडतालका कारणले हल्ला चलेको भन्ठानी आफ्नो थोत्रे भए पनि हिरोहोण्डा जलाइनबाट बचाउनुपर्छ भनेर नै मोटरसाइकलवाला भागेको हो । देश बन्द र हडतालका कारणले आक्रान्त भएको देखाइएको छ । अर्को एक घटनामा काठमाण्डू सहरले पानीको अभावमा काकाकुल नियति भोगिरहेको देखाइएको छ । रातको दुई बजे ‘आयो, आयो’को आवाज आयो । पानी लिन धारामा पुग्दा क्षणभरमै पानी आउन बन्द भयो । पानीको अभावले मान्छेले भोग्नुपरेको व्यथालाई समेटेको छ । अर्को घटनामा ‘आयो, आयो’को आवाजसँगै साना व्यापारीहरूको भागदौड सुरु हुन्छ । अर्कातिर पार्कको एकान्तमा प्रेमालिङ्गनमा मस्त प्रेमिप्रेमिकाको लीलालाई पनि कथामा अटाएको छ । मान्छे पार्कमा छिरेकाले उनीहरूको एकान्त भंग हुन्छ । त्यसैले विपरीत दिशाको दौडाइमा उनीहरूले भाग लिनुपरेको छ । यसरी सहरमा केन्द्रित मेट्रो संस्कृतिलाई समेट्ने काम पनि कथाले गरेको छ । अर्को एक घटनामा गर्दन बाङ्गिएको मानिसको क्रियाकलापलाई समेटिएको छ । उसले आफ्नो बाङ्गो गर्दनको सहाराले हेर्दा आकाशतिर हेरिरहेको हुन्छ । उसको विवस परिस्थिति र वाध्यतालार्ई ध्यानमा नराखीकन मानिसहरू उसकै नजिक उभिएर ऊजस्तै आकाशतिर हेरिरहेका हुन्छन् । यसरी समाजको तीतो यथार्थलाई हाँस्यास्पद तवरले चर्चा गरेर कथाकारले हँसाउन पुगेका छन् । समग्रमा भन्दा सामाजिक यथार्थका पाटाहरूलाई शसक्त ढङ्गले समेटेर कथाकार धीरकुमार श्रेष्ठ पनि कथामनिषि गुरुप्रसाद मैनालीको आदर्शोन्मुख सामाजिक यथार्थवादको धारमा उभिन पुगेका छन् । समाजमा देखिएका दुर्बल पक्षलाई हटाउने चाहना र उद्देश्यका साथ कथाकार श्रेष्ठको मसी खर्च भएको कुरामा कसैको दुई मत रहँदैन ।
४. सहभागी र सहभागिता
समाजको सजीव चित्रणमा ‘सहर’ कथा केन्द्रित छ । कथामा आएका पात्रहरू मनग्यै छन् तर कुनै एक पात्रमा मात्र कथा रहन सकेको छैन । यो घटनाप्रधान कथा हो । घटना घटाउन र यथार्थलाई चित्रण गर्नमा आधारित रहेको कारणले पात्र केन्द्रित कथा हुन सकेको छैन । यस कथामा भएका पात्रहरू निम्न प्रकृतिका छन् ।
(क) उभयलिङ्गमा पर्ने पात्रहरू हुन् ः नगररक्षकहरू, व्यापारीहरू, बटुवा, मान्छेहरू आदि ।
(ख) पुलिङ्गमा पर्ने पात्रहरू हुन् ः थोत्रे हिरोहोण्डा मोटरसाइकलवाला पात्र, बदाम व्यापारी, म पात्र, प्रेमि, गर्दन बाङ्गिएको मानिस, पाकेटमार्ने मुन्द्रे केटाहरू आदि ।
(ग) स्त्रीलिङ्गमा पर्ने पात्रहरू हुन् ः प्रेमिका, बहिनी आदि ।
यस प्रकार बदाम व्यापारी अनुकूल पात्र र पकेटमार्ने केटाहरू प्रतिकूल पात्रकारूपमा देखिएका छन् । अरू सबै जसो पात्रहरूको कार्यव्यापार आ–आफूमै केन्द्रित छ । उनीहरू गौण पात्रकै रूपमा आएका छन् । यसप्रकार सक्रिय भूमिकामा कमै मात्र देखिएका र कथामा सक्रियता दर्शाएका दुबै खाले सहभागीहरूको सहभागितालाई विश्वसनीय, सहज एवं यथार्थपरक ढङ्गले देखाउन खोजिएको छ ।
५. परिवेश
स्थान, समय र वातावरणलाई समेट्ने काम गर्ने कथाको एक तत्व परिवेशले कथानक र पात्रहरूलाई विश्वसनीय तवरले प्रस्तुत हुने आधार प्रदान गर्दछ । यो कथाको शीर्षकले नै कथा सहरीया परिवेशको हो भन्ने ठम्याउन सकिन्छ । टुँडिखेलको चर्चा र छेउछाउको अवस्थाको चित्रणले कथा काठमाण्डू केन्द्रित छ । यो कथा सानै समयावधिमा आधारित छ । काठमाण्डूका सडक पेटीमा छलिएर पिसाव फेर्ने मान्छेहरूको वाध्यता, विवसता र असभ्यताको मिश्रणको चर्चा, मौलाउँदै गएको मेट्रो संस्कृतिको ज्वलन्त नमुनाजस्ता पक्षहरू कथामा सशक्त ढङ्गले आएका छन् ।
६. उद्देश्य
प्रत्यक्ष वा परोक्ष उद्देश्यमा केन्द्रित रचनाले नै पाठकलाई गन्तव्य देखाउँछ । विना उद्देश्यको जीवन त बाँदरको पो हुन्छ, विना उद्देश्यको काम त पशुको पो हुन्छ भनिन्छ । त्यसैले ‘सहर’ कथाले परोक्षरूपमा राखेका उद्देश्यहरूलाई केलाउँनु यहाँ मनासिव ठहर्दछ । निमुखा वर्गको पीडादायी परिस्थिति, समाजमा गिर्दै गएको नैतिकता, ह्रासोन्मुख मानवीय सम्वेदना, सोझासीधालाई सताउने प्रवृत्ति, दण्डहीनताको ज्वलन्त नमुनाजस्ता पक्ष प्रस्तुत गरेर कथाले समाजको नाजुक पक्ष देखाएका छन् र तिनै कमजोरी हटाएर मानवताको जगेर्ना गर्न आह्वान् समेत गरेका छन् ।
७. दृष्टिविन्दु
घटनै घटनाले बनेको ‘सहर’ कथाका समाख्याता कथाकार नै रहेका छन् । उनको भूमिका तटस्स्थ छ । कथाकारले कथा पाठकलाई सुनाउँदै गरेको आधारलाई हेर्दा तृतीयपुरुष दृष्टिविन्दु हुन्छ । यस कथामा ‘म’ पात्र नै सर्वज्ञ भएर आएका छन् । कथामा घटनाको प्रस्तुति मात्रै छ, विश्लेषण गरेर पाठकले नै निष्कर्षमा पुग्नुपर्ने हुन्छ । यस कोणबाट हेर्दा पाठकलाई असली न्यायाधीसका रूपमा कथाकार श्रेष्ठले स्वीकारेका छन् । यसरी सहरी सभ्यताको विकृत पाटोलाई आधार बनाइएको ‘सहर’ कथाले मानवीय मूल्य र मान्यता विरुद्धका कार्यका लागि खेद समेत प्रकट गरेको प्रतीत हुन्छ ।
७. भाषाशैलीय विन्यास
‘सहर’ कथामा छोटा तर अर्थयुक्त वाक्यको छनौट गरेर सरल, सहज र स्वभाविक कथ्य भाषाको प्रयोग गरिएको छ । अझ, सहरी सभ्यताको सजीव तस्विर प्रस्तुत गर्ने भाषा र शैलीको प्रयोगले कथालाई सुरुचिपूर्ण बनाएको छ । अतः सहज, स्पष्ट एवं स्वतःस्फूर्त प्रवाहमय भाषाशैलीय विन्यासको प्रयोगभएको कारणले ‘सहर’ कथा रोचक, घोचक, श्रवणीय र पठनीय बनेको छ ।
८. उपसंहार
नेपाली आख्यान विधामा निरन्तर कलम चलाइरहेका र विद्यालयस्तरका पाठ्यपुस्तक एवं साहित्यिक पत्रिकाहरूको सम्पादन, लेखन र प्रकाशन गर्दै आएका हुनाले स्रष्टा श्रेष्ठ एक श्रेष्ठ साहित्यसेवी भएको प्रमाणित हुन्छ । पाठ्यपुस्तकमा लेखिएका बालकथा, आरम्भ अर्थात् सुरुवात (कथासंग्रह ०६३), घुर (उपन्यास ०६४), जेब्रा क्रसिङ (सचित्र बालकथा) जस्ता कृतिमार्फत् एक कुशल कथाशिल्पीका रूपमा देखिएका छन् । ‘सहर’ कथामा भने विशुद्ध सहरीया परिवेशलाई कथात्मक संरचना प्रदान गरेका छन् । यसमा मानिसको निर्दयीपन, अभाव, छटपटी एवं बेचैनीलाई यथार्थपरक ढंगले प्रस्तुत गरेर कथाकार श्रेष्ठले कथा साहित्यमा एउटा इँट थप्ने काम गरेका छन् । त्यही कार्यको एउटा सानो नमुना ‘सहर’ कथा हो भन्दा अतिशयोक्ति गरेको नठहर्ला ।
(शब्द संयोजन बाट साभार
समीक्षा ः कथाकार पुन्य कार्कीको ‘मध्यरातमा’ गुञ्जेका आवाजहरु
–नन्दलाल आचार्य
आमा !
विश्वविद्यालयमा नै छु । जनताको माझ रहनु, जनताको माझबाटै
धेरै धेरै कुरा सिक्नु अनि जनताकै माझमा नै सिकेका कुरा अरुलाई बुझाउनुजस्तो महान्
कुरा अरु विश्वविद्यालयमा सायदै होला । मलाई क्याम्पस विश्वविद्यालयमा पढ्न
नपाएकोमा कुनै पछुतो छैन । मनको एक कुनामा पनि त्यसको दुःख छैन । मैले जुन कुरो
रोजेँ, अत्यन्तै ठीक रोजेँ आमा । हामी दाजुभाइ नै यस मानेमा
प्रफुल्ल छौँ, गौरवान्वित छौँ । क्रान्तिको महाअभियानमा
पस्नु, यस्तो विश्वविद्यालयको विद्यार्थी हुनु मेरो अहो भाग्य हो ।
यहाँ जो पनि आजीवन विद्यार्थी नै रहिरहने रहेछ । सिकेर सिकी नसकिने अथाह कुराहरु
रहेछन् यहाँ । जानेर जानी नसकिने अनन्त कुरा रहेछन् यहाँ । यहाँ यस्तो पनि देखियो
आमा युगौयुगदेखि उत्पीडनमा परेर लाटिएका जीब्राहरु छुराजस्तो धारिलो भएको पनि
देखियो । सन्दुक खोल्न नजान्ने हातहरु बन्दुक चलाउन जान्ने भएको पनि देखियो ।
टोपीमा, तन्नामा दिनभरि कार्चोपी बुट्टा भर्ने बहिनीहरु कम्मरभरि
कार्तुसको माला भिरेर युद्धको गीत गाउँदै रनबन चाहरेको पनि देखियो । कपुरी क
नजान्ने हातहरु –हामी निरंकुशताका कैदी हैनौँ स्वतन्त्रता, समानता र न्यायका सेनानी हौँ भनेर भित्ता भित्तामा गर्जना
कोर्ने भएको पनि देखियो । यस विश्वविद्यालयको प्राङ्गनमा त यस्तो लाग्छ — हावाको सुसाइभित्र जुलुसको तुमुल ध्वनी मिसिएर आएजस्तो , गृहिणीले घुमाएको जाँतोमा जनता खाने घुन कीराहरु, मकैकोदोसँगै पिसिएर आएजस्तो । चराहरुको चिरविराहट भित्र
नयाँ दिनको स्वागत गान भेटिन्छ यहाँ । नदीहरुको कुलकुलाहटभित्र धर्तीकै उमङ्ग
छचल्किएको आभाष मिल्दछ यहाँ । यहाँ हरेक चीज नौलो छ, नयाँ छ । युद्ध
भन्ने कुरा सिकेर जान्ने कुरा होइन रहेछ । हामी व्यवहारबाट धेरै कुराहरु सिक्दै
जादैछौँ । ...क्रान्ति सरल हुँदैन आमा ! यो जटिल हुन्छ, बाङ्गोटिङ्गो
हुन्छ , अनगिन्ती मोड कुइनेटाबाट अगाडि बढेको हुन्छ ।
(मध्यरातमा (कथा संग्रह २०६२) को स्वलाप
कथाबाट)
विश्व मानव
सभ्यताका निम्ति स्रष्टा अमृ्ल्य नीधि हो । स्रष्टाले नयाँ सृष्टि गर्छ । त्यसैले
पनि ऊ अति नै महत्वपृ्र्ण व्यक्ति हो । संसारलाई हेर्न त सबैसँग यी छालाका दुई चछु
छन् । संसारको वास्तविकता र मान्छेको मनलाई हेर्न सक्ने हुनु नै स्रष्टा हुनु हो ।
यसो गर्न मनको आँखाबाट मात्र सम्भव छ । यस्तै मनका आँखाका धनी साहित्यकारको नाम हो–पुन्य कार्की । वि. सं.२०२७ साल भाद्र १८ गते उदयपुर
जिल्लाको दुर्गम ठाउँ ताम्लिछा गाविस वडा न—२ मा जन्मेका र
हाल त्रियुगा नगरपालिका वडा न.ं ७, मोतिगडा, उदयपुरमा स्थायी बसोबास गर्दै आएका साहित्यकार कार्की कलिलै
उमेरमा साहित्यको महासागरमा पौडी खेल्न थालेका हुन् । अहिले उनी लेखन र शिक्षण
कार्यमा संलग्न छन् । एम.ए., बी.एड., बी.एल.को औपचारिक शैक्षिक ज्ञान हासिल गरेका कार्कीको
स्वाध्यायनको दायरा निकै फराकिलो रहेको उनका बौद्धिक रचनाहरुले पुष्टि गर्दछन् ।
(१) बाघले घाँस खायो (कविता संग्रह २०५४), (२) मखमली (कथा
संग्रह २०५७), (३) जीवनयात्रा (लघुउपन्यास २०५७), (४) गम्भीरबहादुर थापाको कृतित्व र व्यक्तित्व (समालोचना
२०५९), (५) कविको छैटौं इन्द्रिय (निबन्ध संग्रह २०६०), (६) मध्यरातमा (कथा
संग्रह २०६२), (७) असल बन्छु (बालकविता संग्रह २०६३), (८) बलभन्दा बुद्धि ठृ्लो (बाललोककथा संग्रह २०६३), (९) एउटा हर्कुलसको खोजी ( निबन्ध संग्रह २०६३) र (१०)
बलिदानीका गाथाहरु ( सहिद जीवनी संग्रह २०६४) गरेर १० ओटा विविध विधाका स्रष्टा
पुन्य कार्की बलियो कलम भएका जनपक्षीय साहित्यकार हुन् । पुन्य कार्कीका कविता र
दुःख काव्य गरेर अरु दुई कृतिहरु प्रकाशोन्मुख छन् । मोफसलमा बसेर कलम चलाए पनि
नेपाली साहित्यको ढुकुटीमा १० वटा कृति दिनु आफैंमा एक अनुपम उदाहरण हो । हृदय
कल्पाउने तागत भएका स्रष्टा कार्कीको कलम प्राचीन संस्कृत,
पौराणिक, राष्ट्रिय र अन्तर्राष्ट्रि«य इतिहास, कला, साहित्य एवं राजनीतिप्रति मुखरित भएको छ । व्यापार, राजनीतिभन्दा शिक्षण पेशामा संलग्न भएकाहरुले साहित्यमा कलम
चलाएको पाइन्छ । स्रष्टा कार्की शिक्षण पेशामा आवद्ध भएका कारणले गर्दा पनि कलमकै
भरमा बाँचेका छन् । जागिरे जीवनले भौतिक सुख र शान्ति दिए पनि उनी त्यत्तिमै सीमित
रहन सकेका छैनन् । समाजमा व्याप्त थिचोमिचो, शोषण–दमनलाई टुलुटुलु हेरेर चित्त बुझाउन नसक्दा नै उनको कलम
चलेको हो भन्ने स्पष्ट देखिन्छ । उनी आफ्नो अभीष्टका वारेमा भन्छन्ः–...उज्यालोको जयगान र अँध्यारोलाई मर्दनवाण ताकेर कालो रातको
मुटु क्षतविक्षत पार्नु यस स्रष्टाको लक्ष्य हो । मध्यरातमा कथा संग्रहका कथाकारको
बोलीमा उनी भन्छन् ः–...प्रकृतिमा उज्यालो
दिन त चिरस्थायी थिएन, त्यसलाई कालो
रातले लखेट्यो । झन् रात त अजम्बरी छदै छैन, यो पनि उज्यालोको
उषाको आगमनपछि विदा हुन्छ, धर्तीबाट ।...साँझबाट
शुरु भएको कलिलो रात अहिले खिँइदै खिँइदै आधा रात भएको छ ,
अब खिइन आधी मात्र बाँकी छ ।.....यी कथाहरु रात रेट्ने पात्रका कथा हुन्
।....कथामा प्रतिविम्वित यथार्थ समग्रमा यथार्थको एउटा पाटो हो । अहिलेको समकालीन
यथार्थका बहुल पाटालाई रचनाकर्ममा स्रष्टाहरुले आफ्नो ठाउँबाट सार्थक र
उद्देश्यमुलक ढ्रगले गर्नुपर्छ ।
रात रेटिएपछि
अर्थात् रात सकिएपछि अवश्य उज्यालोको उषाकाल आउँछ । हरतरहले पीडित जनताको
चर्याइरहेको घाउमा मलहमपट्टी लगाए पछि अवश्य पीडा कम हँुदै जान्छ र घाउमा खाटा
बस्छ । त्यहीँ उज्यालो भविष्य देखापर्दछ । मध्यरातमा (कथा संग्रह २०६२) को भृ्मिकामा साहित्यकार
रामप्रसाद ज्ञवालीको कलम बोलेको छ– मध्यरातमा (कथा संग्रह २०६२) का आधारमा बहुसंख्यक
शोषितपीडितप्रतिको गम्भिर चासो, राष्ट्र र
राष्ट्रियताप्रतिको गम्भीर संवेदनशीलता, समाजप्रतिको
दायित्व बोध र प्रगतिशील राजनैतिक सचेतना कथाकार कार्कीका प्रमुख विशेषता हुन्
।....यी कथाहरुले सामन्तीसंस्कार, दासमनोवृत्ति र
सामाजिक शोषणले लाटो पारिएका मनहरुमा विद्रोह सञ्चार गर्छन्, अज्ञानता र अशिक्षाले सुषुप्त मनहरुमा जागृति भर्छन् र
मानवद्धेषीहरुद्धारा गरिएको असह्य अत्याचारले पलायन भएका मनहरुमा आँट र उत्साह
छर्छन् ।
मध्यरातमा (कथा संग्रह २०६२) का
स्रष्टा पुन्य कार्की फुलटाइमर जागिरे भएका कारणले फुलटाइमर लेखक बन्न सकेका छैनन्
। हर्दम व्यस्त जीवनमा रमाउन पाए सन्तोष ठान्ने स्वभावका कार्कीले आफ्नो कलमलाई
संख्यात्मकतातर्फ भन्दा गुणात्मकतर्फ झुकाएको उनका कृति पढ्दा स्पष्ट हुन्छ ।
मध्यरातमा (कथा संग्रह २०६२) का आधारमा
स्रष्टा पुन्य कार्कीका कृतिगत विशेषताहरुलाई निम्न बमोजिम केलाउन सकिन्छ ।
(१) जनयुद्धको
विषयवस्तुमा केन्द्रीत ः— मध्यरातमा (कथा संग्रह २०६२) मा रहेका डेढ दर्जन कथाहरुमा
अधिकांस कथाहरु जनयुद्धसँग सम्बन्धित छन् । तपस्वी बधशालामा कथामा जनयुद्धका एक
होनाहार सपुतलाई कायरतापृ्र्वक अवसान गरिएको छ । जोर अर्थी कथा अर्को जनयुद्धसँग
सम्बन्धित सशक्त कथा हो । यस कथामा जनयुद्धमा लागेकै ठानेर हीरा सर मारिएका छन् । अर्को
जनयुद्धसँग सम्बन्धित सशक्त कथा हो– मछलीवाला । यसमा
एक मैथिली भाषी जनयुद्धका सहयोद्धाको जीवनचर्यालाई सशक्त ढंगले प्रस्तुत गरिएको छ
। जनयुद्धका योद्धा–
सहयोद्धाहरुका टाउकाहरु बेचेर धन थुपार्ने जल्लादहरुको हविगत अत्यन्त
प्रभावकारी ढंगले उद्घाटन गर्ने काम सौदागर
कथाले गरेको छ । प्रेशरकुकर कथा अर्को जनयुद्धसँग सम्बन्धित सशक्त र
कारुणीक कथा हो । यस कथामा जाबुके जस्तो अबुझ ठिटोलाई जनयुद्धलाई सहयोग गरेको
नाममा जेलमा जाकेको घटना वर्णित छ । यानीमाया कथामा जनयुद्धको एक सिपाहीको कारुणिक
अवसानको चर्चा छ । यानीमायाका श्रीमान् अभागी मानिएका हरेक मुक्तिकामीहरुको
मुक्तिकार्यमा अहोरात्र खटिएका एक निडर जनयुद्धका सिपाही हुन् । श्रीमान्ले
जनयुद्धका क्रममा पहाडभन्दा गह्रौँ मृत्यु वरण गरे । त्यसपछि यानीमायाको जीवन पनि
उनकै अधुरा सपनाहरु पुरा गर्न केन्द्रित भएर जनयुद्धलाई मलजल दिन समर्थवान् भएको छ
। सरकारी सुरक्षाकर्मीको कलुषित नजरबाट बच्दै युद्धका लडाकुहरुलाई सामलखाजा
पुर्याउने काममा यानीमायाले खेलेको भृ्मिका कथाको अर्को बलियो पाटो हो ।
सुरक्षाकर्मीको अपराधिक सोचलाई छक्याएर उनी ज्यान बचाउन सफल हुन्छिन् । यिनै
कुराहरुका आधारमा यानीमाया कथालाई हेरिनुपर्छ । जनयुद्धको क्रममा पति मारिएकी एक
विधुवाको स्वलापलाई कथ्यवस्तु बनाएर जन्मेको अर्को उत्तम कथा हो–स्वलाप ।
(२) युगिन यथार्थको प्रतिविम्वन ः— मध्यरातमा (कथा
संग्रह २०६२) मा रहेका डेढ दर्जन कथाहरुमा अधिकांस कथाहरु जनयुद्धसँग सम्बन्धित
छन् । २०५२ फागुन १ गतेदेखि थालिएको
जनयुद्धभरि जनताले भोगेका दुःख, पीर र वेदनाहरुको
यथार्थ चित्र मध्यरातमा (कथा संग्रह २०६२)
मा उतारिएको छ । त्यस बेला जनताले तौली तौलीकन शब्दहरु बोल्नुपथ्र्यो । आफ्ना मनका
करुण भावहरु पनि त्यसै गुम्स्याएर फुस्रा शब्दहरु मात्र प्रयोग गर्नुपथ्र्यो ।
आँसु चुहाउन पनि मनग्यै आँट गर्दा मात्र संभव थियो । हरेक सर्वसाधरण जनताका आँखाका
सपनाहरु चारैतिर च्यातिएका थिए । अमानवीय घटनाहरुको लेखाजोखा पटकै थिएन ।
भ्रष्टचारी घटनाहरुको हिसाबकिताव र नालीबेली बन्दै छँदै थिएन । यो कथा संग्रह त्यो युगलाई जोख्ने असली इतिहास
हो भन्दा अतिशयोक्ति गरेको नठहर्ला ।
(३) अग्रगामी पात्रमा केन्द्रीत ः— मध्यरातमा (कथा
संग्रह २०६२) मा रहेका डेढ दर्जन कथाहरुमा अधिकांस कथाहरु प्रत्यक्ष जनयुद्धसँग
सम्बन्धित रहेकाले पनि अधिकांस पात्रहरु अग्रगामी पहलकदमीमा संलग्न छन् । आइतेम्पा, लालमती, नरे, रत्ने, कत्ले, डल्ले, सविना, अनचितिया, तपस्वी, जाबुके, कपिलगुरु, मछलीवाला, यानीमाया, कबुधे दर्जी, दले, ड्राइभर, सहिदपुत्र, सहिदपत्नी, विद्यार्थीहरु, विद्रोहीहरु एवं अन्य आन्दोलनकारीहरु सबै पात्रहरु
प्रत्यक्ष अग्रगामी पहलकदमीमा संलग्न छन् । नयाँ नेपालको निर्माणमा यी पात्रहरुले
कतै न कतै पसिना बगाएका छन् । विद्रोहको आवाज दिएका छन् । रगत चढाएका छन् ।
प्राणको आहुति दिएका छन् ।
(४) तीतो यथार्थको उद्धाटन ः— मध्यरातमा (कथा
संग्रह २०६२) मा रहेका डेढ दर्जन कथाहरु सबैले जीवनको तीतो यथार्थलाई उद्घाटन
गर्ने काम गरेका छन् । समाजमा व्याप्त विकृति विसंगतिको चिरफार गर्ने काम गरेका
छन् । अन्याय–अत्याचार, भोकमरी, श्रमको मृ्ल्य विचलनप्रति आपत्ती जनाइएको छ । समाजले भोग्दै
आएको कटु सत्यलाई बिना ढाकछोप कथामा खुल्लमखुल्ला आएका छन् । छोरीप्रति घृणा र
छोराप्रति आशक्तिको चर्चा भएको काँचो वायु कथामा शिक्षित पिताकै कालो मनको मैलोलाई
छर्लङ्ग देखाइएको छ । यस्तै हरेक कथाले कुनै न कुनै रुपले पाठकहरुलाई सचेत
तुल्याएका छन् । भोकोले पेट भर्न र नाङ्गोले आङ्ग ढाक्न पाउँनुपर्छ भन्ने आवाज
दिएका छन् ।
(५) ठेट जनबोली र मातृभाषिक संवादको
प्रयोग ः— मध्यरातमा (कथा
संग्रह २०६२) मा रहेका केही कथाहरुमा ठेट जनबोली र मातृभाषिक संवादको प्रयोग भएका
छन् । यसले गर्दा अधिकांस कथाहरु थप रोचक बनेका छन् ।....कोई बात छैन हजुर ।
ज्यालामजुरी गर्न पाएकै छु । गाडी साहुहरु आफ्नो गाडीमा राख्न तँछाडमछाड गर्छन्, हजुर । यस गाडीले मैनाको दश हजार दिएको छ, हजुर । मैले नागरिकता नपाएर के भो त हजुर , सत्चालीस बरसके जीवन चालीस बरस त नेपालमै वितिगो, हजुर । मनको भित्ता भित्तामा नेपालकै चित्र कुँदिएको छ, हजुर ।....नही हेते साहब । यी त काजी साहबके औडर मे लाबने
छी ।....टँइले भनेका मान्न हुँदैना हो कि जाबुक्या । ट्यो पान सय पैसाले टेरो बाबुले एक महिना
बेसाहा खाँन्ट्यो । अब ट्यो क्या उसिन्छस् । मुखलाई मोही छैनाँ पिँढालाई घिउ भनेको
यही हो ।...किन मार्छा आफनो ठाङ्ग्र्रा झार्डा पनि मार्छा । सहनुको पनि एउटा हड
हुन्छ, कट्टी सहनु ।.....छोइर दै है चिन्ता नै करै । नौवोके भित्तर
त लोक नटे रहैछै ने । आदमी त चिनल गेले ।
यहा सबसे बड्का चिज चियै । यस्ता ठेट जनबोली र मातृभाषिक संवादको प्रयोग भएका कारण
पनि यी कथाहरु सामान्य जनताका घरदैलाका कथा हु्न् भन्न हिच्किचाउनु पर्दैन ।
(६) प्रगतिशील संदेशका संवाहक ः— मध्यरातमा (कथा
संग्रह २०६२) मा संकलित हरेक कथाहरुले प्रगतिशील संदेशका छाडेका छन् । अन्याय
अत्याचारका विरुद्ध बमवर्षा गराएका छन् । थिचिएर बस्नुहुन्न । अति सहनुहुन्न भन्ने
संदेश छाड्छन् ।
अठार
कथाहरुको संगालो मध्यरातमा (कथा संग्रह
२०६२) का हरेक कथाहरुले ठोसरुपमा अघि सारेका कुराहरुलाई यहाँ समेट्ने प्रयास
गरिएको छ ।
(१) काँचो वायु ः—छोरीप्रति घृणा र
छोराप्रति आशक्तिको एक अनुपम उदाहरण काँचो वायु हो । मानसिक दरिद्रका कारणले
शिक्षितपठित व्यक्तिहरु नै छोरीको जीवनलाई अभिशाप ठान्दछन् । तर सबै छोराहरु असल
हुँदैनन् भन्ने कुरा भुसुक्कै भुल्दछन् । संसारलाई नै चमत्कारिक योगदान दिने
पारिजात, झमक घिमिरे, म्याडम क्युरी, फ्लोरेन्स नाइटिङ्गेल, तसलिमा नासरिनहरु
पनि छोरीहरु नै थिए भन्ने कुराहरु पनि भुसुक्कै भुल्दछन् । यसरी यस कथामा
छोरीहरुप्रति कलुषित भावना राख्ने हरेक बाबुहरु काँचो वायु सावित भएका छन् ।
पुरातनवादी कुसंस्कारी सोचका विरुद्ध काँचो वायु कथा खरो उत्रिएको छ ।
(२) एक ड्राइभरको स्वीकारोक्ति ः—अनागरिकको ठाउँमा
बसेर एक असल नागरिकको भृ्मिका निर्वाह गर्ने डाइभरको प्रगतिशिल सोचको सेरोफेरोमा
एक ड्राइभरको स्वीकारोक्ति कथा रहेको छ । जन्मले राष्ट्रवादी भइन्न कर्मले सच्चा
राष्ट्रसेवक कहलाउन सकिन्छ । यस कथामा नेपालको तराईबासी एक युवकले गर्भवती बनाएर
त्यागिदिएकी एक भारतीय चेलीको गर्भबाट जन्मेको ड्राइभरले ४४ वर्ष नेपालमा रहेर जीविकोपार्जन
गर्दासम्म नेपाली नागरिकता प्राप्त गर्न नसकेको दुःखान्त प्रसङ्ग छ । नेपाल र
नेपालीप्रतिको अटल आस्था र निस्वार्थी सेवाभाव भएको कारणले ऊ एक सच्चा नेपाली
नागरिक भएको धोषणा गर्ने ठाउँ यत्रतत्र छ ।
(३) तपस्वी बधशालामा ः—फित्ता, फुली, प्रमोशन र पैसाको लोभमा सामन्तवादी केन्द्रीकृत शासन
प्रणाली टिकाइराख्न विचारको राजनीति गर्नेलाई दमन गर्ने त्यो युगलाई प्रतिनिधित्व
गर्ने कथा हो–तपस्वी बधशालामा । हरेक अग्रगामी
आन्दोलनका नाइकेहरुलाई पश्चगमनकारीहरु वा यथास्थितिवादीहरुले नामोनिसान मेट्न
खोजेका घटनाहरु नयाँ होइनन् । कमजोर छातीभित्र शक्तिशाली विचार बोकेर हिड्ने एक
राजनैतिक विचारकको दुःखद अन्त्य प्रहरी प्रशासनबाट भएको छ । सत्यलाई छोपेर असत्यको
राज फैलाउन तत्कालिन सरकार न्वारानदेखिको बल झिकेर लागिपरेको थियो । कालो मन
भएकाहरु ऐयासी जीवन विताइरहेका थिए र अँध्यारो भविष्यको जग खडा गरिरहेका थिए । हो, त्यही परिवेशको एक कारुणिक कथा होे–तपस्वी बधशालामा ।
नेपाली साहित्यको प्रगतिशिल धारमा उभिएर कलम चलाउने महान् साहित्यकार एवं पत्रकार
कृष्ण सेन इच्छुकलाई समेत पुलिसले यातना दिएर मारेको इतिहास हाम्रा सामु खडा छ ।
इतिहासको यस पाटोको सम्झना तपस्वी बधशालामा कथाले दिलाउँछ ।
(४) म लालमती ः—यो एक अवाला
नारीको उत्साहप्रद कथा हो । सदाचारको भाषण गरेर दुराचारी मच्चाउने सुनिलसिंह जस्ता
जल्लादहरुको पुरुषत्व माथि प्रश्न चिन्ह खडा गर्ने काम यस कथाले गरेको छ ।
सदाचारको बर्कोले ढाकिएको व्यभिचारी पुरुषको न्यानो किरणलाई मात्र नियालेर धेरै
शिक्षित युवतीहरुको जीवन कहालीलाग्दो भएको छ । अशिक्षितहरुसँग त जाग्रित आँखा नहुन
सक्छन् तर शिक्षितहरुसँग त जाग्रित आँखा हुनुपर्ने हो । त्यो नभएका कारणले नै
धेरैको आँखामा सुनिलसिंह साक्षात् ईश्वरको आसनमा बस्न सफल भएको थियो । आफृ्हरु
थाङ्गनामा सुत्नुपरेको थाहा पाएपछि विद्रोही बन्नुपरेको अवस्था समेत कथामा चित्रित
छ । यसरी न्यायका पक्षपातीहरु अन्यायको विरुद्धमा खनिन्छन् भन्ने शाश्वत पक्षलाई म
लालमती कथाले अघि सारेको छ ।
(५) गोन्दे ः—प्रतिगमनलाई
निमन्त्रणा दिने गोन्दे, आनन्दे, कजय, धनजीवि, खुम्ले, दलभुँड,े मैनाली, चिमे रावल जस्ता
व्यक्तिहरुको कालो कर्तृतविरुद्ध खनिएका युवा जोसको नालीबेली यस गोन्दे कथाले
दिएको छ । प्रतिगमनको विरुद्धको आन्दोलनमा प्रतिगमनका दर्शनाभिलाषीहरु नै लाग्नु
हिजो आफृ्ले गरेको पाप र भ्रष्टचारलाई चोख्याउने माध्यम आन्दोलनलाई बनाउनु हो ।
भ्रष्टचारको भेलले मुलुकलाई रसातलमा पुर्याएको जगजाहेर छ । अझै पनि तिनै
भ्रष्टखोरहरुलाई सत्तामा पुर्याउन खोजियो भने मुलुकमाथि गद्दारी गरेको ठहर्दछ ।
यिनै मननीय कुराहरुलाई अघि सार्ने काम गोन्दे शीर्षकको यस कथाले गरेको छ ।
(६) जोर अर्थी ः—जनतालाई राहत दिने
नाममा जनतालाई नै दमन गर्दै कालरात्री निम्त्याउने सुरक्षा व्यवस्थाको कहालीलाग्दो
कर्तृतलाई यस कथाले अघि सारेको छ । जनताको मन आतङ्क र त्रासदीले नराम्ररी फुलेको
अवस्थामा जीवन्त गाउँ पनि जीवनहीन, निचेष्ट, निश्लोट बधशाला बन्न पुगेको कारुणिक घटनाक्रम कथामा आएका
छन् । आतङ्ककारीका नाममा सामान्य मानिस, विद्यार्थी, शिक्षकहरुको प्राण लिने त्यो समयको ज्वलन्त इतिहासको रुपमा
जोर अर्थी कथा रहेको छ । त्यस बेला जनताले तौली तौली शब्दहरु बोल्नुपथ्र्यो ।
आफ्ना मनका करुण भावहरु गुम्स्याएर फुस्रा शब्दहरु प्रयोग गर्नुपथ्र्यो । आँसु
चुहाउन पनि मनग्यै आँट गर्नुपथ्र्यो । हरेक सर्वसाधरण जनताका आँखाका सपनाहरु
च्यातिएका थिए । अमानवीय घटनाहरुको लेखाजोखा थिएन । भ्रष्टचारी घटनाहरुको
हिसाबकिताव थिएन । हो, त्यही युगलाई
सम्झाउने एक जीवन्त कथा हो– जोर अर्थी ।
(७) मछलीवाला ः—जनक्रान्ति र
परिवर्तनका लागि भनेर माछाको पेटमा ग्रिनेट र राइफलका गोलीहरु भरेर
सुरक्षाकर्मीहरुको आँखा छल्दै गन्तव्यमा पुर्याउने एक क्रान्तिकारी सहयोद्धाको
जीवनचर्या समेट्ने काम यस कथाले गरेको छ । बहुरुपी भेषमा सडकमा सुरक्षा जाँचका
लागि बसेका सुरक्षाकर्मीहरुको आँखामा छारो हालेका घटनाहरु रोचक र घोचक छन् ।
नेपालमा भएको यो नयाँ परिवर्तनका लागि
हरेक ठाउँका नेपालीहरुको बराबर योगदान रहेको कुरा समेत मैथिली भाषी
मछलीवालाको प्रसङ्गले बताएको छ । अहाँ सबके चाहिँ हम कैल लेबदेवा । हम यी माछ वही
जगह नै देवै त वह हमरा मैरे देतैै नै । मछलीवालाको यो कथन बडो चलाखीपृ्र्ण छ ।
सुरक्षा जाँचका नाममा अरु सर्वसाधरणहरुले ज्याजती भोग्नुपरेको मन कुड्याउने अन्य
प्रसङ्गहरु पनि कथामा मार्मिक ढङ्गले आएका छन् ।
(८) मुड्कल र दलबहादुर ः— मुलुक लुटेर आफ्नो ढुकुटी भरी देश र जनतालाई कंगाल बनाउने
पञ्चहरुको एक छत्र राज कहलिएको पञ्चायती व्यवस्थाको रजत जयन्तीको उपलक्ष्यमा
मुड्कल खडा गर्ने काममा दलवहादुर खटिएको थियो । ज्यालादारी श्रमिकको हैसियतले उसले
आप्mनो काम तमाम गर्यो । पछि उसलाई त्यो मुड्कल अन्याय, अत्याचार, दुराचार, पापाचार र कुप्रथाको प्रतीक भएको थाहा भयो । आप्mना सपनाहरुलाई पनि त्यही मुड्कलले कक्र्याएर राखेको उसलाई
ज्ञात भयो । आफृ्मा पनि स्वाभिमानी रगत बगिरहेको स्वयम्ले महसुस गर्यो र आफ्नो कर्मप्रति पछुतो भयो । त्यही मुड्कलको
रंगरोगन गर्न पर्दा उसको मनमा मानसिक द्धन्द्ध चलेको छ र ऊ आखिरमा मुड्कलको
रंगरोगन गर्ने हैन त्यसलाई ढालेर त्यहाँ एक सहिदको प्रतिमा खडा गर्ने काममा
दिलोज्यान दिएर लागिपर्ने निष्कर्षमा पुगेको छ । समुन्नती र स्वतन्त्रताका
पक्षधरहरु जस्तोसुकै कठिन घडीमा पनि समुन्नती र स्वतन्त्रताका पक्षमा लड्न
छाड्दैनन् । यिनै कुराहरु कथामा यत्रतत्र आएका छन् ।
(९) सौदागर ः—सरकारले जनताको
टाउकाको मृ्ल्य तोकेर आतङ्क मच्चाएको कालो इतिहासलाई स्मरण गराउने काम सौदागर
कथाले गरेको छ । प्रतिगमनको समयमा गृहमंत्री भएका देवेन्द्रराज कँडेलले धोषणा
गरेका थिए —जसले जति दामी टाउको ल्याउँछ उसले उति
धेरै रुपियाँ पाउँछ । यही धोषणा अनुसार एक कुख्यात सौदागरले धनको लोभमा धेरै
देशभक्तहरु, धेरै जनभक्तहरुका टाउकाहरु भेला पारेर
मनग्यै रुपियाँ आर्जन गर्यो । आफना साखा सन्तानलाई पनि त्यही धन्दामा सामेल गरायो
। सधैँ उसले उक्त कामलाई निरन्तरता दिन भने सकेन । एक दिन अज्ञात पक्षबाट उसको
टाउको पनि गिँडिन्यो । जस्तो कर्म उस्तै फल भन्ने उक्ति त्यहाँ लागृ् हुन्छ ।
मान्छेका टाउकाको मृ्ल्य भुक्तानी गर्दै आएको सरकारलाई पनि यो गतिलो जवाफ सावित
भयो । क्रमशः क्रमशः ती सौदागरहरुका टाउकाहरु पनि हराउँदै गए । यसरी मान्छेका टाउकाहरु
बेचेर धन थुपार्ने जल्लादहरुको हविगत अत्यन्त नाजुक मात्र हैन पलायन भएको अवस्थाको
उद्घाटन गर्ने काम यस कथाले गरेको छ । हरेक अपराधीहरुलाई अपराध गर्नुपृ्र्व सोच्न
विवश तुल्याएको छ ।
(१०) प्रेशरकुकर ः—नेकपा माओवादीको जनयुद्धका क्रममा प्रेशरकुकर छापामारहरुलाई
दिएको भन्दै प्रहरीबाट अन्यायपृ्र्वक जेल चलान गरेका जाबुके राईको करुण कथा
प्रेशरकुकर कथामा समेटिएको छ । सोझा जनताहरुले विनसित्तिमा हैरानी खेप्नुपरेका
अनगिन्ति घटनाहरुमध्ये यो एउटा ज्वलन्त घटनाकै रुपमा कथामा चित्रित छ । हुन पनि हो, गरिबका घरमा अन्न सकिए पछि भोकले भुँडीहरु गाइनेका सारी
बन्छन् । त्यस वेला दालभात पाक्ने प्रेशरकुकरहरु पनि बम बनेर पड्कन्छन् । फागुन
माहिनामा नै जाबुकेका घरमा पनि अनिकालले शरण लिन आएको र सहकालले पाइला सारेको
अवस्था छ । त्यही अवस्थामा दुःखले किनेको प्रेशरकुकरका कारणले उसले कहिल्यै चिताउदै
नचिताएको दुःख झेल्नु परेको छ । विल्कुलै अनविज्ञ एक गाउँले ठिटोले अनाहकमा जेलको
सजाय भोग्नुपरेको छ । त्यस दुःखलाई सुखमा परिणत गर्दिने पात्रका रुपमा कपिलगुरुको
योगदान स्मरणीय छ । उनले नै अनपढ जाबुकेलाई जेलमै शिक्षादीक्षा दिएर पारंगत बनाउने
काम गरेका छन् । यहाँ आएर धेरै दुःख थोरै सुखमा परिणत भएको छ । ऊ पानीबाट फलाममा
परिणत भएको छ ।
(११) आइतेम्पा ः—प्रजातन्त्रको
खिल्ली उडाएर गरिव–निमुखाहरुको
पसिनामा स्वर्गीय आनन्द मनाउने सम्पतशम्सेरप्रति रोष र आइतेम्पा जस्ता श्रमजीवि
जनताप्रति सहानुभुति जनाइएको आइतेम्पा कथाले आर्थिक असमानताको अन्त्य हुनुपर्ने
कुरा वकालत गरेको छ । श्रमको फल श्रमजीविले नै उपभोग गर्न पाउनुपर्छ । काम नगरी
दाम पाउने अपेक्षा गर्नेहरुलाई नाङ्गेझार पार्नुपर्छ । यसका लागि सम्पृ्र्ण
श्रमजीविहरुमा विद्रोही भावना जाग्नुपर्छ । सम्पृ्र्ण श्रमजीविहरु एक भएर एक मतमा
अडिग रहन सके सम्पतशम्सेर जस्ता दलालहरु आ–आफै पाखा लाग्छन्
भन्ने स्वर गुञ्जाएको कथा हो– आइतेम्पा ।
(१२) जृ्नकीरीको सृ्क्ष्मशिखा ः—बैदारे र मृ्लघरे जस्ता समाजका गोमन साँपहरु पापकर्म
पखाल्नका लागि कम्युनिष्टको झण्डामुनि आउँदा र पार्टीले स–सम्मान स्थान
दिँदा बुधे जस्ता इमान र जमानमा विश्वास गर्ने असली कार्यकर्ताको मुटु पोलेको छ ।
हिजोका खुंखार अपराधीहरुलाई आज सुनपानी छर्केर चोख्याउँनुपृ्र्व नेतृत्ववर्गले
ध्यान पुर्याउनुपर्ने हो । तर त्यो हुन नसक्नु नै बुधे जस्ता असली कार्यकर्ताको मन
कुडिनुको कारण हो । आफृ्ले बडो सम्मान र आस्थाका साथ सिलाएको हँसिया र हतौडा अंकित
प्यारो ध्वजा बैदारे र मृ्लघरे जस्ता मिचाहाहरुको घरमा फरफरिएपछि बुधेलाई
सहिनसक्नुहुन्छ । ऊ क्रोधले युक्त हुन्छ । ऊ ती झण्डा आफ्नो कब्जामा लिन खोज्छ ।
उसको मनोकांक्षा कसैले बुझिदिदैनन् र उल्टै पागलको संज्ञा दिएर धुलिखेलको
पागलखानामा थुन्दछन् । यसरी जताततै मुर्दाशान्ति छाउँछ । एक कर्मठ, योग्य र सक्षम कम्युनिष्ट कार्यकर्ताको पलाएन हुन्छ ।
अन्यायीहरुका विरुद्धमा आवाज उठाउँदा उल्टै सास्ती खेप्नुपरेको कारुणिक दृष्य
कथामा कैद गरिएको छ । जनतालाई शक्तिहीन निरीह प्राणीको झुण्ड सम्झनेहरुलाई खबरदारी
गर्न भने कथा पछि सरेको छैन ।
(१३) यानीमाया ः—
यस कथामा जनयुद्धको एक सिपाहीको कारुणिक अवसानलाई मृ्ल आधार मानिएको छ ।
यानीमाया अभागी मानिएका हरेक मुक्तिकामीहरुको मुक्तिकार्यमा अहारात्र खटिरहेकी एक
निडर पात्र हुन् । श्रीमान्ले जनयुद्धका क्रममा पहाडभन्दा गह्रौँ मृत्यु वरण
गरेपछि यानीमायाको जीवन उनकै अधुरा सपनाहरु पुरा गर्नमा केन्द्रित भएको छ । उनी
सरकारी सुरक्षाकर्मीको कलुषित नजरबाट बच्दै युद्धका लडाकुहरुलाई सामलखाजा
पुर्याउने काम गर्छिन् । सुरक्षाकर्मीको अपराधिक सोचलाई छक्याएर उनी ज्यान बचाउन
सफल पनि हुन्छिन् । यिनै कुराहरुमा केन्द्रीत छ कथा – यानीमाया ।
(१४) आत्मप्रवञ्चना ः— विद्यार्थी, गाईगोठाले जस्ता
सामान्य जनजीवनका सामान्य मानिसहरु पनि असामान्य तवरले अग्रगामी पाइलाहरु
पछ्याइरहेको अवस्थामा पनि आफ्नातर्फबाट उचित कार्य हुन नसकेको स्वीकारोक्ति म
पात्रले गरेको कुरा कथामा वर्णित छ । उज्यालोको यशोगान गाउने मन उनमा पनि छ तर
अझसम्म पृ्रा भएको छैन । उज्यालो भविष्य बनाउने काममा अहोरात्र खटेर बलिदानी
दिएकाहरुप्रति अघोरै प्रभावित म पात्र आफृ्लाई अग्रगतिको उपासक बनाउने अठोटमा
कटिबद्ध छन् । यिनै कुराहरुको सेरोफेरोमा फनफनी घुमेको कथा हो – आत्मप्रवञ्चना ।
(१५) निसान्तघडी ः—भ्रष्टचार गरी अकुत सम्पत्ति कमाएको आधारमा अख्तियारको
कष्टडीमा परेको बावु, प्रेमिकाले
त्यागिदिएको प्रेमि (छोरो) र कमजोर आमा जस्ता पात्रहरुको सेरोफेरोमा निसान्तघडी
कथा घुमेको छ । निसान्तघडी कथाले प्रेमको सच्चा परिभाषालाई पनि अघि सार्ने काम
गरेको छ । –सच्चा प्रेमले त त्यागको कामना गर्छ ।
बलिदानीको माँग गर्छ र संकटका बखतमा सहयोगका पाखुरी फिँजाउँछ । यहाँ भनेजस्तो
पे्रम कथामा छैन । त्यहाँ त पैसामा र देहमा आधारित कमजोर प्रेमको बखान छ । पैसा र
देह मध्ये कुनै एक कमजोर भयो कि तुरुन्त को तु तुहिहाल्ने प्रेम कथामा चर्चा
गरिएको छ । मुलुकसँग गद्दारी गर्ने एक भ्रष्टखोर परिवारको अवसानको कथा हो – निसान्तघडी ।
(१६) अनचितियाको लगौंटी ः—कसैलाई लाज छोप्ने लगौंटीको अभाव कसैलाई भने पार्टीको
प्रचार प्रसारका निम्ति हजारौँ गज कपडाको थुप्रो । यस्तो विषमताजन्य परिस्थितीलाई
कथावस्तु बनाएर लेखिएको अनचितियाको लगौंटी कथाले मान्छेको मन हुनेहरुको हृदय
पगाल्दछ । यस कथाका केन्द्रीय पात्र अनचितियाले गरिवीको रेखामुनि धसिएका
नेपालीहरुको प्रतिनिधित्व गरेका छन् । उनीसँग लाज छोप्ने लगौँटीका लागि कपडाको धरो
छैन तर रतिलालसँग कपडाको थुप्रो छ । लोकलाई लाज देखाउँनुभन्दा चोरेर भए पनि लाज
ढाक्नु वेस हो भनेर रतिलालले टाँगेको पार्टीको तुल चोर्दछन् अनचितिया । राजनैतिक
पार्टी भनेका जनताका निम्ति हुन् । जनता नै जीवन ज्यृ्न नसक्ने गरी कहालिएको
अवस्थामा पार्टीको प्रचार प्रसार गरिरहनु आवश्यक पर्दैन । यस कथाले राजनैतिक
पार्टीहरुले कहालीलाग्दो अवस्थाबाट जनतालाई मुक्त पार्दिए त्यो नै प्रचार प्रसार
हो भन्ने कुरालाई औधी मार्मिक ढंगले अघि सारेको छ ।
(१७) स्वलाप ः—जनयुद्धको क्रममा
पति मारिएकी एक विधुवाको स्वलापलाई कथ्यवस्तु बनाएर जन्मेको कथा हो–स्वलाप । जीवन भनेको दुःख, वेदना, आँसु, हाँसो, यन्त्रणा, दमन, प्रतिरोध, घात, प्रतिघातहरुकै चेप हुँदै बग्ने गर्छ । यहाँ पनि विधुवा नारी
आफृ्ले पति गुमाए पनि आफ्ना दुई छोराहरु बाबुको बाटोमा हिँडेकोमा सन्तोष मान्दछिन्
। उनका छोराहरु क्रान्तिको मैदानबाट उनलाई चिठीमा लेख्छन्—
क्रान्तिको महाअभियानमा पस्नु, यस्तो
विश्वविद्यालयको विद्यार्थी हुनु मेरो अहो भाग्य हो । यहाँ जो पनि आजीवन
विद्यार्थी नै रहिरहने रहेछ । सिकेर सिकी नसकिने अथाह कुराहरु रहेछन् यहाँ । जानेर
जानी नसकिने अनन्त कुरा रहेछन् यहाँ । यहाँ यस्तो पनि देखियो आमा ! युगौयुगदेखि
उत्पीडनमा परेर लाटिएका जीब्राहरु छुराजस्तो धारिलो भएको पनि देखियो । सन्दुक
खोल्न नजान्ने हातहरु बन्दुक चलाउन जान्ने भएको पनि देखियो । टोपीमा, तन्नामा दिनभरि कार्चोपी बुट्टा भर्ने बहिनीहरु कम्मरभरी
कार्तुसको माला भिरेर युद्धको गीत गाउँदै रनबन चाहरेको पनि देखियो । कपुरी क
नजान्ने हातहरु –हामी निरंकुशताका कैदी हैनौँ स्वतन्त्रता, समानता र न्यायका सेनानी हौँ भनेर भित्ता भित्तामा गर्जना
कोर्ने भएको पनि देखियो । यस विश्वविद्यालयको प्राङ्गनामा त यस्तो लाग्छ — हावाको सुसाइभित्र जुलुसको तुमुल ध्वनी मिसिएर आएजस्तो , गृहिणीले घुमाएको जाँतोमा जनता खाने घुन कीराहरु, मकैकोदोसँगै पिसिएर आएजस्तो चराहरुको चिरविराहट भित्र नयाँ
दिनको स्वागत गान भेटिन्छ यहाँ । नदीहरुको कुलकुलाहटभित्र धर्तीकै उमङ्ग छचल्किएको
आभाष मिल्दछ यहाँ । यहाँ हरेक चीज नौलो छ, नयाँ छ । युद्ध
भन्ने कुरा सिकेर जान्ने कुरा होइन रहेछ । हामी व्यवहारबाट धेरै कुराहरु सिक्दै
जादैछौँ ।
(१८) विभ्रम र यथार्थ ः—टंकनाथ जस्ता जनतामा भ्रमको वीउ छरेर झुटको खेती गरेर
मोटाएका राजनीतिज्ञहरुको नालीबेलीलाई यस कथाले अघि सारेको छ । । जनताको श्रमबाट
महल बनाएर ऐयासी जीवन भोग्ने नेताहरुको कल्याण कहिल्यै हुन्न । यस कुराको धोषणा
विभ्रम र यथार्थ कथाले गरेको छ ।
एक
शिक्षकका आँखाले यी जनताका हरेक किसिमका समस्याहरु बुभ्mन सकिदैन । एक स्रष्टाका
आँखाले भने जगत्लाई नै नियाल्न सक्छ । साहित्यकार पुन्य कार्की जनताका सच्चा
स्रष्टा हुन् । जनयुद्धका कथा लेखनमा नाम कहलिएका वरिष्ठ साहित्यकार ऋषिराज बरालका
हाराहारीमा साहित्यकार पुन्य कार्की पुगेका छन् । उनको कलम साह्रै तीक्ष्ण छ ।
बिभ्mने काम गर्नेहरुको झाँको झार्नु र अन्यायमा परेकाहरुको
उद्धारमा आफ्नो श्रद्धा झल्काउनु कार्कीको लेखनीको अभीष्ट हो । अढाई करोड नेपालीको
मुक्तिको लागि योगदान दिएकोमा साहित्यकार पुन्य कार्कीको कलमलाई साधुवाद नभन्दा
अन्याय गरेको ठहर्दछ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें